मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बुधबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई हाल नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय संजित स्याङ्तान र सोही स्थानका १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनीहरूको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनापछि ठक्कर दिने सवारी साधन र चालक फरार रहेका छन्। प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गर्नुका साथै प्रत्यक्षदर्शीसँग सोधपुछ गरी फरार सवारी र चालकको खोजी तीव्र पारेको जनाएको छ।
घटनाबारे आवश्यक कानुनी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


