Thursday, June 18, 2026
Home Blog Page 660

मानवसेवा आश्रममा रहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि पठाइयो

0

वीरगञ्ज(पर्सा): मानवसेवा आश्रममा आश्रय लिदै आइरहेका २७ भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलनका लागि भारत पठाइएको छ ।मानवसेवा आश्रम वीरगञ्जमा एक कार्यक्रम गरी २७ जना भारतीय नागरिकलाई रेलमार्फत आ-आफ्नो घरमा पुनःमिलनको लागि पठाइएको हो । भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मनोज मिश्र, मानवसेवा आश्रमका सचिव समुन बर्ताैला, मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक हरि गौतम, सहसंयोजक प्रकाश थारुलगायतले बिदाइ गर्नुभएको थियो ।

मानवसेवा आश्रमका सचिव बर्तौलाले विभिन्न सेवाकेन्द्रमा रहेका २७ जना भारतीय नागरिकलाई पारिवारिक पुनःमिलनका लागि पठाइएको जानकारी दिनुभयो । “भारतका आधा दर्जनभन्दा धेरै राज्य तथा प्रदेशका भारतीय नागरिकलाई स्वदेश फर्काउन लागेका हौँ”, उहाँले भन्नुभयो, “पारिवारिक पुनर्मिलन गराउन लागेकामध्ये २१ जना पुरुष र छ जना महिला छन् ।”

पारिवारिक पुनःमिलनका लागि पठाइएका भारतीय नागरिकको स्थायी ठेगाना भने विहार, उत्तरप्रदेश, आन्द्रप्रदेश, उडिसा, महाराष्ट्र, तेलगंना रहेको छ ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका एएसओ मिश्रले मानवसेवा आश्रमले भारतीय नागरिकलाई आआफ्नो घरमा पुनर्मिलन गराउन लागेको कार्य निकै सराहनीय रहेको बताउनुभयो । “भारतीय नागरिकको उद्धार गरेर पारिवारिक मिलन गराउन लागेकामा मानवसेवा आश्रमलाई धन्यवाद व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

मानव सेवा आश्रम वीरगञ्जका अभिभावक परिवारका संयोजक गौतमले भारतीय दूतावासबाट सडकमा आश्रित भारतीय नागरिकको लागि आवश्यक सहयोग र साथको आवश्यकता रहेको बताउनुभयो । “सडकमा आश्रित नेपाली नागरिकको लागि त हामीले काम गरिरहेका छौँ, भारतीय नागरिकका लागि दूतावासबाट आवश्यक व्यवस्थापनको काम भइदिए सहज हुने थियो”, उहाँको भनाइ थियो ।
मानव सेवा आश्रमले हालसम्म एक हजारभन्दा धेरै भारतीय नागरिकलाई पारिवारिक पुनर्मिलन गराइसकेको त्यस अवसरमा जानकारी दिइएको थियो ।

पूर्वअर्थमन्त्री वर्षमान पुनको नेतृत्वमा रोल्पाको लिवाङदेखि जलजलासम्मको पदयात्रा

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तको नेतृत्वमा रोल्पाको लिवाङदेखि प्रसिद्ध पर्यटकीय स्थल जलजलासम्मको पदयात्रा सुरु गरिएको छ । उत्कृष्ट पर्यटकीय गन्तव्य जलजला क्षेत्रको प्रवद्र्धनका लागि ‘घुम्न जाऔँ जलजला’ भन्ने नारासहित आवासीय पदयात्रा सुरु गरिएको हो । सोमबार सदरमुकाम लिवाङबाट हिँडेको करिब ५० जनाको टोली सोही राति ओखरेनीमा बास बसेर मङ्गलबार अपराह्न जलजलाको टाकुरमा पुगेको छ ।

टोलीमा नेता पुनसहित पूर्वसभामुख ओनसरी घर्ती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र पुन, रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र घर्ती थापासहित १० वटा पालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्य, उपप्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामा, उद्योग वाणिज्य सङ्घ रोल्पाका अध्यक्ष केशव आचार्यसहित व्यवसायी, सञ्चारकर्मी, साहित्यकार, कलाकार सहभागी छन् ।

