Sunday, April 19, 2026
Homeदेश र प्रदेशलोडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

लोडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिकामा लोडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा–८ सलकपुरमा पूर्वतर्फ जाँदै गरेको सडक निर्माणमा प्रयोग गरिने लोडरमा सोही दिशातर्फ जाँदै गरेको को ३५ प ५९७१ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेर मोटरसाइकल चालक नवलपरासी गैंगाकोट–९ घर भइ मोरङको सुन्दरहरैँचा–८ मा बस्दै आएका २५ वर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए। उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका थापाको उपचारका लागि ल्याइपुर्‍याएपछि मंगलबार राति ८:५५ बजेतिर विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–६ गछियाका ३० वर्षीय रूपक खड्का घाइते भएका छन्।

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले अनटेष्ट लोडरका चालक मोरङको कटहरी गाउँपालिका–७ का ३३ वर्षीय सरोज गौतमलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ।  दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकसँग साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको एसपी शर्माले बताए। उनका अनुसार मोटरसाइकल चलाएका बेला चालकले मापसे (मादक पदार्थ सेवन) पनि गरेको पाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका