Tuesday, June 30, 2026
Home Blog Page 494

संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छ : अध्यक्ष दाहाल

0

विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संशोधनका लागि उपयुक्त समय आएको बताएका छन्।

पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित ‘हाम्रो मत राष्ट्रिय दैनिक’को २२औं वार्षिकोत्सव समारोहको शनिबार उद्घाटन गर्दै अध्यक्ष दाहालले संविधान परिमार्जन र संशोधनका लागि गम्भीर छलफल आवश्यक रहेको बताए। संविधान संशोधनबारे सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो।

उनले शासकीय स्वरूप नै वर्तमान अस्थिरताको मूल कारण भएको उल्लेख गर्दै अहिलेको व्यवस्था अनुरूप उपयुक्त शासकीय ढाँचा र निर्वाचन प्रणाली तय हुनुपर्नेमा जोड दिए।

राजनीतिक प्रणाली र आर्थिक विकासबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले देशमा प्रशस्त प्राकृतिक स्रोतसाधन हुँदाहुँदै पनि आर्थिक क्षेत्र सुदृढ नहुनु चिन्ताजनक भएको बताए। साथै, आर्थिक नीतिमाथि पनि व्यापक छलफल आवश्यक रहेको उनको भनाइ थियो।

अध्यक्ष दाहालले सरकारबाट सेवा प्रवाह प्रभावकारी रूपमा हुन नसकेको जनाउँदै त्यसकै कारण राजनीतिक दल र नेताप्रति जनताको भरोसा घट्दै गएको बताए। उनले सरकार जनताको आवश्यकता र आकांक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले केही दिनमै लगानी सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए। उनले सम्मेलनबाट महत्वपूर्ण आर्थिक गतिविधि सुरू हुने आशा व्यक्त गर्दै यस वर्ष घोषणा गरिएको ‘पर्यटन वर्ष २०८२’ मार्फत पनि प्रदेशको आर्थिक गतिविधि सशक्त हुने विश्वास व्यक्त गरे।

इरान र अमेरिका आणविक वार्ताको अर्को चरणमा अगाडि बढ्न सहमत

0

काठमाडौं: इरान र अमेरिकाबीच चलिरहेको आणविक सम्झौता सम्बन्धी वार्ता नयाँ चरणतर्फ अघि बढ्ने भएको छ। वार्ताका दुई प्रमुख पक्षहरूले वार्तालाई अर्को चरणमा लैजाने सहमति जनाएका हुन्। यो जानकारी ओमानको विदेश मन्त्रालयका प्रवक्ताले दिएका छन्।

शनिबार रोममा ओमानका विदेशमन्त्री हम्माद अल-बुसैदीको मध्यस्थतामा इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको हो।

ओमानी विदेश मन्त्रालयका अनुसार वार्तामा इरानका उप–विदेशमन्त्री अब्बास अराघची र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ सहभागी थिए।

दुवै पक्षले वार्तालाई “अर्को चरणमा लैजाने” सहमति जनाएका छन्।

दोस्रो चरणको वार्तापछि इरानका उप–विदेशमन्त्री अराघचीले यस चरणको संवादलाई “रचनात्मक र प्रगतिशील” भएको बताएका छन्।

“हामी थुप्रै सिद्धान्तहरू र उद्देश्यहरूमा स्पष्ट समझमा पुग्न सफल भएका छौं,” उनले बताएका छन्।

ट्राफिक शुल्कजस्ता अति सामान्य गल्तीमा पनि विदेशी विद्यार्थीको भिसा रद्द गर्दै अमेरिका

0

काठमाडौं: अमेरिकी आप्रवासन कानून व्यवसायी संघ (एआईएलए) को नयाँ प्रतिवेदनले अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरिने घटनामा आएको वृद्धि प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। एआईएलएले अप्रिल १७ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म ३२७ वटा यस्ता घटनाहरू रिपोर्ट भएका छन्, जसमा विद्यार्थीहरूको भिसा रद्द गरिएको थियो वा सेभिस (विद्यार्थी तथा विनिमय आगन्तुक सूचना प्रणाली) रेकर्डहरू बन्द गरिएको थियो।

यी तथ्याङ्कहरू प्रभावित विद्यार्थी, आप्रवासन वकिल तथा विश्वविद्यालयका कर्मचारीहरूले दिएको जानकारीमा आधारित छन्। रिपोर्ट भएका ३२७ घटनामध्ये झण्डै आधा भारतीय नागरिकहरू छन् भने १४ प्रतिशत घटनामा चिनियाँ विद्यार्थीहरू प्रभावित भएका छन्। त्यसबाहेक, दक्षिण कोरिया, नेपाल र बंगलादेशका विद्यार्थीहरू समेत यसबाट प्रभावित भएका छन्।

