कञ्चनपुर, ६ असार: सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन्। हातमा फरुवा, गैँटी, कोदालो बोकेका गिरी दम्पती दिनभर बालुवा–गिट्टी चाल्ने र तारजालीमा छानेर छुट्याउने काम गर्छन्। एकातिर बालुवा, अर्कातिर गिट्टी थुपार्ने उनीहरूको दैनिकी साँझ झमक्क नपर्दासम्म चलिरहन्छ। केवल दिउँसो खाना खान दुई घण्टाको विश्राम लिने गर्दछन्।
गिरी दम्पतीको यस्तो जीवनशैली लगभग एक दशकदेखि दोहोरिएको छ। बालुवा–गिट्टी चालेर बेच्ने कामबाटै उनीहरूको जीविका चल्दै आएको हो। भीम गिरी भन्छन्, “पहिले भारत जान्थेँ, थोरै तलबमा परिवार पाल्न गाह्रो हुन्थ्यो। अहिले यही कामबाट थोरै कमाउँछु, तर परिवारसँग सँगै छु।”
चार–पाँच दिनको श्रमपछि एक ट्रली बालुवा र गिट्टी सङ्कलन गरेर उनीहरू रु २,००० देखि ३,००० सम्म कमाउँछन्। मासिक आम्दानी रु १२,००० देखि १५,००० सम्म हुन्छ। यति रकमले उनीहरू घरको नुनतेल, लत्ताकपडा र आवश्यक अन्नको जोहो गर्छन्। उनीहरूसँग थोरै जग्गा भए पनि उब्जनी पर्याप्त नभएकाले नदी नै जीवनको प्रमुख आधार बनेको हो।
भीम गिरीजस्तै, खल्लागोठका कृष्ण नाथ पनि विगत दुई दशकदेखि यही पेशामा संलग्न छन्। उनी भन्छन्, “घरका बालबालिका बाहेक सबै जना बालुवा–गिट्टी चाल्ने काममा लाग्छौं। महिनाको रु २०–२५ हजारसम्म कमाइ हुन्छ।” तर, ठेक्का ढिलो खुले बालुवा–गिट्टी चाल्न नपाइने भएकाले मजदुरी खोज्दै हिँड्नुपर्ने बाध्यता पनि उनीहरूसँग छ।
यहाँका स्थानीय बासिन्दाले असोजदेखि जेठ मसान्तसम्म बालुवा–गिट्टी चालेर बेच्ने गर्छन्। असारदेखि भदौसम्मको बर्खायाममा भने नदीजन्य पदार्थ संकलन गर्न रोक लगाइने भएकाले कामको खोजीमा अलपत्र पर्नुपर्छ।
खल्लागोठमा झन्डै ९० घरधुरी छन्, अधिकांशले बालुवा–गिट्टीको काम गरेर गुजारा चलाउँदै आएका छन्। थोरै र कम उब्जनी हुने जमिन भएकाले नदी नै उनीहरूको आयस्रोत बनेको हो। तर, यही नदी कहिलेकाहीँ विपत्ति पनि बोकाएर ल्याउने गर्छ।
स्थानीय धनबहादुर विक भन्छन्, “बर्खाको समयमा नदीमा बाढी आउँदा गाउँ नै त्रासमा बाँच्नुपर्छ। ४५ घरधुरी बाढीको उच्च जोखिममा छन्।” उनीका अनुसार नदी उत्खननको ठेक्काबाट केही हिस्सा तटबन्ध निर्माणमा लगाउनुपर्ने माग गर्दै आए पनि सुनुवाइ भएको छैन।
स्थानीयवासीको भनाइमा, “हामी नदीलाई शत्रु होइन, सहयात्री मान्छौं। यसैले हामी बाँचेका छौं।” खल्लागोठको नाम पनि पहाडबाट तराई झर्नेहरूले खल्ला (पानी जम्ने ठाउँ) मा गोठ राख्ने गरेको हुँदा खल्लागोठ रहन गएको बताइन्छ। केही स्थानीयले बालुवा चाल्नुका साथै नजिकैको वन क्षेत्रमा बाख्रापालन गरी अतिरिक्त आम्दानी पनि गर्दै आएका छन्।