Thursday, June 11, 2026
Home Blog Page 1312

वर्षाले प्रदूषणबाट राहत

0

काठमाडौँ उपत्यकासहित अधिकांश भेगमा वातावरण प्रदूषणबाट प्रभावित नागरिकलाई पानी परेपछि राहत मिलेको छ ।
भूमध्य र अरब सागरको पश्चिमी वायु र बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभावले बुधबार विभिन्न ठाउँमा वर्षा भई वायु गुणस्तरमा सुधार भएको छ ।

काठमाडौँ उपत्यका र आसपास, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भेगमा बुधबार साँझ वर्षा भएसँगै वायु गुणस्तर सूचकांक एक्यूआई घटेको छ । बाराको सिमरा, ललितपुरको भैँसेपाटी र भक्तपुरको सूचकांक २ सयभन्दा तल झरेको छ । यिनै ठाउँमा सूचकांक शनिबार साढे ३ सयभन्दा माथि पुगेको थियो ।

जनस्वास्थ्यका दृष्टिले एक्यूआई ५० देखि १०० सम्मलाई सामान्य मान्ने गरिन्छ । यो ३ सय नाघेपछि घातक मानिन्छ । एक सातायता मुलुकका अधिकांश स्थानमा डढेलो लागेपछि फैलिएको धूवाँले एक्यूआई घातक अवस्थामा पुगेको थियो ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

६३ वर्षीया सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैद

0

६३ वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताउनुभयो ।

विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले भित्रबाट लगाएको ढोकाको चुकुल हातले खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिनुभयो । भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको भदौ ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

सामुदायिक वनमा डढेलो, गाउँ बस्ती उच्च जोखिममा

0

डोटी जिल्लाका कम्तीमा पनि एक दर्जन सामुदायिक वनमा लागेको डढेलो अझै निभाउन सकिएको छैन । सामुदायिक वनमा एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा यहाँका गाउँ उच्च जोखिममा पर्नुका साथै ती वनमा नयाँ पलाउन लागेका बिरुवा तथा पालुवा जलेर खरानी भएका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुल्पातेस्थित सामुदायिक वनमा बुधबार एकाएक डढेलो फैलिएपछि स्थानीयवासी, वनका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा दिपायल सिलगढीको दमकलर कर्मचारीको सक्रियतामा डढेलो निभाउन सकिएको डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जानकारी दिनुभयो ।

यहाँका जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा शिखर नगरपालिकाको लेकाली क्षेत्रका जङ्गलमा लागेको डढेलो अझै निभाउन नसक्दा सयौँ हेक्टर वन सखाफ हुँदै गएको जोरायल गाउँपालिका–१ का स्थानीयवासी मोहन मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “पानी नपर्दा सुक्खा यामले जङ्गलमा आगलागी भएको छ, निभाउन सकिएको छैन, सयौँ हेक्टर जमिन तथा नयाँ उम्रिएका बिरुवा र बहुमूल्य जडीबुटी सबै जलेर खरानी भएको छ ।” यहाँका स्थानीय तहमा जङ्गल क्षेत्रका दर्जनौंँ सामुदायिक वनमा डढेलो दिनहुँ बढ्दै गएको छ । डिभिजन वन कार्यालय तथा यहाँका सामुदायिक वनले ठोस पहल चाल्न नसकेका कारण डढेलो निभाउन नसकिएको स्थानीयवासीको आरोप छ ।

जिल्लामा ३५० भन्दा बढी सामुदायिक वन रहेका छन् । यहाँका सामुदायिक वन प्रायः गाउँ घरसँग जोडिएकाले ती वनमा फैलिएको आगो गाउँमा आए गाउँ नै सखाप हुने भन्दै स्थानीयवासीमा चिन्ता थपिएको छ ।

कम्युनिष्ट आन्दोलनलाई छिन्‍नभिन्‍न हुन दिँदैनौं : माधव नेपाल

0

काठमाडौँ — निलम्बित एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्‍याउन चाहेको बताएका छन् । बुधबार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघको केन्द्रीय कार्यालय समुद्घाटन गर्दै नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउने अभियानमा आफू लागेको बताएका हुन् ।

