Sunday, May 3, 2026
Home Blog Page 1251

१४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय पनि नजान अपील

0

२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अनलाइनखबरलाई जानाकरी दिए ।

मन्त्रालयले यस क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ ।

‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ ।

सबै अस्पतालमा फिवर क्लिनिक सञ्चालन गर्नू

एचईओसीले सबै अस्पतालहरुलाई फिवर क्लिनिक अनिर्वाय सञ्चालन गर्न आग्रह गरेको छ । साथै सरकारी अस्पताललाई कम्तिमा ५० प्रतिशत वेड कोभिड-१९ का लागि छुट्याउने र निःशुल्क उपचार सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

अनलाईनखबर बाट साभार

म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

0

२ वैशाख, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मन क्लब बवरुसिया डर्टमण्डलाई समग्रमा ४-२ ले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो लेगमा घरेलु मैदानमा २-१ को जित हात पारेको सिटीले दोस्रो लिगमा डर्टमण्डको मैदान पनि उही नतिजा हात पारेको हो । जहाँ सिटीले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै २ गोल गर्‍यो ।

जुडे बेलिङ्गटनले १५औं मिनेटमा गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । सिटीका लागि रियाद महारेजले ५५औं मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काए । ७५औं मिनेटमा फिल फोडेनले गोल गर्दै जित दिलाए ।

सिटीले अब फाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा गर्नेछ ।

अनलाईनखबर बाट साभार

सिरुवा पर्व : सिम्रौनगढदेखि कम्बोडियासम्म उत्सव !

0

पश्चिममा सप्तरीदेखि पूर्वमा पश्चिम बंगलको कुचविहारसम्म मनाइने सिरुवा पर्व बिहीबार पनि मनाइँदैछ । सामान्यतया ३ दिनसम्म मनाइने यो पर्व पहिलो दिन पानीको साथमा, दोस्रो दिन हिलोको साथमा र तेस्रो दिन रंगको साथमा मनाउने गरिन्छ ।

जानकारहरु यो पर्व कम्बोडिया, थाइल्याण्ड जस्ता मुलुकसम्म मनाउने गरिन्छ । यद्यपि नेपाल र भारतबाहिर यसको नाम पनि फरक छ । कम्बोडियामा अप्रिल १३ र १४ गते चोलछाम (कसैले चोङक्रान पर्व पनि भन्छन्) पर्व मनाउने मूलभूत शैली नेपाल र कम्बोडियासम्म उस्तै हुने गरेको जानकारहरु बताउँछन् । कम्बोडियाली सञ्चारमाध्यमहरुका अनुसार चोलछाम पर्व रंगहरुको साथमा मनाउने गरिन्छ ।

सिरुवा संस्कृतिका जानकार सप्तरी स्थायी निवासी सीएन थारुका अनुसार पश्चिममा सिम्रौनगढदेखि पूर्वमा झापासम्म, भारतको कुचविहारदेखि कम्बोडियासम्म मनाइने यो पर्वको नाम ठाउँ अनुसार फरक फरक रहेको बताउँछन् । सप्तरी पूर्वको सिरुवा पर्व सप्तरीको पश्चिमी भेगमा भने जुडशिलतको रुपमा मनाउँछन् । सप्तरीदेखि पूर्व पश्चिम बंगालको कुचविहारसम्म त्यसलाई सिरुवा पर्वको नामबाट चिनिन्छ । वीरगञ्जदेखि पश्चिमतिर यो पर्व मनाउने चलन छैन ।

कम्बोडियाको चोलछामको किंवदन्ती
कम्बोडियाको स्थानीय किंवदन्ती अनुसार एउटा राजकुमार बिहे गर्ने उमेर पुगेपछि अर्की राज्यकी राजकुमारीसँग बिहेको प्रस्ताव लिएर जान्छ । राजकुमारी अत्यन्त विद्वान हुनाले ऊसँग विवाहको लागि एउटा शर्त राख्छिन् । उनको शर्त थियो कि उनी एउटा प्रश्न गर्नेछिन् जसको उत्तर दिन सके उनी राजकुमारसँग बिहे गर्छिन् । होइन भने उनलाई मारिनेछ । राजकुमारलाई यो उत्तर खोज्नको लागि ७ दिनको समय दिइएको थियो ।

राजकुमारीको प्रश्न थियो भाग्यले बिहान दिउँसो र साँझ कहाँ निवास गर्छ ?

राजकुमार उक्त प्रश्नको उत्तरको खोजीमा निस्किए । छैठौं दिन बेलुकासम्म पनि उनले उक्त उत्तर नभेटेपछि राजकुमार एउटा रुखको फेदमा आफ्नो मृत्युको समय कुरेर बसेका हुन्छन् । राजकुमार विविध जनावरको भाषा बुझ्ने क्षमताका व्यक्ति थिए । उनी बसेको रुखको माथि चिलको गुँड थियो र त्यहाँ चिलले आफ्ना बच्चहरुलाई यो मान्छे भोलि मर्ने भन्दै भोलिको राम्रो आहारा मिलेको सुनाउँदै थियो । बच्चाहरुले उसको कारण सोधे । चिलले दरबारमा सोधेको प्रश्न र उत्तर दिन नसकेको प्रसंग आफ्नो बच्चालाई सुनाउँछ । बच्चाहरुले आमासँग त्यो प्रश्नको उत्तर सोध्छन् । बच्चालाई चिलले उक्त प्रश्नको उत्तर भन्छे । त्यो रुखमुनि बसिरहेका राजकुमारले सुन्छन् । चिलले सुनाए अनुसार भाग्यले बिहान अनुहारमा निवास गर्छ, दिउँसो शरीरभित्र निवास गर्छ र राति खुट्टा निवास गर्छ भनेर उत्तर दिए । उत्तर दरबारमा सुनाएपछि राजकुमारसँग बिहे गर्न राजकुमारी तयार हुन्छिन् ।

माथि उल्लेखित किंवदन्ती कम्बोडियाको मौलिक किंवदन्ती रहेपनि थाइल्याण्ड, म्यानमार जस्ता मुलुकमा छुट्टै खालको कथा पाइन्छ । तर अपसोचको कुरा नेपालमा पनि सिरुवा पर्व धुमधामका साथ मनाए पनि नेपालमा त्यस्तो कथा केही पनि छैन ।

कसरी मनाइन्छ यो पर्व ?
सिरुवा पर्वसम्बन्धी जानकार थारुका अनुसार पहिलेपहिले झापातिर इनार सफा गर्दा निस्किएको हिलो दलेर यो पर्व मनाउने चलन थियो । अहिले पनि यो कताकतै चलेको भएपनि यो चलन अहिले धेरै हदसम्म हराइसकेको छ । थारु कम्बोडियासम्म यो पर्व कसरी फैलियो ? र यसको मौलिकता यताको हो या उताको हो ? भन्ने विषयमा अहिलेसम्म कुनै अध्ययन नभएको बताउँछन् । यो पर्व वर्षभरि नै शितल रहोस् भनेर मनाइने पर्व हो । झापा लगायत पूर्वी नेपालमा यो पर्व मनाउँदा एकदिन अघि पकाएको बासी खाना खाएर मनाउने गरिन्छ ।

यो पर्वमा खाना पनि ठाउँ अनुसार हुने गर्छ । झापा लगायतका पूर्वी क्षेत्रमा पानीमा भात राखेर पानीभात खाने चलन छ भने सप्तरी लगायतका क्षेत्रमा तेलबाट बनाइएको परिकारहरु, पकौडा, बरी, पकौरी लगायतका परिकार बनाउने गरिन्छ । साथै सप्तरी लगायतका क्षेत्रमा तेलमा पाकेका रोटीहरु पनि खाएर यो पर्व मनाउने गरिन्छ ।

झापामा पानीमा भात राखेर खायो भने बाथ रोगको रोकथाममा सहयोग मिल्छ भन्ने मान्यता राखिन्छ । त्यसैले बढी गर्मी हुने वैशाख महिनाभरि पानी भात खाने चलन छ । यो परिकार बिहान नास्ताको रुपमा खाने गरिन्छ । यो पर्व मनाउँदा सबैतिर घर वरिपरीको सरसफाइ गर्ने विभिन्न ठाउँहरुमा गएर पूजा गर्ने गरिन्छ । सप्तरीमा रहेका विभिन्न शिराथानहरुमा पूजा गरी यो पर्व मनाइन्छ । गाउँलेहरु भेला हुने मूल केन्द्रलाई साझा थान भनिन्छ र सबै गाउँको एउटा विशेष थानलाई शिराथान भन्ने गरिन्छ । यो पर्व यही शिराथानमा मनाउने गरिन्छ । शिराथानमा राजधामीहरुले पूजा गर्ने गर्छन् ।

राजधामी विभिन्न जातिको हुने गर्छ । कतिपय ठाउँमा एउटा वंशबाट पनि आएको हुन्छ । उनीहरुले पहिलो पूजा गरेपछि मात्रै अरुले त्यहाँ गएर पूजा गर्ने चलन सप्तरीमा छ । सुनसरीदेखि गाउँहरुको हरेक साझा थानमा मेलालाग्ने गर्छ । विशेषगरी ३ दिनसम्म मात्रै यो पर्व मनाउने गरिएको भए पनि ठाउँ एक महिनासम्म पनि यो पूजा लम्बिन सक्छ । यो पर्वको पहिलो दिन पानीबाट खेल्ने, दोस्रो दिन हिलोले र तेस्रो दिनमा रंगले मनाउने गर्छन् ।

