गोवा — भारतको तटीय क्षेत्र गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार उत्तरी गोवाको आरपोरा क्षेत्रमा रहेको उक्त क्लबका धेरैजसो पीडित कर्मचारी भएको आशंका गरिएको छ, तर मृतकमध्ये पर्यटकहरू पनि परेका छन्।
शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो लागेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। गोवाका प्रहरी महानिर्देशक आलोक कुमारका अनुसार आगलागी मुख्यतया भुइँतल्लाको भान्सा क्षेत्रमा भएको थियो र अहिले नियन्त्रणमा ल्याइएको छ। धेरै शव भान्सा नजिकै भेटिएकोले पीडित कर्मचारी हुनसक्ने देखिएको उनले बताए।
‘द इन्डियन एक्सप्रेस’का अनुसार आगलागी बागा समुद्री तटमा रहेको लोकप्रिय क्लब ‘बर्च बाई रोमियो लेन’मा भएको हो।
मुख्यमन्त्री प्रमोद सावन्तका अनुसार तीन जनाको जलेर र बाँकीको निसास्सिएर मृत्यु भएको छ। मृतकहरूमध्ये ‘तीन वा चार’ पर्यटक रहेको उनले बताए, तर उनीहरूको उमेर र राष्ट्रियता खुलाइएको छैन।
आगलागीको विस्तृत कारण पत्ता लगाउन औपचारिक छानबिन सुरु भएको र यसमा लापरबाही गरिएकै पाइए कडा कारबाही गरिने मुख्यमन्त्री सावन्तले चेतावनी दिए।


