Monday, May 4, 2026
Home Blog Page 27

पश्चिमी प्रणालीको प्रभाव: पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागसहित कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा अन्य हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

आजको विनिमयदर: अमेरिकी डलर १४८ नजिक, अन्य मुद्राको दर सार्वजनिक

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा कायम गरिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा तोकिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ७० पैसा र बिक्रीदर १८८ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ११ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ १० पैसा र बिक्रीदर ११६ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६५ पैसा र बिक्रीदर २१ रुपैयाँ ७३ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४० रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

त्यसैगरी, थाई भाट एकको खरिददर ४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४ रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २५ पैसा र बिक्रीदर ४० रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६ रुपैयाँ १० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १६ पैसा र बिक्रीदर २३ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा तोकेको छ । कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३२ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८४ रुपैयाँ र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मुख्यमन्त्री हिक्मत कार्कीकी आमाको ९१ वर्षमा निधन

0

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीकी आमा जानुकादेवी कार्कीको ९१ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बुधबार उपचारका क्रममा उनको निधन भएको हो ।

गत २०८२ साल फागुन १४ गते आफ्नै निवासको बाथरुममा लड्दा उनको दाहिने खुट्टाको हिपभन्दा तलको भाग भाँचिएको थियो । त्यसपछि उनलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा फागुन २० गते डा. सन्तोष नेपालको नेतृत्वमा चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको थियो । शल्यक्रियापछि स्वास्थ्यमा सुधार देखिएको र फिजियोथेरापीसहित थप उपचार भइरहेको जानकारी चिकित्सकले दिएका थिए । उमेरजन्य कारणबाहेक अन्य जटिल स्वास्थ्य समस्या न्यून रहेको पनि बताइएको थियो ।

तर उपचारकै क्रममा झापा जिल्लाको गौरादहस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।

उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह

0

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँगको भेटमा मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटमा उनले नेपालले सबै देशसँग सन्तुलित, व्यावहारिक र पारस्परिक लाभमा आधारित सम्बन्धलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे।

“नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,” प्रधानमन्त्री शाहले भने, “नेपालको विकास र समृद्धिका लागि निरन्तर सहयोग र सद्भाव प्रदान गर्ने सबै साझेदार राष्ट्रप्रति हामी आभारी छौँ।”

उनले विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई गम्भीर असर पार्ने भएकाले शान्ति साझा प्राथमिकता हुनुपर्नेमा जोड दिए। “द्वन्द्वले सबैभन्दा बढी असर सर्वसाधारणमा पर्छ, त्यसैले शान्ति हाम्रो साझा प्राथमिकता हुनुपर्छ,” उनले भने।

प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन तथा दिगो विकासलाई अघि बढाउन प्रतिबद्ध रहेको बताए। साथै, राष्ट्रिय हितअनुकूल नेपाललाई क्षेत्रीय र वैश्विक आर्थिक संरचनामा थप सशक्त रूपमा समेट्ने लक्ष्य रहेको पनि उनले उल्लेख गरे।

“नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन। हामी राजनीतिक स्थायित्व कायम राख्न र नीतिगत दिशालाई स्थिर तथा पूर्वानुमानयोग्य बनाउन दृढ छौँ,” उनले भने।

उनले विकास, व्यापार, लगानी, जलवायु अनुकूलन तथा जनस्तरको सम्बन्ध विस्तारजस्ता क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिए। साथै, विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखिएको पनि उनले स्पष्ट पारे।

अमेरिका –इरान युद्धविराम सहमतिसँगै तेल बजारमा गिरावट

0

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग दुई हप्ते युद्धविराममा सहमति भएको घोषणा गरेलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

बुधबार वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब २० डलरले घटेको हो। ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज तत्काल र सुरक्षित रूपमा खोल्ने सर्तमा युद्धविराम स्वीकार गरेको बताएपछि लगानीकर्तामा सकारात्मक संकेत देखिएको हो।

मे महिनाको डेलिभरीका लागि डब्लुटीआई कच्चा तेलको मूल्य १८.१० डलर (१६.०२ प्रतिशत) ले घटेर प्रति ब्यारेल ९४.८५ डलरमा झरेको छ। कारोबारका क्रममा मूल्य ९१.०५ डलरसम्म पुगेको थियो, जुन मार्च २६ पछिको सबैभन्दा न्यून स्तर हो।

यसअघि ट्रम्पले इरानलाई जलमार्ग नखोलेमा कडा सैन्य कारबाहीको चेतावनी दिएका थिए। समयसीमा सकिनुअघि नै युद्धविरामको घोषणा गरिएको हो।

इरानका विदेशमन्त्री अब्बास अरागाची ले पनि आक्रमण रोकिएमा आफूहरूले प्रतिकारात्मक कारबाही नगर्ने बताएका छन्। उनका अनुसार इरानी सशस्त्र बलको समन्वयमा दुई हप्तासम्म स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित आवतजावत सुनिश्चित गरिनेछ।

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही जलमार्गबाट हुने भएकाले यसको अवरोधले विश्व अर्थतन्त्रमा गम्भीर असर पारेको थियो। युद्धका कारण मार्च महिनामा मात्रै तेलको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको थियो।

ट्रम्पले इरानबाट प्राप्त १० बुँदे प्रस्तावलाई वार्ताका लागि सकारात्मक आधार मानिएको बताएका छन्। यद्यपि, बजार विश्लेषकहरूले दीर्घकालीन समाधानका लागि अझै प्राविधिक र राजनीतिक चुनौतीहरू बाँकी रहेको बताएका छन्।

युद्धविरामको प्रारम्भिक कदमले बजारमा राहत ल्याए पनि यसको पूर्ण कार्यान्वयन र स्थायित्वबारे अझै अनिश्चितता कायमै रहेको छ।

सार्वजनिक यातायात भाडा वृद्धि: यात्रुवाहकमा १६.७१ प्रतिशतसम्म बढ्यो

0

काठमाडौं । सार्वजनिक यातायातको भाडा बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल को मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभाग ले नयाँ भाडादर लागू गरेको हो।

पछिल्लो समय कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धिसँगै नेपालमा इन्धनको मूल्य बढेपछि यातायात व्यवसायीहरूले भाडा समायोजनको माग गर्दै आएका थिए।

विभागका अनुसार यात्रुवाहक सवारीतर्फ १६.७१ प्रतिशत भाडा वृद्धि गरिएको छ। त्यस्तै, मालवाहक सवारीतर्फ तराई क्षेत्रमा १५.७५ प्रतिशत र पहाडी क्षेत्रमा २१.६८ प्रतिशतले भाडा बढाइएको छ।

इन्धन मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव यातायात क्षेत्रमा परेको भन्दै विभागले भाडा समायोजन आवश्यक भएको जनाएको छ।

कालिका–फेयरफ्याक्स सहकार्य पहल: जिपिएस घर नम्बरदेखि पूर्वाधार विकाससम्म प्रस्ताव

0

काठमाडौं । चितवनको कालिका नगरपालिकाले फेयरफ्याक्स सिटी सँग जिपिएस प्रणालीमार्फत घर नम्बरिङ, फोहर व्यवस्थापन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा सहकार्यको प्रस्ताव गरेको छ।

अमेरिका भ्रमणमा रहेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी ले फेयरफ्याक्स सिटीकी मेयर क्याथरीन रिड समक्ष उक्त प्रस्ताव राखेका हुन्। भेटका क्रममा दुवै पक्षबीच दीर्घकालीन सहकार्य र सम्बन्ध विस्तार गर्ने सहमति भएको जनाइएको छ।

प्रमुख रेग्मीका अनुसार कालिका नगरपालिकामा कार्यान्वयन भइरहेको जिपिएस घर नम्बरिङ प्रणालीलाई थप प्रभावकारी बनाउने, फोहर व्यवस्थापन सुधार गर्ने तथा स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

‘हामीले प्रस्तुत गरेका प्रस्तावमा सकारात्मक संकेत पाएका छौँ। निकट भविष्यमा दुवै नगरपालिकाबीच सहकार्य अघि बढ्ने विश्वास लिएको छु,’ रेग्मीले बताए।

भेटका क्रममा फेयरफ्याक्स सिटीको प्रविधिमैत्री प्रणाली र विकास मोडेलबारे पनि अनुभव आदानप्रदान गरिएको थियो। साथै, मेयर रिडले उपयुक्त समय मिलाएर आफ्नो टोलीसहित नेपाल भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

कार्यक्रमको सहजीकरण रामहरि सुवेदी ले गरेका थिए।

उपसभामुख निर्वाचन प्रक्रिया सुरु, कसले पाउने अझै अनिश्चित

0

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल ले चैत २७ गतेका लागि निर्वाचन मिति तोक्दै संघीय संसद् सचिवालयलाई सूचना प्रकाशित गर्न निर्देशन दिएका थिए।

सभामुखको निर्देशनअनुसार सचिवालयले सूचना प्रकाशित गरेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो। यसअघि सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अर्याल निर्विरोध निर्वाचित भइसकेका छन्।

संविधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गका हुनुपर्ने व्यवस्था भएकाले उपसभामुख कसले पाउने भन्ने विषय अझै टुंगो लागिसकेको छैन।

प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने प्रावधान छ। सोहीअनुसार मिति तय गरिएको हो।

हाल २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित स्पष्ट बहुमतमा छ। अन्य दलमा नेपाली कांग्रेस का ३८, नेकपा एमाले का २५, नेपाली कम्युनिस्ट पार्टी का १७, श्रम संस्कृति पार्टी का ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी का ५ सांसद छन्।

रास्वपाको स्पष्ट बहुमतका कारण उसले समर्थन गर्ने दलकै उम्मेदवार उपसभामुख बन्ने लगभग निश्चित देखिन्छ। एमालेबाहेक अन्य दलहरूले उपसभामुखमा दाबी गरे पनि रास्वपाले अहिलेसम्म कसैलाई समर्थन गर्ने निर्णय गरेको छैन।

रास्वपा नेताहरूका अनुसार विभिन्न दलहरूसँग छलफल जारी रहे पनि अहिलेसम्म कुनै निष्कर्ष निस्किएको छैन।

प्रतिनिधिसभा बैठक आज: मर्यादाक्रम हेरफेर पत्र र वार्षिक प्रतिवेदन पेश हुने

0

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजेका लागि तय गरिएको छ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची रहेको छ।

त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाह ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने कार्यक्रम छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यसूची पनि तय गरिएको छ।

बालेनको नयाँ कूटनीतिक पहल: विदेशी राजदूतसँग सामूहिक संवाद आज

0

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गर्दैछन्। सरकार गठनपछि विदेशी कूटनीतिज्ञहरूसँग यसरी सामूहिक संवाद गर्न लागिएको यो पहिलोपटक हो।

आज मध्याह्न १२ बजेपछि हुने छलफलमा शिशिर खनाल समेत सहभागी हुनेछन्। देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले यो संवाद आयोजना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भारत, चीन, अमेरिका, जापानबेलायत लगायत एक दर्जनभन्दा बढी देशका राजदूतहरूलाई प्रधानमन्त्री कार्यालयमा आमन्त्रण गरिएको छ।

गत चैत १३ गते पदभार सम्हालेका प्रधानमन्त्री शाहले विभिन्न दूतावासहरूबाट शिष्टाचार भेटका लागि आएको अनुरोधलाई व्यक्तिगत रूपमा स्वीकार नगरी सामूहिक संवादको माध्यम रोजेका हुन्।

यसअघि नयाँ प्रधानमन्त्रीहरूले पद सम्हालेलगत्तै राजदूतहरूसँग छुट्टाछुट्टै भेट गर्ने अभ्यास रहँदै आएको थियो। तर उक्त अभ्यासप्रति आलोचना हुँदै आएकाले यसपटक त्यसलाई परिवर्तन गर्ने प्रयास गरिएको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार विगतमा कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक पहुँच देखिएको भन्दै अब त्यसमा सुधार गरिनेछ।

उनका अनुसार परराष्ट्रमन्त्री खनालसहितको यो सामूहिक संवादले नेपालको कूटनीतिक अभ्यासमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।