उनले कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने, धारासायी हुन नदिने र विसर्जनको ठाउँमा पुर्‍याउन नदिने संकल्पसमेत गरे । त्यसका लागि देशैभरका कम्युनिष्ट आन्दोलन र एमालेका योद्धाहरु पार्टीको एकता, कम्युनिष्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी स्वरुप दिने पक्षमा आफू रहेको पनि स्पष्ट पारे ।

‘आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्‍याउन चाहिरहेका छौं र हाम्रो संकल्प छ कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई धारासायी हुन दिने छैनौं, कम्युनिष्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पुर्‍याउन दिने छैनौं । यो हाम्रो सङ्कल्प हो । यो सङ्कल्पमा साथ दिनका लागि देशैभरिका कम्युनिष्ट आन्दोलनका योद्धाहरु, नेपाल कम्युनिष्ट पार्टी एमालेका योद्धाहरु यही चैत ४ र ५ गतेका दिनमा भेला हुनुभएको छ । साढे चार हजारदेखि ५ हजारको उपस्थितिमा भएको त्यो भेलाले घोषणा गरेको छ कि हामी कम्युनिष्ट पार्टीको एकताको पक्षमा छौं, कम्युनिष्ट आन्दोलनलाई सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरेर क्रान्तिकारी स्वरुप दिने पक्षमा छौं,’ उनले भने, ‘हामी आमजनताको आकर्षणको केन्द्र बनाएर जनताको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरी जीवन्त गराउने पक्षमा छौं । गतिशील बनाउने पक्षमा छौं ।’

आफूहरुको विचार मार्क्सवाद र लेनिनवादबाट निर्देशित भएको र त्यही विचारको मार्गदर्शनमा अघि बढ्दै बहुदलीय जनवादको मूल्य र मान्यतालाई जगेर्ना गर्न चाहेको उनले बताए । आफूहरु सामाजिक न्यायसहितको आर्थिक रुपान्तरणको पक्षमा रहेको भन्दै नेता नेपालले विचार, संगठन, गतिशीलता, तार्किकता र व्यवहारमा उत्कृष्ट बन्न सके समाज परिवर्तन गर्न सकिने पनि स्पष्ट पारेका छन् ।

कान्तिपुरबाट साभार

उपत्यकाका बर्डफ्लुपीडित किसानलाई एक करोड

0

काठमाडौँ — सरकारले तारकेश्वर नगरपालिका र ललितपुर महानगरपालिकाका किसानलाई करिब १ करोड रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । बर्डफ्लुका कारण पशुपन्छी तथा दाना नष्ट गरेका किसानलाई क्षतिपूर्तिका लागि पशु सेवा विभागले उक्त रकम दिन लागेको हो ।

गत माघ १६ मा तारकेश्वर नगरपालिका–७ साङ्लेखोलामा बर्डफ्लु फेला परेपछि विभागले शंकास्पद विभिन्न ठाउँमा टोली परिचालन गरिरहेको छ । हालसम्म ६ क्षेत्र (उपत्यका ४ चार र उपत्यकाबाहिर २) मा बर्डफ्लु पुष्टि भइसकेको छ । ती ६ क्षेत्रमध्ये उपत्यकाका चार ठाउँका किसानलाई करिब १ करोड रुपैयाँ क्षतिपूर्ति दिन लागिएको विभागका प्रवक्ता चन्द्र ढकालले जानकारी दिए ।

‘तारकेश्वर नगरपालिकाको वडा नम्बर ७, वडा नम्बर १ (दुई पटक) र नक्खुमा गरी करिब १ करोड क्षति भएको देखिन्छ । किसानलाई क्षतिपूर्ति दिन अर्थसँग बजेट मागेका छौं,’ ढकालले भने, ‘बजेट दुई–तीन दिनमा निकासा हुन्छ, त्यसपछि वितरण गर्छौं ।’ किसानले पाउने क्षतिपूर्ति रकम सन्तोषजनक हुने विभागको दाबी छ ।