पदयात्राको व्यवस्थापन रोल्पा नगरपालिकाका साथै थवाङ र सुनछहरी गाउँपालिकाले गर्ने वर्षमान पुनको सचिवालयले जनाएको छ ।

पूर्वअर्थमन्त्री पुनले जलजलालाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा स्थानीय उत्पादन वृद्धि, बजार विस्तार र प्रचार–प्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको बताउनुभयो ।
आफूहरुको पहलमा सरकारले गत वर्ष जलजलालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा समावेश गरेको भन्दै उहाँले स्वदेशी र विदेशी पर्यटकीय गन्तव्यका रुपमा जलजलालाई स्थापित गर्न आवश्यक पूर्वाधार निर्माणका कामहरु अघि बढिरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सांस्कृतिक सम्पदाको सम्बद्र्धन, स्थानीय उत्पादन वृद्धि, बजार व्यवस्थापन र पर्यटकीय क्षेत्रका रुपमा जलजलाको विकासका लागि पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको छु ।”
आज साँझ जलजलामा विशेष सांस्कृतिक साँझ आयोजना गरिएको छ । कार्यक्रममा गीत र नृत्य प्रस्तुतिका साथै कविता, गजल र हाइकु वाचन गरिएको छ ।

पदयात्राको पहिलो दिन सोमबार साँझ ओखरेनीमा पनि त्यस्तै कार्यक्रम भएको थियो । पदयात्रा बुधबार थबाङ पुगेर समापन हुने जनाइएको छ ।

जलजला पहाड समुन्द्र सतहबाट करिब तीन हजार छ सय मिटरको उचाइमा अवस्थित छ । जलजला थवाङ नगरपालिका, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिकाको सङ्गमस्थलका रुपमा रहेको छ ।
जलजला पुग्नेलाई अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी, नीलगिरि र पुथाजस्ता हिमालको मनोरम दृष्यले लोभ्याउने गरेको छ । यहाँबाट जिल्लाको अधिकांश भू–भाग देख्न सकिन्छ ।

जलजला लोपोन्मुख रेड पान्डाको बासस्थानका रुपमा पनि परिचित छ । जलजलामा चितुवा, भालु, बँदेल, हरिण, घोरल, थार र रतुवाजस्ता जङ्गली जनावरका साथै डाँफे, मुनाल, कालिज, प्यूरासहित सयौं प्रकारका चराचुरुङ्गी पाइन्छ । यस्तै १४ प्रजातिका लालीगुराँस फुलेर हिउँदमा जलजला दुलही झैं सिँगारिएको हुन्छ । लोपोन्मुख सेतो लालीगुराँस पनि यहाँ पाइन्छ ।जलजला पाँचऔले, जटामसी, चिराइतो, सुनगाभा, सुगन्धवाल, दालचिनी, सुनाखरी, पदमचाल, बोजो, कचुर, पुदिना, टिमुरजस्ता बहुमूल्य जडीबुटीको प्राकृतिक भण्डार पनि हो ।

कुल ४७ हेक्टर क्षेत्रफलमा फैलिएको जलजलामा घाँसे मैदान पनि छ । जलजलालाई यसअघि ‘गामा’ भनिन्थ्यो । मगर खाम भाषामा गामाको अर्थ ‘अग्लो लेकको बुकी पाटन’ भन्ने हुन्छ । आजभोलि ‘गोङ’ पनि भन्ने गरिएको छ ।

जलजलामा भामा गुफा र बराह मन्दिर आकर्षकका रुपमा छ । यहाँ बराहका तीनवटा मन्दिर छन् । ती मन्दिरलाई कैलु बराह, बजु बराह र सहदे बराहका नामले चिन्ने गरिएको छ । जसलाई बराहको उत्पत्तीस्थलसमेत मानिन्छ । मगर खामभाषाबाट जलजलालाई गोङ भनिन्छ ।

सल्यान, दाङ, प्यूठान, र सुर्खेत छिमेकी जिल्लाबाट मानिसहरु धार्मिक उद्देश्यले त्यहाँ पुग्ने गर्दछन् । वैशाख पूर्णिमा, जेठ पूर्णिमा र श्रावण पूर्णिमा गरी वर्षमा तीनपटक बराहमा मेला लाग्ने गर्दछ । मनोकाङ्क्षा पूरा हुने, परिवार शान्ति र सन्तान प्राप्ति हुने विश्वासमा ती मेलामा भेडा र कुखुराको बली दिने चलन छ ।

चीनमा जन्मदर बढाउन नयाँ उपायहरू गरिँदै

0

काठमाडौं: चीनको राज्य परिषदले देशमा द्रुत रूपमा घट्दो जन्मदरको बीचमा “बाल जन्म मैत्री समाज” बनाउन र बच्चा जन्माउन सहयोग गर्न नयाँ उपायहरू प्रस्ताव गरेको छ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार यी उपायहरूले वितरण र बाल हेरचाह सेवाहरूलाई सुदृढ पार्ने, शिक्षा, आवास र रोजगारीलाई समर्थन गर्ने र विवाह र बच्चा जन्माउने वरपरको ‘नयाँ संस्कृति’ को प्रवर्द्धनमा केन्द्रित छन्।

चीनको शिक्षा मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टको प्रतिवेदनले सन् २०२३ मा देशमा किन्डरगार्टनको सङ्ख्या १४,८०८ ले घटेर कुल सङ्ख्या २ लाख ७४ हजार ४०० मा झर्ने बताएको छ। यो लगातार दोस्रो वार्षिक गिरावट हो, जसले चीनको घट्दो जन्मदरलाई बताउँछ।

चीनको जनसङ्ख्या लगातार दोस्रो वर्ष २० लाखभन्दा बढीले घटेर सन् २०२३ मा १.४ अर्ब पुगेको छ, जसमा ९० लाख जन्म मात्रै भएको छ। सन् १९४९ मा रेकर्ड राख्न थालेपछिको यो सबैभन्दा कम संख्या हो।

चीनले अहिले दोहोरो जनसांख्यिकीय चुनौतीको सामना गरिरहेको छ। जन्मदर र प्रजनन दरमा कमीसँगै वृद्ध जनसंख्या पनि तीव्र गतिमा बढिरहेको छ । सिन्ह्वा समाचार एजेन्सीका अनुसार सन् २०२३ को अन्त्यसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिका करिब ३० करोड मानिस थिए, जुन संख्या २०३५ सम्म ४० करोड र २०५० सम्ममा ५० करोड पुग्ने अनुमान गरिएको छ।

जनसांख्यिकीय संकटको मुख्य कारण सन् २०१६ मा अन्त्य भएको दशकौं पुरानो एक सन्तान नीति हो। २०२१ मा, सरकारले नीतिलाई थप परिवर्तन गर्‍यो, परिवारहरूलाई तीनवटा बच्चाहरू जन्माउन अनुमति दियो।

आतंकवादी मुद्दामा दोषी पाइएपछि इरानी-जर्मन नागरिकलाई मृत्युदण्ड

0

काठमाडौं: इरानले आतंकवादी हमला गरेको आरोपमा इरानी-जर्मन नागरिक जम्सिद शर्माहदलाई फाँसी दिएको छ। इरानको सरकारी मिडियाले सोमबार यो जानकारी दिएको हो । अमेरिका निवासी शर्मालाई ‘पृथ्वीमा भ्रष्टाचार’ गरेको आरोपमा २०२३ मा मृत्युदण्डको सजाय सुनाइएको थियो।

इरानले उनलाई सन् २००८ मा भएको बम विष्फोट र देशमा अन्य आक्रमणको योजना बनाएको राजतन्त्र समर्थक समूहको नेतृत्व गरेको आरोप लगाएको थियो।

शर्माहदको गिरफ्तारी सन् २०२० मा खुफिया मन्त्रालयको एक विज्ञप्तिमा घोषणा गरिएको थियो, जसमा उनलाई आतंकवादी टोन्डर समूहको नेताको रूपमा वर्णन गरिएको थियो, जसले अमेरिकादेखि इरानसम्म सशस्त्र र आतंकवादी गतिविधिहरू सञ्चालन गर्न प्रमुख भूमिका खेलेको थियो।

लस एन्जलसमा रहेको इरानको राज्य सभाले सन् १९७९ को इस्लामिक क्रान्तिले ध्वस्त भएको इरानी राजतन्त्रलाई पुनर्स्थापित गर्न चाहेको बताएको छ। यसले विदेशमा इरान समर्थक विपक्षी रेडियो र टेलिभिजन स्टेशनहरू सञ्चालन गर्दछ।

प्रचण्डसहित १३ जनाविरुद्ध लडाकु शिविरमा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

0

काठमाडौं: माओवादी लडाकु शिविरमा भएको घोटालाबारे छानविन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको छ।

युवराज पौडेल सफलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन तथा चक्रपाणी खनालसहित १३ जनाविरुद्ध उजुरी हालेका हुन्।

त्यस्तै उजुरी पर्नेमा सन्तु दराई, सुकबहादुर रोका, धनबहादुर मास्के, यमबहादुर अधिकारी, तेजबहादुर ओली, गणेशमान पुन, कालीबहादुर खाम र महेन्द्रबहादुर शाही रहेका छन्।

उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोशाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको उल्लेख छ।

माओवादी अध्यक्ष प्रचण्डले स्वयंले ७ हजार सेनालाई ३५ हजार पुर्‍याएर २० हजार भेरिफिकेसनमा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा उल्लेख गरिएको छ।

उजुरीमा माओवादी शिविर व्यवस्थापन गर्दा ६ वर्षको अवधिमा २० अर्व खर्च भएको र अधिकांश रकम प्रचण्डको योजनामा निकासा गरेर भ्रष्टाचार गरिएको उल्लेख छ ।

निवेदक पौडेलले राज्यकोषबाट माओवादीले ४ अर्ब हिनामिना गरेको देखिने भएकाले उनीहरुलाई पक्राउ गरी हदैसम्मको कारवाही माग गरिएको छ।  पौडेलले दिएको निवेदन अख्तियारले दर्ता गरेको छ ।

समस्याग्रस्त सहकारीबाट हालसम्म बचतकर्ताको १ अर्ब ४८ करोड फिर्ता

0

काठमाडौं: समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको सत प्रतिशत बचत फिर्ता भएको जनाएको छ।

मंगलबार काठमाडौंमा समितिले आयोजना गरेको समस्याग्रस्त सहकारीमा रहेका बचतकर्ताको बचत फिर्ताको कार्यक्रममा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्याग्रस्त सहकारीबाट हालसम्म ६ हजार १ सय ५५ बचतकर्ताको १ अर्ब ४८ करोड ५१ लाख ३७ हजार रुपैया फिर्ता गरिएको जानकारी दिए।

त्यस्तै आंशिक रुपमा हालसम्म ४ सय ३८ बचतकर्ताको ३ करोड भन्दा बढि रकम फिर्ता गरिएको छ । संकटग्रस्त सहकारीका ५६ हजार ६ सय ५ बचतकर्ताको ३८ अर्व ४२ करोड ३ लाख २९ हजार ८ सय ११ रुपैया बचतफिर्ता गर्न बाँकी रहेको मन्त्री अधिकारीले बताए।

उनले संकटग्रस्त सहकारीमा भएको सम्पती बिक्रि, लिलाम वा साटासाट गरेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्ने र सहकारीबाट ऋण लिएर नतिर्नेहरुको सम्पती लिलाम गर्ने निर्णय भएको धारणा राखे। उनले केहि सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गर्नका लागि प्रक्रिया सुरु भइसकेको जिकिर गरे।

मन्त्री अधिकारीले हाल सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी सहकारीहरु १९ वटा रहेको र बाँकी छुट मागदावीकर्तालाई बचत फिर्ता गरि राफसाफ गरिएको सहकारीको संख्या ३ रहेको जानकारी दिए।

मन्त्री अधिकारीले चालू आर्थिक मसान्तसम्म थप ९ सहकारी संस्था राफसाफ गर्ने लक्ष्य लिइएको बताए। त्यस्तै १३ हजार ७५ ऋणी सदस्यहरुबाट २३ अर्ब ६२ करोड ९६ लाख ५८ हजार ७ सय ९४ रुपैया असुलीतर्फ अन्तिम कारबाहीको प्रक्रिया अघि बढाउने योजना रहेको उनले बताए। कार्यक्रममा समस्याग्रस्त केहि सहकारीका बचतकर्तालाई बचतरकम फिर्ता गरिएको थियो।

रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटारमा रास्वपाको प्रदर्शन

0

काठमाडौँ: पार्टी सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मंगलबार बालुवाटारमा प्रदर्शन गरेको छ ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर पोखराबाट सुरु गरेको प्रदर्शन हाल काठमाडौँ केन्द्रित छ।

आजको प्रदर्शनका क्रममा रास्वपाका ५१ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा प्रदर्शनकारीहरू बालुवाटारस्थित निषेधित क्षेत्रभित्र घुस्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको ठहर गर्दै रास्वपा आन्दोलनरत छ।

राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिबिरुद्ध एवं सहकारी पीडितको ८८ अर्व फिर्तासहितको न्यायका लागि भन्दै आन्दोलन गरिएको रास्वपाले जनाएको छ ।

प्रदर्शनका क्रममा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले दुई तिहाइको सरकारले आफ्ना सभापतिलाई प्रतिशोधका आधारमा पक्राउ गरेको बताए ।

उनले हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने भएकाले तत्काल थुनामुक्त गर्न आग्रहसमेत गरे । अर्यालले अदालतले दिने आदेशलाई रास्वपाले सम्मान नै गर्ने उल्लेख गरे ।

यस्तै अर्का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताए । समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने उनले दाबी गरे ।

यसैबीच कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ । लामिछानेमाथि न्यायिक प्रक्रिया चल्दै गर्दा रास्वपाका नेता कार्यकर्ताले भने निरन्तर प्रदर्शन गर्दै सरकारको कडा आलोचना गर्दै आएका छन् । सोहीअनुसार मंगलबार बालुवाटार क्षेत्रको प्रदर्शन करिब ३ घण्टा चलेको थियो ।

तिहारका लागि स्वदेशी फूल बेच्न काठमाडौँ महानगरले तोक्यो ४६ स्थान

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरणको व्यवस्था गरेको छ।

प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको महानगरले जनाएको छ।
गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाइएको थियो । त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ । यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ ।

यी हुन् तोकिएका स्थान

१. आरती पार्टी प्यालेस, माछा पोखरी
२. बुद्ध मल, माछा पोखरी
३. बालाजु भाटभटेनी, माछा पोखरी,
४. भ्याली कोल्ड स्टोर, बालाजु
५. सामुदायिक भवन, बालाजु
६. धर्म चक्र पार्क, स्वयम्भू
७. स्वयम्भू मार्ट
८. भाटभटेनी, कलंकी
९. कलंकी ट्र्रेड सेन्टर, कलंकी
१०. एस। एन। एस।, कलंकी
११. एन। बि। टि। सि।, कलंकी
१२. नेपा व्याङ्क्वेट, खुशिँवु
१३. बिग मार्ट, कालधारा, पकनाजोल
१४. साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी
१५. काठमाडौँ मल, सुन्धारा
१६. सिभिल मल, सुन्धारा
१७. सिटिसि मल, सुन्धारा
१८. रञ्जना मल, नयाँ सडक
१९. विग मार्ट कम्प्लेक्स, अनामनगर
२०. एटि कम्प्लेक्स, न्यू प्लाजा
२१. भाटभटेनी, अनामनगर
२२. आइटी प्लाजा, कमलादी
२३. संकटा चोक, टेवहाल
२४. के। एल। टावर, चाबहिल
२५. वि एन्ड एसएम, बौद्ध
२६. भर्गो जापान, शंखमुल
२७. आइप्लेक्स, बानेश्वर
२८. एनबि सेन्टर, नयाँ बानेश्वर
२९. फोनिक्स टावर, बत्तीसपुतली
३०. चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान
३१. बिगमार्ट, शंखमुल
३२. बिबिएसएम, कोटेश्वर
३३. सिफल चौर, सिफल
३४. केटिएम पार्टी प्यालेस,
३५. निराकल कम्प्लेक्स, शंखमुल
३६. एसि कम्प्लेक्स, चाबहिल
३७. भाटभटेनी, कोटेश्वर
३८. भाटभटेनी, नक्साल
३९. विग मार्ग, बालुवाटार
४०. सेल्स बेरी, महाराजगञ्ज
४१. भाटभटेनी, महाराजगञ्ज
४२. कोइराला मार्ट, सामाखुशी
४३. विग मार्ट, सामाखुशी
४४. सिटी सेन्टर, कमलपोखरी
४५. ल्होत्से मल, बालाजु
४६. सासा ब्याङकेट सोह्र खुट्टे

