Tuesday, June 23, 2026
Home Blog Page 586

जेलमा रहेका आसारामले सर्वोच्च अदालतबाट अन्तरिम जमानत पाए

0

काठमाडौं। सन् २०१३ मा दायर बलात्कारसम्बन्धी मुद्दामा भारतको सर्वोच्च अदालतले विवादास्पद धार्मिक नेता आसारामलाई चिकित्सा आधारमा अन्तरिम जमानत दिएको छ। सर्वोच्च अदालतले उनलाई ३१ मार्चसम्मका लागि जमानत दिएको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार अदालतले आसारामलाई जमानतको अवधि चल्दासम्म प्रमाणसँग छेडछाड नगर्न र आफ्ना अनुयायीहरूसँग कुनै प्रकारको सम्पर्क राख्न निषेध गरेको छ।

सन् २०१३ मा सुरतकी एक महिलाले आसारामसहित अन्य सात जनाविरुद्ध बलात्कार र गैरकानूनी थुनामा राखेको आरोपमा मुद्दा दायर गरेकी थिइन्। यस मुद्दामा सुनुवाइको क्रममा एक अभियुक्तको मृत्यु भइसकेको छ।

एफआईआरका अनुसार आसारामले अहमदाबाद सहरको बाहिरी क्षेत्रमा रहेको आफ्नो आश्रममा सन् २००१ देखि २००६ सम्म पीडित महिलालाई बारम्बार बलात्कार गरेका थिए। चन्दखेडा प्रहरी चौकीमा दर्ता भएको यो घटनामा प्रहरीले सन् २०१४ मा आरोपपत्र दायर गरेको थियो।

आसाराम पहिले नै सन् २०१८ मा जोधपुरको एक अदालतले नाबालिग बलात्कार मुद्दामा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको थियो। यस मुद्दासँग सम्बन्धित उनले जेलमै स्वास्थ्य समस्या देखाउँदै जमानतका लागि पटक-पटक प्रयास गरेका थिए।

आसारामका समर्थकहरूको ठूलो समूहले उनको रिहाइको पक्षमा समर्थन गर्दै आएका छन्। तर, यस्ता घटनामा उनले पाएको जमानतले पीडित पक्षमा निराशा निम्त्याएको छ।

सर्वोच्च अदालतले आसारामलाई स्वास्थ्य उपचारका लागि जमानत प्रदान गरे पनि मुद्दामा न्यायिक प्रक्रिया प्रभावित हुन नदिन कडा सर्तहरू राखेको छ। यसले कानुनी र सामाजिक रूपमा संवेदनशील मामिलामा न्याय सुनिश्चित गर्ने सन्देश दिएको छ।

आसाराम हालसम्म आफ्नो कार्यहरूका कारण विवादास्पद बनेका छन्। चिकित्सा उपचारका लागि दिइएको यो जमानतपछि उनी पुनः जेलमा फर्कने वा अर्को कानुनी कदम चाल्ने विषयले सार्वजनिक ध्यानाकर्षण गरेको छ।

तिब्बतमा शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९५ पुग्यो

0

काठमाडौं। चीनमा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ। चीनको सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्क (CGTN) ले मृत्युको संख्या बढेको जानकारी दिएको हो।

मङ्गलबार बिहान तिब्बतको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उद्धार कार्य जारी छ, र मृतक तथा घाइतेहरूको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

चीनका राष्ट्रपति सी जिनपिङले भूकम्प प्रभावित क्षेत्रमा जीवन रक्षाको प्राथमिकता दिन र हताहतीलाई कम गर्न उद्धारका सबै उपलब्ध स्रोत र संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्। क्षेत्रीय प्रकोप राहत मुख्यालयले भूकम्प प्रभावित क्षेत्रमा उद्धार टोलीहरू खटाएको छ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टर (CENC) का अनुसार भूकम्पको केन्द्रबिन्दु २८.५ डिग्री उत्तरी अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। यो भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको बताइएको छ।

भूकम्पका कारण घरहरू ध्वस्त भएका, सडक तथा सञ्चार सेवा अवरुद्ध भएका, र हजारौँ मानिस विस्थापित भएका छन्। स्थानीय प्रशासनले प्रभावितलाई अस्थायी आवास तथा राहत सामग्री उपलब्ध गराउन आपतकालीन सेवा सञ्चालन गरेको छ।