किसानलाई क्षतिपूर्ति र अनुगमन (टोली परिचालन गर्न) मा आवश्यक पन्जा/पीपीई, औषधीसहितका लागि १ करोड २० लाख रुपैयाँ बजेट माग गरिएको जनाइएको छ । उपत्यकाबाहिर (सुर्खेत र जाजरकोट) मा भने कर्णाली प्रदेश सरकारले नै क्षतिपूर्ति दिने विभागले बताएको छ । क्षतिपूर्ति वितरणमा पारदर्शी भइने ढकालले बताए । उनका अनुसार क्षतिपूर्ति मूल्यांकनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा दर रेट निर्धारण समिति हुन्छ । समितिले मूल्य निर्धारण गरेपछि त्यसको ७५ प्रतिशत किसानले पाउँछन् । ‘समितिले निर्धारण गरेको दररेटको ७५ प्रतिशत पाउँदा किसानलाई घाटा हुँदैन,’ ढकालले भने ।

विभागले तारकेश्वर नगरपालिका–७ साङ्लेखोला फुटुङका किसानले पालेका टर्की र हाँसमा पहिलो पटक बर्डफ्लु पुष्टि गरेको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि त्यस क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ७५ केजी दानालगायत नष्ट गरिएको थियो । त्यसपछि नियन्त्रणमा आएको दाबी गरे पनि दुई साता नबित्दै फेरि त्यही क्षेत्रमा बर्डफ्लु देखिएको थियो ।

तारकेश्वर नगरपालिका–१ मा पालेका हाँसमा बर्डफ्लु देखिएपछि १४ सय २१ हाँस, ४२ वटा लोकल कुखुरा र आठ सय केजी दाना नष्ट गरिएको थियो । त्यससपछि फागुन ८ मा कर्णालीको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१२ का किसानले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु भेटिएको थियो । त्यस क्रममा २ सय ७९ कुखुरा, १ सय २ परेवा र ३१ किलो दाना नष्ट गरिएको थियो । फागुन १२ गते पनि फेरि तारकेश्वर नगरपालिका–१ मा पालिएका व्यावसायिक कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु देखियो । त्यस क्रममा ५ हजार ६ सय ५७ लेयर्स कुखुरा, ७ हजार २ सय ३६ ब्रोइलर कुखुरा, २ हजार ५ सय ४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३ हजार ५ सय ७० अन्डा र तीन हजार किलो दाना नष्ट गरिएको थियो ।

फागुन २६ मा फेरि कर्णालीको जाजरकोटस्थित भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेका व्यावसायिक लेयर्स कुखुराका नमुनामा पनि बर्डफ्लु देखिएको थियो । त्यस क्रममा ब्रोइलर कुखुरा तीन सय, लेयर्स कुखुरा ३ सय ३१, लोकल कुखुरा ७०, अन्डा ८ सय ८३ र २ सय ५१ किलो दाना र दुई सय वटा अन्डाका क्रेट नष्ट गरिएको जनाइएको छ ।

चैत १३ गते फेरि उपत्यकाकाकै ललितपुर महानगरपालिका–१२ नक्खुका किसानले पालेका लोकल कुखुरा, बट्टाई र हाँसबाट संकलित नमुनामा पनि बर्डफ्लु भेटियो । त्यस क्रममा ५ सय १६ हास, लोकल कुखुरा ८ सय ५४, बट्टाई १ सय ५४, ९ सय ४४ वटा अन्डा र ३ सय ३५ किलो दाना नष्ट गरी सुरक्षित रूपमा तह लगाइएको विभागका प्रवक्ता ढकालले जानकारी दिए । ‘शंकास्पद क्षेत्रमा टोली परिचालन गरिरहेका छौं, पुष्टि भएका ठाउँमा तत्काल नियन्त्रण पनि भएको छ,’ उनले भने, ‘समग्रमा भन्दा बर्डफ्लु सरकारी नियन्त्रणमै छ ।’

