Saturday, June 20, 2026
Home Blog Page 624

प्रधानमन्त्री ओली र उहाँका चिनियाँ समकक्षीबीच आज भेटवार्ता

0

काठमाडौँ: चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । साथै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आजै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ ।

चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’सहित प्रधानमन्त्री ओलीलाई चिनियाँ नेतृत्वले ग्रेट हल अफ द पिपुलमा स्वागत गर्नेछ । परराष्ट्र मन्त्रालयका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीबिच आज नै द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि दुई देशबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ चीन भ्रमणमा जानु भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नुहुनेछ । त्यस्तै उहाँले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सबै कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कनेछ । चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार उहाँ बेइजिङ पुग्नुभएको हो । उहाँलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीलगायत हुनुहुन्छ ।

ताइवानलाई हतियार बेच्ने अमेरिकाको निर्णयप्रति चीनको कडा प्रतिक्रिया

0

काठमाडौं: अमेरिकी रक्षा विभागले ताइवानलाई ३८५ मिलियन अमेरिकी डलर बराबरको हतियार बेच्न स्वीकृति दिएको जानकारी दिएको छ । यस बिक्रीको एक भागको रूपमा अमेरिकाले ताइवानलाई एफ-१६ लडाकु विमान पनि बेच्नेछ।

अमेरिकी विदेश मन्त्रालयले नोभेम्बर ३० मा ताइवानलाई अमेरिकी हतियार बेच्न स्वीकृति दिएको हो । यस सम्बन्धमा चीनको विदेश मन्त्रालयले पनि आफ्नो प्रतिक्रिया जनाएको छ ।

चीनको विदेश मन्त्रालयले ताइवानलाई अमेरिकी हतियार बिक्रीले ‘एक चीन नीति’का साथै चीनको सार्वभौमसत्ता र सुरक्षा हितको गम्भीर उल्लंघन गरेको बताएको छ।

चीनले यो हतियार बिक्रीलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको पनि बताएको छ ।

चीनले ‘ताइवान स्वतन्त्रता’ को धारणाले पृथकतावादी शक्तिहरूलाई गलत सन्देश दिन सक्ने बताएको छ। साथै, यो चीन र अमेरिका बीचको ताइवान जलडमरूमा शान्ति र स्थिरताका लागि पनि खतरनाक छ।

चीनका अनुसार, ” ताइवानलाई हतियार बेच्ने निर्णयले ताइवानको स्वतन्त्रतालाई समर्थन नगर्ने अमेरिकी नेताहरूको प्रतिबद्धतालाई पनि खण्डन गर्दछ। चीनले अमेरिकाको यो कदमको निन्दा गर्दछ र कडा विरोध प्रकट गर्दछ।”

चिनियाँ विदेश मन्त्रालयले भनेको छ, “हामी अमेरिकालाई ताइवानलाई हतियार उपलब्ध गराउन तुरुन्तै बन्द गर्न अपील गर्दछौं। चीनले राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको दृढताका साथ रक्षा गर्न कडा र प्रतिकारात्मक कदम चाल्नेछ।”

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी रक्षा मुख्यालय पेन्टागनको डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले बिक्रीको बारेमा भनेको छ – यसमा ३२० मिलियन डलरको स्पेयर पार्ट्स र एफ–१६ लडाकु विमानको सम्झौता पनि समावेश छ।

रोयटर्सका अनुसार पेन्टागनले राज्य विभागले ताइवानलाई अनुमानित ६५ मिलियन डलरमा मोबाइल ग्राहक उपकरणहरू बिक्री गर्न पनि स्वीकृति दिएको छ।

यस बिक्रीको बारेमा ताइवानको रक्षा मन्त्रालयले भन्यो, “हामी आशा गर्छौं कि यो बिक्री एक महिना भित्र प्रभावकारी हुनेछ। ताइवान र संयुक्त राज्य अमेरिकाले आफ्नो सुरक्षा साझेदारीलाई सुदृढ गर्न जारी राख्नेछ।”

डोनाल्ड ट्रम्पले अर्का सम्धीलाई अरब र मध्य पूर्व मामिलामा राष्ट्रपतिको सल्लाहकार बनाए

0

काठमाडौं: नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अरब र मध्य पूर्व मामिलाका लागि राष्ट्रपतिको वरिष्ठ सल्लाहकार पदका लागि मसाद बुलोसलाई चयन गरेका छन् ।

डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा यस पोस्टका लागि बुलोसलाई चयन गर्ने जानकारी दिएका छन्।

लेबनानी मूलका अमेरिकी नागरिक मसाद बुलोस ट्रम्पकी छोरी टिफानी ट्रम्पका पति माइकलका पिता हुन्। ट्रम्पको चुनावी अभियानमा उनले अरब अमेरिकी र मुस्लिम नेताहरूसँग बारम्बार भेट गरे।

ट्रम्पले बुलोसको बारेमा लेखे, “उनी एक सक्षम वकिल र व्यवसायी पनि हुन्। उनी लामो समयदेखि रिपब्लिकन मूल्यमान्यताका समर्थक हुन्। उनले अरब अमेरिकी समुदायसँग ठूलो नयाँ सम्बन्ध निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन्।”

समाचार एजेन्सी रोयटर्सका अनुसार मसाद बुलोसका लेबनान र अमेरिका दुबैमा बलियो जराहरू छन्। मसादका बुबा र हजुरबुबा लेबनानी राजनीतिमा सक्रिय थिए।

यसअघि डोनाल्ड ट्रम्पले चार्ल्स कुशनरलाई फ्रान्सको राजदूतमा नियुक्त गरेका थिए । चार्ल्स कुशनर ट्रम्पकी छोरी इभान्का ट्रम्पका पति जेरेड कुशनरका पिता हुन्।

३७ स्थानको मतपरिणाममा कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

0

काठमाडौं: स्थानीय तह उपनिर्वाचनको ३७ स्थानको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ। यो परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा अगाडि छ।

नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ।

नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ।

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्।

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेका छन्।

कांग्रेसले जितेका ठाउँ

नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम

तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी

शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट

समसे आलम, राजपुर नगरपालिका-६ रौतहट

इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१

राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४

अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर

आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१

भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा

अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया

खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट

मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम

धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ

मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी

धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला

प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

एमालेबाट निर्वाचित

कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ

गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा

सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी

मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु

लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख

जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख

सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

माओवादी केन्द्रले जितेका ठाउँ

नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर

सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा

कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट

विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा

जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा

नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ

देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट

नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

जसपाबाट दुई

धिरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी

देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

राष्ट्रिय स्वतन्त्र पार्टी

रोजिना श्रेष्ठ, काठमाडौं-१६

एकीकृत समाजवादी

बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट

नेमकिपा

खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

स्वतन्त्र

लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा

एनपिएल : काठमाडौँ गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै

0

काठमाडौँ: शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदै छन् ।

पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोजबीचमा आमनेसामने हुने छन् । यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन् । काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन् । उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ ।

काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन् । यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन् ।

त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन् । नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्यान्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर यसैटोलीबाट खेल्दै छन् ।

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन् । उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ ।

चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन् । त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसैटोलीबाट खेल्दैछन् ।

त्यस्तै, आजै दिउँसो १ः१५ बजे दोस्रो खेल हुनेछ । यो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स
भिड्नेछन् । एनपिएलको पहिलो उद्घाटन खेलमै विराटनगर किङ्सलाई ८ विकेटले हराएको जनकपुर बोल्ट्ससँग आत्मविश्वास छ । जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आशिफ शेख छन् । टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का खेलाडी विकेटकिपर अनिल शाह छन् ।

उनीहरूसँगै स्पिनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन् । जनकपुरको टोलीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।

यता, हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले पनि राम्रो प्रदर्शन गर्ने आशा लिइएको छ । कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अलराउण्डर सोमपाल कामी मार्की खेलाडीका रूपमा रहेका छन् । उनी नेपालको तर्फबाट दुई पटक विश्वकप खेल्ने खेलाडी पनि हुन् ।

सोमपालसँगै टोलीमा राष्ट्रिय टोलीका अलराउन्डर गुल्शन झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रे छन् । त्यस्तै, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरी पनि टोलीमा छन् ।

कर्णालीले पाँच विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मोक्सुद छन् । धवनलाई टोलीलाई अनुबन्ध गरेर चर्चा कमाएको कर्णाली याक्सको खेल हेर्न क्रिकेटप्रेमीहरु उत्साहित छन् ।

उपनिर्वाचनः कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी

0

काठमाडौ: कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले एक हजार एक सय सात मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गर्नुभयो । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले तीन सय ६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८ मत प्राप्त गर्नुभयो ।

साथै स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले एक सय ४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले एक सय २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नारा राम कोलीले एक सय २२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादव बहादुर चन्दले पाँच मत प्राप्त गर्नुभयो ।

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८२ र बिक्रीदर एक सय ७२ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०१ पैसा र बिक्रीदर नौ रुपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ ।

त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ ९१ पैसा तोकेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

स्थानीयतह निर्वाचन : काठमाडौँ–१६मा रास्वपा, हेटौँडा–१२ र कीर्तिपुर–१मा कांग्रेस तथा सिरीजङ्घा–३ र रामगोपालपुर–२ एमालेको उम्मेदवार विजयी

0

काठमाडौँ:आइतबार सम्पन्न स्थानीयतह उपनिर्वाचन, २०८१ को थप नतिजा आउनेक्रम जारी छ । काठमाडौँ, काठमाडौँ महानगरपालिका वडानम्बर १६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई विजयी हुनुभएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार लक्ष्मीरत्न महर्जनले दुई हजार दुई सय २० मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

कांग्रेसबाट विजयी तत्कालीन वडाध्यक्षमुकुन्द रिजालको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कीर्तिपुर, कीर्तिपुर नगरपालिका–१को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका इच्छाकुमार महर्जनले पाँच सय ६२ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हर्ष महर्जनले चार सय ९८गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

ताप्लेजुङ, ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ सिकैचाको वडाध्यक्ष पदमा नेकपा (एमाले)का कुमारी साउदेनले तीन सय ५३ मत प्राप्त गरेर विजयी हुनुभएकी छिन् । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गर्नुभएको थियो । यसअघि २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसको उम्मेदवारले विजय हासिल गर्नुभएको थियो ।

मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ को वडाध्यक्षपदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र ) का रविनकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिनुभयो । यसअघिको स्थानीय निर्वाचनमा सो वडामा माओवादीका उम्मेदवार निर्वाचित हुनुभएको थियो ।

महोत्तरी , यहाँको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षपदमा नेकपा (एमाले)का सकिबुल खाँले छ सय ३१ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो ।

उपनिर्वाचनः तेह्रथुपको लालिगुँरास–८ मा कांग्रेसका लिम्बु विजयी

0

तेह्रथुम: तेह्रथुमको नगरपालिका वडा नं ८ को अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्र लिम्बु निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँले चार सय ४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भीम निरौलाले जानकारी दिनुभयाे ।

लिम्बुका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बुद्धबहादुर लिम्बुले तीन सय ६० मत प्राप्त गर्नुभयो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जिव खड्काले ३८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कुमार विश्वकर्माले २६, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर श्रीपालीले चार, स्वतन्त्र उम्मेदवार वसन्त लिम्बुले चार र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रेमबहादुर खड्काले दुई मत प्राप्त गर्नुभएको छ ।

विसं २०७९ को निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका तेजमान लिम्बुको २०८० साल चैत २९ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।

दिगो विकास र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्ने प्रयासमा छुः मन्त्री यादव

0

सुर्खेत (वीरेन्द्रनगर) :  खानेपानीमन्त्री प्रदीप यादवले देशभरका नागरिकका लागि दिगो विकास र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न लागि आफू निरन्तर प्रयासरत रहेको बताउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा बोल्नुहुँदै मन्त्री यादवले देशभरका नागरिकका लागि अत्यावश्यक पर्ने दिगो विकास एवं सुरक्षित खानेपानीको पहुँच पु¥याउनका लागि ठोस योजना बनाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशभरका नागरिकका लागि दिगो विकास र सुरक्षित पानीको पहुँच सुनिश्चित गर्न निरन्तर म प्रयासरत छु, यस विषयमा सबैको सहयोग र साथ आवश्यक छ ।”

त्यसै अवसरमा मन्त्री यादवले बाढीपहिरोका कारण देशभरमा खानेपानीका आयोजनाको निर्माणमा केही ढिलाइ भइरहेको तथा अधिकांश ठाउँमा बाढीले पानीका मुहान बगाएका कारण खानेपानीको समस्या उत्पन्न भएकाले बाढीले क्षति गरेका ठाउँमा सुरक्षित खानेपानी सञ्चालन गरी नागरिकलाई पानी वितरणका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सङ्घीय सरकारले सञ्चालन गरिरहेका विभिन्न योजनाको समीक्षा गर्दै आयोजनाअन्तर्गत योजनाको वर्तमान अवस्था, प्रगतिका मुख्य चरण तथा कार्यान्वयनका क्रममा देखापरेका चुनौतीको विश्लेषण गर्नुका साथै समस्या समाधान गर्न ठोस योजना बनाउने विषयमा गहन छलफल गरिएको थियो ।

मन्त्री यादवसहित खानेपानी मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठसहितको टोली आजसुर्खेत आइपुग्नुभएको हो ।