Friday, June 12, 2026
Home Blog Page 697

आइसिसी विश्वकप क्रिकेट : नेपाल हारको शृंखला रोकिएन, क्यानडासँग पाँच विकेटले पराजित

0

काठमाडौँ: क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । आज एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नाभिनित धालिवाल र प्रगत सिंहले अर्धशतक पूरा गरे ।

ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए भने अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि एक सय २२ रनको उत्कृष्ट साझेदारी गरे । धालिवालले टोलीका लागि सर्वाधिक ८७ रनको योगदान दिए । उनले एक सय १३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको योगदान दिए । त्यसैगरी प्रगतले ८३ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाएका थिए ।

हर्ष ठाकरले १३ रन जोड्दा निकोलस किर्तनले अवितिज ११ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने करण केसी, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटिएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए । सन्दीपको एकदिवसीय करिअरको यो उत्कृष्ट ब्याटिङ हो । यसअघि उनले सन् २०२३ मा पपुवा न्यूगिनीसँगको खेलमा ५० बलमा अविजित ३५ रन बनाएका थिए ।

यसैगरी, गुल्सन झाले ५६ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए । करण केसीले २४ रन बनाउँदा सोमपाल कामीले २१ रन जोडे । यसैगरी अर्जुन साउद र आरिफ शेखले समान १०–१० रन बनाए भने भीम सार्की र कप्तान रोहित पौडेलले समान चार–चार रन बनाए ।

बलिङतर्फ क्यानडाका कालीम सानाले तीन विकेट लिए भने हर्ष ठाकेर र दिलोन ह्यालिगरले समान दुई–दुई विकेट लिए । त्यसैगरी प्रभिन कुमार र सादविन जफरले समान एक–एक विकेट लिए । त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेल नेपालले मगलबार ओमानसँग खेल्नेछ ।

इरानमा कोइला खानीमा विष्फोट: कम्तीमा २८ जनाको मृत्यु

0

काठमाडौं: इरानको दक्षिण खोरासान प्रान्तको कोइला खानीमा भएको ग्यास विस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएको सरकारी टेलिभिजनले आइतबार जनाएको छ ।

२४ जना अझै बेपत्ता छन् । मदान्जु कम्पनीद्वारा सञ्चालित खानीको दुई ब्लकमा मिथेन ग्यास विस्फोट हुँदा दुर्घटना भएको सरकारी टेलिभिजनले जनाएको छ। विस्फोट हुँदा ब्लकमा ६९ जना कामदार रहेको बताइएको छ।

“१७ जना घाइतेहरूलाई अस्पताल लगिएको छ र २४ जना अझै बेपत्ता छन्”, इरानको रेड क्रिसेन्टका प्रमुखलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले जनाएको छ।

विस्फोट शनिबार स्थानीय समयअनुसार राती ९ बजे भएको थियो । राष्ट्रपति मसूद पेजेस्कियनले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। “मैले मन्त्रीहरूसँग कुरा गरें र हामी अनुगमन गर्न सक्दो प्रयास गर्नेछौं”, पेजेस्कियनले टेलिभिजन टिप्पणीमा भने।

 

भागेर उत्तर कोरिया पुगेका अमेरिकी सैनिकलाई एक वर्षको जेल सजाय, सेनाबाट बर्खास्त

0

काठमाडौं: गत वर्ष अमेरिका फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ । योसँगै उनलाई सेनाबाट बर्खास्तसमेत गरिएको छ ।

जुलाई २०२३ मा, ट्राभिसलाई गैर-कमीशन अफिसरमाथि आक्रमण र सेना परित्याग गरेको आरोप लगाइएको थियो। तर उनको सेवा र राम्रो व्यवहारका कारण उनलाई रिहा गरिएको उनको वकिलले बीबीसीलाई बताए ।

टेक्सासको फोर्ट ब्लिसमा शुक्रबार भएको सुनुवाइका क्रममा उनीमाथि लागेका १४ आरोपमध्ये ५ मा दोषी ठहर भएको थियो भने अन्य आरोप खारेज गरिएको थियो ।

ट्राभिस किंग जनवरी २०२१ मा अमेरिकी सेनामा भर्ना भए। उनलाई युनिट रोटेशन अन्तर्गत दक्षिण कोरियामा तैनाथ गरिएको थियो, जहाँबाट उनी भागेर उत्तर कोरिया पुगेका थिए।

मुलुक ऋणको भारमा थिचिंदै: दुई महिनामै थपियो ९४ अर्ब ५२ करोड सरकारी ऋण

0

काठमाडौं: चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर रु २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको छ । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो।

चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण रु ११ खर्ब ८० अर्ब ९० करोड बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर रु १२ खर्ब ३५ अर्ब ९० करोड पुगेको छ। जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६६ प्रतिशत बराबर हो । यो दुई महिनामा सरकारले रु ९० अर्ब आन्तरिक ऋण उठाउँदा रु ३५ अर्ब बराबर ऋण तिरेको छ।

त्यस्तै, भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण रु १२ खर्ब ९२ अर्ब ७१ करोड छ । चालु आवको सुरुआतमा बाह्य ऋण रु १२ खर्ब ५३ अर्ब १९ करोड बराबर थियो। पछिल्लो दुई महिनामा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा रु १४ अर्ब पाँच करोड खर्च गरेको छ भने यहि अवधिमा रु चार अर्ब ६७ करोड बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २२ दशमलव ६६ प्रतिशत बराबर हो।

चालु आर्थिक वर्षका लागि सरकारले रु पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा भदौ मसान्तसम्ममा रु एक खर्ब चार अर्ब पाँच करोड ऋण उठाइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिए। वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति १८ दशमलव ६६ प्रतिशत बराबर हो।

चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल रु चार खर्ब दुई अर्ब बजेट छुट्याएको छ । भदौ मसान्तसम्ममा रु ४७ अर्ब ७१ करोड ५१ लाख बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ११ दशमलव ८४ प्रतिशत बराबर हो । जिडिपीको आधारमा भदौ मसान्तसम्मको कुल ऋण सेवा खर्च शून्य दशमलव ८४ प्रतिशत बराबर हो ।

दुर्गा प्रसाईं पक्राउ

0
file photo

काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनी भक्तपुरबाट पक्राउ परेका हुन्।

प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो।”

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ, रवि निगरानीमा

0

काठमाडौं: सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा जोशीसहित गोरखा मिडियाका जीबी राई, कुमार रम्तेल र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।

संसदीय समितिले कारबाही सिफारिस गरेको तत्कालीन प्रवन्ध निर्देशक रहेका रास्वपा सभापति लामिछाने पनि प्रहरीको निगरानीमा रहेको स्रोतले जनाएको छ।

लोकतन्त्रमा दल बलियो हुनुपर्छ : महासचिव पोखरेल

0

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखेरलले लोकतन्त्रमा दल बलियो हुनुपर्ने बताउनुभएको छ ।

दाङको घोराहीमा एमाले घोराही उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उहाँले राजनीतिक स्थिरता र विकासका लागि दलहरू बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले हाम्रो संविधान मौलिक अधिकारका दृष्टिले उत्कृष्ट रहेको बताउनुभयो । “कमजोर राज्य भयो भने जनताका पक्षमा काम गर्न सक्दैन, त्यसैले जनता र राज्यबीचको सम्बन्ध गहिरो बनाउन लोकतन्त्रमा राजनीतिक दल बलिया हुनुपर्छ”, उहाँले भन्नुभयो, “एमालेले सङ्कल्प गरेको छ, अठोट गरेको छ की मिसन ८४ का माध्यमबाट एकल बहुमतको सरकारको नेतृत्व गर्न चाहन्छौँ ।”

महासचिव पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वले मुलुकको विकासलाई पछि धकेलेको कुरा गर्नै नपाउने गरी माओवादीले कुरा गर्नु गलत भएको उल्लेख गर्नुभयो । मुलुकका ठुला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएकाले देशले गति लिने उहाँको भनाइ थियो । कार्यक्रममा एमालेका केन्द्रीय तथा स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

गोठालाहरू विदेशीपछि हराउन थाले गोठहरू

0

काठमाडौँ : मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरनक्षेत्र बतासेमा यसपालि १५ वटा मात्र गोठ थिए ।

बतासेको खर्कबाट गत हप्ता थासाङ–३ लेतेमा भेडागोठ झारेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बढ्दो विदेश र सहरमोहले घुम्ती गोठमा भेडाबाख्रा र गाईभैँसी पाल्ने चलन हराउन थालेको बताउनुभयो । अढसठ्ठी वर्षीय भण्डारीले ५४ वर्षदेखि घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएको छ । पाँच सयभन्दा बढी भेडाबाख्राको बथान लिएर बर्खामा लेक र हिउँदमा बेँसी गर्ने उहाँ आफ्नो पुस्तासँगै गोठ बस्ने चलन पनि हराउने चिन्तामा हुनुहुन्छ ।

