Wednesday, June 17, 2026
Home Blog Page 665

एनआरएन ग्लोबल कन्क्लेभ तथा वार्षिक साधारण सभा हुँदै

0

काठमाडौं: गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गर्न लागिएको विशेष समारोह, ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ तथा वार्षिक साधारण सभा यही अक्टोबर २७-२८ २०२४ तदनुसार कार्तिक ११ र १२ गते काठमाडौंको होटल सोल्टीमा आयोजना हुने भएको छ।

कार्यक्रमको उद्घाटन आइतबार साढे ९ बजे सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जानकारी दिइएको छ।

कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, उच्च पदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशबाट उच्च पदस्थ व्यक्तित्व एवं विज्ञहरूको सहभागिता रहने कार्यक्रममा ७ वटा प्लेनरी सत्र रहनेछन्। कार्यक्रममा स्वदेश तथा विदेशका ५ सय भन्दा बढी व्यक्तित्वको सहभागिता रहने भएको छ।

कार्यक्रमको पहिलो दिन २७ अक्टोबर २०२४ मा नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा घनीभूत छलफल हुनेछ ।

कार्यक्रमको दोस्रो दिन २८ अक्टोबर २०२४ मा राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्धनः नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश गरिएका छन् ।

स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उद्देश्यले स्थानीय तहका प्रमुख तथा प्रदेश स्तरका मन्त्रीको सहभागिता हुने कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीतिनिर्माण तहका विज्ञहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु तथा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई गहन छलफलको मञ्च उपलब्ध गराउ एनआरएनएले जनाएको छ ।

यस अवसरमा एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्बको फण्ड) को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्री लगायत सरोकारवालासँग छलफल हुनेछ । जसले गैरआवासीय नेपालीहरूद्वारा नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने दीर्घकालीन परियोजनाहरूलाई सहयोग पुग्ने बताइएको छ ।

ग्लोबल कन्क्लेभ गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने मार्ग पनि ठानेको एनआरएनएले जनाएको छ । यस अवसरमा हामी नेपालको आर्थिक विकासका सम्भावनाहरु र चुनौतीहरुका बारेमा छलफल गर्ने र विदेशी लगानी आकर्षित गर्ने र नेपाललाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने पनि रहेको बताइएको छ ।

यसैबीच २८ अक्टोबर २०२४ तदनुसार कार्तिक १२ गते गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा आयोजना गरिनेछ । संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुर्अल माध्यमद्धारा सहभागीता जनाउने छन् । साथै आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित
गरिनेछ । साधारण सभामा सहभागी हुन गैरआवासीय नेपाली संघका अधिकांश पदाधिकारीहरु, तथा साधारणसभा प्रतिनिधिहरु काठमाण्डौं आइसक्नु भएको छ ।

कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसक्नेको लागि भर्चुअल उपस्थितिका लागि विशेष व्यवस्था मिलाइएको छ । यसका साथै विगतमा असन्तुष्ट समुहलाई एउटै फोरममा राखी असहमति, असमझदारीलाई छलफलमार्फत समस्या समाधानका लागि आह्वान गर्दै यस वार्षिक साधारणसभालाई एकताको सभा बनाइने भएको छ ।

कोप-२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप-२९) मा सशक्तरुपमा उठाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा आज प्रधानमन्त्री ओलीले महासभामा भएका सम्बोधन र साइडलाइन भेटवार्ताका क्रममा राखिएका जलवायु परिवर्तनमा नेपालको स्पष्ट अडान र दृष्टिकोणलाई कोप-२९ मा राख्न आग्रह गरेका हुन। कोप-२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले नेपालमा हिमालहरुले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारण हिमालहरु पग्लिएर हिमाली क्षेत्रका बासिन्दा प्रभावित भइरहेकाले नेपालले कार्बन उत्सान गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनुपर्ने विषय उठाउँदै आएका छन्। उनले हिमालदेखि समुद्रसम्मको वातावरण सन्तुलनका लागि योजना ल्याउन विश्व समुदायलाई माग गरेका छन्।

