Sunday, June 21, 2026
Home Blog Page 611

सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल

0

काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

उधौली पर्व तथा योमरी पुन्हिका अवसरमा दिनुभएको शुभकामना सन्देशमा विविधताभित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताउनुभएको छ ।

किरात समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायको पर्व योमरी पुन्हिका अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै अध्यक्ष दाहालले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको संवर्द्धन र प्रकृति प्रेमको प्रतीकका रूपमा यी चाडपर्व रहेको उल्लेख गर्नुभएको छ ।

कृषि प्रणालीमा आधारित उधौली पर्व प्रकृतिपूजक किरात समुदायले अन्नबाली पाकेपछि इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई श्रद्धापूर्वक स्मरण गर्दै विशेष रूपमा मनाउने गर्दछन् । यस पर्वमा किरात समुदायले आफ्नो संस्कृति झल्काउने पोशाक लगाउने, मौलिक संस्कृतिमा आधारित बाजागाजासहित गीत गाउँदै, नाच्दै रमाइलो गर्ने अध्यक्ष दाहालले स्पष्ट पार्नुभएको छ ।

उधौली पर्वजस्तै नेवार समुदायको विशेष पर्व योमरी पुन्हि पनि कृषि प्रणालीसँग सम्बन्धित रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पीठोको विशेष परिकार खाने, धनसम्पत्ति, वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासका साथ यो पर्व मनाउने चलन रहेको बताउनुभएको छ ।

“हाम्रो देश नेपाललाई संविधानमा बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त राष्ट्रका रूपमा परिभाषित गरिएको छ । हरेक नागरिकलाई आफ्नो आस्था र समुदायअनुसार चाडपर्व मनाउन, आस्थाअनुसार धर्म मान्न पाउने अधिकार मौलिक हकका रूपमा सुनिश्चित गरिएको छ”, शुभकामना सन्देशमा अध्यक्ष दाहालले भन्नुभएको छ ।

हाम्रो राष्ट्रियताभित्र विविध जातजाति, धर्म र सम्प्रदायअनुसार आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वले हाम्रो विविधतालाई प्रतिविम्बित गरेको उल्लेख गर्दै उहाँले अलगअलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएको बताउनुभएको छ ।

तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न

0

काठमाडौँ: तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ अन्तर्गतको पहिलो दिन छनोट चरणका खेलहरू सम्पन्न भएका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले वार्षिक रूपमा राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

काठमाडौँको गल्फुटार स्केटपार्कमा भएको प्रतियोगिताको पहिलो दिनमा दुई सय ५० जना पुरूष र एक सय ५० जना महिला खेलाडीको छनोट चरणका खेलहरू भएको आयोजक सङ्घका केन्द्रीय महासचिव सत्य थापाले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा पुरूष र महिलातर्फ खुल्ला फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिताअन्तर्गत प्रथम हुनेले रू १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेल पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइनेछ ।

रोल्लर स्केट खेलअन्तर्गत फ्री–स्टाइल विधामा जिकज्याक विधा खेलाइने आयोजक सङ्घका महासचिव थापाले जानकारी गराउनुभयो ।

एन्फाले ‘ए डिभिजन लिग फुटबल क्लब’लाई कम्पनी मोडलमा लैजाँदै

0

वीरगञ्ज (पर्सा): अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘ए डिभिजन लिग फुटबल क्लब’ लाई कम्पनी मोडलमा अघि सार्ने योजना बनाएको छ । सङ्घ क्लब मोडलमा रहेका क्लबलाई आर्थिक रूपमा सबल र सक्षम बनाउनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर अघि बढाउने तयारीमा जुटेको हो ।

सङ्घका महासचिव किरण राईले ‘ए डिभिजन लिग’ खेल्ने फुटबल क्लबलाई कम्पनी मोडलमा अघि सार्न ढिला गर्न नहुने बताउनभयो । यहाँ आयोजित भेट्रान्स सिटी क्लब वीरगञ्जको आठौँ वार्षिक साधारणसभामा उहाँले नेपालका फुटबल क्लबलाई व्यावसायिक रूपमा अघि बढाउन पनि कम्पनी मोडलमा लैजानुपर्नेमा जोड दिनुभयो । “नेपालका डिभिजन लिग खेल्ने फुटबल क्लबहरू अहिलेसम्म व्यावसायिक रूपमा सञ्चालन हुन सकिरहेका छैनन् । अधिकांश क्लब भावनात्मक लगानीका आधारमा चल्दै आइरहेका छन्”, महासचिव राईले भन्नुभयो, “जबसम्म क्लबहरू व्यावसायिक बन्दैनन्, तबसम्म राम्रा खेलाडी उत्पादन गर्न पनि सकिँदैन ।”

उहाँले अबदेखि एन्फाले फुटबल एकेडेमी सञ्चालनको जिम्मा पनि निजी क्षेत्रलाई दिने तयारी गरिरहेको जानकारी दिनुभयो । “अब एन्फा एकेडेमी सञ्चालन गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । निजी क्षेत्रबाटै एकेडेमी सञ्चालन गरेर खेलाडी उत्पादन गर्ने र खेलाडीको बिक्री गर्ने प्रचलन पनि ल्याउनेछौँ ।”

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पालिकाले पनि खेलकुदका पूर्वाधार र गतिविधिमा लगानी गर्दै आएको बताउनुभयो । “खेलकुदको विकास र प्रवद्र्धनका लागि सबैसँग सहकार्य गर्दै आइरहेका छौँ । आगामी दिनमा पनि निरन्तरता दिनेछौँ”, उहाँले भन्नुभयो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । भेट्रान्स सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले फुटबल खेलको विकासका लागि निरन्तर काम भइरहेको बताउनुभयो । “विगत ११ वर्षदेखि विभिन्न खेलकुदका गतिविधि गर्दै आइरहेका छौँ,” उहाँले भन्नुभयो, “राज्यले पनि खेलकुदको विकासका लागि हातेमालो गरेर अघि बढ्न जरूरी भइसकेको छ ।” क्लबका महासचिव पङ्कज श्रेष्ठले क्लबले गरेका आर्थिक प्रगति विवरण पेस गर्नुभएको थियो ।

कुखुरा पालेर मासिक एक लाख पचास हजार बचत

0

गलकोट (बागलुङ): बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा पाँच हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु एक लाख ५० हजार बचत गर्र्दै आउनुभएको छ ।

स्थानीय ओमराज शर्माले सञ्चालन गर्नुभएको कुखुरा फार्मबाट दैनिक पाँच हजार अण्डाको बजारीकरण भइरहेको छ । बाह्र बर्ष कतार बसेर फर्कनुभएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताउनुभयो ।

“तीन हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप दुई हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक पाँच हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भन्नुभयो । एक करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उहाँले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक रु एक लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्माले बताउनुभयो ।

अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उहाँले बताउनुभयो । किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उहाँको अनुभव छ । त्यसैले अब उहाँ व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा हुनुहुन्छ ।

महानगरको ३० औं वार्षिकोत्सव: दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कारद्वारा सम्मान

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले ३०औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही रु एक लाख ५० हजारसहित सम्मान गरेको छ ।

कामपाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डङ्गोललगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगतसहित सम्मान गरिएको हो ।

लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो ।

खेलतर्फ तेक्वान्दोका सङ्गिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित हुनुभएको कामपाले जनाएको छ । सम्मानित व्यक्तित्वलाई नगद रु एक लाख ५० हजारसहित पुरस्कार प्रदान गरिएको हो ।

समारोहमा कामपाका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो । दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर सङ्कलन गर्ने सवारीलगायत उपकरण प्रदर्शन गरिएको थियो ।

आज बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना, पेयपदार्थ र ‘एक वडा एक नमूना उत्पादन’अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु गरिएको कामपाले जनाएको छ ।

आजै यहाँ साङ्गीतिक कार्यक्रम आयोजना हुनेछ । उक्त कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय ब्याण्ड, महेस काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमलगायत कलाकारले प्रस्तुति दिनुहुने छ ।

दिल्लीका धेरै विद्यालयमा फेरि बमको धम्की

0

काठमाडौं: भारतको राजधानी दिल्लीका कम्तीमा छ विद्यालयमा बम विस्फोटको धम्की दिइएको छ। समाचार एजेन्सी एएनआईका अनुसार यी विद्यालयहरूलाई इमेलमार्फत धम्की दिइएको हो। धम्कीपूर्ण इमेलहरू प्राप्त भएपछि सम्बन्धित विद्यालयहरू तत्काल बन्द गरिएको छ।

सुरुमा चार विद्यालयमा धम्की आएको बताइए पनि पछिल्लो विवरणअनुसार यो संख्या छ पुगेको छ। विद्यालयहरूमा आपतकालीन अवस्थाको घोषणा गरी विद्यार्थी र शिक्षकहरूको सुरक्षा सुनिश्चित गर्न सबै गतिविधि रोकिएको छ।

धम्कीका कारण विद्यालय बन्द भएपछि फर्किएका एक अभिभावकले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “विद्यालयबाट म्यासेज आएको थियो, तर हामीले ढिलो देख्यौं। ‘असामान्य अवस्था’का कारण आज विद्यालय बन्द रहने सूचना दिइएको थियो। केही दिनअघि पनि यस्तै गरी विद्यालय बन्द गरिएको थियो, तर त्यसबेला पनि ठोस कारण खुलाइएको थिएन।”

दिल्लीको श्रीनिवासपुरीस्थित क्याम्ब्रिज स्कुलकी प्रिन्सिपल माधवी गोस्वामीले बिहान ६ बजे नै बमको धम्कीसम्बन्धी इमेल प्राप्त भएको र तुरुन्तै प्रहरीलाई जानकारी गराएको बताइन्।

यो पहिलो घटना भने होइन। यसअघि, गत ९ डिसेम्बरमा पनि दिल्लीका केही विद्यालयमा यस्तै प्रकारको बम विस्फोटको धम्की दिइएको थियो। दिल्ली प्रहरीका दक्षिण पश्चिम डीसीपी सुरेन्द्र चौधरीले त्यस समय ४० भन्दा बढी विद्यालयमा धम्कीको सूचना आएको बताएका थिए।

यो घटनापछि दिल्ली प्रहरीले सम्बन्धित विद्यालयहरूको परिसरमा कडा सुरक्षा व्यवस्था गरेको छ। बम डिस्पोजल स्क्वाड, खोजी कुकुर, र अन्य सुरक्षा टोलीहरूले विद्यालयहरूलाई सुरक्षित बनाउन अभियान चलाइरहेका छन्। यस्ता घटनाले अभिभावक र विद्यार्थीहरूबीच त्रास उत्पन्न गराए पनि प्रहरीले सतर्कता अपनाउँदै थप घटनाहरू रोक्न प्रयासरत रहेको जानकारी दिएको छ।

दिल्ली प्रहरीका अनुसार यसप्रकारको इमेल धम्कीहरूको स्रोत पत्ता लगाउन साइबर सेलले अनुसन्धान जारी राखेको छ।

तमिलनाडुको अस्पतालमा आगलागी: कम्तीमा ६ जनाको मृत्यु

0

काठमाडौं: तमिलनाडुको डिन्डिगुलस्थित एक निजी अस्पतालमा बिहीबार राति भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ ।

यो घटना राति १० बजेतिर भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार यस दुर्घटनामा एक बालिका सहित कम्तीमा ६ जनाको ज्यान गएको छ ।

आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । तर, आगलागीको कारण सर्ट सर्किट भएको आशंका गरिएको छ ।

तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ६ जनाको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

चितवनसँग जनकपुर पराजित, पोखरा र विराटनगर बाहिरिए

0

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा १० अंकसहित शीर्ष स्थानमा छ। जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। आजको जितपछि चितवनले सात खेलमा आठ अंक बटुलेको छ। चितवनसँगै पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स र छवटा खेल खेलेको कर्णाली याक्ससँग पनि समान आठ अंक छ।

आइतबार हुने काठमाडौं गुर्खाज र बिराटनगर किङ्ग्सबीचको खेलपछि शीर्ष चार टोलीको टुंगाे लाग्नेछ। उक्त खेलमा काठमाडौं गुर्खाज विजयी भए उसको पनि आठ अंक हुनेछ। यस आधारमा शीर्ष चारमा पर्ने टोलीको टुंगाे रनरेटका आधारमा हुनेछ।

जारी प्रतियोगिताबाट लुम्बिनी लायन्स यसअघि नै बाहिरिएको छ भने आजको खेलपछि बिराटनगर किङ्ग्स र पोखरा एभेञ्जर्स पनि प्रतियोगिताबाट बाहिरिएका छन्।

आजको खेलमा एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो। उसका लागि जिमी निशमले २७० दशमलव ८३ को स्ट्राइक रेटमा ६५ रन बनाए पनि जितका लागि पर्याप्त भएन। उनले २४ बल खेल्ने क्रममा पाँच चौका र छ छक्का प्रहार गरे। साथै आसिफ शेखले २३, शुभ कङ्साकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए। त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्।