भारतमा पनि बर्डफ्लु देखिएपछि संक्रमित क्षेत्रबाट माछामासु आयातमा रोक लगाइएको छ । यद्यपि खुला सीमाका कारण तस्करी व्यापक भइरहेको विभागकै तथ्यांकले देखाउँछ । बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका निकाय परिचालन गरिएको ढकालले बताए । कुखुरा मासु र चल्लाको मूल्य उच्च विगतमा बर्डफ्लु देखिएपछि कुखुरा मासुको मूल्य ह्वात्तै घट्ने गरेको थियो । तर पछिल्लो समय मूल्य अत्यधिक बढिरहेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको मासु प्रतिकिलो ३ सय ९० रुपैयाँ निर्धारण गरेको छ । यद्यपि खुद्रा बजारमा भने किलोकै ४ सय २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । ‘घरभाडा र ठाउँअनुसार मूल्य पसलैपिच्छे फरक हुन्छ,’ संघका सचिव देव गिरीले भने, ‘अहिले बजारमा त्यति कुखुरा छैन, त्यही भएर बड्फ्लुको असर नपरेको हो ।’

संघका अनुसार मुलुकभर दैनिक आठ लाख किलो कुखुरा मासु खपत हुन्छ । त्यसमध्ये उपत्यकामा मात्रै पाँच लाख किलो आवश्यक हुन्छ । अहिले बजारमा करिब ३० प्रतिशत मासु अभाव छ । ‘ब्रोइलरको माउ सबै विदेशबाट आउँछ । लकडाउनमा हवाईजहाज चलेन । कुखुरा पनि उत्पादन हुन सकेन,’ गिरीले भने, ‘त्यही भएर अहिले बजारभाउ बढ्दो छ ।’ कुखुराको मासुसँगै चल्लाको मूल्य पनि उच्च रहेको व्यवसायी बताउँछन् । ह्याचरी उद्योग संघले चल्लाको मूल्य १ सय रुपैयाँ तोकेको छ । किसानले भने एउटै चल्लाको १ सय २० रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन् । चल्ला महँगो हुनको कारण पनि लकडाउन नै भएको व्यवसायीको दाबी छ ।

कान्तिपुरबाट साभार

गौरिकाले गरिन् पौडी पोखरी उद्घाटन

0

काठमाडौँ — १३ औं सागकी कीर्तिमानी पौडीवाज गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छन् । गौरिकाले पुल्चोकस्थित हार्दिक फिटनेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गर्दै पौडीप्रेमीका लागि स्विमिङ पुलको संख्या बढ्नु सकारात्मक रहेको बताइन् ।

ओलम्पियन गौरिकाले सागमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास रचेकी थिइन् । सानो र ठूलो गरी दुई पौडी पोखरी करिब १ करोड लागतमा निर्माण गरिएको क्लबका सञ्चालक विराज विष्टले जनाए । सुविन लामा र सानोभाइ पौडेललाई प्रशिक्षकमा रहेका छन् । गौरिकालाई क्लबले आजीवन निःशुल्क सदस्यता प्रदान गरेको क्लबका सञ्चालक मन्दिर राणाले बताए । त्यस्तै १३ औं सागकी स्वर्ण विजेता ट्रायथलनकी सोनी गुरुङ र पौडीकी समिरा शोभा श्रेष्ठलाई १ वर्षे निःशुल्क सदस्यता दिइएको छ ।
सन् १९९८ मा जिमखानाका रूपमा स्थापना गरिएको क्लबले आफ्नो सेवा विस्तार गर्दै लैजाने क्रममा पौडी पोखरी सञ्चालनमा ल्याइएको विष्टले बताए । क्लबले जिमका लागि ५ प्रशिक्षक नियुक्त गरेको छ । प्रशिक्षकमा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता श्याम श्रेष्ठ, सुवास मानन्धर, दीपेन्द्र थापा, प्राचन लामा र पूजा विष्ट छन् । क्लब सञ्चालन गर्न हालसम्म करिब ६ करोड लगानी भइसकेको सञ्चालक राणाले जानकारी गराए ।
कान्तिपुरबाट साभार