प्रधानमन्त्री ओलीले वन क्षेत्र निर्धारण गरिएकास्थलमा वन नहुने स्थितिको अन्त्य गर्दै सघन वन विस्तार कार्यलाई प्राथमिकता दिन निर्देशन दिए। उनले नेपालमा ४६ प्रतिशत वन क्षेत्र भए पनि खास वन रहेका क्षेत्र २८ प्रतिशत मात्रै रहेकाले बाँकी १२ प्रतिशत क्षेत्रमा सघन वन विस्तार गर्न जोड दिए।

उनले कम्तीमा ४० प्रतिशत क्षेत्र वन कायम राख्ने गरी काम गर्न आग्रह गर्दैै नेपालले विश्व वातावरण स्वच्छताका लागि वन, हिमाल र तालतलैया राखेर योगदान गरिरहेको उल्लेख गरे।

नेपालमा १७ प्रतिशत भूभाग हिमाल र सात प्रतिशत ताल-तलैया रहेका छन्। प्रधानमन्त्री ओलीले आयोजनाका लागि सरकारले निर्णय गरिसकेका काममा वन मन्त्रालयबाट हुनुपर्ने सहमतिमा ढिलाइ नगर्न पनि निर्देशन दिए।

उनले भने, “वन मन्त्रालयले वनलाई आफ्नो घरैबाट ल्याएको जस्तो गर्नुहुँदैन। आयोजना निर्माणका क्रममा मन्त्रिपरिषद्ले गरेका निर्णयमा पनि वन मन्त्रालयले रोकेका गुनासा आएका छन्। आवश्यकता अनुसार वनको रक्षा गर्दै वन नभएका ठाउँमा माग आएमा उद्योग सञ्चालन गर्न दिनुर्छ।”

बैठकले परिषद्को एक वर्षको कामको समीक्षा र अघिल्ला बैठकका निर्णय कार्यान्वयनका अवस्थाबारे जानकारी गराउदै आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा आयोजनामा हुने विश्व जलवायु सम्मेलन (कोप-२९) मा नेपालको प्रभावकारी सहभागिता, वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने र आगमी एक वर्षका लागि मार्गनिर्देशन लिने आदि निर्णय गरेको छ।

बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, विभिन्न प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, नेपाल सरकारका मुख्यमन्त्री एकनारायण अर्याललगायत सहभागी थिए।

उपप्रधानमन्त्रीसँग एमसीसीकी प्रमुख कार्यकारीको भेट

0

वासिङ्टन डिसी: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबिच भेटवार्ता भएको छ ।

उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उपप्रधानमन्त्री पौडेल र निर्देशक लीबीच भेटवार्ता
अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि आजै भेटवार्ता गरेका छन् । त्यस असरमा उनीहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो ।

उपकार्यकारी निर्देशक बोले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताएका थिए । अर्थमन्त्रीका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा यहाँस्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलको उपस्थिति रहेको थियो ।

 

चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ

0

इनरुवा (सुनसरी): जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको
हो ।

अभियुक्तहरूलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताउनुभयो ।

धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त

0

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–३ जोनापुर गाउँका बन्धुराम चौधरी मुसा मार्ने कार्यमा निकै निपूण छन् । उनी बिल (दुलो) हेरेर नै त्यसमा मुसा भए÷नभएकोबारे जानकारी राख्छन् । मुसा मार्ने कला उनले सानै छँदादेखि सिकेका हुन् ।

धान भित्र्याएर अहिले उनीहरू फुसर्दिला छन् । फुर्सदमा बन्धुराम मुसा मार्न व्यस्त छन् । उनले मुसा मार्न तीन जनाको टोली नै बनाएका छन् ।

राजबहादुर, भागिराम पनि दिउँसोको खाना बोकेर मुसा मार्न काँधमा फरुवा राखेर बिहानै बन्धुरामसँगै
निस्कन्छन् । साँझ अबेरसम्म मुसा मारेर तीनै जना घर फर्कने गर्छन् । थारू समुदायले मुसा मारेर त्यसबाट चटनी, टिना (तरकारी), पकुवा (ओगोमा पोलेको) लगायत परिकार बनाएर खाने गर्दछन् ।

पाहुनालाई अन्य परिकारसँगै मुसाका परिकार पस्किने चलन थारू समुदायको पुरानै हो । “खान्कीमा मुसाको परिकार भएन भने खाना खाएकै रुच्दैन”, बुधरामले भने, “त्यहीँ भएर मुसा मार्न साथीभाइसँग जाने गर्दै आएका छौँ, मुसा मार्ने परम्परा पुर्खौदेखि चल्दै आएको छ, त्यसलाई निरन्तरता दिएका छौँ ।” धान काटेर खाली भएका खेतमा मुसा पाइने गरेका छन् । दिनमा २० देखि ३० वटा मुसा मारेर ल्याउने गरेको उनी बताउँछन् । “मुसा धेरै मिले बाँडेर घरमै लैजान्छौँ”, भागिरामले भने, “थोरै भए खेतमै आगोमा पोलेर पकुवा बनाएर खाएर फर्कन्छौँ ।”

बुबाबाजेसँग अण्डैया पटैयामा मुसा मारेर ल्याएको सम्झना अङ्गनु चौधरीसँग छ । अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रपर्ने अण्डैया पटैया पहिला निकै ठूलो गाउँ थियो । निकुञ्ज विस्तारका क्रममा त्यो गाउँ अहिले निकुञ्जभित्र पर्यो । मुसा पाइने क्षेत्रका रूपमा परिचित थियो । समूह बनाएर मुसा मार्न खेत खन्न जानेको सङ्ख्या निकै बढी हुन्थ्यो । “एक जनाको हिस्सामा ५० देखि ६० वटासम्म मुसा आउने गर्दथे”, उनी भन्छन्, “अहिले मुसाको सङ्ख्या निकै कम छ, दिनभर खन्दा पनि मुस्किलले थोरै मुसा पाइन्छन् ।”

अङ्गनुका अनुसार पहिला मुसा मार्नका लागि ओद्रा, खप्का, छन्नक्या लगाउने परम्परागत चलन थियो । समुहमा मुसा मार्न गए फरुवाले मुसाको दुलो खनेर र दुलोमा पानी खन्याएर मार्ने गरिन्छ । यी मुसा मार्ने विधि भने अहिले पनि चलनचल्तीमा छन् ।

थारू समुदायमा मुसा सिकार (मार्ने) गर्ने कार्य सामूहिक र एकल रूपमा पुस्तौँदेखि चल्दै आएको छ । “पहिले मुसाको सिकार गर्न गाउँगाँउबाट हुलकाहुल जाने गर्दथे”, रामबहादुर चौधरीले भने, “हाल थोरै जनाले मात्रै मुसा मार्न जाने गर्दछन्, युवाहरूले मुसा मार्न नै छाडिसके ।” थारू युवाहरू व्यावसायिक कार्यमा व्यस्त हुन थालेपछि पहिलाजस्तो मुसा मार्ने कार्य नहुने उनको भनाइ छ । चालीस वर्षमाथिका मात्रै मुसा मार्नका लागि जाने गरेका छन् ।

थारू समुदायले विशेषगरी गहुँबाली र धानबाली भित्र्याइसकेपछिको समय मुसाको सिकार गर्ने गर्छन् । यसबेला खेतमा अन्नपात नहुने र वर्षाको मौसम समाप्त हुनेहुँदा सहज रूपमा मुसाको सिकार गर्न सकिन्छ । पहिला वन क्षेत्रमा समेत थारू समुदायका मानिस मुसा मार्न जाने गरेका थिए ।

हाल वन क्षेत्रमा मुसालगायत अन्य जीवजन्तुको सिकार गर्न प्रतिबन्ध लागेपछि खेतमै मुसा मार्ने कार्य गर्दै आएका छन् । शिकार गरिएको मुसालाई अचार बनाएर, मासुका रूपमा, लौकाको तरकारीसँग मिसाएर, पोलेर नुन खुर्सानी दलेर खाने गरिन्छ । थारू समुदायले सबैभन्दा बढी लौकाको तरकारीसँग पोलेको मुसाको मासु मिसाएर खान रुचाउने गरेको रामप्रसाद चौधरी बताउँछन् ।

थारू समुदायले विल खोदुवा, छपर, गोर्नी, खरकट्टी, चिड्डीलगायत जातका मुसाको सिकार गर्ने गर्दछन् । सिकार गरिएका मुसामा भाले (मुसण्डा), पोथी (मुसण्डी), वयस्क हुन लागेको बोर्टु, आँखा नखुलेको लाललाल बच्चा रहने गर्दछन् । विल (दुलो) खन्ने क्रममा मुसाले धान, गहुँका बाला दुलोमै थुपारेर राख्ने गरेकाले दिनभरमा एक बोरा जति धान, गहुँका बाला पनि सङ्कलन हुने गरेको थारू समुदायका बूढापाका बताउँछन् ।

पहिला थारू समुदायले मात्र मुसाको सिकार गरीखाने गर्दै आएकामा हाल गैर थारूहरूले पनि मुसाका परिकारको माग गर्ने गरेका छन् । मेला, उत्सव र सामुदायिक घरबासमा मुसाको मासु बिक्री हुने गर्छ । पहिलाजस्तो मुसा नपाइने गरेकामा थारू बूढापाका असन्तुष्ट छन् ।

खर्क (गोठ) व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली

0

भेरीगङ्गा (सुर्खेत): कर्णाली प्रदेशमा रहेका खर्क (गोठ) व्यवस्थापन गरी मनग्य आम्दानी लिन सकिनेगरी रणनीति तयार गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । विशेषगरी प्रदेशका हिमाली जिल्लाका खर्कको व्यवस्थापन र संरक्षण गरी आम्दानी लिनेगरी रणनीति तयार गर्नुपर्ने उनीहरूको सुझाव छ ।

कर्णाली प्रदेश सरकारसँगको समन्वयमा अमेरिकी सहयोग नियोग ( युएसएआइडी) को जलजङ्गल परियोजना र एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) ले प्रदेश राजधानी सुर्खेतमा आयोजना गरिएको खर्क व्यवस्थापन रणनीति र कार्ययोजना विषयक गोष्ठीमा वक्ताहरूले रणनीतिक सुझाव दिएका हुन् । इसिमोडका प्रतिनिधि डा सिर्जना जोशी र ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसी प्लिनरी स्टडिजका निर्देशक डा उत्तमबाबु श्रेष्ठको प्रस्तुतिमाथि छलफल गर्दै सरोकारवालाले प्रदेशको खर्कमा नै अमूल्य स्रोत रहेकाले त्यसको यथोचित परिचालन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् ।

मध्यपश्चिम विश्वविद्यालय विज्ञान सङ्कायका डिन डा सुदीप ठकुरीले नेपालको बहुमूल्य स्रोतसाधन खर्कमा पाइने भए पनि उचित परिचालन हुन नसक्दा भनेअनुसारको आम्दानी लिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा खर्कमा बहुमूल्य जडीबुटी, चरिचरन क्षेत्र छन्, ती स्रोतसाधनको हामीले उचित परिचालन गर्न सकेका छैनौँ, जसले गर्दा हामी अगाडि बढ्न सकेनौँ ।”

कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा खर्क धेरै रहेको भन्दै विगतमा हिमाली क्षेत्रमा पशुपालन व्यवसाय धेरै भए पनि अहिले घट्दो क्रममा रहेको बताउनुभयो । खर्कलाई संरक्षण गर्दै कसरी उत्पादनमुखी बनाउने, त्यहाँबाट कसरी नाफा लिने भन्ने विषयमा खोज, अनुसन्धान गरेर रणनीति बनाउन आवश्यक रहेको ठकुरीले औँल्याउनुभयो । जलवायु परिवर्तनको असर हिमाली खर्कमा परिरहेको भन्दै उहाँले त्यहाँ पाइने बहुमूल्य जडीबुटीसमेत लोप हुन थालेकाले त्यतातर्फ पनि सोच्नुपर्ने उहाँको सुझाव छ ।

पशु विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक कृष्ण पङ्गेनीले पनि खर्कबाट पशुपालन व्यवसाय सञ्चालन गरेर आम्दानीका स्रोत बढाउन सकिने भन्दै ती खर्कमा पाइने चरिचरनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले जलवायु परिवर्तनको असर हाम्रा हिमाली खर्कमा परिरहेको छ, सबैभन्दा धेरै आम्दानी लिन सकिने ती खर्कको चरिचरन सङ्कटमा पर्न थालेकोतर्फ हामीले योजना बनाएर कार्यान्वयन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।”

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशका वन व्यवस्थापन तथा जैविक विविधता महाशाखा प्रमुख शेरबहादुर श्रेष्ठले खर्क व्यवस्थापनसम्बन्धी अब बन्ने रणनीतिको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा व्यापक छलफल गरेर रणनीतिक योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले वनसँग मात्र नभएर हरेक निकायसँग जोडिएको विषय भएकाले त्यहीअनुसारको मोडालिटी तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

डोल्पाका डिभिजन वन कार्यालय प्रमुख मुनबहादुर रावतले कानुनी समस्या फुकाउने गरी अब बन्ने खर्क व्यवस्थापन समितिले काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले कुनै पनि काम गर्दा पहिलो जग कानुन हुने भन्दै तीन तहका सरकारको प्रतिनिधित्व हुनेगरी समिति बन्नुपर्नेमा जोड दिनुभयो ।

ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसी प्लिनरी स्टडिजका निर्देशक डा उत्तमबाबु श्रेष्ठले कर्णालीका सात जिल्लामा खर्कको सङ्ख्या धेरै रहेको भन्दै ती खर्कमा पछिल्लो समय जलवायु परिवर्तनले असर गरिरहेको जानकारी गराउनुभयो ।

“कर्णालीका खर्कमा गरिएको अध्ययनमा जलवायु परिवर्तनका कारण कहिले पानी धेरै आउने, कहिले पानी कम आउनेलगायत समस्या बढिरहेकाले त्यहाँको जडीबुटीसँगै चरिचरनमा समस्या हुँदा समग्र इको सिस्टममा समस्या आउने चिन्ता छ । अर्कातर्फ जथाभावी सडक निर्माण हुँदा पनि खर्क जोखिममा परेका छन् । यसैका आधारमा नीति बनाउनुपर्ने आवश्यकता देखिन्छ”, उहाँले भन्नुभयो ।

कर्णालीमा रहेका खर्कमध्ये पाँच जिल्लामा मात्र ७६ प्रतिशत खर्क रहेको भन्दै त्यसमा पनि १० स्थानीय तहमा ४० प्रतिशत खर्क रहेकाले त्यस क्षेत्रमा ‘फोकस’ गरेर कार्यक्रम बनाउनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । उहाँले भन्नुभयो, “खर्क आम्दानीका मुख्य स्रोत हुन्, अझै भनौँ विदेशी मुद्रा आर्जन गर्ने उत्पादन हुने क्षेत्र हुन्, त्यहाँ पर्यटन व्यवसायसँगै पशुपालन, जडीबुटी उत्पादन र अन्य स्रोत छन्, तिनको संरक्षण गर्दै परिचालन गर्नसके समृद्धि खोज्न हामी कतै जानुपर्दैन ।”

इसिमोडका प्रतिनिधि डा सिर्जना जोशी रिजालले पनि सन् २०१३ देखि खर्क व्यवस्थापन गर्नेगरी आफूहरूले काम गरिरहेको बताउँदै जलवायु परिवर्तन न्यूनीकरण गरेर खर्क व्यवस्थापन गर्ने योजना बन्न आवश्यक रहेको औँल्याउनुभयो । “जैविक विविधता बढ्दै छ”, उहाँले भन्नुभयो, “पानीका स्रोत पनि घट्दै छन्, जडीबुटीको सङ्ख्या पनि घट्दै छ, चरिचरन क्षेत्रमा समस्या परिरहेको अवस्थामा अब हामीले कस्तो रणनीति बनाउने सबैले सोच्नुपर्ने विषय बनेको छ ।” खर्क व्यवस्थापनका लागि अनुसन्धान धेरै हुनुपर्ने उहाँको भनाइ छ ।

युएसएआइडीका जलजङ्गल परियोजनाका प्रतिनिधि भूपेन्द्र शाहीले खर्कको बहुआयामिक फाइदा भएकाले उक्त परियोजनाले खर्क केन्द्रित कार्यक्रममा कर्णाली प्रदेश सरकारसँग मिलेर काम गरिरहेको बताउनुभयो ।

यता कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले यस विषयमा नीति बनाउन प्रदेश सरकारले चासो देखाएकाले साझेदार निकायसँग मिलेर काम गरिने बताउनुभयो । उहाँले कर्णाली प्रदेशको आन्तरिक आम्दानी कमजोर भइरहेका बेला आम्दानीको मुख्य स्रोत खर्कमा पाइने स्रोतसाधन हुनसक्ने भन्दै त्यहीअनुसार नीति र योजना बनाएर अगाडि बढ्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारले पनि खर्क व्यवस्थापन गर्नेगरी नीति निर्माण गर्ने आफ्नो वार्षिक कार्यक्रममा समेत राखेको छ ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय विज्ञान सङ्कायका उपप्रध्यापक शिवराज घिमिरेलगायत प्रदशेका १० वटै जिल्लाका डिभिजन वन कार्यालयका प्रतिनिधिलगायतको सहभागिता थियो ।

