Saturday, May 2, 2026
Home Blog Page 1269

थप १७ खाद्यवस्तुको गुणस्तर तोकिँदै

0

सिमी, बकुला, बोडी, राजमा, केराउ, गहत, मस्याङ, आइसक्रिम, फ्रोजन डेजर्ट, खुवा, छुर्पी, डेरी ह्वाइट्नर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट बेस्ड मिल्क फुड, पास्ता र महको गुणस्तर तोक्न लागिएको हो

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दाल, मह, आइसक्रिमलगायत थप १७ वस्तुको मापदण्ड तोक्ने तयारी गरेको छ । यसअघि चिउरा, दालमोठ, भुजिया, पुष्टकारी र गुदपाकको गुणस्तर मापदण्ड तोकेको विभागले थप १७ वस्तुको मापदण्ड निर्धारण गर्न लागेको हो ।

यी वस्तुको गुणस्तर निर्धारण सम्बन्धमा प्राविधिक समितिले काम गरिरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । केही वस्तुको मापदण्ड प्राविधिक समितिबाट स्वीकृत भइसकेको छ । केहीको भने स्वीकृत हुने क्रममा रहेको विभागले बताएको छ ।

‘विगतमा खाद्यान्न भनेर मापदण्ड बन्यो । तर वस्तुगत रूपमा छुट्याइएको छैन । महलगायत वस्तु निर्यात हुन्छन्, त्यही भएर अन्तर्राष्ट्रिय कोडेक्सको फर्म्याटमा मापदण्ड तोक्न लागिएको हो,’ महर्जनले भने । वस्तुगत रूपमै मापदण्ड हुँदा व्यापारमा पनि सहजीकरण हुने विभागको निष्कर्ष छ । गर्मी महिना सुरु भएसँगै आइसक्रिमको खपत पनि बढ्छ । यद्यपि यसको मापदण्ड निर्धारण गरिएको छैन । विभागले महको पहिलो पटक गुणस्तर निर्धारण गर्न लागेको हो । महबारे विगतमा पनि मापदण्ड बनाइएको छ । सरकारले महलाई तुलनात्मक वस्तुमा समेत सूचीकृत गरेको छ । मह निर्यातसमेत हुने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरमा लैजान महको गुणस्तरलाई पुनः परिमार्जन गर्न लागिएको महर्जनले बताए ।

विभागको खाद्य स्तर निर्धारण कार्यक्रमअनुसार गेडा सिमी/सिमीको दाल, गेडा बकुला/बकुलाको दाल, गेडा बोडी तथा बोडीको दाल, गेडा राजमा/राजमाको दाल, गेडा केराउ/केराउको दाल, गहतको दाल, गेडा मस्याङ र आइसक्रिमको गुणस्तर तोक्न लागिएको छ । फ्रोजन डेजर्ट, खुवा/कुराउनी, छुर्पी, डेरी ह्वाइट्नर, कर्न स्टार्च, माल्टेड मिल्क फुड, माल्ट बेस्ड मिल्क फुड, पास्ता र महको गुणस्तर पनि तोकिँदै छ । विभागका अनुसार अनिवार्य गुणस्तर मापदण्ड मस्यौदा तयार गरी प्राविधिक विज्ञसहितको समितिमा छलफल भइरहेको छ ।

‘केही दालको गुणस्तर मापदण्ड सरकारले तोकेको छ । उपसचिवको संयोजकत्वमा रहेको गुणस्तर निर्धारणसम्बन्धी समितिले अध्ययन गरिरहेको छ,’ विभागका महानिर्देशक उपेन्द्र रायले भने, ‘प्रयोशालामा परीक्षण, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषयमा छलफल भइरहेको छ ।’ प्राविधिक समितिबाट स्वीकृत भएपछि महानिर्देशकको संयोजकत्वमा गठित समितिमा छलफल हुन्छ । यसपछि कृषि तथा पशुपन्छी सचिवकहाँ छलफल हुन्छ । सचिवबाट स्वीकृत भएपछि मन्त्रिपरिषद्मा पेस हुने महानिर्देशक रायले जानकारी दिए । ‘मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि राजपत्रमा प्रकाशन हुन्छ, त्यसपछि कानुनी आधार बन्छ,’ उनले भने । रायका अनुसार विगतमा १ सय ३१ वस्तुको मापदण्ड निर्धारण गरिएको थियो ।