चितवनको जितमा रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले समान दुई-दुई विकेट लिए भने अमर रौतेलाले एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनाएको थियो।

उसका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले। उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए । रबि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए। साथै हसन इसाखिलले २८, सन्तोष कार्कीले १४ रनको योगदान दिए।

जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए भने हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक-एक विकेट लिए।

विद्यार्थी मृदुभाषी, नम्र र मानवतावादी हुनुपर्छ : प्रधानमन्त्री

0

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अब रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्ने आत्मनिर्भर शिक्षा प्रणालीतर्फ अघि बढ्ने बताएका छन्। काठमाडौँ विश्वविद्यालयको ३०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले प्रमाणपत्रले मात्र दक्षता सुनिश्चित नहुने र नागरिकको चरित्र र नैतिकताले उनीहरूको पहिचान निर्धारण गर्ने कुरामा जोड दिए।

प्रधानमन्त्री ओलीले भने, “हामी अब जब सिर्जना गर्ने किसिमको आत्मनिर्भर शिक्षातर्फ अघि बढिरहेका छौँ। यस दिशामा केयूलगायतका विश्वविद्यालय नमुनाका रूपमा स्थापित भइरहेका छन्।” उनले विद्यार्थीलाई अध्ययनसँगै रोजगारीमा जोड्न तथा आत्मनिर्भर बनाउने उद्देश्यले देशका प्रमुख विश्वविद्यालयहरूसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने बताए।

प्रधानमन्त्रीले सर्टिफिकेट रोजगारीको आधार मात्र भएको तर दक्ष नागरिकका लागि आचरण, व्यवहार, म्यानर, र बोलीचाली महत्त्वपूर्ण हुने कुरा स्पष्ट पारे। उनले भने, “विद्यार्थीको सीप र उत्तरदायित्वले देश र नागरिकको पहिचान कायम राख्न मद्दत पुर्‍याउनुपर्छ।”

दीक्षित विद्यार्थीहरूप्रति इंगित गर्दै प्रधानमन्त्रीले विद्यार्थीको आचरण, नैतिकता, र सकारात्मक सोच अनिवार्य रहेको बताए। उनले भने, “विद्यार्थीहरू मृदुभाषी, नम्र, मानवतावादी, शान्तिप्रिय, र म्यानरतावादी हुनुपर्छ। सफलताका लागि परिष्कृत म्यानरको विकास गर्नुपर्छ।”

काठमाडौंमा यो वर्षकै चिसो: बिहान, न्यूनतम तापक्रम २.५ डिग्रीमा झर्‍यो

0

काठमाडौँ: आज शनिबार काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो बिहान महसुस गरिएको छ। मौसमविद सञ्जिव अधिकारीका अनुसार, आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस थियो। पछिल्लो केही दिनदेखि तापक्रम निरन्तर ओरालो लागिरहेको छ।

देशका अन्य भागहरूमा पनि चिसो क्रमशः बढ्दै गएको छ। जुम्लामा केही दिनदेखि न्यूनतम तापक्रम माइनस ५ डिग्रीभन्दा कम मापन भइरहेको छ। जोमसोममा न्यूनतम तापक्रम माइनस २ देखि माइनस ३ डिग्रीसम्म झरेको छ भने जिरीमा पनि तापक्रम शून्यभन्दा तल झर्ने क्रममा छ।

पोस्ट-मनसुनबाट जाडो मौसमतर्फ संक्रमण भइरहेकोले अहिले मौसमी प्रणाली त्यति सक्रिय छैन। मौसमविद अधिकारीका अनुसार, आकाश खुलेको हुँदा दिउँसो तापक्रम केही बढे पनि बिहान न्यूनतम तापक्रम झर्ने गरेको छ।
“खुला आकाशका कारण दिउँसोको तापक्रम सामान्य रहने भए पनि न्यूनतम तापक्रम बिहान निकै घटेको छ,” अधिकारीले बताए।

आज काठमाडौंको अधिकतम तापक्रम १८ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। अघिल्लो वर्षको जस्तै यस वर्ष पनि तापक्रम र मौसमी अवस्था लगभग समान रहेको महाशाखाले जनाएको छ।

महाशाखाको पूर्वानुमानअनुसार यस वर्ष हिउँदमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ।

(नोट: तापक्रम र चिसोका कारण स्वास्थ्यमा असर नपर्ने गरी सतर्कता अपनाउनु आवश्यक छ।)