Saturday, June 20, 2026
Home Blog Page 626

आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको सामान्य तथा बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर मौसम सफा रहेको बताएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले ती स्थानमा पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

जासुसी गरेको भन्दै चीनमा पत्रकारलाई ७ बर्षको जेल सजाय

0

बेइजिङ: चीनको एक अदालतले बरिष्ठ पत्रकार डोङ युयुलाई जासुसीको आरोपमा सात वर्षको जेल सजाय सुनाएको छ। उनको परिवारले यसबारे जानकारी दिँदै जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भिर अन्याय हो।’

शुक्रबारको आफ्नो फैसलामा कम्युनिष्ट पार्टीको बेइजिङ नम्बर २ मध्यवर्ती जन अदालतले गुआङ्मिङ डेलीका ६२ वर्षीय पूर्व सम्पादकलाई वरिष्ठ जापानी कूटनीतिज्ञहरूसँगको भेटेकै आधारमा दोषी ठहर गरेको उनको परिवारले जनाएको छ।

फैसला अनुसार तत्कालीन राजदूत हिदेओ तारुमी र वर्तमान सांघाईमा रहेका मुख्य कूटनीतिज्ञ मासारु ओकाडा लगायत जापानी कूटनीतिज्ञ डोङले भेटेका थिए, जसलाई ‘जासुसी संगठन’को एजेन्टको नाम दिइएको थियो।

प्रहरीले शुक्रबार अदालतको सुरक्षामा ७ प्रहरी कारहरू नजिकै पार्क गरेर बसेका पत्रकारहरूलाई क्षेत्र छाड्न आग्रह गरेको थियो। ‘कुनै प्रमाणले विश्वलाई चीनको न्याय प्रणालीको दिवालियापन घोषणा गर्दैन् भन्ने आधारमा सजाय सुनाइएको छ,’ परिवारको विज्ञप्तिमा भनिएको छ।

पेकिङ युनिभर्सिटी ल स्कूलबाट स्नातक गरेपछि डोङ सन् १९८७ मा गुआङ्मिङ डेलीमा सामेल भएका थिए र त्यसको कमेन्टरी खण्डको उपसम्पादकको जिम्मेवारीमा थिए। उनका लेखहरूले राष्ट्रपति सी जिनपिङको प्रत्यक्ष आलोचना नगरे पनि मध्यम सुधारको वकालत गर्दै आएका थिए।

टिकटकर गिभिनाको आमाको ट्रकको ठक्करबाट निधन, आमाको निधनबाट विक्षिप्त छोराले गरे आत्महत्या

0
सांकेतिक तस्बिर AI

पोखरा(कास्की): चर्चित टिकटकर गिभिना मगर दोहोरो शोकमा परेकी छन्। उनकी आमा ५५ वर्षीया धनकुमारी बुढाको ट्रकले ठक्कर दिएर मृत्यु भएको हो ।
पोखराको याम्दीमा ग २ ख १४६० नम्बरको ट्रकले ठक्करबाट गम्भीर घाइते उनको मणिपाल शिक्षण अस्पताल पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । बाटो काट्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।

आमाको निधनपछि विक्षिप्त बनेका २६ वर्षीया छोरा (गिभिनाका भाइ) रामकुमार बुढाले आत्महत्या गरेका हुन् ।

आमालाई अस्पताल लगेपछि रामकुमारलाई सम्पर्क गर्दा फोन नउठेको र खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेका पोखरा २५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले जानकारी दिए ।

‘दुर्घटना भएपछि सबैलाई सम्हालेर सुत्न पठाएका रहेछन् । अरू गएपछि सुसाइड गरेका रहेछन्,’ उनले भने, ‘एकपछि अर्को घटना भयो । पीडादायी अवस्था बन्यो ।’

गिभिना आर्थिक सहयोग जुटाएर असहाय र विपन्नलाई सहयोग गर्दै आएकी थिइन् । पूर्वी रुकुम घर भएका गिभिनाको परिवार अहिले पोखरा २५ याम्दीमा बस्दै आएका थिए ।

एनपीएल क्रिकेट: उद्घाटन खेलमा जनकपुरद्वारा विराटनगर ८ विकेटले पराजित

0

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ। विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

जनकपुरका लागि मिलन्थाले अविजित ७५ रन जोड्दै ठूलो योगदान पुर्‍याएका छन्। अलराउन्डर हर्ष थाकेरले २९ रन बनाउँदा कप्तान अनिलकुमार साहले ५ रन बनाए।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो। विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए। अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।

विराटनगरलाई सस्तोमा समेट्न बलिङमा जनकपुरका ललित राजवंशीले सर्वाधिक ३ विकेट लिएका। हर्ष थक्कर र किशोर महतोले दुईदुईर मोहमद मोहसिन र माइकले एक-एक विकेट लिएका छन्।

चीन भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको बिफ्रिङ

0

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न चीन भ्रमणबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।

राष्ट्रपतिको कार्याल शितल निवास पुगेर प्रधानमन्त्री ओलीले सोमवारबाट सुरु हुने आफ्नो चीन भ्रमणका बारेमा जानकारी गराएका हुन्।

भेटमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका अतिरिक्त विविध विषयमा छलफल गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि भ्रमणको पूर्वसन्ध्यामा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काङ्ग्रेसका शीर्ष दल र संयन्त्रस्तरमा विभिन्न चरणमा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआई) लगायत दुई मुलुकका सहयोग र सहकार्यका सम्भावित विषयमा घनीभूत छलफल भएको थियो।

चीन भ्रमणमा केन्द्रित रहेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरुबीच छलफल भएको हो। आजै प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुसँँग पनि विमर्श भएको छ। त्यस क्रममा प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने भ्रमणको मूल उद्देश्य भएकाले त्यसलाई पूरा गर्न सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिए।

“हाम्रो चीन भ्रमण सफल हुनेछ। हामी त्यसकै निम्ति भगीरथ प्रयास गर्छाैं”, प्रधानमन्त्री ओलीले भने, “राष्ट्रको गरिमा बढाउन र दुई देशबीचको मैत्रिपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेमा हाम्रो ध्यान केन्द्रित हुनेछ।”

परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम र उक्त मन्त्रालयका प्रवक्ता एवं उत्तरपूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालले क्रमशः दुई पक्षीय सम्बन्धका समग्र पक्षका साथै कूटनीतिक व्यवहार, शिष्टाचार एवं समारोह र बिआरआई फ्रेमवर्क’ बारे जानकारी दिएका थिए।

प्रवक्ता ढकालले सम्पर्क सञ्जाल विस्तार, लगानी, व्यापार, पर्यटन, कृषि र पूर्वाधार विकासलगायत क्षेत्रमा सहयोग र सहकार्यका विषयमा चिनियाँ पक्षसँग घनीभूत छलफल हुने बताए।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारीका क्रममा यही मङ्सिर १० गते पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका थिए। यही मङ्सिर १३ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चीन भ्रमण र त्यसमा सम्मिलित प्रतिनिधमण्डल स्वीकृत गरेको हो।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा शिष्टाचार भेट गर्ने कार्यक्रम छभने आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्।

प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीले पनि भेटर्वाता गर्ने कार्यक्रम छ। उनले पेकिङ विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छभने बेइजिङस्थित नेपाली राजदूतावास चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ।

जापानमा ‘नेपाल फेस्टिभल’

0

काठमाडौँ: ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ आजदेखि जापानमा १४ औँ ‘नेपाल फेस्टिभल’ सुरु भएको छ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापान, जापानका लागि नेपाली राजदूतावास, र नेपाल आदिवासी जनजाति महासङ्घ जापानको संयुक्त आयोजनामा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा सञ्चालन भइरहेको यो महोत्सव भोलिसम्म जारी रहनेछ। महोत्सवले नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीपनको अनुभूति गराउन मद्दत पुर्‍याउने बताइएको छ।

यो फेस्टिभल जापानमा नेपाल र नेपालीको पहिचान झल्काउने ‘नेपाली हाउस’ नामक बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सहयोग जुटाउन आयोजित गरिएको हो। एनआरएनए जापानका अनुसार महोत्सवमा आर्थिक सङ्कलन अभियान, स्टल बुकिङ, स्वयंसेवक टिमको सक्रियता र विभिन्न वेशभूषा, मौलिक कला-संस्कृति तथा नेपाली प्रतिभा प्रदर्शन हुनेछन्। फेस्टिभल मूल आयोजक समितिका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले यसबारे जानकारी दिनुभएको छ।

एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले धार्मिक र सामाजिक सद्भावसहितको नेपाल हाउस निर्माण गर्ने मुख्य योजनाका साथ यस वर्षको नेपाल फेस्टिभल आयोजना गरिएको बताए। महोत्सवमा नेपाली खानाका साथै अन्य व्यापारिक प्रयोजनका ४० वटा स्टल राखिएका छन्।

महोत्सवमा नेपाली मौलिक कला-संस्कृति, सामाजिक रीतिरिवाज, पर्यटकीय स्थल लगायतका विषयवस्तु समेटिएका वृत्तचित्र र फोटो प्रदर्शनीसमेत गरिने एनआरएनए जापानका प्रवक्ता खगराज गौतमले जानकारी दिनुभयो। एनआरएनए जापानले सन् २०१२ देखि जापानमा यस्ता महोत्सवहरूको आयोजना गर्दै आइरहेको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार यूरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनलगायतको मूल्य बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २१ र बिक्रीदर एक सय ७१ रुपैयाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ९९ पैसा र बिक्रीदर नौ रुपैयाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ९६ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ ३५ पैसा र बिक्री दर तीन सय ५१ रुपैयाँ ९१ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने

0

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ ।

प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने छ ।

ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो । ती स्थानमा लाइन काटिँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

बगरफाँट–भकिम्ली सडक : ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति

0

म्याग्दी (बेनी): म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ । विसं २०६४ मा कृषि सडकका रुपमा बेनीबजारदेखि बेनी नगरपालिका–२ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्याक’ खुलेको थियो ।

ट्याक खुलेको करिब १७ वर्षपछि बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । बगरफाँटदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर बढी सडकलाई फराकिलो बनाउने, नाली निर्माण गरी ग्राभेलसहित स्तरोन्नति गर्न थालिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । हाँडेभिरबाट बगरफाँटको बुद्ध एकेडेमीसम्मको सडक गत वर्ष नै कालोपत्र भइसकेको छ ।

गत वर्ष गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत बहुवर्षीय योजनाको रुपमा छनोट भएको यस योजनामा पूर्वाधार विकास कार्यालयले रु पाँच करोड ५९ लाखमा सडक स्तरोन्नतिको लागि माछापुच्छे« हिमालयन जेभीसँग ठेक्का सम्झौता भएको थियो । यस सडक स्तरोन्नतिको लागि रु १० करोड लागत अनुमान गरी ठेक्का प्रतिस्पर्धामार्फत योजनालाई कार्यान्वयन गराइएको हो ।

यस योजनाबाट बगरफाँदेखि दूधेखोलासम्मको करिब साढे दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ग्राभेलसहित स्तरोन्नति गरिने र दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको विभिन्न खण्डमा ३९० मिटर सडक ढलान गरेर स्तरोन्नति गरिने पूर्वाधार विकास कार्यालय म्याग्दीका इञ्जिनियर सञ्जय सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार, चालु आवमा प्रदेश सरकारबाट यस योजनाको लागि रु एक करोड ६० लाख मात्रै बजेट प्राप्त भएको छ । “निर्माण व्यवसायी कार्य क्षेत्रमा परिचालन भइसकेको छ, धमाधम सडक स्तरोन्नति गरे अहिले आएको बजेटले निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसक्ने अवस्था छ, हामीले थप बजेटका लागि लेखेर पठाइसकेका छौँ”, उहाँले भन्नुभयो । गत जेठमा ठेक्का सम्झौता भएको यस योजनाको निर्माण अवधि १८ महिना मात्रै रहेको छ ।