“देशभित्र काम गर्न लाज मान्ने तर विदेशमा अर्काको नोकर हुन तयार हुने संस्कारको विकासले गर्दा बूढापाकासँगै गोठहरू हराउन थालेका छन्”, उहाँले भन्नुभयो, “वृद्धहरूको भरमा गोठ धानिएका छन् ।”

बाजेका पालादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको सङ्ख्या घटाउँदै जानुभएको छ । पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन सिकार आरक्षको पाटनमा भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना सुनाउनुभयो ।

“पहिले एक सय भेडाबाख्रासँगै आठ–दशवटा गाईभैँसीको गोठ लिएर बुकी र बेँसी गर्दथँे । गाईभैँसी बेचेर सकिए । चालीसवटा भेडाबाख्रा छन्”, उहाँले भन्नुभयो, “छोराछोरीले यो पेशा रोजेनन् । विदेशतिर लागे । बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।”

वृद्धहरूले धानेको घुम्ती गोठहरू उनीहरूको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिँदैनन् । वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जीविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा सङ्कटमा परेको म्याग्दीको अन्नपूर्ण–१ दोवाका नेत्रप्रसाद राम्जालीले बताउनुभयो ।

“गोठ बस्ने गोठाला पाइनै छाडे”, पाँच सय भेडा पालेका उहाँले भन्नुभयो, “भेडाबाख्रा बेचेर वर्षमा रु आठ लाख जति कमाई गर्न सकिन्छ, तर गोठ बस्ने मान्छे नपाएर समस्या हुन थालेको छ ।” मुस्ताङमा भेडाच्याङग्रा र चौँरी गोठालालाई वार्षिक रु एक लाख ५० हजार तलब छ ।

गर्मी बढेपछि हिमाली क्षेत्रको जडीबुटीयुक्त चरन क्षेत्रको पोषिलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने राम्जालीले बताउनुभयो । असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरू चिसोसँगै बेँसीतर्फ झार्न थालेका छन् । अस्थायी टहरामा महिनौँसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्झट मानेका छन् ।

धवलागिरि गाउँपालिका–३ मुनाका ७७ वर्षीय गङ्गाबहादुर पहरे पुनका अनुसार खेतबारीमा मल बनाउन, ‘गोरस’ (दूध, दही, मही र घ्यू), धार्मिककार्य र गोरुका लागि घरैपिच्छे गाई पालेर लेकबेँसी गर्ने चलन थियो । “कामको खोजीमा विदेश जाने क्रमसँगै गाउँमा गोठ बस्ने मान्छे पाइन छाडे”, उहाँले भन्नुभयो, “ट्रयाक्टर भित्रिएपछि गोरु नचाहिने भएकाले गाई पाल्ने चलन झनै घट्यो ।”

पहिले हरेक घरको एउटा गोठ हुने गरेकामा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरिको गाईवस्तु लिएर एक जना गोठमा जाने गरेको पुनले बताउनुभयो । बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेँसीका फाँटमा झर्छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शत्प्रतिशत विद्यार्थी पास

0

जुम्ला: नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका शत्प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

परिषद्ले यही असोज १ देखि ५ गतेसम्म एडभान्स एजुकेसन एन्ड इनोभेटिभ रिसर्च सेन्टर बबरमहल काठमाडौँमा सञ्चालन गरेको परीक्षामा प्रतिष्ठानबाट पास आउट भएका ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) का विद्यार्थीहरू शत्प्रतिशत उत्तीर्ण भएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।

उनका अनुसार परिषद्ले आजै देशैभरिका विद्यार्थीको नतिजा प्रकाशित गरेको थियो । “जनस्वास्थ्यमा स्नातक उत्तीर्ण गरेका देशैभरिका ५१८ विद्यार्थीहरू परीक्षामा सम्मिलित भएकामा २३१ जना (४४ दशमलव ५९ प्रतिशत) उत्तीर्ण भएका छन्”, उपकुलपति रावलले भने “यद्यपि जुम्ला प्रतिष्ठानबाट उक्त परीक्षामा सहभागी भएका १८ जना विद्यार्थीमा शत्प्रतिशत उत्तीर्ण भएका छन् । यसले प्रतिष्ठान परिवारलाई निकै गौरवान्वित तुल्याएको छ ।”

उनका अनुसार गुणस्तर कायम गर्न भूगोल बाधक हुन्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने सन्देश प्रतिष्ठानबाट पास आउट भई परिषद्ले लिएको परीक्षामा सम्मिलित विद्यार्थीहरुको नतिजाले देखाएको छ ।

