Friday, June 26, 2026
Home Blog Page 539

आजको मौसम: पहाडी भू–भागमा आंशिक बदली

0

काठमाडौँ: हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य ठाउँको मौसम सफा रहनेछ। राति कोशी र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी भूभाग खुला रहनेछ।

विभागका अनुसार आगामी २४ घण्टामा देशभर कतै पनि वर्षा वा हिमपातको सम्भावना छैन। साथै, विभागले मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन अनुरोध गरेको छ।

पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतंककारी मारिए

0

इस्लामावाद: पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूसँगको भीडन्तमा ६ जना आतंककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार सुरक्षा बलहरूले उत्तरी वजिरिस्तान जिल्लामा आतंककारीहरूको उपस्थितिको सुराकी पाएपछि गुप्तचरमा आधारित अपरेशन सञ्चालन गरेका थिए।

सुरक्षा अपरेशनका क्रममा आतंककारीहरूले गोली चलाएपछि दोहोरो भिडन्त भएको र त्यसक्रममा ६ जना आतंककारी मारिएको आईएसपीआरले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

हतियारसहित आतंककारीको समूह नष्ट

मारिएका आतंककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद बरामद गरिएको छ। आईएसपीआरका अनुसार ती आतंककारीहरू सुरक्षा बलहरूसँगको भिडन्तका साथै सर्वसाधारणको हत्या तथा विभिन्न आतंकवादी गतिविधिमा संलग्न थिए।

सेनाले उत्तरी वजिरिस्तानका अन्य भागहरूमा पनि आतंककारीहरूको उपस्थिति रहेको आशङ्का गर्दै थप अपरेशन जारी राख्ने जनाएको छ। आईएसपीआरले स्थानीय जनतालाई सुरक्षाका उपायहरू अवलम्बन गर्न आग्रह गर्दै आतंकवाद विरुद्धको संघर्षमा सेना प्रतिबद्ध रहेको बताएको छ।

उत्तरी वजिरिस्तान पाकिस्तानमा लामो समयदेखि आतंकवादी समूहहरूको आश्रयस्थल मानिँदै आएको छ। पछिल्लो समय पाकिस्तानी तालिबान (टीटीपी) लगायतका विद्रोही समूहहरूले सुरक्षा बलहरूमाथि आक्रमण बढाएका छन्, जसका कारण सेनाले आक्रमक अपरेशन अघि बढाएको हो।

नारायणहिटी गेटमा राजावादीको प्रदर्शन

0

काठमाडौं: हिन्दू राष्ट्रसहित राजसंस्थाको पुनःस्थापनाको माग गर्दै शनिबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालयअगाडि राजसंस्था समर्थकहरूले प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले नेपाली झन्डासहित राजसंस्थाको पक्षमा नाराबाजी गर्दै मुलुकलाई स्थायित्व र विकासको दिशामा अघि बढाउन हिन्दू राष्ट्रसहितको राजसंस्था आवश्यक रहेको माग गरेका थिए।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो।

संशोधनका नाममा संविधान उल्टाउने खेल: प्रचण्ड

0

सिरहा: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको नाममा जनताको अधिकार संकुचित गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

तराई–मधेस जनजागरण अभियान अन्तर्गत सिरहाको सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले दशवर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने कुनै पनि प्रयास सफल हुन नदिइने बताए।

“अहिले सरकारमा रहेका दलहरू नै संविधान संशोधनको बहानामा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र गरिरहेका छन्। जनताको बलिदानबाट प्राप्त संविधान उल्टाउने खेल हामी कुनै पनि हालतमा सफल हुन दिन्नौँ,” प्रचण्डले भने।

मधेसी समुदायप्रति प्रतिबद्धता दोहोर्याउँदै हुलाकी अभियान

प्रधानमन्त्री दाहालले विगतका कमजोरी सच्याउँदै मधेसी समुदायसँग पुनः गहिरो सम्बन्ध स्थापित गर्न माओवादी केन्द्रले ‘हुलाकी अभियान’ सुरु गरेको बताए।

उनले जनयुद्धकै क्रममा मधेसी जनताको अधिकार स्थापित गर्न मधेस सरकार गठन तथा पार्टीभित्र मधेसी राष्ट्रिय मुक्ति मोर्चा स्थापना गरिएको स्मरण गराउँदै आफ्नो पार्टी मधेसी समुदायको आत्मसम्मान र हकहितका लागि सधैं प्रतिबद्ध रहेको उल्लेख गरे।

हुलाकी राजमार्ग पुनःनिर्माणमा जोड

पूर्वप्रधानमन्त्री दाहालले जीर्ण अवस्थामा रहेको हुलाकी राजमार्ग पुनःनिर्माणको विषयमा पनि चर्चा गर्दै आफू पहिलो पटक प्रधानमन्त्री रहँदा भारतसँग समझदारी गरी निर्माण प्रक्रिया अघि बढाएको जिकिर गरे।

