Sunday, June 21, 2026
Home Blog Page 605

आज विश्व ध्यान दिवस: प्रधानमन्त्री ओलीद्धारा शुभकामना

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुभएको छ । विश्व ध्यान दिवसको अवसरमा आज श्रव्यदृश्य माध्यमबाट शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले यसबाट लाभ लिन सबैलाई आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घले २१ डिसेम्बरलाई ध्यान दिवसका रुपमा मान्यता दिएकामा उहाँले खुसी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले शुभकामना सन्देशमा भन्नुभएको छ, “यस अवसरमा म खुसी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ ।”

ध्यान मावन जातिको कल्याणका निम्ति भएको बताउनुहुँदै प्रधानमन्त्रीले वर्सेनी यस दिवसलाई मनाउँदै जान अनुरोधसमेत गर्नुभएको छ । “वर्षमा एक पल्ट २१ डिसेम्बरमा मात्रै होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अङ्गका रुपमा अपनाऔँ”, उहाँले भन्नुभएको छ ।

मानव जाति शारीरिक र मानसिक हिसाबले सधैँ स्वस्थ रहनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले अरुलाई पनि स्वस्थ रहन सहयोग पु-याउनुपर्ने बताउनुभएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा प्रथम गोल्डेन फिल्म अवार्ड समारोह हुँदै

0

अमेरिकाको क्यालिफोर्नियामा प्रथम गोल्डेन फिल्म अवार्ड समारोह हुँदै

क्यालिफोर्निया: अमेरिकाको सानफ्रान्सिस्को बे एरियामा नेपाली चलचित्रका हस्तिहरुको जमघट भएको छ। हिमालयन हबको आयोजना सम्पन्न हुन लागेको पहिलो पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड रिच्मन्ड मेमोरियल अडिटोरियम, रिच्मन्ड क्यालिफोर्नियामा डिसेम्बर २१, २०२४ देखि सुरु हुनेछ।

सो समारोहमा विभिन्न फिल्महरूको प्रदर्शनकासाथ अवार्ड प्रदान गरिने कार्यक्रम रहेको छ। नेपाली फिल्मका भिष्मपिताको रूपमा परिचित वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक नीर शाह, सुपर स्टार भुवन केसी, शिव श्रेष्ठ, अनमोल केसी, दीपाश्री, जितु नेपाललगायतको उपस्थिति भैसकेको छ।

उत्तर क्यालिफोर्नियाका अगुवाहरु उत्तम कार्की, मणि नेपाली पनेरु, यज्ञलाल श्रेष्ठ, नारायण सोमनामे, समाजसेवी युवाहरू सुजीत सिंह, रवी सिंह बस्नेत, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगायतले उहाँहरूको स्वागत गरेका
थिए। नेपालबाट आएका कलाकारहरूसंग डिसेम्बर १९ मा यम्रीभिल हिल्टन होटेलमा आयोजना गरिएको भेटघाट कार्यक्रममा उल्लेख्य रुपमा जनसमुदायको उपस्थिति रहेको थियो। सो अवसरमा फिल्म स्टारहरूसँग फोटो खिचाउनेहरुको घुँइचो लागेको थियो। गोल्डेन नेपाली फिल्म अवार्ड यज्ञलाल श्रेष्ठ,रवी सिंह बस्नेत, नारायण सोमनामे तथा सुजित सिंहको सक्रियतामा आयोजना हुन लागेको हो। सो कार्यक्रमबारे विस्तृत जानकारीको लागि तलको फ्लाएरमा हेर्न सकिने छ।

हिमालयन ट्रिब्युन प्रतिनिधि

बागलुङमा बने १४ हजार आठ सय ‘एक घर, एक धारा’

0

ढोरपाटन (बागलुङ): गण्डकी प्रदेश सरकारले ‘एक घर, एक धारा’को नीति लिएको छ । प्रदेश सरकारले लिएको नीति कार्यान्वयन हुँदै गएपछि बागलुङमा त्यसले सार्थकता पाउन थालेको छ । बागलुङमामा ९५ प्रतिशत नागरिकसम्म आधारभूत खानेपानीको पहुँच पुगेको छ । एउटा धाराबाट करिब दश परिवारले पानी उपभोग गर्नुपरे पनि कुवा र पोखरीको पानी पिउनु परेको छैन । आधा दशक अगाडिसम्म दुर्गम गाउँका नागरिकले कुवाकै पानी पिउने गर्थे ।

पछिल्लो समय सरकारले खानेपानीको क्षेत्रमा लगानी बढाउँदै गएपछि अहिले कुवा र पोखरीको पानी खानुपर्ने बाध्यता हटेको हो । प्रदेश सरकारले बर्सेनि खानेपानीका लागि बागलुङमा करोडौँ लगानी गर्दै आएको छ । गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा जिल्लाभरका आयोजनाका लागि रू १८ करोड ७७ लाख बजेट विनियोजन गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । यस वर्ष जिल्लाका १० पालिकामा एक सय ३४ योजना परेका छन् ।