यस भूकम्पका पराकम्पहरू आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। विशेषगरी हिमाली क्षेत्रमा रहेको डिङ्ग्री काउन्टीमा भौगोलिक बनावटका कारण उद्धार प्रयासमा थप चुनौती भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

यसैबीच, अन्तर्राष्ट्रिय संस्थाहरूले पनि चीनलाई सहयोगका लागि तयारी अवस्थामा रहेको जनाएका छन्। प्राकृतिक प्रकोपको यो घटनाले तिब्बत क्षेत्रको भौगोलिक संवेदनशीलतालाई पुनः सतहमा ल्याएको छ।

माओवादी बैठकः छ महिना अभियान, अर्को छ महिनापछि महाधिवेशन

0

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले आगामी छ महिनाभित्र अभियान सञ्चालन गर्ने र त्यसपछि अर्को छ महिनामा तयारी गरी महाधिवेशनका लागि जाने निर्णय गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा छ महिनाभित्र अभियान सञ्चालन गरी असारमा केन्द्रीय समिति बैठकको आयोजना गरेर हालको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गर्ने घोषणा गरेका छन्।

अध्यक्ष दाहालले जनतासँगको अभियानबाट प्राप्त सुझाव महाधिवेशन तयारीका लागि उपयोगी हुने बताउँदै, माघ महिनाभरि अभियानको तयारी गर्ने र फागुन १ गते जनयुद्ध दिवस मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए।

त्यसैगरी, चैत महिनाभरि तयारी गरी वैशाखमा हिमाली र मध्यपहाडी क्षेत्रका जनतालाई लक्षित गर्दै मध्यपहाडी लोकमार्गमा माओवादी अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।

बैठकले सबै नेताहरूलाई जिम्मेवारी प्रदान गर्ने कार्ययोजना पारित गरेको छ। केन्द्रीय कार्यालयले एक हप्ताभित्र सबै नेताहरूको कार्यविभाजन अन्तिम रूप दिने र माघ पहिलो साताभित्र सर्कुलर पठाउने अध्यक्ष दाहालले बताए।

साथै, विचार मिल्ने पार्टीहरूसँग एकता प्रक्रिया अघि बढाउन उच्चस्तरीय पार्टी एकता संवाद समिति गठन गरिएको छ। समितिले छिट्टै एकता वार्ता अघि बढाउने निर्णय गरेको छ।

बैठकले अध्यक्ष दाहालद्वारा प्रस्तुत ‘पार्टी रूपान्तरण र पुनर्गठनको संकल्प, आजको ऐतिहासिक आवश्यकता’ शीर्षकको राजनीतिक प्रस्ताव परिमार्जनसहित पारित गरेको छ। सो प्रस्तावमा पदाधिकारी र सदस्य गरी ११८ जनाले सुझाव दिएका थिए।

पार्टीभित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली

0

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि समूह नरहेको र सबै नेता तथा कार्यकर्ता वर्तमान एमालेको एकीकृत पंक्ति भएको बताएका छन्।

एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल सम्पन्न गर्दै समापन मन्तव्य दिँदै अध्यक्ष ओलीले अब पार्टीमा पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरूको अस्तित्व नरहेको बताएका हुन्। उनले यस्ता पूर्वसमूहहरू खोज्नतिर समय नखर्चिन आग्रह गर्दै भने, ‘एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन्। हामीले भरभराउँदो वर्तमानको एमाले खोज्नुपर्छ। हामी यथास्थितिवादी होइनौँ, क्रान्तिकारी हौँ। हाम्रो लक्ष्य समाजवाद, समृद्ध नेपाल र सुखी नेपाली हो। आन्तरिक र बाह्य चुनौतीहरूसँग एकजुट भएर लड्दै देशको हितमा प्रभावकारी काम गर्नुपर्छ।’

ओलीले पार्टीभित्र स्वस्थ र रचनात्मक आलोचना स्वागतयोग्य भए पनि लोकतन्त्रको नाममा गुटबन्दी र अराजकता कहिल्यै स्वीकार्य नहुने बताए। उनले मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकारले कांग्रेस र एमालेको सहकार्यमा देश र जनताको पक्षमा काम गरिरहेको स्पष्ट गरे। उनले आफ्नो सरकार चुनावदेखि चुनावसम्मको केवल सत्ता-यात्राका लागि नभई समाजवादको लक्ष्य प्राप्तिमा केन्द्रित रहेको बताए।