खाद्यवस्तुको माग बढिरहेकाले मापदण्ड पनि बढाउँदै लगिएको विभागले जनाएको छ । हालै विभागले चिउरा, पुष्टकारी, गुदपाक, तेल तथा घिउमा टोटल पोलार मेटेरियल, दालमोठ र १० वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण गरेको थियो । यी वस्तुमा अनुगमन भए पनि अखाद्य वस्तु भए/नभएको, ढुसी र रङको मात्रै निरीक्षण हुन्थ्यो । गुणस्तर निर्धारण भएपछि वस्तुगत रूपमै निरीक्षण गर्न सहज भएको विभागको भनाइ छ ।

चिउरामा फोहोर, अन्य गन्ध एवं ढुसी कीरा, कीराको निष्कासित पदार्थ तथा अन्य हानिकारक पदार्थ हुनुहुँदैन । यसमा कुनै पनि बाह्य रङ प्रयोग गर्न नपाइने उल्लेख छ । दालमोठमा पनि प्राकृतिकबाहेक अन्य रङ प्रयोग गर्न पाइँदैन । भुजियामा पनि प्राकृतिकबाहेक अन्य रङ प्रयोग गर्न नपाइने उल्लेख छ । दालमोठ, भुजिया तथा मिक्स दालमोठ सफा, सुक्खा, उपयुक्त रङ, स्वाद, स्वाभाविक बास्ना भएको र खादा झुरुम्म गर्ने हुनुपर्नेछ । प्याकेजिङ तथा लेबलिङका क्रममा सफा र सुक्खा, खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्दी गरी प्याक गर्नुपर्ने उल्लेख छ । तर विभागले मापदण्ड तोके पनि कार्यान्वयन नगरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले बताए । ‘हरेक खाद्यवस्तुमा समस्या देखिन्छ । विभागले गुणस्तर निर्धारण गरेको बताए पनि नाम मात्रै भयो,’ उनले भने, ‘अरू खाद्यको कुरा छाडौं, दैनिक उपभोग हुने पानीमै समस्या छ । खै कहाँ छ विभागको मापदण्ड ?’

कान्तिपुरबाट साभार

प्रियंका चोपडाले खोलिन् न्यूयोर्कमा रेस्टुरेन्ट

0

कलाकारहरु अभिनय मात्र होइन व्यापारमा पनि सक्रिय छन् । जीवनयापनका लागि अभिनयमा मात्रै निर्भर हुन नसक्दा धेरै कलाकार व्यवसायमा जोडिने गरेका छन् । ‍बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि नयाँ व्यवसाय थालेकी छिन् । व्यवसायी मनिष गोयलसँग मिलेर प्रियंकाले न्यूयोर्कमा रेस्टुरेन्ट सुरु गरेकी छिन् ।

बिहीबारमात्रै चोपडाले ‘सोना’ नामको रेस्टुरेन्टकाे उद्घाटन गरिन् । भारतीय स्वादका परिकार पस्कने रेस्टुरेन्ट खुलेसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् । ‘सोना भारतीय स्वादको रेस्टुरेन्ट हो जुन स्वादसँगै म हुर्किएँ,’ चोपडाले इन्स्टाग्राममा उल्लेख गरेकी छिन् ।

यतिखेर रेस्टुरेन्टको इन्टेरियर डिजाइनको पनि खुब तारिफ भइरहेको छ । रेस्टुरेन्टको नाम भने प्रियंकाकी पति निक जोनसले सुझाएका हुन् । ‘हामी धेरै नामको सूची तयार पार्दै थियौं । त्यहीबेला जोनसले ‘सोना’ नाम जुराए,’ गोयलले भोगलाई बताएका छन् ।

