काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कर्मचारीहरूलाई विभिन्न निर्देशन दिएका छन्।
नेपालभरिका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने उनले बताएका छन्।
त्यस्तै, केही विश्वविद्यालयहरूले परीक्षा लिएर परीक्षाफल निकाल्न आठ महिनादेखि एक वर्षसम्म समय लिँदा विद्यार्थीहरूलाई अपूरणीय क्षति भएको मन्त्री पुनले उल्लेख गरे। उनले अब बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशित गर्न निर्देशन दिँदै, तोकिएको समयमा नतिजा ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनी दिए।
यसका साथै, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्षेत्रमा रहेका झाडी फाँडेर (ठूला रुखहरू नकाटी) सफा गरी सुन्दर बगैँचा र फुटपाथ बनाउनुपर्ने निर्देशन पनि उनले दिएका छन्।
मन्त्री पुनले मंगलबार सामाजिक सञ्जालमार्फत तीन बुँदे निर्देशन सार्वजनिक गरेका हुन्।