प्रतिवेदनअनुसार, भिसा रद्द गरिएका विद्यार्थीहरूमध्ये अधिकांश वैकल्पिक व्यावहारिक प्रशिक्षण (ओपीटी) मा रहेका थिए। सेभिस रेकर्ड बन्द भएपछि ती विद्यार्थीहरू काम गर्न अयोग्य हुने अवस्था आएको छ। यद्यपि पढाइमा सक्रिय विद्यार्थीहरूलाई केही सहजता भए पनि स्नातक सकिएका विद्यार्थीहरूलाई आफ्नो कानुनी स्थिति पुनःस्थापना गर्न गाह्रो भइरहेको देखिएको छ।

रिपोर्टमा उल्लेख गरिएका केही भिसा रद्दको कारणहरू सामान्य र अचम्मलाग्दा छन्। जस्तै, पार्किङ जरिवाना वा तीव्र गतिमा सवारी सञ्चालन गरेबापतको सानो मुद्दाका कारण प्रहरीले रेकर्ड बनाउँदा पनि विद्यार्थीको भिसा रद्द गरिएको थियो। तीमध्ये अधिकांश घटनामा कुनै अभियोग लगाइएको थिएन वा मुद्दा खारेज गरिइसकिएको थियो। केवल दुई घटनामा राजनीतिक गतिविधिसँग सम्बन्ध रहेको उल्लेख गरिएको छ।

एआईएलएको भनाइमा, सेभिस रेकर्ड हटाउने र भिसा रद्द गर्ने प्रक्रियामा एकरूपता नभएको र यसमा अनियमितता देखिएको छ। यसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई बिना चेतावनी कानुनी तथा शैक्षिक संकटमा पार्ने चिन्ताजनक अवस्था सिर्जना गरेको छ।

सरकारको रवैया अलोकतान्त्रिक र सर्वसत्तावादी : राप्रपा

0

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई सिंहदरबार परिसरबाटै पक्राउ गर्नु सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र भएको आरोप लगाएको छ।

आइतबार दिउँसो सिंहदरबारभित्र प्रदर्शन गरेपछि अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरूलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसलगत्तै बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सरकारको कदमप्रति गम्भीर असन्तुष्टि जनाएको छ।

राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारको यो रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाज दबाउने निरंकुश चरित्रको संकेत हो। अध्यक्षसहित नेताहरूको गिरफ्तारीप्रति पार्टी घोर निन्दा र भर्त्सना गर्दछ, यसको सर्वत्र विरोध गरिनुपर्छ।”

राप्रपाले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको प्रयोगमा अवरोध पु¥याइएको भन्दै आगामी दिनमा थप विरोध कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी दिएको छ।

पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, तथा जनजीविकासम्बन्धी विविध मुद्दाहरूका पक्षमा पार्टी अझ दृढताका साथ अघि बढ्ने उल्लेख गरिएको छ।

यसैबीच, प्रदर्शनका क्रममा पक्राउ परेका अध्यक्ष लिङ्देन, उपाध्यक्ष तामाङ, प्रवक्ता शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, तथा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्यलगायत सबै नेता रिहा भएका छन्। उनीहरूलाई प्रहरीले चार घण्टापछि हिरासत मुक्त गरेको हो।

राष्ट्रिय झण्डा बोकेर राप्रपा प्रदर्शनमा (तस्बिरसहित)

0

काठमाडौं:राजसंस्था पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्रसम्म प्रदर्शन गरेको छ। प्रदर्शन दिउँसो १२ बजेपछि माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वरसम्म जारी भएको हो।

प्रदर्शनका क्रममा राप्रपाका कार्यकर्ताहरूले बानेश्वर र भद्रकाली क्षेत्रस्थित निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन्। यसअघि, चैत २५ गते बल्खुमा राप्रपाले शान्तिपूर्ण जनप्रदर्शन आयोजना गरेको थियो। सो प्रदर्शन अपेक्षाअनुसार प्रभावकारी नहुँदा पनि पार्टीले आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

निषेधित क्षेत्र तोड्ने तयारीसँगै सरकारले सैह्य नहुने चेतावनी दिइसकेको छ। तर अध्यक्ष राजेन्द्र लिङ्देनले भने शान्तिपूर्ण र प्रतीकात्मक प्रदर्शन गर्न लागिएको बताउँदै बोल्न र हिँड्न समेत सीमा तोक्ने सरकारी रवैयाविरुद्ध आफूहरू उभिएको स्पष्ट पारेका छन्।

प्रदर्शनपूर्व राप्रपाका नेताहरूले शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवासमा भेट गरेका थिए।

संवैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी

0

काठमाडौं: संवैधानिक निकायमा गरिएको ५२ नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा नियमित सुनुवाइ भइरहेको हो।

पूर्ण इजलासमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरू सपना मल्ल प्रधान, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदी रहेका छन्। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेका १५ वटा रिटमाथि माघदेखि नियमित सुनुवाइ सुरु भएको हो।

बुधबार चौथो दिनको सुनुवाइ सम्पन्न भयो। सामान्यतः बुधबार र शुक्रबार मात्र पूर्ण इजलास बस्ने प्रचलन रहे पनि प्रधानन्यायाधीशकै अग्रसरतामा यस मुद्दालाई प्राथमिकता दिइएको छ।

पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौँ परिसर लगियो

0

काठमाडौं: सिंहदरबारभित्र सांकेतिक प्रदर्शन गर्दा पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा लगिएको छ।

उनीहरूले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदरबारभित्र प्रदर्शन गरेका थिए। सुरुमा प्रहरीले उनीहरूको पम्प्लेट खोसेको थियो।

पक्राउ पर्ने क्रममा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न समेत सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए।

राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो। सोही अनुसार राप्रपाका कार्यकर्ताहरू बानेश्वरस्थित निषेधित क्षेत्र नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा प्रवेश गरी लिङ्देनलगायत नेताहरूले सिंहदरबारभित्र सांकेतिक प्रदर्शन गरेका थिए।

नेपाल-भारतका सुरक्षा अधिकारीबीच उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

0

महेन्द्रनगर (धनुषा): भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख १२ गते मधुवनी जिल्ला भ्रमण तय भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

यस सन्दर्भमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन शनिबार भारतको जयनगरमा नेपाल–भारत उच्चस्तरीय सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो। बैठकमा नेपालतर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए। भारततर्फबाट मधुवनी जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारी, प्रहरी र अर्धसैनिक बलका प्रतिनिधिको सहभागिता रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री मोदीको भ्रमणलाई ध्यानमा राख्दै दुवै देशका सुरक्षा संयन्त्रबीच सुरक्षा तयारी, समन्वय र सूचनाको आदानप्रदानबारे छलफल गरिएको हो।

बैठकमा सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षागस्ती बढाउने, सीमा नाका तथा भन्सार क्षेत्रका सवारीसाधन र व्यक्तिहरूको निगरानी प्रणाली कडा बनाउने विषयमा सहमति भएको छ। साथै, गैरकानुनी हतियार, लागूपदार्थ तथा मानव तस्करी नियन्त्रणका लागि संयुक्त अपरेसन सञ्चालन गर्ने र भ्रमण अवधिभर विशेष सतर्कता अपनाउने सहमति पनि भएको प्रमुख जिल्ला अधिकारी कडरियाले बताए।

शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाउने, स्थानीय प्रशासन र सुरक्षाकर्मीबीच हरेक १२ घण्टामा अन्तरसमन्वय बैठक गर्ने र सूचनाको तत्काल आदानप्रदान गर्ने निर्णय पनि गरिएको छ।

संभावित अप्रिय घटना रोक्न दुवै देशका सुरक्षा निकायले ‘र्‍यापिड रिस्पोन्स टिम’ तयार राख्ने र सात बुँदामा कार्यान्वयन गर्न सहमति भएको कडरियाले जानकारी दिए।

नवलपरासी यातायात कार्यालयले नौ महिनामा २३ करोडभन्दा बढी राजस्व सङ्कलन

0

मध्यविन्दु (नवलपरासी): यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा २३ करोड ५४ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

कार्यालयका प्रमुख सुरेश जैसवालका अनुसार साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत शीर्षकमा कूल रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व उठाइएको हो।

उनका अनुसार:

सवारीसाधन करबापत: रु १९ करोड १२ लाख ३६ हजार ८२०

सवारी चालक अनुमतिपत्र तथा दर्ता किताबबापत: रु चार करोड नौ लाख ५४ हजार ६५५

यातायात क्षेत्रको आम्दानी राजस्व: रु २३ लाख ५८ हजार ४६०

अन्य प्रशासनिक सेवा शुल्कबापत: रु आठ लाख ७५ हजार ६०० सङ्कलन भएको हो।

राजस्व वृद्धि र कर प्रणालीलाई चुस्त बनाउन कार्यालयले चैत महिनामा विशेष अभियान सञ्चालन गरेको थियो। यो अभियानमा बिलबुक नवीकरण, जाँचपास, रुट परमिट तथा सवारी चालक अनुमतिपत्रको नियमितता जाँचमा विशेष ध्यान दिइएको थियो।

प्रमुख जैसवालका अनुसार, “अभियान सफल बनाउँदा चैत महिनामा मात्रै रु चार करोड ८० लाख २५ हजार ६२५ राजस्व सङ्कलन भएको छ। यो अभियानले कर सङ्कलनमा उल्लेखनीय वृद्धि ल्याएको छ।”

प्रदेश सरकारको राजस्व वृद्धि गर्ने लक्ष्यअनुरूप यातायात सेवालाई नियमित, पारदर्शी र सहज बनाउँदै कार्यालयले विभिन्न योजना अघि सारेको पनि उनले जानकारी दिए।

सेवाग्राहीलाई सहज सेवा दिने उद्देश्यले कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेकनारायण तिवारीले बताए। “कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थापन गर्न थप कर्मचारी खटाइएको छ,” उनले भने, “सेवा छिटो होस् भनेर छुट्टै काउन्टरको व्यवस्था गरिएको छ र आवश्यक कागजात तथा जानकारी सहजै उपलब्ध गराइएको छ।”

गएको आर्थिक वर्ष २०८०/८१ मा सो कार्यालयले कूल रु ३० करोड ३५ लाख ५३ हजार ९५३ राजस्व सङ्कलन गरेको थियो।

समयमै परेको पानीले किसानको मुहारमा खुसी

0

तानसेन (पाल्पा): समयमै परेको वर्षाले लामो खडेरीका कारण निराश बनेका पाल्पाका किसानको अनुहारमा खुसी छाएको छ। चैत मसान्तसम्म पानी नपरेका कारण मकै छर्न नपाएका किसान वैशाख लागेसँगै परेको वर्षाले उत्साहित भएका छन्।

तिनाउ गाउँपालिका कचलका थर्कबहादुर बगालेले भन्नुभयो, “सिँचाइको सुविधा नभएकाले मकै छर्न सकेका थिएनौँ, अब वर्षा भएपछि छर्ने तयारी गरेका छौँ।”

माथागढी गाउँपालिकाकी मीना खाम्चाले पनि राहत महसुस गरेकी छन्। “खडेरीले मकै सुक्न थालेको थियो,” उनले भनिन्, “वर्षाले बाली बचायो। सिँचाइ नभएको ठाउँमा अकासे पानी नै सबै थोक हो।”

बगनासकाली गाउँपालिका–२ का रमेश न्यौपानेले पनि पानी परेकोमा सन्तोष व्यक्त गरे। “अब मकै छर्ने काम सुरु गर्ने तयारीमा छौँ,” उनले बताए।

रिब्दीकोट गाउँपालिका सिरुखर्ककी अञ्जु थापाले पनि पानी परेपछि मकै छर्ने अवसर मिलेको बताइन्। “पानी नपरेका कारण समयमा मकै छर्न सकिएको थिएन, अब ढिलो भए पनि छर्न पाउने भयौँ,” उनले भनिन्।

पाल्पाका अधिकांश बारीमा अहिले गहुँ पाकिरहेको छ भने केही ठाउँमा गहुँ काटेर मकै छर्ने तयारी भइरहेको छ। वर्षाले मकै, अदुवा, पिँडालु, हलेदो र विभिन्न तरकारी खेतीलाई पनि टेवा पु-याएको छ।

सिँचाइ सुविधाले नपुगेका पाखा बारीमा वर्षाले चिस्यान ल्याएपछि किसानहरू ढुक्क भएका छन्। कुलो, नहर वा थोपाइ सिँचाइजस्ता विकल्प उपलब्ध नभएका ठाउँमा खडेरीका कारण तरकारीसमेत मर्न थालेका थिए।

जिल्ला कृषि विकास कार्यालयका अनुसार पाल्पामा ८,८०५ हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ। वर्षभरि सिँचाइ गर्न सकिने क्षेत्र ३,९३४ हेक्टर छ भने मौसमी सिँचाइ चार हजार ८७१ हेक्टरमा सम्भव छ। तर सिँचाइको पहुँच नपुगेका हजारौँ किसान अकासे पानीकै भरमा खेती गर्न बाध्य छन्।