सन्नी देओलका कान्छा छोरा पनि बलिउडमा डेब्यु गर्दै

0

कोभिडबीच फिल्म निर्माणको संख्या घटे पनि बलिउडमा स्टार किडको डेब्यु भने रोकिएको छैन । अभिनेता सन्नी देओलका कान्छा छोरा राजवीर देओल पनि बलिउड डेब्यु गर्दैछन् । हालै राजश्री प्रोडक्सनसँग जोडिएका उनी प्रेमकथामा बन्दै गरेको फिल्म मार्फत पर्दामा देखिँदैछन् ।

यो फिल्म राजवीरको मात्र नभएर निर्देशनका हिसाबले अविनाश बड्जात्याको पहिलो निर्देशकीय फिल्म हुनेछ । फिल्मको कथा उनले नै लेखेका हुन् । ‘राजीव एकदमै मिहेनती छ । जति-जति म उसँग फिल्मको विषयमा कुराकानी गर्छु उसलाई फिल्मको हिरो देख्छु,’ अविनाशले द हिन्दुस्तान टाइम्सलाई भनेका छन् । फिल्मको टिम अहिले अभिनेत्रीको खोजीमा छ ।

धरमेन्द्रले नाति फिल्ममा खेल्दै गरेको खुसी सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गरेका छन् । ‘मेरो नाति राजवीर फिल्म क्षेत्रमा डेब्यु गर्दैछ । ऊसँगै अविनाशले पनि डेब्यु गर्दैछन् । मेरा दुई छोरालाई दिनुभएको प्रेम नातिलाई पनि दिनुहोला ।,’ धमेन्द्रले लेखेका छन् ।

सन्नी लेख्छन्, ‘मेरो छोरो राजवीरले अभिनयको यात्रा सुरू गरेको छ । राजश्री प्रोडक्सनले राजवीर र अविनाशलाई बजारमा ल्याउँदैछ । उनीहरुको यात्रा प्रतिक्षित बनेको छ ।’

युकेमा थियटर पढेका राजवीरले सहायक निर्देशक भएर काम गरेका छन् । राजवीरका दाई करण देओलले ‘पल पल दिल के पास’बाट अभिनय यात्रा सुरु गरेका थिए । उनी अब सन्नी र बबी देओलसँग ‘अपने–२’मा देखिँदैछन् ।

कान्तिपुरबाट साभार

ओखलढुंगामा चट्याङ लागेर एकको घटनास्थलमै मृत्यु

0

ओखलढुंगामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको हो । चट्याङ लागेर मृत्यु हुनेमा खिजीदेम्बा गाउँपालिका–६ भित्तेका ५८ वर्षीय पासाङ शेर्पा रहेका छन् ।

उनको मृत्यु आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले लागेर मंगलबार साँझ घटनास्थलमै भएको प्रहरीले जनाएको छ ।

विद्यालयका कर्मचारीलाई प्राधिकरणले तालीम दिने

0

नेपाल दूरसञ्चार प्राधिकरणको सरकारी विद्यालयमा सूचना प्रविधि प्रयोगशाला आइटी ल्याब बनाउने कार्यक्रमअन्तर्गत हालसम्म ९२० विद्यालयमा प्रयोगशाला स्थापना भइसकेको छ । प्राधिकरणको फागुन मसान्तसम्मको तथ्याङ्कअनुसार कूल ९३० मध्ये १० विद्यालयमा प्रयोगशाला स्थापना अन्तिम चरणमा पुगेको छ ।

तोकिएअनुसार प्रयोगशाला स्थापना भइसकेका विद्यालयलाई प्राधिकरणले तालीममा सहभागिता जनाउन आग्रह गरेको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गरी तीनदिने तालीममा सहभागिता जनाउन आग्रह गरेको हो ।

प्राधिकरणको सूचनाअनुसार एक विद्यालयका दुईजना कर्मचारी वा कम्प्युटर शिक्षक तालीममा सहभागी हुन सक्नेछन् । प्रयोगशाला स्थापना तयारीको समयमा नै प्राधिकरण र विद्यालयबीच प्रयोगशालामा कार्यरत कर्मचारी वा शिक्षकलाई तीनदिने तालीम प्रदान गर्ने विषयमा सम्झौता भएको थियो ।