अनलाईनखबर बाट साभार

कोरियामा मजदूरको भिसा अवधि एक वर्ष थप हुने

0

३० चैत, सोल। इपिएसमार्फत दक्षिण कोरियामा श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ ।

यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले कोरियामा बसाइँ अवधि थप्न चाहेमा यही अप्रिल महिनाको १३ तारिखदेखि १ वर्षका लागि प्रवेशाज्ञा थप गर्न पाउने नियम पारित भएको छ ।

प्रवासी श्रमिक युनियन (एमटियु) का अध्यक्ष उदय राईले आगामी डिसेम्बरसम्म तीन वर्षको कार्यकाल सकिने श्रमिकको तथा हाल चार वर्ष १० महिनाको भिसा सकिएर स्वदेश फर्किनुपर्ने श्रमिकको अवधि एक वर्ष थपिने बताए ।

यसरी भिसा थपिने भएपछि आगामी डिसेम्बरसम्म तीन वर्षको अवधि सकिने तथा हाल चार वर्ष १० महिनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाइँ अवधि पाँच वर्ष १० महिना हुने छ । तीन वर्षको कार्यकाल सकिने श्रमिकले एक वर्ष थपेर चार वर्ष पूरा गरेपछि पुनः पहिलेकै नियमानुसार एक वर्ष १० महिनाको प्रवेशाज्ञा थप्न सक्नेछन् ।

एमटियुका अध्यक्ष राईका अनुसार कोरियामा १३ महिनादेखि कोही विदेशी मजदूर भित्रिएका छैनन् । यसबीचमा केही कम्बोडिया केही श्रमिक भित्रिए पनि अन्य देशबाट श्रमिक भित्र्याउन सकिएको छैन ।

यसरी विदेशी श्रमिक नभित्रिंदा हुन गएको श्रमिक अभावलाई पूर्ति गर्न तथा कोरोनाका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकलाई राहत दिन सरकारले उक्त नियम ल्याएको ह

अनलाईनखबर बाट साभार

आफ्नै सन्तान बिहे गर्न पाउँ भन्दै अदालतमा निवेदन

0

बुवा-आमा र उनीहरुका सन्तानबीचको सम्बन्ध पवित्र, माया र सद्भावले भरिपूर्ण अनि दुनियाँले कुनै प्रश्न उठाउन नसक्ने खालको हुन्छ । भलै कतिपय दुराचारीहरुले आफ्नै छोरीलाई यौनजन्य दुर्व्यवहार गरेका घटना सार्वजनिक हुने गरेका छन् बेला बेलामा ।

हामीकहाँ अभिभावकले आफ्नै सन्तानलाई बिहे गर्ने भन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन । तर अमेरिकामा चाहिँ एकजना व्यक्तिले आफ्नै सन्तानसँग बिहे गर्न पाउँ भनेर अदालतमा निवेदन दिएका छन् ।

अमेरिकाको न्युयोर्कमा बस्ने ती व्यक्तिले म्यानहटन संघीय अदालतमा यो महिनाको सुरुतिरै उक्त निवेदन दर्ता गरेको बताइएको छ ।

हाडनाताको अवैध सम्बन्धलाई प्रतिबन्धित गर्ने अमेरिकी कानुन खारेज गरी आफ्नो वयस्क सन्तानसँग आफूलाई बिहे गर्न अनुमति दिनुपर्ने उनको माग छ ।

समाजमा नैतिक, सामाजिक तथा जैविकरुपले समेत अस्वीकार्य मानिने उक्त कामका लागि अनुमति माग्ने ती अभिभावक र उनले बिहे गर्न चाहेको आफ्नो सन्तानको नाम, उमेर, लिङ्ग आदि अदालतले गोप्य राखिदिएको छ ।

अप्रिल १ मा अदालतमा हालेको फिरादपत्रमा उनले भनेका छन्, ‘अगाडि जुनसुकै सम्बन्धमा रहेका भए पनि बिहे पश्चात् बिहेको आत्मीय बन्धनमार्फत् दुई व्यक्तिले उच्चस्तरको अभिव्यक्ति, आत्मीयता र आध्यात्मिकता प्राप्त गर्न सक्दछन् ।’

अदालतका अनुसार निवेदनमार्फत् बिहेको अनुमति मागिएका प्रस्तावित दम्पती दुवैजना वयस्क छन् । उनीहरु जैविकरुपले अभिभावक र सन्तान हुन् । तर उनीहरु सँगै प्रजनन गर्न सक्दैनन् ।

न्युयोर्कमा हाडनाता करणी कानुनतः बर्जित छ र उक्त अपराधमा ४ वर्षसम्मको जेल सजाय हुन्छ । त्यस्तै हाडनातामा गरिएको बिहे रद्द गरिने र त्यसरी बिहे गर्नेलाई ६ महिनाको जेल सजाय हुने कानुनी प्रावधान छ ।

अनलाईनखबर बाट साभार

महामारीबीच गतिशील बनेको साहित्य

0

३१ चैत, काठमाडौं । कोरोना महामारीले वर्ष २०७७ मा नेपालमा पनि शिक्षा, रोजगार, उद्योगलगायत अत्यावश्यक क्षेत्र ठप्प भए । आम मानिसको दैनिकीमा धक्का पुग्यो । कैयौं बेरोजगार बने । मजदूर, श्रमिकको बिचल्ली भयो । नयाँ रोजगार सिर्जना भएनन् ।

कोरोना महामारीबाट नेपाली साहित्य क्षेत्र पनि अछुतो रहेन । बढ्दो महामारीले गर्दा साहित्यिक कार्यक्रम, पुस्तक प्रकाशन तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय समारोह स्थगित भए ।

यद्यपि, कोरोना छ भन्दैमा स्रष्टाहरू हात बाँधेर बसेको भने पाइएन । असोजदेखि लकडाउन खुकुलो हुनासाथ बजारमा बहुल विधाका पुस्तकहरू प्रकाशन भए ।

लकडाउनकै अवधिमा पनि दैनिकजसो भर्चुअल साहित्यिक कार्यक्रम हुँदै गरे । सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा स्रष्टाहरूका नयाँ–नयाँ रचना आइरहे ।

साहित्यतर्फ निजी प्रकाशन गृहले वर्षको अन्तिम चार महीनामा प्रत्येक साता जस्तो पुस्तक प्रकाशन गरे । तथ्यांकअनुसार पनि पुस्तक प्रकाशन ग्राफ अन्य वर्षकै हाराहारीमा रह्यो । किताब यात्रा, थुप्रै डटकम तथा अनलाइन बिक्रेताले होम डेलिभरीसहित अनलाइन पुस्तक बिक्रीको बाटो अपनाए ।

प्रकाशन गृह शिखा बुक्सले ४३, सांग्रिलाले ३६, बुकहिलले १८, फाइन प्रिन्टले १८, इन्डिगो इन्कले ९, घोस्ट राइटिङ नेपालले ९, फिनिक्सले ६ थान पुस्तक प्रकाशन गरेको तथ्य सार्वजनिक गरे । यसबाहेक पुराना पुस्तक पुनःप्रकाशन र पुनःमुद्रणको गति रोकिएन । अघिल्लो वर्ष यीमध्ये केही प्रकाशन गृहको पुस्तक प्रकाशन संख्या योभन्दा कम थियो ।

लेखक अमर न्यौपाने तथा बुद्धिसागरले आफ्ना उपन्यासको १० वर्षे संस्करण नयाँ कलेवरसहित प्रकाशित गरे । ऐतिहासिक संकलन मानिने तुलसी दिवसको ‘नेपाली लोककथा’, दमनराज तुलाधरको बहुचर्चित आत्मकथा पुनःप्रकाशन भए ।

समीक्षक राजकुमार बानियाँको भनाइ छ– किताबलाई कोरोना लागेन । त्यस्तो भयानक सफलता वा उत्साहजनक उपलब्धि त साहित्यमा भएको छैन तर विषम परिस्थितिमा यसप्रकारको गतिशीलता आउनु सकारात्मक संकेत हो ।

यता अघिल्लो वर्ष पुस्तक आयातमा लगाएको कर कात्तिकमा विष्णु पौडेल अर्थमन्त्री भएपछि हटाइयो । मन्त्रिपरिषदको त्यो निर्णयसँगै आर्थिक वर्ष २०७६/७७ देखि आयातित पुस्तकमाथि लाग्दै आएको भन्सार शुल्क हट्ने निश्चित भयो ।

वार्षिक हुने गरेका साहित्यिक विमर्श तथा महोत्सवहरू भने फागुन र चैतमा बढी भए । मंसिरमा नेपाल लिटरेचर फेस्टिभल पोखरा र त्यसपछि किताब जात्रा, जनकपुर साहित्य महोत्सव, कर्णाली साहित्य उत्सव, आदिवासी जनजाति लेखक–साहित्यकार महासंघ गठन जस्ता गतिविधि भए ।

सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठानले असारमा रोकिएको राष्ट्रिय कविता महोत्सव तथा पुस्तक प्रदर्शनी मंसिरमा गर्याे । साझा प्रकाशनको नयाँ नेतृत्वको निर्वाचन तथा स्थानीय निकायले गर्ने साहित्य महोत्सवहरू हिउँदकेन्द्रित भए ।

पुस ५ गते केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै अधिकांश साहित्यकार सडक संघर्षमा उत्रिए । माघ ३० गते साहित्यकारहरूले प्रतिगमन विरूद्ध ‘स्रष्टा आन्दोलन २०७७’ गरे । आन्दोलनका क्रममा दर्जनौं कविता वाचन, नाटक प्रस्तुति गरियो ।

यद्यपि थिएटरमै हुने नाटक मञ्चन भने पूर्ण प्रभावित भयो । दर्शकसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदर्शन गर्नुपर्ने विधा भएकाले प्रदर्शनभन्दा बढी विमर्श तथा लेखनमै नाट्य–स्रष्टाहरू व्यस्त रहे ।

विधागत रूपमा आख्यान, गैरआख्यान र कविताकै वर्चश्व रह्यो । यसबाहेक बालसाहित्य, गजल, मुक्तक, हाइकू, चित्रकथा पनि प्रकाशित भए ।

लकडाउन र महामारी भए पनि अन्य वर्षकै अनुपातमा पुस्तक प्रकाशन भएको बताउँछन् शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेल । उनका अनुसार पुस्तकको अर्थबजार खस्किए पनि गतिविधि राम्रो भएको छ ।

पौडेल सुनाउँछन्, ‘तुलनात्मक रूपमा बजारमा पुस्तकको बिक्री त कम हुने नै भयो । यद्यपि पुस्तककेन्द्रित गतिविधि उल्लेख्य भएका छन् ।

फाइन प्रिन्टका अजित बराल भने लकडाउनले सात–आठ महीना रोकिएको पुस्तक बजार एकैपटक खुल्दा पुस्तकको बाढी आएको जस्तो देखिएको बताउँछन् । बरालका अनुसार पुस्तक प्रकाशनसँगै रोकिएका साहित्यिक कार्यक्रम गर्न सकिएकाले साहित्य बजार गतिशील बनेको हो ।

सेलाएको आख्यान बजार

वर्ष २०७७ मा उपन्यास तथा कथाको प्रकाशन संख्या उच्च रहे पनि सेलिब्रेटी आख्यानकारहरू गुप्तवासमै रहे । भदौमा २० जना युवा कथाकारको कथासंग्रह ‘छकालै’ प्रकाशन भयो भने असोजमा केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ बजारमा आयो ।

कथातर्फ बिना थिङको कथा ‘याम्बुनेर’, सुरेश बडालको ‘रहर’, श्याम साहको ‘पथेर’, तीर्थ गुरूङको ‘आप्पा क्हार्प’, शशि थापा पण्डितको ‘उठ तिलोत्तमा’, उपन्यासतर्फ सरला गौतमको ‘डुमेरो’, गणेश लाठको ‘क्षमादान’, सुमित शर्माको ‘प्रवास’, गोपी सापकोटाको ‘काँचो कागज’, प्रभा बरालको ‘फिलिङ्गो’, पदम गौतमको ‘विश्रामपुर’ पाठकको रोजाइमा परे ।

भुवन ढुंगानाको ‘परित्यक्ता’, कृष्ण अविरलको ‘करिया’, जेसन कुँवरको ‘रमिते’ पनि यही वर्ष प्रकाशित भए । कुमार नगरकोटीको कथाकृति ‘कल्प–ग्रन्थ’ चैतमा प्रकाशित हुने भनिए वैशाखमा सार्वजनिक हुने भएको छ ।

गैरआख्यानको दबदबा

वर्ष २०७७ मा प्रकाशन तथ्यांकको आधारमा गैरआख्यानको दबदबा रहेको देखियो । इतिहासविद् महेशराज पन्तको पुस्तकदेखि रवीन्द्र मिश्रको राजनीतिक निबन्ध र बाबुराम भट्टराईको युद्धकालीन सम्झना बजारमा आए ।

दिवंगत कलाकार मनुजबाबु मिश्रका चुनिएका निबन्धहरूको सँगालो ‘एकलानुभूति’, रमेशनाथ पाण्डेको ‘क्रान्ति–प्रतिक्रान्ति’देखि यसै वर्ष मदन पुरस्कार प्राप्त गरेका लेखक चन्द्रप्रकाश बानियाँको ‘भौंज्याहा’ प्रकाशित भयो ।

पछिल्लो एक दशकमा झैं स्थापित अनुहारका आत्मकथाले यो वर्ष पनि प्रधानता पायो । नागरिक अभियन्ता देवेन्द्रराज पाण्डेको ‘एकज्यान दुई जुनी’, पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीको ‘न्यायालयमा चार दशक’, पूर्वसचिव डा. सुधा शर्माको ‘सिंहदरबारको घुम्ने मेच’, पूर्वमन्त्री जयप्रकाश गुप्ताको ‘अख्तियारको थुना : मेरो सम्झना’लगायत आत्मकथा प्रकाशित भए ।

उपप्राध्यापक डा. बिन्दु शर्मा भन्छिन्– मैले यसरी लकडाउनलाई सदुपयोग गरेँ भन्दै पुस्तक संख्या बढाउने ध्याउन्नमा स्रष्टाहरू छन्, त्यसले समाजबाट निरपेक्ष सृजनाहरू बजारमा आइरहेका छन् ।

अंग्रेजी भाषामा लेखिएको प्रसिद्ध अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘जिजीविषा’ नेपालीमा प्रकाशित भयो । अंग्रेजीमै लेखिएको जोन स्टेनबेकको विश्वचर्चित उपन्यास ‘मुषा मानुष’, इरावती कर्वेको कृति ‘युगान्त’, शिवा शाहको ‘कान्छी महारानी’ अनूदित भयो ।

पत्रकार विजयकुमारको ‘सम्बन्धहरू’, डा. मदनकुमार भट्टराईको ‘परराष्ट्रका प्रशासक’, डा. गोविन्द टण्डनको ‘इतिहासका थप पृष्ठहरू’, बिएन जोशीको ‘श्रमाटन’, खाडी मुलुकका नेपालीको पीडा उतारिएको होम कार्कीको ‘सनैया’, उद्यमी जीवा लामिछानेको नियात्रा संग्रह ‘देश देशावर’, चिन्तक आहुतिको ‘जात वार्ता’, खगेन्द्र संग्रौलाको ‘कोरोना कैरन’, रेशम विरहीको ‘सत्ता र स्वप्नदोष’, हरि अधिकारीको संकलित गद्यरचना यही वर्ष सार्वजनिक भए ।

साहित्य–समालोचना र सिद्धान्तका पुस्तकहरू नेपाल प्रज्ञा प्रतिष्ठान तथा निजी प्रकाशन गृहबाट प्रकाशित भए ।

कोरोना भर्सेस कविता

कोरोनाकालमा कविता सिर्जनाको संख्या सम्भवतः उच्च रह्यो । कवि श्रवण मुकारूङको मूल्यांकनमा पनि अन्य समयको तुलनामा लकडाउनमा कविहरू बढी सक्रिय देखिए ।

मुकारूङ स्वयंले एक सय दिनसम्म आफूलाई मन परेका नेपाली कविताहरू वाचन गरेर फेसबुकमा राखे । उनी सुनाउँछन्, ‘यो वर्ष कोरोनाले दिएको विश्व चेतना र नेपालको आन्तरिक राजनीति समेटिएको दुईखाले कविता आयो । अलि फुर्सदिलो भएकाले पनि हामीले धेरै कविता पढ्न पायौं ।’

२०७७ मा असीम सागरको ‘क’, समालोचक नेत्र एटमको ‘प्रिय ! मौनता’, गिरी श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, सुवास खनालको ‘सपनाको अवयव’, कल्पना चिलुवालको ‘चुल्ठो’ विशेष चर्चामा रहे ।

यस्तै महेश कार्की क्षितिजको ‘एक्लो महारथी’, सुमन पोखरेलको ‘जीवनको छेउबाट’, सविता गौतम दाहालको ‘तिमीलाई कस्तो छ’, सुष्मा रानाहँमाको ‘आमाको तास फोटो’ लगायत प्रकाशित भए ।

बृहत् नागरिक आन्दोलन तथा स्रष्टा आन्दोलनका क्रममा एकपछि अर्को कविता वाचन कार्यक्रम भइरह्यो ।

के भन्छन् समीक्षक

कोरोनाले आक्रान्त बने पनि वर्ष २०७७ मा साहित्यिक गतिविधि उल्लेख्य भएको समीक्षकहरूको मत छ । आख्यानकार नारायण ढकाल कोरोनाको बाबजुद पुस्तक लेखन, प्रकाशन र अन्तरक्रिया सहजै भएको सुनाउँछन् । उनी भन्छन्, ‘गुणवत्तालाई एकठाउँमा राखेर हेर्ने हो भने यस वर्षको साहित्य गतिशील देखिन्छ । स्रष्टाहरूले फुर्सद पाएपछि झन् सक्रियता देखाएको महसूस हुन्छ ।’

ढकाल स्वयं पनि वर्षभरि घरैमा बसेर लेख्नेपढ्ने काममा व्यस्त भए । आफूजस्तै फुर्सदिला स्रष्टाहरू त्यसै बसिरहनेभन्दा केही नयाँ लेखनमै जोड गरेको उनको निचोड छ ।

समीक्षक राजकुमार बानियाँ किताबलाई कोरोना नलागेको व्यंग्य गर्दै यस वर्षको साहित्य बजार चलायमान रहेको बताउँछन् । ‘त्यस्तो भयानक सफलता वा उत्साहजनक उपलब्धि त साहित्यमा भएको छैन’ बानियाँले भने, ‘तर विषम परिस्थितिमा यसप्रकारको गतिशीलता आउनु सकारात्मक संकेत हो ।’

संख्यापछि मात्रै स्तरको कुरा आउने धारणा राख्दै बानियाँले पुस्तक प्रकाशनको ग्राफ बढ्नु स्वागतयोग्य भएको बताए ।

उपप्राध्यापक एवं समीक्षक डा. बिन्दु शर्मा भने यस वर्षको साहित्यमाथि भिन्न धारणा राख्छिन् । शर्माका अनुसार साहित्यकार समाजको जिम्मेवार मानिस भएका कारण कोरोनाले थलिएको सामाजिक संवेदनालाई बेवास्ता गर्दै ‘कोठे साहित्य’ लेखनले यो वर्ष प्रधानता पायो ।

बिन्दु सुनाउँछिन्, ‘मैले यसरी लकडाउनलाई सदुपयोग गरें भन्दै पुस्तक संख्या बढाउने ध्याउन्नमा स्रष्टाहरू छन्, त्यसले समाजबाट निरपेक्ष सृजनाहरू बजारमा आइरहेका छन् ।’

अनलाईनखबर बाट साभार

बाँकेमा कोरोना संक्रमित पुरुषको मृत्यु

0

२ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको खजुरा-२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको हो ।

नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको उनले बताए ।

अनलाईनखबर बाट साभार

अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकीमा प्रदेशसभा अधिवेशन अन्त्य

0

२ वैशाख, पोखरा । चार दलले गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको छ ।

सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ । बिहान १०ः ३० बजे मात्र पत्र आइपुगेको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

यो अधिवेशन २५ चैतमा मात्र सुरु भएको थियो । र, ६ वैशाखका लागि अर्को बैठक तोकिएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बिहीबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए ।

अनलाईनखबर बाट साभार

गण्डकीमा सरकारविरुद्ध अविश्वास प्रस्ताव !

0

पोखरा : एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव बिहीबारै दर्ता गराउने प्रयास प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले थालेको छ।

प्रतिपक्षी नेता कृष्णचन्द्र नेपाली पोखरेल कांग्रेस सभापति शेरबहादुर देउवालाई बुधबार काठमाडौंमा भेटेर फर्किएपछि बिहीबारै उक्त प्रस्ताव दर्ता हुने कांग्रेसले जनाएको छ।

प्रतिपक्षी नेता पोखरेल बिहीबार पोखरा आइपुग्दै छन्। उनले अन्नपूर्णसँग भने, ‘प्राविधिक तयार पुग्यो भने बिहीबार नै दर्ता गर्छा।’  उनले यसबारे अर्को विपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीसँग कुरा भइसकेको जानकारी दिए।

सरकारमा नगए पनि गुरुङ सरकारको साथमा रहँदै आएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले बिहीबार वक्तव्य जारी गरी गण्डकी सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गरेका थिए।

राष्ट्रिय जनमोर्चाको गण्डकी संसदीय दलले भने गुरुङलाई हटाएर गैरकम्युनिस्ट सरकार बनाउने कुरामा सहमत हुन नसकिने जनाएको थियो। उक्त उसको पार्टी केन्द्रले भने समर्थन फिर्ताको सर्कुलर गरिदिएको छ।

राजमो गण्डकी संसदीय दलका नेता कृष्ण थापाले पार्टी केन्द्रीय कमिटीको निर्देशनअनुसारै जानुपर्ने भएको जनाएका छन्। ‘उहाँहरुले कस्तो कुरा लेखेर ल्याउनुहुन्छ, हेरौं,’ थापाले भने। उनी व्यक्तिगत रुपमा भने गुरुङ सरकारकै निरन्तरताको पक्षमा छन्।

गण्डकीमा ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाकै भएरमा २८ सांसदसहितको एमाले सरकार बहुमतको सुविधामा छ। ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ सांसद छन्। जसपाले समेत कांग्रेससँग गठबन्धन गरी सरकारमा जाने कुरा गरेको प्रतिपक्ष नेता पोखरेलले जनाए।

माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले पार्टीहरुका केन्द्रको निर्णय र निर्देशनानुसारै प्रदेशमा सरकार फेरबदलको कुरा अघि आएको बताए। उनले कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी र गण्डकीको सरकारमा सत्ता साझेदारीको समझदारी बनाएको संकेत गरे। कांग्रेसको नेतृत्वमा गण्डकीमा सरकार बने लुम्बिनीमा माओवादीले मुख्यमन्त्री पाउने उनको संकेत थियो।

कांग्रेस नेतृत्वमा सरकार बन्यो भने उक्त पार्टीका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुनेछन्। संसदीय परम्पराअनुसारै दलको नेताले सरकारमा नेतृत्व गर्ने कांग्रेस सांसद कुमार खड्का बताउँछन्। पोखरेलका अनुसार दलबीच मन्त्रालय बाँडफाँडबारे भने टुंगो लागेको छैन। ‘त्यो कुरा पछि छलफल गरी टुंग्याउँछौं,’ उनले अन्नपूर्णसँग भने, ‘हामीले वार्ता समिति नै बनाएका छौं, समितिका साथीहरुले छलफल गर्नुहुनेछ।’

माओवादीबाट प्रतिनिधित्व गर्दै आएका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले चैत २५ गते राजीनामा गरेपछि गुरुङ सरकार धरमराएको थियो। माओवादीले भने अहिलेसम्म पनि सरकारमाथिको समर्थन फिर्ता लिइसकेको छैन।

माओवादीका मन्त्रीले राजीनामा दिएकै दिन चैत २५ गते नेपाली कांग्रेसले नयाँ सरकार गठनको पहल गर्न सांसद कुमार खड्का संयोजक, विन्दुकुमार थापा र मणिभद्र शर्मा कँडेल सदस्य रहेको ३ सदस्यीय वार्ता समिति बनाएको थियो। मुख्यमन्त्री पृथ्वीसुब्बा (पीएस) गुरुङले ७ वटा मात्रै मन्त्रालय बनाएका छन्। संविधानले भने प्रदेश सभा सदस्यको २० प्रतिशत मन्त्री बनाउन सकिने व्यवस्था गरेको छ। त्यसअनुसार गर्दा गण्डकीमा १२ मन्त्री बनाउन सकिन्छ। तर कांग्रेसले आफ्नो नेतृत्वमा माओवादीलाई ३ र जसपालाई १ मन्त्रालय दिएर अघि बढ्ने स्रोत बताउँछ।

राजमोका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोद्धा (पीएस गुरुङ) पनि प्रतिगमनको मतियार भएको टिप्पणी गर्दै पिएस गुरुङको सरकारलाई दिएको समर्थन फिर्ताको घोषणा गरेका हुन्।

केसीको त्यस्तो भनाइ आउँदा पनि राजमो संसदीय दलका नेता कृष्ण थापाले भने अहिलेको कम्युनिस्ट सरकारभन्दा कांग्रेस झन् बढी प्रतिगमनकारी भएको टिप्पणी गरेका थिए। कांग्रेस कतिपटक प्रतिगमन गर्‍यो भन्नुस् त,’ उनको भनाइ थियो। तर पार्टी भनेपछि उनी सोही अनुसार गुरुङ सरकार ढाल्न र नयाँ गठन गर्न सहयोगी बन्न बाध्य हुने भएका छन्।

अन्नपूर्णबाट साभार

विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

0

एजेन्सी  । अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ ।

अग्नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ । झण्डै २० जना बालबालिका तिनै कक्षाकोठामा थुनिएर आगोको चपेटामा परेका थिए ।

अग्नि नियन्त्रण विभागका कमान्डर सिडी मोहमदले उद्धारकर्ताहरुले आगो तत्कालै नियन्त्रणमा ल्याएको बताउनुभयो । तर आगो निकै भयानक रहेकाले सबै बालबालिकालाई बचाउन सकिएन, उनीहरु भाग्न पनि सकेनन्, उहाँले भन्नुभयो ।
आगलागी शुरु हुँदा बालबालिका आआफ्ना कक्षाकोठामा पढिरहेका प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपी, आगलागीको खास कारण थाहा हुन सकेको छैन ।

प्रधानमन्त्री ओहोउमोन्डोउ मोहमदुले तत्कालै घटनास्थलको निरीक्षण गर्नु भएको थियो । विश्व मानव विकास सूचकाँकमा नाइजर सबैभन्दा गरिब मुलुकमा पर्दछ । साहेल क्षेत्रको यस मुलुकमा अधिकारीहरुले परालले छाएका धेरै विद्यालय बनाएका छन् जहाँ बालबालिका प्रायः भुईमा बसेर पढ्ने गर्दछन् । यी विद्यालयमा आगलागीका घटना भइरहन्छन्, तर यति भयानक आगलागी यसअघि भएको थिएन ।