Sunday, April 26, 2026
Homeअन्तराष्ट्रियहसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हडताल घोषणा

हसिनाको पार्टी युनुस सरकारप्रति आक्रामक, फ्रेबुअरी १८ मा बंगलादेशमा हडताल घोषणा

ढाका, बंगलादेश: हिंसात्मक आन्दोलनपछि बंगलादेशको राजनीतिक परिदृश्य फेरि उतार-चढावमा छ। पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले युनुस नेतृत्वको अन्तरिम सरकारविरुद्ध व्यापक आन्दोलनको घोषणा गरेको छ। यो आन्दोलन आगामी फेब्रुअरी १ बाट सुरु हुने जनाइएको छ।

विद्यार्थी आन्दोलनपछि राजनीतिक अस्थिरता चुलिँदा शेख हसिना प्रधानमन्त्री पद त्यागेर भारततर्फ निर्वासनमा जान बाध्य भएकी थिइन्। यस घटनापछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। तर, युनुस सरकारका पालामा अवामी लिगका नेताहरूविरुद्ध विभिन्न मुद्दा दर्ता हुँदै आएकाले पार्टी आन्दोलनमा उत्रिएको हो।

भारतमा रहेकी शेख हसिनाले भर्चुअल माध्यमबाट आफ्ना समर्थकलाई सम्बोधन गर्दै सरकारको ‘स्वेच्छाचारी निर्णय’ र चुनावमा सहभागी हुन नदिने योजनाको विरोध गरिरहेकी छिन्।

अवामी लिगले फेब्रुअरी महिनाभर सरकारविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। फेब्रुअरी १८ मा बंगलादेशभर आम हडताल गर्ने तयारी रहेको छ। यसबीच पर्चा वितरण, विरोध सभा र प्रदर्शनहरूको कार्यक्रम पनि तय गरिएको छ।

युनुस सरकारका प्रेस सचिव शफिकुल आलमले अवामी लिगलाई चेतावनी दिँदै भने, “गैरकानूनी रूपमा झण्डा बोक्दै अशान्ति मच्चाउनेलाई कानुनको सामना गराइनेछ।” तर, उनले पछि सन्देशलाई स्पष्ट पार्दै भने, “हामी वैधानिक आन्दोलन र स्वतन्त्र संघीय अधिकारको समर्थन गर्छौं।”

युनुस सरकार गठनसँगै अवामी लिगको विद्यार्थी संगठन ‘छाल लिग’माथि प्रतिबन्ध लगाइएको छ। तर अवामी लिगमाथि भने अहिलेसम्म प्रत्यक्ष प्रतिबन्ध लगाइएको छैन।

राजनीतिक विश्लेषकहरूका अनुसार अवामी लिगको यो आन्दोलनले बंगलादेशको राजनीतिक वातावरणलाई थप अस्थिर बनाउन सक्छ। सरकार र विपक्षी दलबीचको यो टकरावले आगामी चुनावको दिशा समेत प्रभावित पार्ने अनुमान गरिएको छ।

बंगलादेशको यो राजनीतिक तनावले दक्षिण एशियाली क्षेत्रीय राजनीति र व्यापारमा असर पार्न सक्ने आँकलन गरिएको छ। भारत लगायतका छिमेकी देशहरूले स्थिरताको लागि कूटनीतिक पहलको आवश्यकता रहेको औंल्याएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका