Sunday, June 21, 2026
Home Blog Page 617

प्रधानमन्त्री ओलीद्धारा बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन

0

झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।

दुई दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्ला आउनुभएका प्रधानमन्त्री ओलीले आज यहाँ खानेपानी आयोजनाको उद्घाटन गर्दै सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै सम्पूर्ण देशवासीलाई गुणस्तरीय पानीको व्यवस्था गर्न आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकका प्रमुख दुई ठूला दल मिलेर सरकार बनेपछि राजनीतिक स्थिरता र विकास निर्माण सुनिश्चित भएको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माणका क्रममा लामो समयदेखि झेल्नुपरेका अवरोध र बाधाव्यवधान अन्त्य गरी अधुरा योजना तथा कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको स्पष्ट गर्नुभयो ।

उहाँले देशव्यापी रूपमा बिजुली, कृषि, सञ्चार, उद्योग, सरसफाइलगायतका अभियान सञ्चालन गरी मुलुक र जनताका पक्षमा सकारात्मक परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर नबनाउने र अरूको घर भत्काउने गरेमा देश बन्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विभिन्न पार्टीसँग आबद्ध हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ । यस क्षेत्रका जनताको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, देशका लागि थप केही गर्छु, तपाईंहरुको पनि नाम विश्वमा राख्छु, यसमा ढुक्क भइदिन सबैसँग अनुरोध गर्दछु ।”

कुल रु ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो खानेपानी आयोजनाबाट नगरपालिका–२, ३ र ४ का छ हजार पाँच सय २१ घरघुरीका २६ हजार सात सय ४३ जनसङ्ख्या लाभान्वित हुनेछन् । कार्यक्रममा आयोजनाका लागि जग्गा दिने स्थानीयवासीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा प्रथम महिला राधिका शाक्य, नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवाली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सङ्घीय खानेपानीमन्त्री प्रदीप यादव, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित स्थानीय जनताको उल्लेख्य उपस्थित थियो ।

सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन र आर्थिक समृद्धि : गृहमन्त्री लेखक

0

कर्णाली: गृहमन्त्री रमेश लेखकले सरकारको मुख्य उद्देश्य दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताउनुभएको छ ।

गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचार तथा अपराध नियन्त्रण र विधिको शासन कायम गर्न लाग्नुपर्ने र ती कुरामा कुनैपनि सम्झौता नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा अनुशासन र वितरण महत्वपूर्ण हुन्छ । अवसर, सम्भावना र अर्थ वितरण गर्दा जनतालाई सेवा प्रवाहमा सहजता दिन सक्नुपर्दछ ।”

औपचारिकता बढी भएर उपलब्धि कम भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले हरेक गतिविधि छोटो तथा परिणाममुखी बनाउन जोड दिनुभयो । उहाँले भन्नुभयो, “शान्ति, सुरक्षा र अपराध नियन्त्रणको समीक्षा गर्न जरुरी छ । हामी समस्याको समाधान गरी निष्कर्ष निकाल्ने पक्षमा छौँ ।”

सङ्घीय सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्घीय कानुन बनाउन थालेको तथा त्यसपश्चात् प्रहरी समायोजनको काम अगाडि बढ्ने गृहमन्त्री लेखकको भनाइ थियो । अहिले पनि कर्णाली प्रदेशका सुरक्षा निकायका संरचना प्रदेश बाहिर भएको उल्लेख गर्दै उहाँले स्थानीय तथा प्रदेश सरकारलाई जग्गाको व्यवस्था गर्न अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली सबैभन्दा ठूलो, सुन्दर, ज्यादा सम्भावना र अवसर बोकेको प्रदेश हो । कर्णाली प्रदेशको शान्ति सुरक्षालाई थप सुदृढ, सक्रिय, स्पष्ट र प्रभावकारी बनाउने कुरामा आवश्यक काम गर्छौँ ।” दुई ठूला शक्ति एक ठाउँमा उभिनु मुलुकको आवश्यकता भएको जिकिर गर्दै गृहमन्त्रीले लेखकले संविधानको भावना अनुसार सङ्घीयता कार्यान्वयन गर्न आवश्यक भएको बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको भावना अनुसार सहअस्तित्व, सहकार्य र समन्वय कम भएको र यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । तीन तहको सरकारको यात्रा सामूहिक म्याराथन दौड भएको उल्लेख गर्दै उहाँले संविधानले व्यवस्था गरेबमोजिमका अधिकारलाई सुनिश्चित गर्न सकेमात्र मुलुकले अपेक्षित लक्ष्य पूरा गर्ने बताउनुभयो ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव गोकर्णप्रसाद दुवाडी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको छ ।

हुम्लामा यस वर्ष पहिलोपटक हिमपात,किसान खुसी(तस्बिरसहित)

0

सिमकोट (हुम्ला), २४ मङ्सिरः हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहराले बताउनुभयो । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरीसकेको छ ।

   

अतिथिलाई मायाको चिनो रायोको साग

0

ढोरपाटन (बागलुङ): आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए । बालमैत्री वडा घोषणापछि बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रमुख अतिथिसहित कार्यक्रममा पुगेका पाहुनालाई चोयाको डोरीले बाँधेको रायो सागको मुठा मायाको चिनो हातमा थमाए ।

कलिलो सागको मुठा पाएपछि अतिथिहरु मुस्काउन थाले । वडा कार्यालयले मायाको चिनोका रुपमा गाउँका किसानले उत्पादन गरेको साग दिएपछि कार्यक्रममा सहभागी सबै खुसी भए । आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको रायो साग कासेलीका रुपमा दिएको वडा अध्यक्ष गौतमले बताउनुभयो ।

वडा नम्बर ११ स्थित रायडाँडा, तमाखुबारी र धारापानीका किसानले उत्पादन गरेको सागलाई खरिद गरी मायाको चिनोको रुपमा दिएको अध्यक्ष गौतमको भनाइ छ । वर्षौँदेखि यहाँका किसानले रायो साग बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि मायाको चिनो साग हालेर दिइएको अध्यक्ष गौतमले बताउनुभयो ।

गौतमले भन्नुभयो, “रायो साग त हाम्रो वडाको पहिचान हो, यहाँ उत्पादन भएको रायोको साग अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले रायडाँडालाई साग उत्पादनको ‘हब’ हो भनी चिनाउन जरुरी छ, त्यसले गर्दा हामीहरुले बाहिरबाट आउने पाहुनालाई कोसेली तथा उपहारका रुपमा साग दिने गछौँ ।”

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले वडा नम्बर ११ ले राम्रो कामको सुरुवात गरेको बताउनुभयो । मायाको चिनोमा फजुल खर्च गर्ने प्रचलन चलेको बेला यस वडाले आफ्नो पहिचान बोक्ने चिजलाई उपहार दिन सुरुवात गरेको भन्दै अन्य ग्रामीण क्षेत्रका नागरिकले स्थानीय उत्पादनलाई कोसेलीका रुपमा दिन आवश्यक रहेको बताउनुभयो । बागलुङ नगरकै सबैभन्दा दुर्गम वडाका रुपमा रहेको रायडाँडा कृषिमा निकै सम्भावना बोकेको भन्दै पालिकाले यहाँका किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याइरहेको बताउनुभयो ।

कांग्रेसको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन

0

काठमाडौँ: नेपाली कांग्रेसले बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गरेको छ ।
कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा जीवन रानाको संयोजकत्वमा रहेको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गर्नुभएको हो ।

सदस्यमा लक्ष्मी ठाकुर (सुनसरी), योगमाया गिरी (इलाम), निर्मल घिसिङ (रामेछाप), चन्द्र गुरुङ (कास्की), खलिल खाँ (बाँके), रूपा विक (रूपन्देही), सुशीला बम (कालीकोट), यादवकृष्ण चौधरी (बारा), हरि अधिकारी (कञ्चनपुर) र भागिरथि विष्ट (कञ्चनपुर)लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

कर छली रोक्न राजस्व, भन्सार, र अनुसन्धानले संयुक्त सहकार्य गर्दै

0

काठमाडौँ: आन्तरिक राजस्व विभाग, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच बसेको अन्तरविभागीय प्रमुखहरूको बैठकले कर छली र राजस्व चुहावट नियन्त्रणमा समन्वयात्मक रूममा अघि बढ्ने निर्णय गरेको छ ।

राजस्व चुहावट तथा कर छलीसँग सम्बन्धित विविध विषयमा गम्भीर रूपमा छलफल गरी नियन्त्रणका लागि विभिन्न निर्णय गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ । विभागका सूचना अधिकारी वासुदेव पौडेलका अनुसार तीनै निकायबीच सूचना सङ्कलन तथा आदानप्रदान, बजार अनुगमन तथा गस्ती परिचालन र नक्कली तथा झुटो कारोबारलाई नियन्त्रणमा आवश्यक सहकार्य र समन्वयात्मक रूपमा काम गर्ने निर्णय भएको छ ।

बैठकपछि आज साँझ विज्ञप्ति जारी गर्दै विभागले राजस्व चुहावटका जोखिमका क्षेत्र, वस्तु, नाका र समूह पहिचान, सूचना सङ्कलन, विश्लेषण तथा सोको कार्यान्वयनका लागि एकापसमा सूचना आदानप्रदान गर्ने निर्णय पनि भएको छ ।

यस्तै, राजस्व अनुसन्धान विभागको भिसिटिएस प्रणाली, भन्सार विभागको आसिकुडा वल्र्ड प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत सूचना प्रणालीमा प्रबिष्ट भएका सूचनालाई एकापसमा अन्तरआबद्धता कायम गरी कर परीक्षण तथा अनुसन्धान, भन्सार जाँचपासपछि थप परीक्षण, बजार अनुगमन, गस्ती परिचालन आदिमा प्रयोग गर्ने र राजस्व चुहावट तथा कर छलीको सूचना दिन सरोकारवालासँग आह्वान गर्ने निर्णय पनि गरिएको जनाइएको छ ।

यस्तै, कर छली गर्ने मनसायले व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गर्ने प्रवृत्तिलाई रोक्न अन्तरनिकाय सूचना आदानप्रदान गर्ने र शङ्कास्पद कारोबारको निगरानी तथा अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तथा राजस्व चुहावटका नयाँ प्रवृृत्ति पहिचान गर्ने, अनलाइन तथा सामाजिक सञ्जालका माध्यमबाट हुने व्यापारमा हुन सक्ने कर छली तथा व्यक्तिगत आयकर छलीलाई निरुत्साहित गर्ने निर्णय पनि गरिएको विभागले जनाएको छ ।

यस्तै, नक्कली तथा झुटो कारोबारलाई नियन्त्रण गर्नेतर्फ सामान्य तथा आर्थिक रूपमा कमजोर मानिसलाई प्रलोभनमा पारी निजको नाममा व्यवसाय दर्ता गरी कारोबार गर्ने र कर छली गरी आफू कानुनको नजरमा उम्किने प्रवृत्तिलाई विशेष अनुसन्धान र छनबिन गरी कारबाहीको दायरामा ल्याउने, फर्म तथा कम्पनीको ‘फेक’ दर्ता रोक्न निजको बायोमेट्रिक अवस्था, वित्तीय व्यवस्था, व्यावसायिक योजना आदिलाई विशेष निगरानी गर्ने निर्णय पनि भएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, बजारमा उत्पादन, पैठारी तथा खरिद गरेको आधिकारिक वा प्रमाणिक स्रोतविना बिल–बीजक मात्र खरिद–बिक्री गर्ने प्रवृत्ति यदाकदा देखिएको हुँदा यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न तीनवटै विभागले समन्वय गरी कानुनबमोजिम कडा कारबाही गर्ने, खुला सिमानाबाट हुने चोरी–पैठारी नियन्त्रण गर्न तथा कर छली कार्यलाई निरुत्साहित गर्न स्थानीय राजस्व चुहावट नियन्त्रण समन्वय समितिलाई थप सक्रीय र प्रभावकारी बनाउने, उक्त समितिका निर्णय र सोको कार्यान्वयनलाई सूक्ष्म रूपमा अनुगमन गर्ने तथा मूल्य अभिवृद्धिकरतर्फ ‘ननफाइलर’ तथा बक्यौता कायम रहेका करदाताको आयात निर्यात रोक्का राख्न आन्तरिक राजस्व विभागले भन्सार विभागमा लेखी पठाउने निर्णय पनि भएको जनाइएको छ ।

बङ्गलादेशको व्यापार घाटा छ अर्ब ६६ करोड अमेरिकी डलरमा झरेको

0

काठमाडौँ: बङ्गलादेशको व्यापार घाटा चालू आर्थिक वर्ष सन् २०२४–२५ को पहिलो चार महिना (जुलाई सन् २०२४–जुन २०२५) मा वार्षिक रूपमा झण्डै १२ प्रतिशतले घटेर छ अर्ब ६६ करोड अमेरिकी डलर पुगेको छ ।

बङ्गलादेश केन्द्रीय बैङ्कको तथ्याङ्कले जुलाई–अक्टोबरको अवधिमा देशको आयात भुक्तानी एक प्रतिशतले बढेर २० अर्ब ९५ करोड अमेरिकी डलर रहेको देखाएको छ भने निर्यातबाट हुने आम्दानी सोही अवधिको तुलनामा ८ दशमलव ३ प्रतिशतले बढेर १४ अर्ब ३० करोड डलर रहेको छ ।

बङ्गलादेश बैङ्कको तथ्याङ्कले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा (जुलाई २०२३–२०२४) निर्यात आम्दानी र आयात भुक्तानीबीचको अन्तर ७ अर्ब ५४ करोड डलर रहेको देखाएको छ ।

लाखौं बङ्गलादेशीहरू र विदेशमा काम गर्नेहरूको बलियो रेमिट्यान्सले व्यापारमा आएको गिरावटको प्रभावलाई कम गर्न मद्दत गरेको बंगलादेश बैङ्कका अधिकारीहरूले जनाएको छ ।

यस वर्षको जुलाई–अक्टोबर अवधिमा बङ्गलादेशको रेमिट्यान्स कुल करिब ९ अर्ब डलर पुगेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ ।

मानव–वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छः वनमन्त्री शाही

0

काठमाडौँ वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको बताउनुभएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको अनुगमन तथा अन्तक्र्रिया कार्यक्रमपछि रासससँग कुरा गर्दै उहाँले पछिल्लो पटक निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु आहार खोज्दै गाउँ बस्तीभित्र छिर्न थालेपछि मानव र वन्यजन्तुको द्वन्द्व बढ्न थालेको बताउनुभयो ।
“बाघ र जङ्गली हात्तीजस्ता ठूला जनावरलाई बाहिर बस्तीमा नआउने र मान्छेलाई जङ्गलभित्र नजाने व्यवस्था मिलाउन सके मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ”, मन्त्री शाहीले भन्नुभयो । मन्त्रालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन प्रयास गरिरहेको उहाँको भनाइ थियो ।

मन्त्री शाहीले जङ्गल जनावर हिँड्ने बाटो क्षेत्रतिर मानव बस्ती विस्तार हुने थालेपछि समस्या बल्झिँदै जान थालेको उल्लेख गर्नुभयो । “वन्यजन्तुले क्षति गर्दा पीडित पक्षलाई राहतको व्यवस्था तत्काल गरिनुपर्छ”, उहाँले भन्नुभयो, “क्षति व्यहोरेका स्थानीयले तत्काल राहत नपाउँदा वन्यजन्तुप्रति आक्रोश र आक्रमण गर्न थालेका छन् ।” निकुञ्ज संरक्षण र क्षेत्रलाई समस्या होइन समृद्धिसँग जोड्न आवश्यक देखिएको मन्त्रीले बताउनुभयो ।

पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएको हुँदा टिकट प्रणालीलाई एकद्वार गर्न आवश्यक देखिएको उल्लेख गर्दै मन्त्री शाहीले चितवन निकुञ्ज भ्रमणमा आएका पर्यटक पर्सा पनि आउने र पर्सा निकुञ्ज घुम्न आएका पर्यटक चितवन निकुञ्ज पनि भ्रमण गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “निकुञ्ज पर्यटन क्षेत्रको प्रमुख गन्तव्य भएकाले जल जङ्गल वन्यजन्तु जोगाउन सबैको कर्तव्य हो ।”

वन क्षेत्रभित्र ढलेका र सडेगलेका काठलाई प्रयोगमा ल्याउन र आयात हुने काठलाई रोक्न मन्त्रालयले गृहकार्य गरिरहेको मन्त्री शाहीको भनाइ छ । निकुञ्ज र वन क्षेत्रको समस्या समाधानको निम्ति ऐन नियम संशोधन गर्ने कार्यमा मन्त्रालय लागि रहेको जानकारी गराउँदै मन्त्री शाहीले मन्त्रालय विकासको बाधक हो भन्ने भ्रमको अन्त्य गर्न आफूले काम गरिरहेको बताउनुभयो ।

“पर्सा राष्ट्रिय निकुञ्जमा देखिएका समस्या र समाधान गर्नुपर्ने कार्यहरु मैले गम्भीरतापूर्वक लिएको छु”, “मन्त्री शाहीले भन्नुभयो, “निकुञ्जका संरक्षण अधिकृत तथा कर्मचारी राम्रो कामप्रति अझै ध्यान दिनुहोला ।”

गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको छः महासचिव पोखरेल

0

देउखुरी (दाङ)-:नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमाले–कांग्रेस गठबन्धन सरकार गठन भएसँगै देशमा लगानीमैत्री वातावरण बनेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा नेत्रलाल स्मृति सभाहलको शिलान्यास गर्दै उहाँले दक्षिण एसियामा भारतपछि नेपाल बाह्य लगानीमा दोस्रो आकर्षणको मुलुक भएको बताउनुभयो ।

महासचिव पोखरेलले लागानी मैत्री वातावरण बनेकाले काम गर्न सहज भएको बताउनुभयो । उहाँले नेत्रलाल अभागीको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । शैक्षिक जागरण अभियानमा नेत्रलाल अभागीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । महासचिव पोखरेलेले विद्यालय बनाउनेदेखि विद्यार्थीहरुमा शैक्षिका जागरण ल्याउन अभागीको योगदान रहेको स्मरण गर्नुभयो ।

नेत्रलाल स्मृति प्रतिष्ठानका अध्यक्ष शम्भु गौतमले रु एक करोड ६८ लाखमा स्मृति सभाहल निर्माण सुरु भएको बताउनुभयो । उहाँले सिद्धरत्न मावि नारायणपुर र प्रतिष्ठानको समन्वयमा सभाहल निर्माण सुरु भएको बताउनुभयो । सल्यानमा नेत्रलाल बहुप्राविधिक शिक्षालय, तुलसीपुर–१८ अक्कासीमा नेत्रलाल प्रावि र लमहीमा नेत्रलाल स्मृति भवन रहेका छन् । घोराही–१६ मा नेत्रलाल स्मृति रङ्गशाला निर्माणाधीन अवस्थामा छ ।

सिरियाली राष्ट्रपति भागेको विमान दुर्घटना भएको आशंका

0

काठमाडौं: सिरियाली राष्ट्रपति बसर अल-असदको देश छाडेर भागेको हल्ला चलिरहेकै बेला सिरियन एयरलाइन्सको एउटा विमान अचानक राडारबाट गायब भएको छ। यससँगै विमान दुर्घटना भएको आशंका व्यक्त गरिएको छ। तर, अहिलेसम्म विमानको अवस्थाबारे कुनै आधिकारिक पुष्टि भएको छैन।

विमानको विवरण र उडानको जानकारी
सिरियन एयरलाइन्सले संचालन गरेको इल्युसिन २–७६ विमानमा राष्ट्रपति बसर अल-असद रहेको बताइएको छ। विमान उडानसम्बन्धी जानकारी दिने वेबसाइट फ्लाइटग्लोबलले उक्त विमान राडारबाट हराएको पुष्टि गरेको छ। यो विमान आइतबार बिहान स्थानीय समयअनुसार ५ बजेतिर दमास्कस विमानस्थलबाट उडेको बताइएको छ।

उडानको ट्रयाकिङ
विमान ट्रयाकिङ वेबसाइट फ्लाइटराडार२४का अनुसार यो विमान सिरियन एयरलाइन्सद्वारा फ्लाइट नम्बर ९२१८को रूपमा दर्ता गरिएको थियो। ट्रयाकिङ डेटाका आधारमा विमानले देशको पूर्वतिर सिरिया-इराक सीमातर्फ उडान भरेको देखिएको छ। त्यसपछि यो उत्तरपूर्वतर्फ भूमध्यसागर तट नजिक पुगेको थियो।

भौगोलिक सन्दर्भ र रणनीतिक महत्त्व
सिरियाको उत्तरपूर्वी भूमध्यसागरीय तटमा रहेको टार्टस बन्दरगाहमा रुसको नौसेनाको रणनीतिक आधार शिविर छ। यो क्षेत्रमा रुसले सिरियाली विद्रोही समूहविरुद्ध बसर अल-असद सरकारलाई सहयोग गर्दै आएको छ। रुसले यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति करिब एक दशकदेखि बलियो बनाउँदै आएको छ।

असदको अवस्थाबारे अन्य रिपोर्टहरू
असद देश छाडेर भागेको भन्ने दावीलाई पुष्टि गर्ने कुनै ठोस प्रमाण अहिले सम्म बाहिर आएको छैन। सिरियाली सरकार र रुसले यो घटनाबारे कुनै प्रतिक्रिया दिएका छैनन्। यद्यपि, राजनीतिक हलचल र विद्रोही गतिविधिले यस घटनालाई थप जटिल बनाएको छ।

अन्तर्राष्ट्रिय चासो
यो घटनाले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ, किनकि यदि राष्ट्रपति असद देश छाडेर भागेका छन् भने यसले सिरियाको राजनीतिक स्थायित्वलाई ठूलो चुनौती दिन सक्छ। साथै, रुस र सिरियाबीचको रणनीतिक साझेदारीमा कस्तो असर पर्छ भन्ने विषयमा पनि चासो बढेको छ।

विमानको अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी छ, र यस घटनाबारे थप अनुसन्धान जारी छ।