करिब दुई महिनादेखि कार्यक्षेत्रमा परिचालन भएका निर्माण व्यवसायीले सडक फराकिलो बनाउने, मेसिनरी पर्खाल र ग्याविन जाली लगाउने कामलाई तीव्रता दिएका छन् । अहिलेसम्म करिब १० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रतिनिधि निरोज भण्डारीले बताउनुभयो । अहिले कार्यक्षेत्रमा ५० जना बढी मजदुरसँगै आवश्यक मात्रामा निर्माण सामग्री र मेसिन उपकरण परिचालन गरेको र निर्माण कार्यलाई द्रुत गतिमा निर्धारित समयअगावै निर्माण कार्यलाई सम्पन्न गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिनुभयो । मुख्य बस्तीमा सडक विस्तारको क्रममा देखिएको जग्गा विवाद स्थानीयले सहमतिमै टुङ्गो लगाएसँगै निर्माण व्यवसायीले पहिलो चरणमा सडक फराकिलो बनाउने कामलाई जोड दिएका छन् । सडकको मार्ग खुलेको करिब दुई दशकपछि स्तरोन्नति हुन लागेको सडक योजनालाई गुणस्तरीय बनाउन र स्थानीयस्तरमा सहजीकरण गर्न स्थानीयवासीले सहजीकरण समिति गठन गरेर नियमित अनुगमन गर्न थालेका छन् ।

सहजीकरण समितिका संयोजक चन्द्रबहादुर घिमिरेले सडक विस्तारको क्रममा देखिएको जग्गासम्बन्धी विवाद समाधान गरिएको र निर्माण व्यवसायीले गर्ने काममा निगरानी बढाइएको बताउनुभयो । “जिल्ला सदरमुकामसँग जोडिएको सडक ओझेलमा परेको थियो, अहिले स्तरोन्नतिको लागि बजेट आएको छ, हामीले यो योजनालाई सफल बनाउँदै कालोपत्रे नै गर्नका लागि थप बजेटको लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

हाँडेभिरदेखि बगरफाँट–दूधेखोला–हल्लेगौडा, मुसुङडोले हुँदै बागलुङको ताराखोला जोड्ने यो सडकमार्गअन्तर्गत दूधेखोलादेखि बास्कुना–थामडाँडा–अर्जेखोला हुँदै मङ्गला गाउँपालिकाको वडा नम्बर ३ र ४ बरङ्जालाई समेत यो सडकले जोडेको छ । गण्डकी प्रदेश सरकारले चालु आवमा पठाएको बजेट योजनाको लागि पर्याप्त नभएकाले थप बजेट व्यवस्थापनको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी

0

काठमाडौँ: नेपालमा पहिलो पटक आयोजना भएको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सुरु हुन केही घण्टा मात्र बाँकी छ । विश्वव्यापी रुपमा चर्चा बटुलेको एनपिएलको आयोजना हुँदै गर्दा निश्चय पनि नेपाली क्रिकेटका पहिलो र दोस्रो पुस्ताका खेलाडी र क्रिकेट व्यवस्थापकहरुले खुसी मान्दै सन्तोषको श्वास लिएको हुनुपर्छ । नेपाली क्रिकेटका सम्बन्धमा उनीहरुले देखेको सपना एनपिएल मार्फत पूरा हुने देखिएको छ । यसको महत्व खेलमा मात्र सीमित छैन बरु नेपाली पर्यटन, नेपाली समाज र समग्रमा नेपाली अर्थतन्त्रका बारेमा विश्वले नया ढङ्गले सोच्न बाध्यात्मक अवस्थाको समेत निर्माण गरेको छ । यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गर्नुभएको उद्गार महत्त्वपूर्ण छन् ।

प्रधानमन्त्री ओलीले ट्रफी सार्वजनिक गर्दै एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्ने धारणा राख्नुभएको थियो । एनपिएलबाट लुकेर बसेका युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभएको थियो । एनपिएल क्रिकेटको मात्र नभएर नेपाली खेलकुदको कोशेढुङ्गा बन्ने उहाँको बुझाइ छ । यसले नेपाली खेलाडीका लागी व्यावसायिक ढोका समेत खोलेको छ ।

सरकारले एनपिएललाई सक्दो सहयोग र प्रोत्साहन गर्ने घोषणा गरेको छ । यसबाट के बुझिन्छ भने राज्यले नेपाली खेलकुदलाई विगतमा जे जसरी लिएको थियो त्यसमा परिवर्तन आएको छ । अर्थात् अब नेपाली खेलकुदलाई सरकारको पूर्ण समर्थन र साथ रहने देखिन्छ । सरकार खेलाडीको साथमा छ । र उनीहरुसँगै होस्टेमा हैँसे गर्न चाहन्छ । सरकारको साथ पाउने कुराले क्रिकेट खेलाडी र यसका लगानीकर्ता हौसिएका छन् । एनपिएलमा साझेदार रहेका सरकारी तथा नीजि क्षेत्र उत्साहित छन् । एनपिएलमा नीजि क्षेत्रले गच्छेअनुसारको साथ दिएको छ । अगामी दिनमा पनि उनीहरु क्रिकेटलाई मात्र होइन् समग्र नेपाली खेलकुदको विकासमा मद्दत गर्न तयार छन् ।

क्रिकेट अबको पुस्ताको सपना र गौरवको विषय हो । एनपिएलका माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थपिएको छ । एनपिएलले नेपाली खेलाडीका लागि व्यावसायिक ढोका खोलेको छ । हिजोसम्म खेलाडीले घरको लगानीमा खेल्दै आएका थिए । पारिश्रमिक पाउने त टाढाको कुरा उनीहरुलाई खेल सामग्रीको अभावले पनि सधैँ पिरोल्ने गरेको थियो । क्रिकेट खेल्न ब्याट अभाव हुँदा उनीहरु गाउँघरमा दाउराको ब्याट बनाएर खेल्ने गर्दथे । बल किन्ने पैसो नहुँदा मोजाको डल्लो बनाएर खेलेको इतिहास हाम्रै अघिल्तिर छ । क्रिकेटको पहिलो र दोस्रो पुस्ता यो अवस्थासँग परिचित छ । हिजोको अवस्थामा अहिले निकै परिवर्तन आएको छ । एनपिएलले नेपालको क्रिकेट खेलाडीका आर्थिक अवस्थामा सुधार ल्याउने पक्कापक्की छ । सुरुआतमै एनपिएलमा सहभागी खेलाडीले राम्रो पारिश्रमिक पाउनुले पनि यो कुराले पुष्टि गर्दछ । प्रत्येक टोलीका मार्की खेलाडीले एक पटकका लागि रु २० लाख पाउने भएका छन् । तीन वर्षका लागि उनीहरुले रु ६० लाख पाउने निश्चित भएको छ । एनपिएलले खेलाडीका लागि विदेशमा बढीभन्दा बढी पारिश्रमिकमा विदेशी लिग खेल्ने वातावरण बनाउने अवसर मिल्ने छ । एनपिएलको प्रदर्शनबाट नेपाली क्रिकेट खेलाडीलाई विदेशी लिग खेल्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

एनपिएल नेपालको क्रिकेटलाई विश्वमा चिनाउने माध्यम बनेको छ । यसले नाम मात्रका लागि होइन साँच्चिकै विश्वको ध्यान तान्ने छ । एनपिएलका कारण नेपालको खेल पर्यटनलाई मद्दत पुग्ने छ । सारा विश्वले नेपालको क्रिकेटबारे जान्ने बुझ्ने अवसर प्रदान प्राप्त गर्नेछन् । एनपिएलको सफल आयोजनाले नेपाली भूमि अरु देशका झैँ ठुल्ठुला लिग तथा प्रतियोगिता खेल्ने भूमि बन्ने छ । अरु देशले पनि नेपालमा प्रतियोगिता आयोजना गराउन सक्नेछन् ।