प्रमुख पौडेलका अनुसार बागलुङ नगरपालिकामा २७, गलकोट नगरपालिकामा १४, जैमिनी नगरपालिकामा १०, ढोरपाटन नगरपालिकामा २०, निसीखोला गाउँपालिकामा आठ, तमानखोलामा छ, काठेखोलामा १४, ताराखोलामा १०, बडिगाड १६ र बरेङ गाउँपालिकामा नौ वटा योजना परेका छन् । जिल्ला भर १४ हजार आठ सय वटा ‘एक घर एक धारा’ निर्माण भइसकेको उहाँको भनाइ छ । उक्त धाराबाट ६४ हजार चार सय १० जना नागरिक लाभान्वित भएको प्रमुख पौडेल बताउनुहुन्छ ।

पौडेलले भन्नुभयो, “हरेक वर्ष नयाँ धारा थपिँदै गएका छन्, केही ठाउँमा अझै पनि खानेपानीको सहज पहुँच पुगेको छैन, प्रदेशबाट आएका आयोजनालाई हामीहरूले मेसिनो गरी कार्यान्वयन गरिरहेका छौँ, सीमित बजेटका कारण कयौँ आयोजना समयममा सम्पन्न हुन सकेका छैनन्, विगतको तुलनामा पछिल्लो समय खानेपानीको पहुँच धेरै ठाउँमा पुग्दै गएको छ ।”

निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय कली विकले भने लामो समयदेखि खानेपानीको समस्या हुँदा राज्यको ध्यान पुग्न नसकेको गुनासो गर्नुभयो । गाउँ नजिकका मुहान नहुँदा खानेपानी समस्या पर्दै गएको उहाँको भनाइ छ । टाढाबाट ल्याउनका लागि ठूलो बजेट लाग्ने भन्दै त्यसका लागि तीनै तहका सरकारले चासो नदिएको विकले बताउनुभयो ।

“अरू ठाउँमा खानेपानीको समस्या समाधान भइसकेका छन्, यो अर्नाकोट क्षेत्रमा धेरै वर्ष भयो पानीको हाहाकार हुन थालेको तर अहिलेसम्म समाधान हुन सकेन,” विकले भन्नुभयो, “हाम्रो ठूलो नेतासम्म पहुँच नपुगेर होकी, राज्यले हामीहरूलाई उपेक्षामा पारेर हो, यस क्षेत्रका जनतालाई सधैँ पानीकै पिरलो छ, सुगम ठाउँहरूमा एक घर एक धारा बनिसकेका छन् ।”

नेपाललाई आइटी हब बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

0

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई ‘आइटी हब’ बनाउन तीव्रताका साथ काम गरिरहेको बताउनुभएको छ ।

शुक्रबार आयोजित ‘आइसिटी अवार्ड–२०२४’ वितरण तथा सम्मान कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा योगदान पु-याउने विभिन्न व्यक्ति र संस्थालाई अवार्ड प्रदान गर्दै उहाँले सञ्चार मन्त्रालयले प्रत्येक वडा र टोलमा इन्टरनेट पु-याउने कामलाई तीव्रता दिइरहेको बताउनुभएको हो ।

“देशको सबै क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा विकास जरुरी हुन्छ, त्यसैले जतिसक्दो चाँडो आइसिटी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो । नेपाललाई आइटी हबको रुपमा विकास गर्न भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यक ऐन /कानुन निर्माणको तयारीमा सञ्चार मन्त्रालय रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समयमा सामाजिक सञ्जाल (फेसबुक, युटयुब, एक्स (ट्वीटर, टिकटक) को सदुपयोगभन्दा दुरुपयोग भएकाले त्यसलाई नियमन गर्न सरकारले ऐन ल्याउने तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा एलआरहाई स्कूल (काठमाडौँ), सकुना सेकेन्डरी स्कूल (मोरङ), आइएमई बैँक, फुडमाण्डुका सञ्चालक मनोहर अधिकारी र डा विशेष खनाललगायत आइटी क्षेत्रमा योगदान पु-याउने १४ वटा सङ्घ/संस्था र व्यक्तिलाई ‘आइसिटी अवार्ड–२०२४’ प्रदान गरिएको थियो ।

एनपिएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

0

काठमाडौँ: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

काठमाडौँ महानगरले तिरायो भाटभटेनीलाई दुई लाख जरिवाना

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई रु दुई लाख जरिवाना तिराएको छ ।

कामपाको कृषि तथा पशुपंक्षी विभागका निरीक्षक डा अवधेश झाका अनुसार कामपाको ‘कल सेन्टर’मा आएको गुनोसोको आधारमा बिक्रीका लागि राखिएको खाद्य सामग्रीमा अनुगमन टोलीले अनुगमन गर्दा सुकेको नरिवलमा किरा लाग्नुको साथै ढुसीसमेत परेको फेला परेपछि जरिवाना रकम तिराइएको हो । अनुगमनको क्रममा खान नमिल्ने अवस्थाका ४४ प्याकेट नरिवल व्यवस्थापककै रोहवरमा नष्ट गरी जरीवाना गराइएको हो ।

