फागुन पूर्णिमामा मनाइने होलीको रौनक तराई मधेसमा विशेष हुने गर्दछ । अझ मिथिला क्षेत्रमा होली विशेष प्रकारले मनाइने गर्दछ । होली अर्थात् रङहरूको पर्वमा खुशी साट्ने, अबिर तथा रङ दलेर शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।
तराई मधेसमा होली संगीतमय हुने गर्दछ । मिथिलामा होली पर्वका अवसरमा गाइने ‘जोगिरा’ प्रख्यात छ । तर पछिल्लो समय जोगिरा लोप हुने अवस्थामा पुगेको सरोकारवालाहरु बताउँछन् ।
कौन तालपर ढोलक बाजे, कौन ताल मृदङ्ग
कौन तालपर गोरिया नाचे, कौन तालपर हम
जोगिरा सररर…
किनका के हाथ कनक पिचकारी,
किनका के हाथ अबिर झोरी ?
रामजी के हाथ में कनक पिचकारी,
सियाजी के हाथ अबिर झोरी
जोगिरा सररर..!
मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरूका बिच ऊर्जा सञ्चार गर्छ ।
पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमलाप र रस मिसिएका जोगिरा (फागु गीत) मिथिलाञ्चलमा अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।
बसन्त पञ्चमी (श्रीपञ्चमी) कै दिनदेखि अबिर खेल्न शुरु गर्दै फागुन पूर्णिमासम्म प्रत्येक रात डम्फू बजाएर समूहमा गाइने जोगिरा अचेल मिथिला क्षेत्रमा सुन्न छाडिएको हो । जोगिरा गाउने पुराना पुस्ताका अधिकांश मरिसकेका र केही वृद्ध अवस्थामा पुगिसकेका छन् । नयाँ पुस्ताले यसबारे खासै चासो राख्न छाडेपछि मिथिलामा जोगिराको डम्फू लोप हुँदै गएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने शिवनारायण पाठकले भने, ‘होली भित्रिसके पनि न डम्फू बज्छ, न जोगिराका स्वर नै सुनिन्छन् ।’
वर्षौंदेखि जोगिरा गाउँदै आएका उनले आफूसँग गाउने थुप्रै साथीहरु मरिसकेको र कोही बुढा भएर थलिएको बताए । उनी भन्छन्, ‘अझै जोगिरा गाउने रस त छ, तर साथ दिने कोही छैनन् ।’
तिथिमिति सम्झना नराख्नेका लागि पनि होली शुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्फू (फागु गीतका वाद्यवादन) का तालमा सुनिने जोगिरा गीत एक दशक यता विस्तारै लोपोन्मुख हुँदै गएको छ ।
आपसी सद्भाव, भ्रातृत्व र उमङ्गको प्रतिकको रुपमा रहेको होली पर्वमा गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव आदानप्रदानको माध्यम पनि हो जोगिरा । होलीको मुख्य गहनाका रुपमा रहेको जोगिरा सुनिन छाडिएपछि यो पर्व अहिले रङ र अबिरमा मात्र सीमित हुँदै गएको छ ।
सामाजिक छुवाछुत, जातीय भेदभाव, व्यक्तिगत रिसराग बिर्सिएर भ्रातृत्व भाव र समानताको सन्देश दिन होलीलाई रमाइलो पर्वका रुपमा मनाउने परम्परा छ । तर, यी सबैलाई एक ठाउँमा बाँधेर राख्ने जोगिराको स्थानमा अचेल ‘डिस्को’ बाजा बज्न थालेपछि मिथिलाको मौलिकता हराउँदै गएको धनुषाको नगराईन नगरपालिका– ५ बस्ने गुड्डु कर्ण बताउँछन् ।
जोगिरा सुन्न नपाउँदा होली नजिकिएको भान नै नभएको धनुषाको जनकपुरधाम–१० बस्ने किसन मण्डलले बताए ।
जोगिरामा काम भाव, वीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरवबोध, आध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, माया, प्रेम, स्नेह, ऊर्जा संस्कृति, परम्पराको निरन्तरता र उमङ्गसहितको समिश्रण रहेको साहित्यकार समेत रहेका संस्कृतिविद् डा राजेन्द्रप्रसाद विमलले बताए ।
मिथिलावासीले यहाँको मौलिक संस्कृति जगेर्नामा महत्वका साथ ध्यान दिएमा मिथिला संस्कृति, सभ्यता, पहिचानको सम्वर्द्धन र संरक्षण हुने उनको भनाइ छ ।
संस्कृतिविद् समेत रहेका साहित्यकार डा. विमलले होली पर्वमा अश्लील गीतको माध्यमले मनभित्र रहेका कामवासनालाई बिर्सनका लागि पनि जोगिरा गीत एउटा माध्यम हुने बताउँछन् ।
ग्रामीण क्षेत्रमा गाइने होली गीतमा विशुद्ध रुपमा होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द बासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद् डा. रामभरोष कापडी भ्रमरले बताए ।
पौराणिक होली गीतमा वासना, प्रेमालाप, सीताराम र शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलताले कब्जा जमाउन थालेकाले पनि यसको माधुर्य समाप्त हुँदै गएको डा भ्रमरको भनाइ छ ।
त्यस्तै मैथिली विभागकी पूर्व अध्यक्ष डा. श्यामा महतो होली पर्व सबैका लागि आदर्श बन्नुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकुन् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ ।’
उनले डम्फु, झ्याली, हार्मोनियमको तालमा जोगिरा गाउँदै गवैयाले देवीदेवताको वन्दना गर्ने, हाँसो–ठट्टा, पे्रम–विछोड र हर्ष विनोदका भावलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने जोगिरा विस्तारै हराउँदै गएको बताइन् ।
मिथिलाञ्चलमा वसन्तपञ्चमीदेखि जोगिरा सुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भंगहाको कञ्चवनमा भक्तजन तथा यात्रीले एकआपसमा रङ र अबिर दलेसँगै होली पर्व सुरु भएको मानिन्छ ।