एनपिएलको ट्रफीमा सगरमाथा आधारशिविर कालापत्थरबाट ल्याइएको ढुंगा राखिएको छ । पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट उक्त ढुंगा ल्याउनुभएको हो । प्राकृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउन ट्रफीमा उक्त ढुंगा राखिएको आयोजकको भनाइ छ । निश्चितरुपमा ट्रफीका माध्यमबाट पनि यसको विश्वभर सकारात्मक सन्देश जाने छ । सारा विश्व जलवायु परिवर्तनको चपेटामा छ । यसबाट नेपाल झन् धेरै प्रभावित बनेको छ । सगरमाथा आधारशिविरको ढुंगा एनपिएलको ट्रफीमा राखिनुले अझ खास महत्त्व राख्ने छ । यसले खेलका माध्यमबाट जलवायु परिवर्तनबाट परेको असरबारे नेपाल कति चिन्तित र संवेदनशील छ भन्ने सन्देश दिन पुगको छ । यसले हिउँ पग्लिएर काला चट्टान हुँदै गरेको अवस्थालाई विश्वसामु उजागर गर्ने छ ।

एनपिएलले विदेशी खेलाडीसितको सम्बन्ध बढाएको छ । उनीहरुसित यहाँका खेलाडी राम्रोसँग घुलमिल गर्न पाउने छन् । एकसाथ खेल्दा विश्वमै चिनिएका ती खेलाडीको खेल नजिकबाट नियाल्ने र बुझ्ने मौका मिल्ने छ । यसपटक एनपिएलले सारा विश्वको ध्यान आकर्षित गरेको छ । एनपिएलमा विश्वभरबाट आएका ४० विदेशी खेलाडीको सहभागिता अझ विशेष बनेको छ । यसबाट नेपालको क्रिकेटबारे विश्वभर सकारात्मक सन्देश गएको छ । एनपिएलमा सहभागी आठवटै क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान)ले पहिलो संस्करणका लागि एउटा टोलीले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनाएको छ ।

एनपिएलले विश्वका अरु देशका ठूला ठूला लिग प्रतियोगिता खेल्ने अवसर सृजना गर्ने छ । एनपिएलमा गरेको प्रदर्शनकै कारण नेपाली खेलाडी विदेशका चल्तिका लिगमा स्थान बनाउन सक्ने अवस्था देखिएको छ । आइपिएलपछिको दोस्रो ठूलो लिगका रुपमा एनपिएललाई हेरिएको छ । त्यसैले विश्वको ध्यान यतातर्फ गएको छ ।

सरकारी तथा नीजि क्षेत्रले पहिलोपटक नेपाली खेलकुदमा यतिधेरै लगानी गरेको छ । राज्यले नेपालको खेलकुदमा पर्याप्त लगानी गर्न सकेको छैन । एनपिएलका माध्यमबाट सरकारी तथा नीजि क्षेत्रको यतिधेरै ध्यान पहिलो पटक गएको छ । खासमा क्रिकेट खेलाडी मात्र होइन, सारा नेपाली खेलाडी घरको लगानीको भरमा खेलमा समर्पित भएको अवस्था छ । घरपरिवारको साथले मात्र उनीहरु विश्वसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यसका लागि उनीहरुलाई सरकारी तथा नीजि क्षेत्रको पर्याप्त साथको आवश्यकता छ । खेलकुद स्वयम् खेलाडी र उनीहरुका अभिभावकका भरमा छाड्ने हो भने केवल सहभागितामा मात्र सीमित बन्ने छ ।

केही वर्षअघिसम्म नेपालका खेलकुद प्रतियोगिता प्रत्यक्षरुपमा हेर्न असम्भव जस्तै थियो । यसका लागि प्रतियोगिता स्थल सम्मै पुग्नुबाहेक अन्य विकल्प थिएन । नेपाली खेलकुदका समर्थक तथा प्रशंसकले विश्वको जुनसुकै कुनाबाट पनि एनपिएल प्रत्यक्षरुपमा हेर्न सक्नेछन् । चर्चित स्पोर्टस् टेलिभिजन ‘स्टार स्पोर्टस्’ले प्रतियोगिताका सबै ३२ खेलको प्रत्यक्ष प्रसारण गर्दैछ । नेपालमा पहिलोपटक आजदेखि सुरु हुनगइरहेको नेपाल प्रिमियर लिग भारतीय घरेलु क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) कै ढाँचामा सुरु हुन लागेको छ । एनपिएल नेपाली क्रिकेटका लागि चुनौती र अवसर दुवै हो । नेपालमा विगतमा पनि एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग, पोखरा प्रिमियर लिग, नेपाल टी २० लिगलगायतका फ्रेन्चाइज प्रतियोगिता आयोजना गरिएका थिए । तर पहिलो संस्करणको एनपिएलभने हालसम्मकै ठूलो प्रतियोगिता हो । खेलाडीहरूका लागि एनपिएलले विशेष महत्त्व राखेको छ । खेलाडी आर्थिक रुपमा पनि बलिया भएका छन् । उनीहरु कम्तीमा रु दुई लाखदेखि बढीमा रु २० लाखसम्ममा अनुबन्धित भएका छन् ।

फ्रेन्चाइज टोलीले रु सात करोडदेखि रु नौ करोडसम्म खर्च गरेका छन् । टोलीका मालिकहरूले यसलाई नेपाली क्रिकेट विकासको सुरुआती लगानीका रूपमा लिएका छन् । उनीहरुले आगामी दिनमा समेत लगानीलाई निरन्तरता दिने सोच बनाएका छन् । क्यानले यसपटकको एनपिएललाई लगानी वर्षको रूपमा लिएको छ । एनपिएलका माध्यमबाट कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नति भएको छ । डिजिटल स्कोर बोर्ड निर्माण गरिएको छ । दर्शकका लागि अस्थायी प्याराफिटको व्यवस्था गरिएको छ ।

विदेशी खेलाडी अनुबन्धले एनपिएललाई अझ खास बनाएको छ । उनीहरुको सहभागिताले नेपाली क्रिकेटको विकासमा थप मद्दत पुगेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने जस्तै एनपिएलले ठूलो उचाइ लिने विश्वास गरिएको छ । एसोसिएट देशमा गरिएको यो लिगलाई विश्वभर विशेष रुपमा हेरिएको छ । केही एसोसिएट देशले यस्ता लिगहरु आयोजना गर्दै आए पनि सफल हुन सकिरहेका छैनन् । यस्तोमा नेपालको एनपिएल पनि चुनौतीपूर्ण बनेको छ । एनपिएलले आगामी दिनमा गति लिनेमा क्यान अध्यक्ष चन्द विश्वस्त हुनुहुन्छ । एनपिएलमा सबै प्रदेशको प्रतिनिधित्वले अझ धेरै महत्व राखेको छ ।

एनपिएललाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गरेको छ । नेपाली क्रिकेटको सबैभन्दा ठूलो ‘इभेन्ट’का लागि क्यानले सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको हो । क्यान र सिद्धार्थ बैंकबीच पाँच वर्षका लागि सम्झौता भएको छ । सम्झौताअनुरुप एनपिएलका लागि यस वर्ष उसले रु २० करोड प्रायोजन गरेको छ । यो नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रायोजन सम्झौता हो । सिद्धार्थ बैंकको प्रायोजनपछि अरु नीजि क्षेत्रको पनि क्रिकेटतर्फ ध्यान गएको छ । क्रिकेटले पाएको सहयोग विस्तारै अन्य खेलले पनि पाउने सम्भावना बढेर गएको छ । यो नेपाली खेलकुदका लागि सबैभन्दा सुखद पक्ष हो । यसबाट नेपालका खेलाडी, प्रशिक्षक, विभिन्न खेलसँग आवद्ध संघसंस्था र खेलप्रेमी उत्साहित भएका छन् ।