कामपाको बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ दफा २९ को खण्ड घ र ङ बमोजिम कारबाही गरिएको हो । जरिवाना रकम कामपाको राजस्व खातामा जम्मा गरी अब उप्रान्त खाद्य सामग्री बिक्री वितरण गर्दा उच्च गुणस्तर र खान योग्य वस्तु निश्चित गरेर मात्र बिक्री गर्न निर्देशन दिइएको महानगरले जनाएको छ ।

कामपाले खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्द्धन शिविर (फुड सेफ्टी, बुट क्याम्प) कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।

“युक्रेनमा पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो”- पुटिन

0

मस्को: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो वार्षिक पत्रकार सम्मेलनमा रुसले पहिले नै पूर्ण क्षमताका साथ युक्रेनमाथि आक्रमण गर्नुपर्ने बताएका छन्। उनले युद्धको तयारीमा केही रणनीतिक चुक भएको स्वीकार गर्दै, रुसले २०२२ मा युक्रेनमाथि आक्रमण गर्ने विस्तृत योजना बनाउने जरुरी रहेको बताए।

चार घण्टाभन्दा बढी समय चलेको यो पत्रकार सम्मेलनमा पुटिनले युद्ध, सिरियाको अवस्था, रुसको आणविक कार्यक्रम, मुद्रास्फीति, र अमेरिकी राजनीति लगायतका विषयमा खुलेर आफ्ना विचार राखे।

युक्रेन युद्ध: पुटिनले भने, “रुसले युद्धको लागि अझ राम्रोसँग तयारी गर्नुपर्थ्यो। हामीले हाम्रो क्षमताको उपयोग गरिरहेको भए अहिले परिस्थिति फरक हुने थियो।”
सिरिया र बसर अल-असद: सिरियाको संकटबारे बोल्दै उनले त्यहाँको अवस्था अत्यन्तै जटिल रहेको बताए। तर, सिरियामा रुसको भूमिका हार नभएको पनि उनले स्पष्ट पारे। “सिरियाका पूर्व राष्ट्रपति बसर अल-असदलाई रुसले निरन्तर समर्थन गर्दै आएको छ,” पुटिनले भने।
डोनाल्ड ट्रम्प: अमेरिका र रुसबीचको सम्बन्धबारे पुटिनले भने, “हामीले चार वर्षदेखि भेट गरेका छैनौं। तर, डोनाल्ड ट्रम्पले चाहेमा म उनलाई भेट्न तयार छु।”

बीबीसी रसियाका सम्पादक रोजेनबर्गले पुटिनलाई सोधे, “बोरिस येल्तसिनको कार्यकालको तुलनामा अहिले रुस कस्तो अवस्थामा छ?”
जवाफमा पुटिनले भने, “रुसले आफ्नो सार्वभौमसत्ता पुनः प्राप्त गरेको छ। यस अर्थमा हामी थप मजबुत भएका छौं।”

पुटिनले बढ्दो मुद्रास्फीतिबारे चिन्ता व्यक्त गर्दै, यसलाई नियन्त्रण गर्न सरकारले तत्काल कदम चाल्ने बताए। आणविक कार्यक्रमबारे भने, “रुसको आणविक क्षमता सुरक्षित छ, र यो हाम्रो रणनीतिक शक्ति हो,” उनले भने।

पुटिनको यो वार्षिक पत्रकार सम्मेलनले रुसको हालको रणनीतिक, आर्थिक, र कूटनीतिक अवस्थाबारे जानकारी दिन सफल भएको छ। पत्रकार सम्मेलनले युक्रेन युद्ध र सिरियाको अवस्थालाई विशेष प्राथमिकता दिएको थियो। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्भावित भेटघाट र रुस-अमेरिका सम्बन्धले आगामी वर्ष कस्तो मोड लिन्छ भन्ने चासो बढाएको छ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत निलम्बित

0

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई निलम्बित गरेको छ।

काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै महानगरले उनलाई निलम्बन गरेको हो।

उनीमाथि छानबिन गर्न मेयर बालेन शाहको नेतृत्वमा टोलीसमेत गठन गरिएको छ।

दुर्गा प्रसाईं थुना मुक्त: उनले भने, “म हारेको छैन नि फेरि”

0
file photo

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रिहा हुँदै गर्दा आफू नहारेको प्रतिक्रिया दिएका छन्।

शुक्रबार सर्वोच्च अदालले थुनामुक्त गर्न आदेश दिएसँगै रिहा भएका प्रसाईंले उक्त प्रतिक्रिया दिएका हुन्।

‘म हारेको छैन है। यो हारेको होइन नि फेरि। यो मैले जितेको हो, यो तपाईंहरूको जित हो,’ प्रसाईंले भने।

छोरा निराजनको तर्फबाट नारायण खवासले पुस २ गते थुनामुक्तको माग दाबी गर्दै रिट दायर गरेकोमा बुधबार न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले प्रारम्भिक सुनुवाइ गरेर थुनुवा झिकाउने आदेशसहित कारण देखाऊ आदेश जारी गरेको थियो।

शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो।

यस्तो छ शुक्रबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४० पैसा र बिक्रीदर ९४ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ०७ पैसा र बिक्रीदर तीन सय ६१ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ७८ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ३४ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।