उनले चोहर्वा–सिरहा, सिरहा–कल्याणपुर–मिर्चैया सडक निर्माण तथा माडर भन्सार स्तरोन्नतिका लागि आफ्नो निरन्तर पहल रहने प्रतिबद्धता व्यक्त गरे।

“सिरहा र धनुषा जोड्ने कमला नदीको भत्किएको पुलको पुनर्निर्माण प्रक्रियालाई तीव्रता दिन हामीले आवश्यक पहल गर्नेछौँ,” उनले भने।

अन्य नेताहरूको सम्बोधन

कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादव, स्थायी समिति सदस्य विश्वनाथ साहलगायत नेताहरूले सम्बोधन गरे।

कार्यक्रम जिल्ला इन्चार्ज अजयशंकर नायकको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन केन्द्रीय सदस्य जगतप्रसाद यादवले गरेका थिए।

ह्वाइटहाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की

0

काठमाडौं: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादलाई ‘राम्रो अनुभव नभएको’ बताउँदै सम्बन्ध सुधार्न सकिने संकेत दिएका छन्। ह्वाइट हाउसमा भएको असहज भेटवार्तापछि सामाजिक सञ्जालमार्फत उनले अझै पनि संवादको सम्भावना रहेको प्रतिक्रिया दिएका हुन्।

जेलेन्स्की ओभल अफिसमा भएको असाधारण वार्तामा डोनाल्ड ट्रम्प र रिपब्लिकन सिनेटर जेडी वेन्ससँग भिडेका थिए। सो वार्तापछि ह्वाइट हाउसले उनलाई भवन छोड्न आग्रह गरेको थियो भने संयुक्त पत्रकार सम्मेलन समेत अकस्मात रद्द गरिएको थियो।

बाझाबाझकै क्रममा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई ‘आभारी’ भनेका थिए, तर साथसाथै ‘तेस्रो विश्वयुद्धसँग जुवा खेल्ने’ भनी कटाक्ष गरेका थिए। ट्रम्पको यो टिप्पणीले आक्रोशित भएका जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै सम्झौता हुन नहुने स्पष्ट पारेका थिए। साथै, क्रेमलिनप्रति ट्रम्पको नरमपन्थी व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

ह्वाइट हाउसबाट बाहिरिनुपरेपछि जेलेन्स्कीले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै विवाद ‘राम्रो नभएको’ तर सम्बन्ध बचाइराख्न सकिने बताएका छन्। ट्रम्पले पनि आफ्नो प्रतिक्रिया दिँदै शान्तिका लागि तयार भए जेलेन्स्की पुनः वार्ताका लागि आउन सक्ने बताएका छन्।

यस घटनापछि जेलेन्स्कीले युरोपेली नेताहरूसँग छलफल गरेका छन्। बेलायती प्रधानमन्त्री कीर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग कुराकानी गरेको र युक्रेनलाई बेलायतको अटूट समर्थन रहने प्रतिबद्धता जनाएको बीबीसीले उल्लेख गरेको छ।

युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला यस्तो कूटनीतिक तनाव बढ्दा आगामी दिनमा अमेरिका र युक्रेनबीचको सम्बन्ध कस्तो रहने भन्ने प्रश्न उठेको छ। ट्रम्पले पुनः अमेरिकी राष्ट्रपतिको निर्वाचन जितेमा युक्रेनलाई दिइने अमेरिकी सैन्य सहायता र युद्धको दिशा कस्तो रहने भन्नेबारे अनि

आज शून्य भेदभाव दिवस, समुद्री घाँस दिवस पनि आजै

0

काठमाडौँ: आज शून्य भेदभाव दिवस तथा समुद्री घाँस दिवस मनाइँदैछ। विश्वभर सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो।

सन् २०२२ देखि संयुक्त राष्ट्रसङ्घकै आह्वानमा समुद्री पारिस्थितिकी प्रणालीको संरक्षणप्रति चेतना जगाउन समुद्री घाँस दिवस मनाउने गरिन्छ। जलवायु परिवर्तनको प्रभाव न्यून गर्न तथा तटीय क्षेत्रका मानिसलाई बाढी र आँधीबेहरीको जोखिमबाट जोगाउन समुद्री घाँसलाई महत्वपूर्ण मानिन्छ।

एचआईभीसम्बन्धी कलंक तथा भेदभाव हटाउनका लागि विश्वव्यापी साझेदारीका रूपमा ४१ देश तथा थुप्रै साझेदारहरूले एकताबद्ध प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक साझेदारहरूको संलग्नता र नेतृत्वले प्रणालीगत मानव अधिकार अवरोध तथा असमानता हटाउने प्रयासलाई तीव्र बनाएको छ, जसले थप न्यायपूर्ण र समावेशी एचआईभी नियन्त्रण रणनीतिलाई सघाएको छ।

शून्य भेदभाव दिवस समावेशीकरण, स्नेह, शान्ति, लैङ्गिक समानता तथा एचआईभी एड्सविरुद्ध एकताका पक्षमा मनाइन्छ। यस दिन भेदभावरहित समाज निर्माण तथा पीडितलाई सम्मानजनक व्यवहार गर्नुपर्नेमा जोड दिइन्छ।

सीमान्तकृत वर्गका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्दै सन् २०३० सम्म एचआईभी नियन्त्रणका लक्ष्य हासिल गर्न अभिप्रेरित गर्नु यस दिवसको मुख्य उद्देश्य रहेको छ।

विदेशी मुद्राको विनिमयदर :अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ ।

आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४० पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रूपैयाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ६० पैसा र बिक्रीदर १०४ रूपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५० पैसा कायम भएको बैङ्कले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर चार रूपैयाँ ०९ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रूपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५७ पैसा र बिक्रीदर नौ रूपैयाँ ६१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९८ पैसा र बिक्रीदर १३ रूपैयाँ ०४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४७ पैसा र बिक्रीदर १९ रूपैयाँ ५६ पैसा तोकिएको
छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १८ रूपैयाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ३५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७२ रूपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ८६ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ४२ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

रास्वपाद्वारा वडा अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई सपथ

0

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ जिल्लाको अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई शपथ गराएको छ।

वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित ‘सपथ ग्रहण’ कार्यक्रममा काठमाडौँका ४१ वडाको अधिवेशनबाट निर्वाचित २९५ जना पदाधिकारी तथा सदस्यहरूले शपथ लिएका छन्। रास्वपा काठमाडौँ जिल्ला सभापति प्रदीप विष्टले उनीहरूलाई सामूहिक शपथ गराउनुभयो।

शपथपछि कार्यवाहक सभापति डोलप्रसाद अर्यालले निर्वाचित सबैलाई आफ्नो जिम्मेवारीमा केन्द्रित भएर काम गर्न निर्देशन दिनुभयो। कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले वडा समितिलाई वडास्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, स्थानीय विकास योजनाहरू अघि बढाउने र वडाका गतिविधिहरूको अनुगमन गर्ने जिम्मेवारीबारे जोड दिनुभयो। साथै, उहाँले वडा पदाधिकारी तथा सदस्यहरूलाई जनताको दुःख-सुखको सारथी बन्न आग्रह गर्नुभयो।

संसदीय दलका उपनेता एवं सांसद विराजभक्त श्रेष्ठले आगामी निर्वाचनमा रास्वपालाई पहिलो पार्टी बनाउन कटिबद्ध भएर काम गर्न निर्देशन दिनुभयो। शपथ ग्रहण कार्यक्रममा कार्यवाहक सभापति अर्याल, कार्यवाहक महामन्त्री बुर्लाकोटी, संसदीय दलका उपनेता श्रेष्ठसहित केन्द्रीय सदस्य तथा सांसदहरूको उपस्थिति रहेको थियो।

ढोरपाटनमा हिमपातहुँदा जनजीवन प्रभावित

0

ढोरपाटन: माथिल्लो बागलुङमा भारी हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको छ। शुक्रबार दिउँसोदेखि सुरु भएको वर्षासँगैको हिमपातले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायत क्षेत्रका बासिन्दा प्रभावित बनेका छन्।

निसीखोला गाउँपालिका–६ को जाउलेपानी र पातीहाल्ने क्षेत्रमा समेत भारी हिमपात भएको छ। चिसो बढ्दा स्थानीयको दैनिकी कष्टकर बनेको छ। विशेष गरी निसेलढोर र ढोरपाटन उपत्यकाका बासिन्दा बढी प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार शुक्रबार दिउँसो २ बजेदेखि हिमपात सुरु भएको थियो, जसले अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्रलाई सेताम्य बनाएको छ।

उहाँले भन्नुभयो, “एक-दुई दिनदेखि चिसो अत्यधिक बढेको थियो, आज बाक्लो हिमपात भयो। यहाँका धेरैजसो किसानहरू गाईभैंसी पाल्छन्, उनीहरूलाई पशुहरूलाई दाना र घाँस खुवाउन समस्या परेको छ। पुस-माघ महिनामा हिउँ परेको थिएन, तर फागुन लागेपछि पो बल्ल हिमपात भयो।”

लामो समयको खडेरीपछि भएको हिमपातले किसानहरूलाई भने राहत महसुस गराएको छ। बारीमा लगाएको गहुँ, जौँ, र ज्वाँतो सुकेको देखेर निराश भएका किसानलाई वर्षासहितको हिमपातले आशा जगाएको छ। तर, निरन्तर हिमपात भइरहेकाले ढोरपाटन पुग्ने पर्यटकहरू बुर्तिबाङमै रोकिएको अवस्था छ।

यस्तै, बागलुङ, रोल्पा, र रुकुमको सिमाना पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढा मगरका अनुसार दिउँसो एक बजेदेखि हिमपात जारी छ, जसका कारण यातायात सेवा ठप्प भएको छ। पश्चिम नेपालबाट राजधानीसहितका प्रमुख सहरतर्फ जाने सवारी साधनहरू चल्न सकेका छैनन्।

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

0

काठमाडौँ: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ ।

विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।

आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।