पार्टीका नेता–कार्यकर्तालाई सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्न र भएका सकारात्मक कामहरूको प्रचार गर्न आह्वान गर्दै, ओलीले असंलग्न परराष्ट्र नीति र सन्तुलित छिमेक नीतिप्रति सरकार दृढ रहेको स्मरण गराए। उनले छिमेकी देशहरूको विकासबाट लाभ लिनुपर्नेमा जोड दिदैं नेपालको राजनीतिक नक्सामा समेटिएको भूमि फिर्ता लिने अठोट पुनः व्यक्त गरे।

पुस २१ गते सुरु भएको केन्द्रीय कमिटीको बैठकले राजनीतिक प्रतिवेदन र संगठन सुधारका योजना पारित गर्दै समापन भएको छ।

धनराज गुरुङसँग सीआईबीले लियो दोस्रो पटक बयान

0

काठमाडौं: मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीले दोस्रो पटक बयान लिएको छ। गुरुङलाई केन्द्रीय अनुसन्धान ब्युरोमा बोलाएर करिब पाँच घण्टा सोधपुछ गरिएको हो।

ललितपुर महानगरपालिका-५, महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनको घटनामा यसअघि कार्तिक २८ गते पनि प्रहरीले उनलाई सोधपुछ गरेको थियो।

सहकारीको रकम हिनामिना गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङसहित पाँच जनाविरुद्ध जाहेरी परेको छ।

प्रहरीले गुरुङसँग उनकी पूर्वपत्नी ज्योति गुरुङले अपचलन गरेको भनिएको रकम, सहकारीबाट लिएको ऋण, र उनले भुक्तानी गरेको भनिएको ९२ लाख रुपैयाँबारे सोधपुछ गरेको जानकारी दिएको छ।

ज्योति गुरुङ २०५७ सालदेखि सहकारीमा कर्मचारीको रूपमा आबद्ध थिइन् भने २०७५ सालमा कार्यकारी प्रमुख रहेकी थिइन्। धनराज र ज्योतिको सम्बन्ध २०७६ फागुन २९ गते ललितपुर जिल्ला अदालतबाट सम्बन्धविच्छेद भएको पाइन्छ।

गुन्द्री बुन्ने चलन लोप हुँदै

0

वालिङ (स्याङ्जा): पछिल्लो समयमा स्याङ्जाको वालिङ क्षेत्रमा गुन्द्री बुन्ने परम्परा हराउँदै गएको छ। खेतमा धान काटेर दाइँ गर्ने बेला लामो–लामो पराल छाँटेर राख्ने र फुर्सदको समयमा गुन्द्री बुन्ने चलन थियो, तर अहिले यो परम्परा लोप हुने अवस्थामा पुगेको छ।

विशेषगरी पुस–माघका फुर्सदिला दिनमा हाते तानको प्रयोग गरी गुन्द्री बुन्ने गरिन्थ्यो। धार्मिक पूजाआजा तथा पितृकार्यमा धानको परालबाट बुनिएका नयाँ गुन्द्रीको प्रयोग गरिन्थ्यो। तर, बजारमा प्लास्टिकका गुन्द्री र म्याट उपलब्ध भएपछि परम्परागत गुन्द्री बुन्ने चलन घट्दै गएको हो।

वालिङ–८ की सीता सुवेदीका अनुसार प्लास्टिकका गुन्द्री र म्याटले परम्परागत गुन्द्रीको स्थान लिँदै गएका छन्। “बजारमा प्लास्टिकका गुन्द्री र म्याट सजिलै पाइन्छ, तिनकै प्रयोग गर्न थालियो,” सुवेदीले भनिन्। “गुन्द्री बुन्न अब हामीले सकिँदैन, नयाँ पुस्ताले त झन यसलाई झन्झटिलो ठान्छन्।”

खेतीपाती घट्नु र हाइब्रिड जातको धानले छोटो पराल उत्पादन गर्नुले पनि गुन्द्री बुन्ने परम्परा प्रभावित भएको सुवेदीको भनाइ छ। सहरोन्मुख क्षेत्रमा प्लास्टिकबाट बनेका गुन्द्री र म्याटको प्रयोगले परम्परागत गुन्द्री बुन्ने चलनलाई विस्थापित गरेको वालिङ–८ की रन्नता बगालेले बताइन्।

