Sunday, May 3, 2026
Home Blog Page 1263

बंगलादेशमा फेरी लकडाउन घोषणा

0

कोरोना भाइरसको संक्रमण पुनः बढेपछि बंगलादेशमा ७ दिनका लागि लकडाउन घोषणा गरिएको छ । अवामी लिगका महासचिव अबदुल कदेरका अनुसार सरकारले कोरोना नियन्त्रणका लागि देश्व्यापी लकडाउन गर्न सबै तयारी गरिसकेकाे छ ।

बंगलादेश सरकारका राज्यमन्त्री फरहाद हुसैनले अप्रिल ५ देखि देशभर एक हप्ताका लागि पूर्ण लकडाउन हुने बताएका छन् ।

बंगलादेशमा शुक्रबार ६ हजार ८०० जनामा कोरोना पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा त्यहाँ ५० जनाको मृत्यु भएको तथ्यांक छ। सन् २०२० मा बंगलादेशमा ३ महिना लकडाउन गरिएको थियो।

अन्नपूर्णबाट साभार

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी

0

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कुबेतका अब्दुल्लाह अलमुताइरीलाई जिम्मेवारी दिइएको छ। उनलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिसअनुसार राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो । यसअघि नेपाली टिमको मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए।

विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो । यसअघि अब्दुल्लाहले कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएका थिए। उनी किर्गिस्तानको यु-१७ टिमका प्रशिक्षक समेत रहेका थिए।

उनीसँग साउदी कतार,किर्गिस्तान,अरेबिया र कुवेतका विभिन्न टिमको प्रशिक्षक भएर काम गरेको अनुभव छ। आगामी जुन महिनामा हुने विश्वकप छनोटका खेल र आगामी सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपमा पनि अब्दुल्लाहले नेपाली टिमको नेतृत्व गर्नेछन्।

अन्नपूर्णबाट साभार

दुई दिनदेखि वेपत्ता होटल सञ्चालक निरौला मृत भेटिए

0

झापा : दुई दिनदेखि वेपत्ता बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला चारआली जंगलमा मृत फेला परेका छन् । बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिए।

सामाजिक सञ्जालमा उनका आफन्तले खोजि गरिदिन आग्रह गर्दै आएका थिए । आफूले चढ्दै आएको मोटरसाइकल लिएर दुई दिनअघिदेखि बेपत्ता भएको परिवारले प्रहरीलाई बताएको छ । मे. ९ प २२०९ नम्बरको मोटरसाइकलसहित निरौला बेपत्ता भएका थिए ।

हत्या भएको या आत्महत्या भन्ने बारेमा पुष्टि भएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिम्सिनाले जानकारी दिए।

अन्नपूर्णबाट साभार

माधव नेपालले भने- ओलीको फूर्तिको काम छैन, पराजित गरेरै छोड्छौं

0

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको तर अध्यक्ष केपी ओलीले गुट भेला मात्र गरिरहेको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा आयोजित समानान्तर कमिटी घोषणा कार्यक्रममा उनले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा बहुमत आफूहरुको रहेको तर अध्यक्ष केपी ओलीले गुट भेला मात्र गरिरहेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले नवौं महाधिवेशनमा षड्यन्त्र गरेर जितेको फूर्ति लगाइरहेको भन्दै उनले भने,’ त्यो फूर्तिको काम छैन।’

‘कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो’ उनले भने, ‘हामी आधिकारिक हौं, विचारले, सिद्धान्तले र इतिहासले पनि यही भन्छ ।’ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्दैमा नहुने पनि बताए । ‘केपी ओलीले फाले फालिने मान्छे हो ? उनले ल्याएर आएका हौं ?, ‘हामीले आन्दोलनको निर्माण गर्दै यो पार्टीलाई विशिष्ट ठाउँमा पुर्‍याएका हौं,उनले भने,’संगठनको हिसाबले पनि हामीहरू कमजोर छैनौँ।’

पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको उनको दावी छ। नेता नेपालले प्रधानमन्त्री ओलीले विचार, पद्धति र सिद्धान्तको लडाइँबाट केपी ओलीलाई पराजित गरेरै छाड्ने बताए । ‘अहिले केपी ओली मलाई प्रचण्डको कार्यकर्ता भन्छन् । हिजो आफ्नो स्वार्थसिद्ध गर्न प्रचण्डको चाकडी गर्ने उहाँ नै होइन र? उहाँ अरुलाई सकेसम्म प्रयोग गर्नुहुन्छ नसकेपछि लात हान्नुहुन्छ,’उनले भने,’ ओली सबैलाई बेवास्ता र अपमान गर्ने प्रवृत्ति बोकेर हिँडेका छन् । उनीसँग भएका मान्छे पनि त्यस्तै छन् ।’

ओलीले कानुनी रूपले पार्टी कब्जा गरेपनि आधिकारिक एमाले आफूहरू भएको दाबी गरे।​ उनले भने, ‘हामी यसैलाई आधिकारिक मान्छौँ। कानुनले दिएन भने बेग्लै उपाय खोजौंला। ओलीले कानुनी रूपमा पार्टी कब्जा गर्न खोजेका मात्रै हुन्।’

अन्नपूर्णबाट साभार

५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ

0

भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर डोकेबजार भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ ।

शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ । शनिबार मात्रै सीमानाका भएर फर्केका ७६७ जनाको एन्टीजेन परीक्षण गरिएकामा जसमध्ये ३२ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिनुभयो ।

उहाँका अनुसार एन्टीजेन पोजेटिभ आएका सबै जनालाई धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेशनमा राखिएको छ । एन्टीजेन परीक्षणमा १४ वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्मको नतिजा पोजेटिभ आएको छ । एन्टीजेन पोजेटिभ आएकामा १५ जना कैलाली, दुई जना सुर्खेत, सात जना अछाम, एक जना कञ्चनपुर, तीन जना डोटी, एक जना जुम्ला, एक जना बझाङ र दुई जना डडेल्धुराका रहेका छन् ।

सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्केकाको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । भारतबाट फर्कनेको सङ्ख्या धेरै भए पनि हेल्थ डेस्कमा भने स्वास्थ्यकर्मीको सङ्ख्या थोरै मात्र हँुदा परीक्षणमा समस्या हँुदै आएको छ ।

सीमानाका त्रिनगर र गड्डाचौकी भएर भारतबाट फर्केका तीन जनामा नयाँ प्रकारको भेरियन्ट कोरोनाको सङ्क्रमणसमेत देखिएको थियो । तीनै जना अहिले घरमै आइसोलेशनम बसेका छन् ।

४३ लाख नगदसहित नागढुंगाबाट एकजना पक्राउ

0

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ४३ लाख नगदसहित शनिबार साँझ एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल रहेका छन् ।

तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा ४३ लाख नगद र ९ थान पोतेसहितको छड्के तिलहरी फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बसको यात्रु हिँड्ने प्यासेजमा कार्टुनमा टेपले बाँधेको अवस्थामा नगद र तिलहरी भेटिएको प्रहरीको भनाइ छ ।

कौशलले रकमको स्रोत खुलाउन नसकेकाले पक्राउ गरी थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ

0

चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।

उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेका प्रहरीले जनाएको छ ।

छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरुले रु बीस लाख, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लुटेको जनाइएको छ । प्रहरीले उनीहरुका साथबाट नगद रु सात लाख ९२ हजार छ हजार, छ हजार १७० युआन, तिलहरी, बाला, रिङ औँठी, बाला बरामद भएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।

भारतबाट फर्किएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण पुष्टि

0

भारतबाट नेपाल प्रवेश गर्नेहरुमा नयाँ प्रकारको कोरोना संक्रमण देखिन थालेको छ । भारतबाट सुदूरपश्चिम छिरेका थप तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

भारतबाट फर्किएका संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्। उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब नमुना परीक्षण गर्दा नयाँ भेरियन्टको भाइरस संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन्। सीमा नाकामा कोरोना संक्रमणका लागि हेल्थ डेस्क राखिए पनि फितलो स्वास्थ्य परीक्षण भएको जनाइएको छ ।

एक साताअघि उनीहरूसहित २० जनाको स्वाब संकलन गरी जाँच गरिएको थियो। उनीहरूमा फेला परेको कोरोनाभाइरस कुन भेरियन्टको हो भनी परीक्षण गर्न काठमाडौं पठाइएको थियो।

 

जुम्लामा आगलागी हुँदा ३५ घर नष्ट

0

जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार आगो नियन्त्रण बाहिर छ ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने लिने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष बोहोराले भन्नुभयो, “आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।”

पैँतीस घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आगलागीका कारण मान्छे बेहोस छन् । आगलागीबाट क्षतिको यकिन विवरण आउन बाँकी छ ।

तिला–९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् । मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो ।

वडाध्यक्ष बोहोराले भन्नुभयो, “स्याउला सङ्कलनका लागि एक÷दुई दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए । आगोले बस्ती खरानी बनाइसक्यो ।” उहाँले उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको घटनास्थलतिर पठाइसकेको बताउनुभयो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले तिला–९ ढिपुको मुल्लीमा आगलागी भई ३५ घर नष्ट भएको प्रारम्भिक खबरले दुखित तुल्याएको बताउनुभयो ।

“उद्धारका लागि घटनास्थलतर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ”, उहाँले भन्नुभयो, “उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दछु ।”

भीमफेदीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

0

मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा गए राति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

त्रिभुवन राजपथ हुँदै हेटौँडातर्फ आउँदै गरेको ना५ख ८१२९ नंको कन्टेनरले विपरीत दिशातर्फ जाँदै गरेको ना१९प ८९६ नंको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका–५ बस्ने २४ वर्षीय मोटरसाइकल चालक अनिष खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारले जानकारी दिनुभयो ।

उहाँका अनुसार कन्टेनरको ठक्करबाट सोही दुर्घटनामा परी कन्टेनर मालिक भीमफेदी–२ बस्ने २३ वर्षीय सुरेश घलान र चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ बस्ने अन्दाजी ३२ वर्षीय मधुकर विष्ट घाइते भएका छन् ।

घाइतेमध्ये कन्टेनर मालिक घलानको हेटौँडा चुरेहिल अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाइएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

अर्का घाइते कन्टेनर चालक विष्टको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने कन्टेनर सडकबाट करिब १०० मिटर तल खसेको थियो ।