कान्तिपुरबाट साभार

फिल्मफेयरमा इरफान र तापसी उत्कृष्ट

0

६६ औं फिल्मफेयर अवार्डमा दिवंगत अभिनेता इरफान खानले उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् । उनले ‘अंग्रेजी मिडियम’का लागि बलिउडको यो पुरस्कार पाएका हुन् । यो विधामा उनीसँगै अमिताभ बच्चन, अजय देवगन, आयुश्मान खुराना, राजकुमार राव र सुशान्तसिंह राजपुत मनोनित थिए ।

यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘थप्पड’का लागि तापसी पनुले प्राप्त गरिन् । यो अवार्डका लागि दीपिका पादुकोण, कंगना रनावत, जाहन्वी कपुर र विद्या वालान पनि मनोनित थिए ।

उत्कृष्ट फिल्म ‘थप्पड’ घोषित भयो भने निर्देशकको अवार्ड ‘तानाजी’ का लागि ओम राउतले प्राप्त गरे । सैफ अलि खानले ‘तानाजी’का लागि सहअभिनेता र फारुख जफरले ‘गुलाबो सिताबो’का लागि सहअभिनेत्रीको अवार्ड पाए । क्रिटिक्स अवार्डतर्फ भने ‘इब आले उ’ फिल्म, अमिताभ बच्चन (गुलाबो सिताबो) अभिनेता र तिलोत्तमा सोम (सर) उत्कृष्ट घोषित भए । लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि इरफान खानलाई नै प्रदान गरियो ।

विजेताहरुको पूरा सूची :

उत्कृष्ट फिल्म : ‘थप्पड’

उत्कृष्ट निर्देशक : ओम राउत, ‘तानाजी’

उत्कृष्ट अभिनेता : इरफान खान, ‘अंग्रेजी मिडियम’

उत्कृष्ट अभिनेत्री : तापसी पन्नु, ‘थप्पड’

उत्कृष्ट साहयक अभिनेता : सैफअली खान, ‘तानाजी’

उत्कृष्ट साहयक अभिनेत्री : फरोक जफार, ‘गुलाबो सिताबो’

फिल्म(क्रिटिक्स) : प्रतीक वत्स, ‘ईब आले उ’

उत्कृष्ट अभिनेता (क्रिटक्स) : अमिताभ बच्चन, ‘गुलाबो सिताबो’

उत्कृष्ट अभिनेत्री(क्रटिक्स) : तिलोत्तमा सोम, ‘इज लभ इनफ सर’

उत्कृष्ट कथा : अनुभव सुशीला सिन्हा, मृणमयी लागू वेकुल (थप्पड)

उत्कृष्ट पटकथा : रोहेना गेरा, ‘इज लभ इनफ सर’

उत्कृष्ट संवाद : जुही चतुर्वेदी, ‘गुलाबो सिताबो’

उत्कृष्ट डेब्यु निर्देशक : राजेश कृषण, ‘लुटकेस’

उत्कृष्ट डेब्यु कलाकार : अलाया एफ, ‘जवानी जानेमन’

उत्कृष्ट म्युजिक एल्बम : प्रितम, ‘लुडो’

उत्कृष्ट शब्द : गुल्जार, ‘छपाक’

उत्कृष्ट पार्श्व गायक : राघव चैतन्य (थप्पड)

उत्कृष्ट पार्श्व गायिका : अशिष कौर (मलङ)

दीर्घ साधना सम्मान : इरफान खान

उत्कृष्ट एक्सन : तानाजी

उत्कृष्ट पार्श्व ध्वनी : थप्पड

उत्कृष्ट सिनिमेटोग्राफी : अभिक मुखोपध्याय, ‘गुलाबो सिताबो’

उत्कृष्ट कोरियोग्राफी : फराह खान, दिल बेचारा (दिल बेचारा)

उत्कृष्ट कस्ट्युम डिजाइन : गुलाबो सिताबो

उत्कृष्ट सम्पादन : थप्पड

उत्कृष्ट प्रडक्सन डिजाइन : गुलाबो सिताबो

उत्कृष्ट साउन्ड डिजाइन : थप्पड

उत्कृष्ट भिएफएक्स : तानाजी

कान्तिपुरबाट साभार

पौडी खेल्नेक्रममा डुबेर एकजनाको मृत्यु

0

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

पौडी खेल्नेक्रममा नदीमा डुबेर हराएका राप्तीसोनारी गाउँपालिका–५ बिनौनास्थित चिलहरिया गाउँ निवासी २१ वर्षीय दिपक वैश्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राप्ती नदीमा पौडी खेल्नेक्रममा सोमवारदेखि बेपत्ता भएका वैश्यको आज बिहान शब फेला परेको हो ।

राप्ती नदीको मदुवा घाटमा बन्दै गरेको पुल नजिकै उनी डुबेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको टोलीले खोजीका क्रममा आज शब फेला पारेको हो ।

शव परीक्षणको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

तोलामा पाँच सयले घट्यो सुनको भाउ

0

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । सोमबार ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज मंगलबार ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको भाउ ८५ हजार पाँच सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो तेजावी सुन ८६ हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

0
?????????????????????????????????????????????????????????

डोटी जिल्लामा मादक पदार्थ सेवन गरे नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो । सवारी चालकले मापसे गरी सवारी साधन चलाएको छ छैन भन्ने विषयमा जानकारी लिनका लागि सजिलो होस् भन्ने उद्देश्यले उक्त मेसिन प्रदान गरिएको जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिनुभयो ।

जिल्लामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्दै गएको र सोही कारणले सवारी दुर्घटना बढ्न थालेपछि उनीहरुले कति मात्रामा मादक पदार्थ सेवन गरेको छ भन्ने विषयमा जानकारी लिन उक्त मेसिनले अब जाँच गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मापसे गरी सवारी चलाउनेको सङ्ख्या बढ्दै गएको पाइयो, अब मेसिनबाट मापसे कति गरेको छ भन्ने सहजै पत्ता लाग्ने र कारवाही गर्न पनि सजिलो हुने भएको छ ।”

यसैगरी सडक दुर्घटना न्यूनीकरण तथा महामारी नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशको एक मात्र पहाडी जिल्लाको भीमदत्त राजमार्गस्थित डोटीको जोरायल गाउँपालिका–२ बुडरमा स्थापना गरिएको हेल्थ डेस्कलाई पनि दुई थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको ।

एक थान स्वास्थ्य कार्यालयमै राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त राजमार्गमा सञ्चालन हुने सवारी साधनका चालकलाई दैनिकरूपमा उक्त मेसिनद्वारा मापसे गरे÷नगरेका बारेमा जानकारी लिन थालिएकोे छ

नेकपाको पुनरावलोकन : आज सर्वोच्च अदालत जाँदै माओवादी केन्द्र

0

काठमाडौं : नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ । माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिने भएका हुन्।

उनका मंगलबार बिहान १२ बजे प्रचण्डसहितका नेताहरु सर्वोच्च अदालत जाँदैछन्। ‘वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएकाले अहिले हामी पशुपति आर्यघाटमा छौं’ उनले भने,‘११ बजे जाने तयारी थियो, थप तयारी पनि गर्नु छ। त्यसैले अदालत पुग्दा झण्डै १२ बज्छ होला।’

स्थायी कमिटी सदस्य र कानुन व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा कानुन व्यवसायीले सर्वोच्चले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएपछि माओवादी केन्द्रले उक्त निर्णयमा पुगेको थियो।

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भएपछि निर्वाचन आयोगले नाम जुध्ने गरी ओली र प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो । तत्काल कट्टेलले आयोगमा दिएको निवेदन खारेज भएको थियो । त्यसपछि नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब ३ वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए। कट्टेलको पक्षमा फैसला गर्दै सर्वोच्चले फागुन २३ गते नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो । यो फैसलापछि नेकपा विभाजनले नयाँ मोड लिएको छ।

सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आ-आफ्नो कित्तामा फर्किएका छन्। यता माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ। माधव-झलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष ओली दुई समूहमा देखिएका छन्।

सोमबार दिउँसो काठमाडौँस्थित कोटेश्वरमा एक व्यापारीको घरमा प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनरावलोकनमा जाने विषयमा समेत छलफल भएको थियो।

भेटमा माओवादी केन्द्रको तर्फबाट प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ र नेपालसँगै भीम रावल गएका थिए। पार्टी हित विपरित काम गरेको भन्दै नेकपा (एमाले)ले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको थियो। थप कारबाही हुने संकेत पाएपछि उनीहरुबीच आगामी रणनीतिको विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन्। प्रचण्ड र माधवबीच लगातार भेटभएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यताबाटै ६ महिना निलम्बन गरेका छन्।

अन्नपूर्णबाट साभार

फोहर व्यवस्थापनमा सहयोग गरिदिन स्थानीयवासीसँग कामपाको अनुरोध

0

फोेहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौँ महानगरपालिकाले अनुरोध गरेको छ ।

कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समय–समयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि विज्ञप्तिमार्फत यस किसिमको अनुरोध गरेको हो ।

स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहर व्यवस्थापन कार्य प्रभावित पारेका छन् । विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको हो ।

विभागका प्रमुख हरिकुमार श्रेष्ठले विज्ञप्तिमार्फत भन्नुभएको छ, “स्थानीय बासिन्दाको माग सम्बन्धमा कामपा, नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सकारात्मक अपेक्षा छ ।” अहिले साइटमा फोहर लैजानसक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहर वर्गीकरण गर्न विभागले अनुरोध गरेको छ । नकुहिनेलाई घरमै व्यवस्थापन गर्न र कुहिने फोहरलाई सङ्कलन गर्ने गाडी आएपछि पठाउन आग्रह कामपाले गरेको छ ।

फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दी प्रदान गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने माग राखेर फोहर लैजान अवरोध गरेको छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । शुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोेहर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दैै स्थानीयवासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आएका छन् ।

जब रंगशालामा राष्ट्रिय फुटबल खेलाडीले भने, ‘केपी बा वी लभ यू…’ (तस्बिरसहित)

0

काठमाडौं : थ्री नेसन्स कपको उपाधि जितेसँगै नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक-पटक नारा लगाएका छन्। उपाधि समारोहमा सामूहिक तस्बिर खिचाउनेक्रममा खेलाडीले ‘केपी बा वी लभ यू’भन्दै नारा लगाएका हुन्।

खेलाडीलाई हौसला बढाउन प्रधानमन्त्री ओली बंगलादेश र नेपालबीच भएको थ्री नेसन्स कपको फाइनल खेलमा प्रमुख अतिथिको रुपमा दशरथ रंगशालामा पुगेका थिए। घरेलु मैदानमा खेलाडीलाई शुभकामना दिन मैदानमा प्रवेश गर्न जाँदा र रेफ्रीलाई फाइनल ‘म्याच बल’ हस्तान्तरण गर्दादेखि नै हजारौँ दर्शकले प्रधानमन्त्री र खेलाडीलाई हुटिङ गरेका थिए।

खेल अवधिभरी रंगशालामा रहेका ओलीले खेलाडीले गोल गर्दा ताली लगाएर स्वागत गरेका थिए। विभिन्न समयमा नेपालको जीत हुँदा ओलीले आफ्नो खेलप्रेम देखाएर खेलाडीको मन जितिरहेकै छन्। खेलाडीलाई हौसला प्रदान गर्न रंगशाला पुगेका प्रधानमन्त्रीको सम्मानमा  उनीहरुले घन्किएको नारा सामाजिक संजालमा भाइरल भएको छ।

किर्गिस्तान टोलीसँग गोलरहित बराबरी खेलेको नेपाल बंगलादेशसँग बराबरी खेल्दै फाइनल पुगेको हो। अघिल्ला खेलमा दुबै टीमसँग बराबरी खेलेको नेपाललाई उपाधि जित्नु चुनौतिपूर्ण थियो।
सोमबार भएको फाइनलमा बंगलादेशलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन सन्जोक राई र विशाल राईले एक÷एक गोल गरे। बंगलादेशका मेहबुर रहमानले एक गोल फर्काए।

घरेलु दर्शकसामु सुरुआतबाटै आक्रमण खेल खेलेको नेपालले १७औं मिनेटमा अग्रता लिएको थियो। कर्नरमा बंगलादेशका डिफेन्डरले क्लियर गरेको बललाई सन्जोकले डीबक्स भित्रबाट जाली चुमाएका थिए। मिडफिल्डर सन्जोकको डेब्यु गोल हो। सन्जोकले शनिबार बंगलादेशविरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए।

खेलको ३०औं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने मौका गुमायो।  बंगलादेशका गोलरक्षक अघि बढेको अवस्थामा अञ्जन विष्टको प्रहार पोस्ट माथिबाट बाहिरिएको थियो। खेलको ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए। रञ्जित धिमालको लामो पासमा सन्जोक राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले गोल गरेका थिए।

दोस्रो हाफमा नेपालले केही कमजोर प्रदर्शन गर्दा बंगलादेशले गोल फर्काएको थियो। ८३ औं मिनेटमा बंगलादेशका रहमानले गोल गरेका थिए। जमाल भुयानको  कर्नर बलमा अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले उत्कृष्ट हेड गोल गरेका थिए।

‘उपाधि जित्नुको श्रेय खेलाडी र फुटबल समर्थकलाई’
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले उपाधि जित्नुको श्रेय खेलाडी र फुटबल समर्थकलाई जाने बताए। ‘यो श्रेय सबै खेलाडी र समर्थकलाई जान्छ। एक सय दिनको तयारीपछि यो सफलता हासिल गर्न सफल भयौं’, महर्जनले भने, ‘आजको खेलमा पहिलेको दुई खेलमा भन्दा रणनीति र खेलाडी परिवर्तन गरेको थिएँ। त्यो योजना सफल भयो।’

यसैगरी नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफ्नो कप्तानीमा उपाधि दिलाउन पाउँदा खुसी लागेको बताए। ‘घरेलु मैदानमै उपाधि दिलाउन पाउँदा खुसी छु। यसको श्रेय हाम्रा खेलाडीलाई जान्छ’, उनले भने। उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गर्‍यो। उपविजेतामा सीमित भएको बंगलादेशले भने तीन हजार डलर पुरस्कार पायो। फाइनल खेलको म्यान अफ दी म्याच नेपालका सन्जोग राई बने।

यस्तै मोस्ट भ्यालुएबल प्लेयर नेपालकै रोहित चन्द भए। उनले पाँच सय अमेरिकी डलर पुरस्कार पाए। विजेतालाई प्रधानमन्त्री ओली, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार प्रदान गरे।

अन्नपूर्णबाट साभार

भरतपुरमा बसले स्कुटरलाई ठक्कर दिने चालकविरुद्ध सवारी ज्यान मुद्दा

0

पश्चिम चितवनको पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरसँग ठक्कर खाने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरसँग ठक्कर खाने ना५ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध सोमबार सवारी ज्यान मुद्दा दर्ता भएको छ । उनी माडी नगरपालिका–९ का स्थायी बासिन्दा हुन् ।

दुराले चलाएको बसले शनिबार साँझ ना४०प ७९८२ नंको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।

मृतक तीनै जनाको सोमबार देवघाटमा अन्त्येष्टि गरिएको मृतकका आफन्त दीपक दबाडीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवसायीसँग आपसी समझदारी हुन नसक्दा अन्त्येष्टिमा ढिलाइ भएको हो भरतपुर अस्पतालमा शव परीक्षण गरेर अन्त्येष्टिका लागि लगिएको हो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उहाँकी छोरी १७ वर्षीया विनिशा अधिकारी र उहाँको दाइकी छोरी १७ वर्षीया दिविशा अधिकारी रहेका छन् । जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नंको यात्रुवाहक बसले विपरीत दिशाबाट जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटर चालक मोहनसहित स्कुटरको पछाडि सवार दुई छोरीको मृत्यु भएको थियो । बसका चालक दुरा प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।