Thursday, April 16, 2026
Homeअर्थ र ब्यापारलगानी सम्मेलनको औचित्य पुष्टि हुँदैन: डा. खतिवडा

लगानी सम्मेलनको औचित्य पुष्टि हुँदैन: डा. खतिवडा

काठमाडौँ । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले लगानी सम्मेलनको औचित्य पुष्टि गर्न सक्ने अवस्था नरहेको बताएका छन् । उनले अहिले लगानी सम्मेलन गर्ने उचित समय नभएको बताए ।

मुलुकमा कुनै नयाँ परिस्थिति सिर्जना नभएकाले हतारमा लगानी सम्मेलन गर्नु आवश्यक नदेखिएको उनले बताए ।
उनले भने, “अघिल्ला लगानी सम्मेलन मुलुकमा नयाँ संविधान र संविधानमा भएका निजी क्षेत्रसँग सम्बन्धी भएका व्यवस्था चिनाउने र अवसर देखाउन सम्मेलन आवश्यक भएको र नेपाल लगानीको लागि सम्भाव्य गन्तव्य भएको कुरा विदेशी राजदूतहरूले पनि आफ्नो देशलाई भन्न सक्नुपर्छ ।”

डा.खतिवडाले लगानी सम्मेलनको लागि सरकारले सबै दातृ निकायहरूलाई परिचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले कूटनीतिक पहल गर्न ढिला भएको भन्दै कम्तीमा ३ महिना अगाडि तयारी गर्नुपर्ने उनले बताए । उनले सरकारले लगानी सम्मेलनमा विदेशी लगानीकर्तालाई देखाउने आयोजनाहरू तयार बनाउन पनि सुझाव दिए । डा.खतिवडाले सरकारसँग सम्भाव्यता भएका र विस्तृत सम्भाव्यता डिपीआर भएका आयोजनाहरूलाई देखाउन सक्नुपर्ने बताए । त्यस्ता आयोजनाका लागि लगानी बोर्ड र उद्योग मन्त्रालयको बिचमा समन्वय आवश्यक रहेको बताए ।

उनले लगानी बोर्ड र उद्योग मन्त्रालयलाई पनि लगानी सम्मेलन सफल बनाउन अर्थ मन्त्रालयले सँगै लिएर हिँड्नुपर्ने बताए । उनले सरकारले लगानी सम्मेलन छोटो समयमा गर्न लागेकाले लगानी सम्मेलनको लागि समय नपुग्ने अवस्था रहेको उल्लेख गरे ।

पूर्व अर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनलाई थप व्यवस्थित बनाउनको लागि नेपाली निजी क्षेत्रलाई विश्वासमा लिन सक्नुपर्ने बताए । उनले पछिल्लो समय मुलुक भित्रैकै निजी क्षेत्रको मनोबल कमजोर रहेकाले सरकारले विश्वासमा लिएर मनोबल बनाउन सुझाव दिए । निजी क्षेत्रलाई आतङ्कित र धरपकड गरेर लगानी सम्मेलन सफल बन्न नसक्ने धारणा राखे ।

उनले निजी क्षेत्रलाई आतांकित पार्ने,राजश्व अनुसन्धान, अख्तियार, सिआईबी भन्दा पनि वैकल्पिक विधिको प्रयोग गरेर समस्या समाधान गर्न सुझाव दिए । डा. खतिवडाले विगतको लगानी सम्मेलनका विषयमा समीक्षा गर्न आवश्यक रहेको बताए । उनले विगतका लगानी सम्मेलनमा भएका प्रतिबद्धता र लगानी कार्यान्वयनको विषयमा समीक्षा गर्न जरुरी रहेको बताए ।

उनले विगतको लगानी सम्मेलनमार्फत कम्पनी ऐन,बौद्धिक सम्पत्ति माथिको अधिकार सम्बन्धी ऐन, विदेशी विनिमय सम्बन्धी ऐन,दामासाही सम्बन्धी ऐन नयाँ बनाउने, निजी लगानी गर्ने वैकल्पिक सम्बन्धी प्रभाभेट इकुटी, भेन्चर क्यापिटल र हेज फण्ड जस्ता उपकरणहरूलाई प्रयोग गर्ने भनिएको बताए । उनले यो विषयमा कति काम भयो मूल्याङ्कन गर्न आवश्यक रहेको बताए । अघिल्लो सम्मेलन प्रतिबद्धता भएका सफल आयोजनाहरू लगानी सम्मेलनमा देखाउन योग्य छन् वा छैन त्यो विषयमा पनि तयारी अवस्थामा रहन उनले सरकारलाई सुझाव दिए । अहिले सरकारसँग विदेशी लगानीकर्तालाई देखाउने परियोजना नै नभएको उनको दाबी छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका