Thursday, June 18, 2026
Home Blog Page 648

गाउँलेको खान्की कोदो गन्यमान्यले खोज्न थालेपछि ग्रामीण भेगमा कोदोखेती विस्तार

0

गलेश्वर (म्याग्दी): केही वर्षअघिसम्म गाउँलेको खान्की भनेर हेपिएको कोदो हिजोआज सहरबजारका गन्यमान्यले पनि खोज्न थालेपछि जिल्लाका ग्रामीण भेगमा कोदोखेती विस्तार भएको छ ।

सहरबजारबाट कोदो खोज्दै गाडी लिएर व्यापारी गाउँगाउँमा नै आउन थालेपछि पश्चिम म्याग्दीका मालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कोदोखेती थालिएको हो । कोदो टिप्न नपाउँदै व्यापारी घरघरमा आएर अग्रिम रूपमा पेश्की दिएर जान थालेका मालिका गाउँपालिका–२ का किसान रणबहादुर शिर्पालीले बताउनुभयो ।

मालिका गाउँपालिका–६ का उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले गत वर्ष दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गरेकामा यस वर्ष साढे तीन सय मुरी कोदो उत्पादन गर्ने लक्ष्यका साथ कोदोखेती विस्तार गरेका दिच्यामका वीरबहादुर विकले बताउनुभयो । गत वर्षको भन्दा एक सय २० रोपनी बढी जग्गामा यस वर्ष कोदोखेती विस्तार गरिएको उहाँले बताउनुभयो ।

“सहरमा कोदोको माग उच्च छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यस वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर) खोजी दुई दिन लगाई कोदो रोपेँ, सात–आठ मुरी जति कोदो फल्ने अनुमान छ”, धवलागिरि गाउँपालिका–२ की शोभा पुनले भन्नुभयो ।

पोषणविज्ञहरूका अनुसार कोदोमा प्रशस्तमात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई उपयुक्त मानिन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष म्याग्दीमा कोदोको उत्पादन बढ्ने भएको छ । गत वर्षको तुलनामा शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढ्ने केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । अनुकूल मौसम, रोग कीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा कोदो उत्पादन बढ्ने उहाँले बताउनुभयो । गत वर्ष म्याग्दीमा दुई हजार दुई सय ५० मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्र खेती गरिएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

वैदेशिक रोजगारीमा दुबई पठाइदिने भन्दै ठगेको अभियोगमा दुई जना पक्राउ

0

काठमाडौँ: वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका छन् ।

अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु १९ लाख ७० हजार र पराजुलीले रु आठ लाख १७ हजार ठगेका थिए । अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन् : राष्ट्रपति पौडेल

0

काठमाडौ: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाउनुभएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको एक सय ४०औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले सामाजिक रूढीवादी परम्पराको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देश अनुशरणयोग्य रहेको बताउनुभएको छ ।

राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “फाल्गुनन्दले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ ।” सामाजिक चेतना फैलाउने महागुरु फाल्गुनन्दले धार्मिक गुरुमात्र नभई सामाजिक अभियन्ताका रूपमा समाज सुधारक भई कार्यसमेत गर्नुभएको उहाँले स्मरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउनुहुने राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि निर्वाह गरेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ ।

इरानले ट्रम्पको हत्या प्रयास गरेको खुलासा

0

काठमाडौँ । राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानी षड्यन्त्र एफबीआईले विफल पारेको खुलासा भएको छ । यो खुलासा अमेरिकी न्याय विभागले गरेको हो ।

फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) का सहयोगी फरहाद शाकेरी (५१), कार्लिस्ले रिभेरा (४९) र जोनाथन लोडहोल्ट (३६) विरुद्ध मुद्दा दायर गरेको छ ।

म्यानहट्टन संघीय अदालतमा दायर गरिएको आपराधिक उजुरीमा सेप्टेम्बरमा, इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका एक अधिकारीले भाडामा लिएका हत्यारा, फर्जाद शाकेरीलाई ट्रम्पमाथि नजर राख्न र अवसरमा उनलाई मार्न निर्देशन दिएका थिए । यसका लागि उनलाई ५ लाख डलर अफर गरिएको थियो । उजुरीमा भनिएको छ, अफिसरलाई राष्ट्रपति चुनावसम्म पर्खने र ट्रम्प चुनाव हारेमा उनलाई मार्न सजिलो हुने निर्देशन दिइएको थियो ।

रिभोलुसनरी गार्डका एक अधिकारीले सात दिनभित्र हत्या गर्न निर्देशन दिएका थिए । तर यो षड्यन्त्र पुरा हुन सकेन । यसमा एक इरानी र दुई अमेरिकी नागरिकको संलग्नता रहेको बताइएको छ । दुवै अमेरिकी नागरिकलाई न्यूयोर्कबाट पक्राउ गरिएको बताइएको छ ।

सेप्टेम्बरमा, अमेरिकी गुप्तचर अधिकारीहरूले ट्रम्पलाई मार्ने इरानी षड्यन्त्रको संदिग्ध रिपोर्ट गरेका थिए ।

ट्रम्पमाथि जुलाई १३ मा पेन्सिलभेनियाको बटलर शहरमा चुनावी र्‍यालीमा गोली हानिएको थियो, जसमा उनको कानमा गोली लागेको थियो । यस घटनाको ६४ दिन पछि, फेरी उनको फ्लोरिडामा हत्या प्रयास गरिएको थियो ।

पाकिस्तानको क्वेटा रेलवे स्टेसनमा भएको विष्फोटमा २५ जनाको मृत्यु

0

काठमाडौं । बलुचिस्तानको क्वेटाको रेलवे स्टेशनमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बलुच लिबरेशन आर्मीले यस हमलाको जिम्मेवारी लिएको छ ।

यस विस्फोटमा हालसम्म ४६ जना घाइते भएको बताइएको छ । अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन् ।

पाकिस्तानी प्रहरीका एसएसपी अपरेसन मोहम्मद बलोचले बीबीसीलाई भनेअनुसार विस्फोट हुँदा करिब १५० देखि २०० मानिस प्लेटफर्ममा जम्मा भएका थिए र रेलको प्रतीक्षा गरिरहेका थिए।

सामान्य जनतासँगै सिपाहीहरू पनि स्टेशनमा जम्मा भएको र विष्फोटमा सैनिकको पनि हताहति भएको उनले बताए ।

बलुचिस्तानका मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै भने, “यस आतंकवादी घटनाको पछाडि जिम्मेवार व्यक्तिहरूलाई उनीहरूको अन्त्यसम्म कारबाही गरिनेछ।”

ट्रम्पले जितेपछि एलन मस्ककी छोरीले अमेरिका छाड्दै, भनिन् ‘अमेरिकामा भविष्य छैन’

0

काठमाडौं: टेक अर्बपति एलोन मस्कले अमेरिकी चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई खुलेर समर्थन गरे। डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि एलन मस्कले खुसी पनि व्यक्त गरेका छन् । तर मस्ककी ट्रान्स छोरी भिभियन जेना विल्सन भने ट्रम्पको जितमा खुसी छैनन्। जेनाले आफू अब अमेरिकामा बस्न नचाहेको पनि घोषणा गरिन् ।

अमेरिकी राष्ट्रपति चुनावको नतिजा आएपछि जेना विल्सनले सामाजिक सञ्जाल साइट थ्रेड्समा एक पोस्ट सेयर गरेकी छिन् । “मैले केहि समयको लागि यो सोचें, तर यो हिजो पुष्टि भयो,” जेनाले पोस्टमा भनिन् ‘म अमेरिकामा मेरो भविष्य देख्दिन।’

जेनाले थप भनिन्, ‘उनी (ट्रम्प) चार वर्षसम्म पदमा रहे पनि एन्टी-ट्रान्स नियमहरू लागू नहुन सक्छ। तर यसका लागि स्वेच्छाले मतदान गर्ने जनता छिट्टै परिवर्तन हुने छैनन् ।

एलन मस्ककी ट्रान्स छोरी आफ्नो बुबाबाट टाढा बस्छिन्। लिंग परिवर्तनको शल्यक्रियापछि दुवैको सम्बन्धमा धेरै दरार आएको थियो । अवस्था यस्तो छ कि दुबै एक अर्कासँग बोल्न पनि चाहँदैनन् । जेना विल्सनले पनि धेरै अन्तर्वार्तामा आफ्ना बुबामाथि विभिन्न आरोप लगाएकी छिन् ।

जेना विल्सनको जन्म २००४ मा भएको थियो। जेनाको नाम जेभियर अलेक्जेन्डर मस्क थियो। एलन मस्कले सन् २००० मा उनकी आमासँग विवाह गरेका थिए उनीहरूको सन् २००८ मा सम्बन्धविच्छेद भएको थियो । जेन्ना हुर्किएपछि उनलाई एलजीबीटीक्युबारे आफ्नो बुबा एलोन मस्कको विचारसँग समस्या हुन थाल्यो।

२०१६ मा जेना विल्सनले पहिलो पटक आफ्नी काकीलाई सन्देश पठाइन् र उनी ट्रान्स भएको बताइन् । उनले यो कुरा आफ्ना पितालाई भनेकी थिइनन् । उनले आफ्नो नाम जेन्ना राखेकी थिइन् । २०२२ मा जेना विल्सनले आफ्नो लिंग परिवर्तन गरेपछि सार्वजनिक रूपमा घोषणा गरेकी थिइन् ।

उनले अब आफू आफ्नो जैविक बुवासँग कुनै पनि हिसाबले नबस्ने र उनीसँग कुनै सम्बन्ध राख्न नचाहेको बताइन् । सन् २०२२ मा नै उनले सान्ता मोनिकाको लस एन्जलस काउन्टी सुपीरियर कोर्टमा नाम परिवर्तन र आफ्नो नयाँ पहिचान देखाउने नयाँ जन्म प्रमाणपत्रका लागि निवेदन दिएकी थिइन् ।

त्यतिबेला मिडिया रिपोर्टमा प्रकाशित अदालती कागजातमा एलन मस्कका १८ वर्षीय छोरा जेभियर अलेक्ज्याण्डर मस्कले आफ्नो लिङ्ग परिवर्तन गरेको बताइएको थियो । उनी पुरुषबाट महिलामा परिणत भएका छन् । उनले आफ्नो लैङ्गिक पहिचानलाई महिलामा परिवर्तन गरी नयाँ नाम दर्ता गर्न आवेदन दिएकी छिन् । त्यसपछि उनको नाम जताततै परिवर्तन भएको छ ।

मानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित

0

विराटनगर: नेकपा एमालेले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ। पार्टीको अनुमतिबिना जापान भ्रमण गरेका अधिकारीमाथि थप अनुसन्धानको आवश्यकता रहेको भन्दै नेकपा एमाले कोशी प्रदेशले गम्भीर चासोका साथ उनलाई निलम्बन गर्ने निर्णय लिएको हो।

प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र एमालेको सांगठनिक सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका छन्। उनले अधिकारीमाथि लागेको आरोपको अन्तिम निर्णय नभएसम्म उनलाई पार्टीमा कुनै जिम्मेवारी नदिइने बताए।

बुधबार मन्त्री अधिकारीले बढ्दो आलोचना र दबाबबीच पदबाट राजीनामा दिएका थिए। उनले प्रदेश सरकार र पार्टीको स्वीकृति नलिई जापान भ्रमणमा गएपछि उनीमाथि मानव तस्करीको आरोपमा प्रहरीले अनुसन्धान गर्ने तयारी गरिरहेको थियो, जसका कारण पार्टीले निलम्बन गरेको हो।

मन्त्री अधिकारीमाथि पदको दुरुपयोग गरी गैरकानूनी रूपमा मानिसहरूलाई जापान पठाउन खोजेको आरोप छ। अधिकारीसँगै जापान पुगेका खोटाङका दावा शेर्पा, जनक राई, र रसुवाका कञ्चन देवकोटालाई जापानको अध्यागमन विभागले डिपोर्ट गरेको थियो।

पक्राउ परेकाहरूको बयानका आधारमा अनुसन्धान गर्दा, अधिकारीले मन्त्रालयको नक्कली परिचय पत्र बनाएर ती व्यक्तिहरूलाई जापान लैजाने प्रयास गरेको पुष्टि भएको छ। बरामद नक्कली कार्डहरूमा निमित्त कार्यालय प्रमुखका रूपमा मन्त्री अधिकारीकै हस्ताक्षर रहेको उल्लेख छ।

यस घटनासँग सम्बन्धित अन्य तीन व्यक्तिहरूलाई पनि मानव तस्करी अभियोगमा पक्राउ गरिएको छ, जसमा जुगल रिजाल, वीरबहादुर सुनुवार, र महेश पाण्डे रहेका छन्। प्राप्त प्रमाणका आधारमा प्रहरीले मन्त्री अधिकारीलाई आर्थिक लाभको उद्देश्यले यो योजना बनाएको ठहर गर्दै अनुसन्धानको दायरामा ल्याउन तयारी गरिरहेको छ।

एमाले कोशी प्रदेशले अधिकारीको यो कार्यलाई गम्भीर रूपमा लिएर पार्टीका सैद्धान्तिक र अनुशासनात्मक मापदण्डविपरीत भएको ठहर गरेको छ। पार्टीले अधिकारीलाई निलम्बन गर्दै घटनाको पूर्ण छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरेको छ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची-महाकाली अभियान चलाइनेछ: अध्यक्ष दाहाल

0

हेटौँडा: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीका लागि देशव्यापी मेची-महाकाली अभियान चलाउने घोषणा गरेका छन्।

मकवानपुरको थाहा नगरपालिकामा आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षका लागि स्थिर सरकार सञ्चालन हुने भएकाले अस्थिरताको समस्या समाधान हुने दाबी गरे। उनले व्यवस्था परिवर्तनको सुरुआती दिनदेखि नै यो मुद्दा उठाउँदै आएको पनि स्मरण गराए।

उनले आफ्नो पहिलो कार्यकालमा ३० हजारसम्मको कर्जा मिनाहा गरी जनतालाई राहत दिएको र दोस्रो कार्यकालमा उज्यालो नेपाल अवधारणा अनुसार विद्युत्भार कटौती हटाएको जानकारी गराए। उनले भने, “मैले पहिलोपटक प्रधानमन्त्री हुँदा ऋण मिनाह गरें, पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्गको काम अघि बढाएँ। म अझै थाकेको छैन र थप परिवर्तन ल्याउने प्रयास जारी राख्नेछु।”

अध्यक्ष दाहालले मकवानपुर र थाहा नगरका विकास योजनाहरूलाई माओवादीकै पहलमा प्रभावकारी रूपमा अघि बढाइने आश्वासन दिए। उनले थानकोन-चित्लाङ-चन्द्रागिरी सडकलाई गणेशमान राजमार्गमा स्तरोन्नति गरेर कालोपत्रे गर्ने र फोदगाउँ वस्ती बचाउ कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

माओवादी केन्द्रको पहल र बागमती सरकारको लगानीमा कबर्ड हल निर्माणको अन्तिम चरणमा रहेको र शीतभण्डार स्थानीय सरकारको विशेष पहलमा निर्माण गरिएको जानकारी उनले दिए। दामगाडे-महादेववेशी सडक ९८ करोडको लगानीमा निर्माण भइरहेको, एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत कञ्छाल-कलेचानी सडकमा १० करोडको प्याकेजमा काम भइरहेको तथा मदन भण्डारी विज्ञापन तथा प्रविधि विश्वविद्यालय थाहाको चित्लाङमा स्थापना गरिएको अध्यक्ष प्रचण्डले बताए।

आज गणेशमान सिंहको ११०औँ जन्मजयन्ती मनाइँदै

0

काठमाडौँ: प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो ।

सर्वोच्च नेता सिंहसँग नजिक भएर काम गर्नुभएका वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत १९९७ सालमा प्रजातन्त्रका लागि घरपरिवार त्यागेर उहाँले राजनीति सुरु गर्नुभएको स्मरण गर्नुहुन्छ । त्यागबाट राजनीतिक जीवन सुरु गर्नुभएका सिंहले १९९७ सालदेखि २०४६ सालसम्म आन्दोलन गरेर प्रजातन्त्रका लागि योगदान गर्नुभएको उहाँ बताउनुहुन्छ । यो समयमा नियतिले नै उहाँलाई निमित्त बनाएको उहाँ बताउनुहुन्छ ।

सिंहले २०४६ सालमा आफूलाई सर्वमान्य नेताका रुपमा स्थापित गर्न सफल हुनुभयो । गणेशमानको छवि त्यसबेला सर्वमान्यका लागि पुँजी बनेको थियो । गणेशमानले विश्वासघात गर्दैनन् भन्नेमा कांग्रेसका मात्र नभई कम्युनिष्ट पार्टीमा विश्वास थियो । त्यो बेला एउटा कम्युनिष्ट दलले अर्को कम्युनिष्ट दललाई पनि विश्वास गर्दै सुरु गर्ने जिम्मेवारी दिइएको छ ।

गणेशमान जयन्तीका अवसरमा फाउन्डेसनले जिल्ला जिल्लामा कार्यक्रम गर्न लागेको जनाइएको छ । यस अवसरमा आज भक्तपुरको कटुञ्जेस्थित गणेशमान सिंह वाटिकामा मानवअधिवारवादी नेता प्रा कपिल श्रेष्ठलाई विशेष सम्मान गर्न लागिएको छ । शोभाभगवतीस्थित गणेशमान सिंहको प्रतिमामा माल्र्यापणसहित विशेष कार्यक्रम गर्न लागिएको हो ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मनुभएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनुभएको थियो ।

राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँलगायत नेतालाई तत्कालीन सरकारले जेल
हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित
गर्नुभयो । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारु नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गर्नुभयो । देशमा प्रजातन्त्र बहाली र पुनःबहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो ।

विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र खोसिएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उहाँले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध सक्रिय रहनुभयो ।

तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभयो । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारु व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बन्नुभएको हो ।

नेता सिंहलाई २०१७ साल पुस १ गतेको कूपछि २०२५ सालसम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो ।

विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रुपान्तरण गरिएको थियो । गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ । यस अवसरमा गणेशमान सिंह प्रतिष्ठानले रत्नपार्कस्थित शान्तिवाटिकामा कार्यक्रम गर्ने जनाइएको छ ।