उक्त सम्झौताअनुसार प्राधिकरणले तीनदिने तालीम दिन लागेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालीममा सहभागिता जनाउन सूचना प्रकाशन गरिएको र सहभागीको सङ्ख्याअनुसार तालीमको समय र स्थान छनोट गरिनेछ ।

प्राधिकरणले ९३० सामुदायिक विद्यालयमा प्रयोगशाला स्थापना गर्न अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी छनौटमा परेको नेपाली निर्माण व्यवसायी कम्पनी ओबिसिआई, म्याक्स, नेपा ज्वाइन्ट भेन्चरलाई ९ओम्नी० लाई ६ महिनाको समय दिएको थियो । २०७६ साल भदौ २५ गते ६ महिनाभित्र प्रयोगशाला स्थापना गर्न भन्दै रु तीन अर्ब ४७ करोड बराबरको ठेक्कामा दिइएको थियो ।

राष्ट्रिय जनगणनाको तयारी तीव्र

0

राष्ट्रिय सरोकार समितिले राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागसँग आगामी जनगणनाको लागि भइरहेको तयारी र हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएको छ ।

समितिले गणकलाई प्रत्येक घरदैलोमा पुुगेर वास्तविक तथ्यका आधारमा तथ्याङक सङ्कलन गर्ने कार्यमा कुनै कमी कमजोरी हुन नदिन आयोग र विभागको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रांै राष्ट्रिय जनगणना गर्दैछ ।

समितिको आजको बैठकमा सदस्यहरुले खासगरी बसाइँसराइ र विभिन्न पेशा व्यवसायमा संलग्न हुने सिलसिलामा शहर र विदेशमा जाने नागरिकको दोहोरो गणना हुनसक्ने सम्भावनालाई समयमै होस् पुु¥याउन सुुझाव दिनुुभयो ।

जनगणनामा शिक्षा, पेशा, बसाइँसराइका अतिरिक्त विदेशमा रहेका नेपाली र नेपालमा रहेका विदेशीको पनि गणना हुन आवश्यक रहेको बताउँदै उहाँहरुले सही तथ्याङक सङ्कलन गर्न गणकहरु प्रत्येक घरमा पुुगे नपुुगेको अनुुगमन गर्ने प्रणालीसमेत आवश्यक रहेको उल्लेख गर्नुुभयो । जनगणनाको स्थलगत तथ्याङ्क सङ्कलन गर्न ३९ हजार गणक तथा आठ हजार सुपरिवेक्षक परिचालन गरिने सो अवसरमा जानकारी दिइयो ।

सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताको संस्थागत विकास गर्ने बलियो आधार जनगणना भएको हुुँदा सही तथ्याङ्क सङ्कलन गर्न सक्नुपर्छ भन्दै सदस्यहरुले सामाजिक रुपान्तरणका लागि कुुप्रथाको जड र केन्द्रविन्दुु मानिएका विषय पत्तालगाउने गरी फारम विकास गर्न सुुझाव दिनुुभयो ।

कर र राजश्वलगायतका कारणले सही सूूचना नदिने पाटोमा सुधार गर्दै जनगणनामा सबैलाई सहभागिताका लागि प्रेरित गर्न सु्झाव दिनुुभयो । महिलाले घरभित्र गरेका कामको मूल्यको गणना हुुन आवश्यक रहेको बताउँदै उहाँहरुले मुुलुकभर सेवा क्षेत्रमा भएको विस्तारको अवस्था कस्तो छ भन्ने कुरा पनि जनगणनामा आओस् भन्नुुभयो ।

नेपालले प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । प्रत्येक वर्ष असार ८ गतेलाई जनगणना दिवसका रुपमा मनाउने गरिन्छ । यस वर्षको जनगणनाको मूूल नारा मेरो गणना ः मेरो सहभागिता रहेको छ ।