स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न
सक्नुहुनेछ । यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ ।

यससँगै व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री विक्री वितरण नगर्न नगराउनुहुन महानगरले अनुरोध गरेको छ । महानगरले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने तथा यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्न अनुरोध गरेको छ ।

देशभर डेंगीबाट १२ को मृत्यु, २८ हजार डेंगी सङ्क्रमित

0

काठमाडौँ: देशभर डेंगीबाट हालसम्म १२ जनाको मृत्यु भएको र २८ हजार बढी सङ्क्रमित भएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ।

देशभर फैलिएको डेंगी सङ्क्रमितमध्ये सबैभन्दा बढी गण्डकीमा प्रदेशका १३ हजार ८९८ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा डेंगी सङ्क्रमित छन् । यहाँ ३ सय १९ जना डेंगी सङ्क्रमित छन् । यस्तै, कोशी प्रदेशका १ हजार ७४२ जनालाई, मधेस प्रदेशका ४८७ जनालाई डेंगी सङ्क्रमण भएको छ ।

यस्तै, बागमती प्रदेशका ९ हजार १३२ जनालाई डेंगी पुष्टि भएको छ भने, लुम्बिनीका १ हजार ४ सय ४५ जनालाई डेंगी सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, सुदूरपश्चिमका १ हजार १ सय ८९ जनालाई डेंगी सङ्क्रमण भएको छ ।

यस्तै, जिल्लागत रुपमा सबैभन्दा बढी कास्कीका ७ हजार १६१ जनालाई डेंगी सङ्क्रमण भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगी सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ ।

वीरगञ्जलाई सरसफाइसम्बन्धी सम्झौता अघि बढाउने बाटो खुल्यो

0

वीरगञ्ज (पर्सा): वीरगञ्ज महानगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत ३२ वटै वडाको सरसफाइको काम निजी क्षेत्रबाट गराउने सम्झौता कार्यान्वयनको बाटो खुलेको छ । महानगर र एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्रालीबीच भएको सम्झौता कार्यान्वयन नगर्न/नगराउन भन्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा गत असोज १५ गते रिट परेको
थियो । सम्झौताविरुद्ध परेको रिटमा अस्थायी इजलासका न्यायाधीसद्वय निर्मला शाक्य र भरत लम्सालको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश (स्टे अर्डर) जारी नहुने निर्णय गरेसँगै सरसफाइको सम्झौता अघि बढाउने बाटो खुलेको हो ।

सम्झौता कार्यान्वयन नगर्न माग गर्दै रामचन्द्रप्रसाद कानुसहितले गत असोज १५ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा रिट दायर गरेका थिए । अदालतले गत असोज १६ गते सम्झौता अहिले कार्यान्वयन नगर्नु भन्दै अदालतका न्यायाधीशको एकल इजलासबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै न्यायाधीसद्वय शाक्य र लम्सालको संयुक्त इजलाशबाट अन्तरिम आदेश जारी भएसँगै महानगरलाई सरसफाइ व्यवस्थापनका लागि गरिएको सम्झौता कार्यान्वयनमा सहज वातावरण बनेको प्रतिक्रिया दिनुभयो ।

सोमबार भएको बहसमा महानगरका तर्फबाट अधिवक्ता वीरेन्द्रप्रसाद यादव, प्रमोदप्रसाद साह, कमलमोहन पोखरेल र ईश्वर बराल तथा एनके इन्टरनेशनलका तर्पmबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाईंले बहस गर्नुभएको थियो ।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिपकराज भण्डारी, नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुधीर कर्ण र अधिवक्ता नेजामुद्दिन राउत गद्दीले बहस गर्नुभएको थियो । महानगरले एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्रालीसँग सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत वीरगञ्जका ३२ वटै वडा सरसफाइका लागि सम्झौता गरेको थियो ।