दुःख गरी आर्जेको रकम सहकारीमा डुबेपछि रित्तो थाल बोकेर सहकारीपीडित सडकमा

0

गण्डकी : दुःखजिलो गरी आर्जेको रकम सहकारीमा डुबेपछि बचतकर्ता महिनौँदेखि पीडामा छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थालगायत सहकारी संस्थाका बचतकर्ताले बिहीबार पनि सङ्घर्षलाई जारी राखे । उनीहरूले रित्तो थालसहित सडकमा प्रदर्शन गरे र धर्ना बसे । सहकारीपीडितले ‘बचत रकम फिर्ता गर’, ‘सहकारी ठगलाई कारबाही गर’सहितका नारा लगाएका थिए ।

सूर्यदर्शन बचतपीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले बिहीबार मुस्ताङचोक र आसपासका क्षेत्रमा प्रदर्शन गरिएको बताउनुभयो । बचतकर्ताको बचत रकम फिर्ता नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ । उहाँका अनुसार सूर्यदर्शन सहकारीमा १८ हजार सात सय बचतकर्ताको बचत रकम डुबेको छ । “एक हजार ५१ सहकारीपीडितको जाहेरीसहित रु एक अर्ब १२ करोड बिगो दाबी गरिएको छ”, संयोजक श्रेष्ठले भन्नुभयो ।

प्रहरीले गरेको अनुसन्धानबाट उक्त सहकारीबाट रु एक अर्ब ३५ करोड अपचलन भएको खुलेको उहाँले जानकारी दिनुभयो । त्यसमध्येको केही रकम गोर्खा मिडिया नेटकर्व प्रालिमा ल्याई अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उक्त मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई अहिले प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

यही कात्तिक २ गते पक्राउ पर्नुभएका सभापति लामिछानेमाथि यसअघि छ दिनको म्याद थप गरी अनुसन्धान गरिएकामा थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

उक्त सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गत असोज ६ गते पक्राउ पर्नुभएका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि थप सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार २०७२ सालदेखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । सहकारीको रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबी राई)सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।

सहकारी ठगीका मुख्य आरोपी राई भने फरार छन् । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरीपाउँ भन्दै २०८० साल माघमा कास्की जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।

राईसहित उहाँका दाजु भूपेन्द्र, व्यवस्थापक थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारीलगायत भने अझै फरार छन् । सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि सभापति लामिछानेसहितलाई सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

सरकारले एक सय दिनमै जनअपेक्षाअनुसारको काम गरेको छः उपमहासचिव ज्ञवाली

0

झापा: नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले १७ वर्षसम्म हुन नसकेको शान्ति प्रक्रियाको महत्वपूर्ण काम एक सय दिनमै जनपेक्षाअनुसार पूरा गरेको बताउनुभयो ।

नेकपा (एमाले) झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकारले एक सय दिनमै सकारात्मक काम गरेर जनताको मन जितेको दाबी गर्नुभयो ।

वर्तमान सरकार गणतन्त्र जोगाउनका लागि बनेको भन्दै उहाँले व्यवस्थाकैविरुद्ध गतिविधि बढेपछि एमाले, कांग्रेस मिलेर सरकार बनाएको धारणा राख्नुभयो । उहाँले यो सरकारले अस्थिरताको अन्त्य गर्नेसमेत कार्यकर्तालाई आश्वासन दिनुभयो ।

नेता ज्ञवालीले सडकबाट फैसला गर्न खोज्नु बेठिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्छ, कसैलाई कानुन लाग्ने, रास्वपालाई नलाग्ने भन्ने हुँदैन ।”

उहाँले कार्यकर्तालाई पार्टी र सरकारबारेमा धारणा बनाउँदा बुझेर मात्र बनाउन सुझाव समेत दिनुभएको छ । पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले नेता ज्ञवालीलाई जिल्लाको समसामयिक राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।