गुन्द्री बुन्ने काम झन्झटिलो भएकाले नयाँ पुस्ता यसतर्फ आकर्षित नभएको र पुरानो पुस्ताले आफ्नो सीप नयाँ पुस्तामा हस्तान्तरण नगर्दा यो परम्परा लोप हुने खतरा रहेको छ।

गुन्द्री बुन्ने क्रममा परालको लम्बाइअनुसार चौडाइ निर्धारण गरिन्छ। छोटो परालबाट थर्कटी र चकटी बुनिन्छ। स्थानीय स्रोत र साधनको प्रयोग गरी धानको पराल, जुटको धागो, र बाबियोको खरबाट गुन्द्री तयार गरिन्छ। हाते तानको सहायताले बाबियोको डोरीमा पराल बुनिने र काठको हतासोले ठोक्दै गुन्द्री तयार पार्ने चलन थियो।

परम्परागत सीप र ज्ञान संरक्षण नगर्दा यस संस्कृति हराउँदै गएकोमा स्थानीयवासी चिन्तित छन्।

पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन लागेको विषयमा बाबुरामको असहमति

0

काठमाडौं: पूर्व राष्ट्रपति र उपराष्ट्रपति दलीय राजनीतिमा सक्रिय हुन थालेपछि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाउनुभएको छ। नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले संविधानको मूल मर्म विपरीत पूर्व राष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्किनु सकारात्मक सन्देश नभएको टिप्पणी गर्नुभएको हो।

भट्टराईले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ, ‘पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति आआफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा केवल उनीहरू र उनीहरूको पार्टीको मात्र सरोकारको विषय होइन। यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल मर्मको रक्षा र विकासको विषय हो।’

उहाँले थप भन्नुभएको छ, ‘साथै, उहाँहरू दुवैजना ‘कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनुभएकोले उहाँहरू र उहाँहरूका पूर्व पार्टीहरूले परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एकदलीय प्रणालीका पक्षधर हुन् कि हाम्रो विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगिकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने कुरा परीक्षण गर्न यो महत्त्वपूर्ण अवसर पनि हो। त्यसैले यस विषयमा सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस्।’

पछिल्लो समय पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय समितिको बैठकमा सहभागी हुन थालेका छन्। यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेका बेला भट्टराईको यो टिप्पणी आएको हो।

प्रधानमन्त्रीद्वारा सुरक्षित रहन आग्रह

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभएको छ, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”

आज बिहान ६ः५० बजे नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडाँै सहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन

0

लमजुङ: चालु आर्थिक वर्षमा लमजुङमा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ। कृषि ज्ञान केन्द्रका अनुसार एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट यो उत्पादन भएको हो।

पछिल्ला वर्षहरूमा सुन्तला उत्पादनमा गिरावट आएको कृषि प्रसार अधिकृत सरोज थापाले जानकारी दिनुभयो। किसानको बेवास्ता, सुन्तलाको बोटमा रोग र किरा लाग्ने समस्याका कारण उत्पादनमा वृद्धि हुन नसकेको उहाँको भनाइ छ। यद्यपि, गत वर्ष र यस वर्षको उत्पादन भने तुलनात्मक रूपमा समान रहेको छ।

गाउँसहर, स्याउत, चिती, भोर्लेटार, सिम्पानी, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदीपुर, र धिमिरेलगायतका स्थानहरूमा सुन्तला उत्पादन हुँदै आएको छ। तर, ती क्षेत्रमा उत्पादन बर्सेनि घट्दै गएको थापाले बताउनुभयो।

गत आर्थिक वर्षमा एक सय ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेर चार सय मेट्रिकटन उत्पादन भएको थियो।
आव २०७९/८० मा एक सय २५ हेक्टर क्षेत्रफलबाट पाँच सय २५ मेट्रिकटन उत्पादन भएको थियो।
आव २०७८/७९ मा एक सय ८० हेक्टर क्षेत्रफलबाट एक हजार दुई सय ४० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो।
आव २०७७/७८ मा दुई सय १३ हेक्टर क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो।

कृषि ज्ञान केन्द्रका अनुसार लमजुङ सुन्तलाको लागि उपयुक्त क्षेत्र भए पनि विभिन्न रोग र किराको सङ्क्रमण, प्राविधिक ज्ञानको अभाव, र किसानको बेवास्ताका कारण उत्पादनमा कमी आएको हो।
सुन्तलाको बोट र फलमा कत्ले, पतेरो, सिट्रेस डिक्लाइन, र ग्रिनिङ भाइरसजस्ता समस्याहरू देखिएको छ। यी समस्या एक बोटबाट अर्को बोटमा सर्ने भएकाले सुन्तला बगैँचा मासिँदै गएको थापाले बताउनुभयो।

जिल्लामा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, र चितवनजस्ता ठूला सहरहरूमा खपत हुने गरेको छ। विगतमा लमजुङमा एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आए पनि अहिले एक सय ३० हेक्टरमा मात्र सीमित भएको छ। उत्पादन घटेका कारण बाहिरी जिल्लाका सुन्तलाले स्थानीय बजार ओगट्न थालेको व्यापारीहरूले जनाएका छन्।

सुन्तला उत्पादनको दीगो व्यवस्थापनका लागि किसानमा प्राविधिक ज्ञानको अभिवृद्धि, रोग रोकथाम, र सिँचाइको व्यवस्था जस्ता पहल आवश्यक रहेको सरोकारवालाहरूले औँल्याएका छन्।

चिया क्षेत्रका समस्याको समाधान गर्ने विश्वप्रकाश शर्माको प्रतिबद्धता

0

झापा: नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले चिया क्षेत्रका समस्याहरू समाधान गर्न दृढता व्यक्त गर्नुभएको छ।

धुलाबारीमा आयोजित कार्यक्रममा कोशी प्रादेशिक चिया समन्वय समितिले ध्यानाकर्षण पत्र बुझाएपछि महामन्त्री शर्माले चिया क्षेत्रका श्रमिक, किसान, उद्योगी र व्यवसायीका साझा समस्याहरूको दीगो समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले चिया क्षेत्रका चुनौतीहरूको व्यवस्थापनका लागि विशेष ऐन निर्माण गर्न आवश्यक रहेको बताउँदै यस विषयमा सरकारसँग समन्वय गर्ने वाचा गर्नुभयो।

समितिले चिया निर्यातका क्रममा देखिएका समस्या, ऐन–कानुनको अभाव र चिया क्षेत्रको विकासमा राज्यको ध्यानाकर्षण अभावबारे जानकारी गराएको थियो। पत्रमा प्रदेश सरकारले चिया क्षेत्रको लागि विनियोजन गरेको बजेट खर्च गर्न कठिनाइ भइरहेको र नेपाल सरकारले यस क्षेत्रको प्रवर्द्धन र संरक्षणमा पर्याप्त ध्यान नदिएको उल्लेख छ।

चिया क्षेत्रको समस्यामा ऐनको अभाव प्रमुख चुनौती
नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले चिया क्षेत्रको ९८ प्रतिशत हिस्सा कोशी प्रदेशमा पर्ने भए पनि प्रदेश सरकारले यसका लागि ठोस कदम नचालेको गुनासो गर्नुभयो। वार्षिक रु १३ अर्बभन्दा बढीको कारोबार र रु पाँच अर्ब बराबरको विदेशी मुद्रा आर्जन गर्ने चिया क्षेत्रमा ऐन कानुनको अभावले व्यवस्थापनमा जटिलता आएको व्यवसायीहरूले बताए।

सिँचाइ र विद्युत महसुलमा सहुलियतको माग
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले चिया क्षेत्रले गैरकृषि अवरोध भोगिरहेको बताउनुभयो। चिया खेतीका लागि सिँचाइमा लाग्ने उच्च विद्युत महसुल र ‘डिमान्ड चार्ज’ खारेज गरी कृषि सिँचाइजस्तै सहुलियत महसुलको व्यवस्था गर्नुपर्ने माग गरिएको उहाँले जानकारी दिनुभयो।

चिया क्षेत्रको विकास, प्रवर्द्धन, र दीगो समाधानका लागि समन्वित प्रयास र नीति निर्माणमा सरकारले प्राथमिकता दिनुपर्ने आवाज उठिरहेको छ।