यसो हुनुमा राम्रो पाठयक्रम, योग्य शिक्षक, लगनशील विद्यार्थी र प्रतिष्ठानको प्रभावकारी व्यवस्थापन नै हो । यो नतिजाबाट अब कर्णालीले देशलाई विशेषज्ञ चिकित्सक र जनस्वास्थ्यविज्ञ दिनसक्ने तथ्य उजागर गरेको उपकुलपति रावलले बताए ।

दिपायलका चार युवा मिलेर सुरु गरे १८ रोपनी जमिनमा व्यावसायिक बेसारखेती

0

काठमाडौँ: डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा बेसारखेती सुरु गरेका हुन् ।

वर्षौँदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउँदै युवाले यस वर्षदेखि व्यावसायिक बेसारखेती सुरु गरेको जनाएका छन् । चारै जना युवा अन्य पेसामा पनि आवद्ध छन् । द्वारिया शिक्षक, दीपक र कैलाश इलेक्ट्रिसियन तथा शैलेन्द्र उद्योगी हुन् ।

प्रायः आफ्नै काममा व्यस्त हुने यी युवाले बाँकी समय सदुपयोग गर्दै व्यावसायिक बेसारखेती गर्ने योजना बनेको युवा शैलेन्द्र खड्काले बताउनुभयो । “एक दिन चिया गफकै क्रममा यो योजना बनेको हो । योजना कार्यान्वयन गर्न जमिनको समस्या थिएन र बीउको खोजी भयो । जिल्लामा आवश्यक बीउ पाइने स्थिति नभएपछि सल्यानबाट ल्याएर का सुरु ग¥यौँ । अनलाइनका माध्यमबाट रु एक लाख बराबरको साढे १३ क्विन्टल बीउ ल्याएर रोपेका थियौँ”, उहाँले प्रारम्भिक योजनाबारे
सुनाउनुभयो ।

दिनभरि आ–आफ्नै काममा व्यस्त भए पनि साँझ र बिहान समय व्यवस्थापन गरेर खनजोत र बेसार रोपेको पनि चार महिना पूरा भइसकेको छ । एकपटक बेसारको गोडमेल पनि भइसकेको छ । अहिले बेसार बिक्रीका लागि बजारको खोजी भइरहेको र त्यसका लागि केहीसँग सामान्य कुरा भए पनि ठोस निर्णय भइनसकेको खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पहिलो चरणमा साथीहरूका बीचमा बीउका लागि बिक्री गर्ने भन्ने कुरा चलेको छ तर निर्णय नै भइसकेको छैन, हामीले विकल्पका रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने सोच पनि बनाएका छौँ ।”

उहाँहरूले बेसारलाई मात्रै होइन पातलाई पनि प्रयोगमा ल्याउने योजना बनाउनुभएको छ । बेसारको पातलाई खेर जान नदिएर टपरी बनाउउने योजना पनि रहेको छ । बेसार मसलादार भएकाले यसको पातको टपरीमा खानेकुरा खादा राम्रो सुगन्ध आउने र खाना पनि राम्रो हुने जनाइएको छ ।

कृषक तेज द्वारियाले बेसारको व्यावसायिक उत्पादनका लागि पहिलो चरणको काम सम्पन्न भएको र अब उत्पादनको बजार हेरेर थप योजना अगाडि बढाइने बताउनुभयो । अपेक्षा गरेअनुसार कारोबार भएमा करिब ५० रोपनीमा खेती विस्तार गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । “हामीले खेती गरेको वरपरको ३०–३५ रोपनी जमिन खाली नै छ, त्यो जमिनवालाले पनि बेसार रोप्नुस् भनेका छन्, यो वर्ष राम्रो कारोबार भएमा अर्को वर्ष ५० रोपनीभन्दा बढी जमिनमा खेती विस्तारको योजना छ”, द्वारियाले भन्नुभयो ।

बेसारखेतीका लागि युवाहरूलाई कृषि ज्ञान केन्द्र डोटीले सहयोग गरेको छ । आर्थिक वर्ष २०८०/८१ को अदुवा तथा बेसारखेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत ज्ञान केन्द्रले बीउ खरिदका लागि रकममा ५० प्रतिशत अनुदान सहयोग गरेको कार्यालयका निमित्त प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो । जिल्लाका तीनवटा पालिका जोरायल, बडिकेदार र बोगटान फुड्सिल गाउँपालिकामा मात्र सीमित रहेको मसलादार बेसार खेती अन्य पालिकामा विस्तार गर्ने र कृषि पेसा गर्ने युवाहरूलाई प्रोत्साहन गर्न ज्ञान केन्द्रले सहयोग गरिरहेको छ ।