काठमाडौं । इरानले विश्व व्यापारको अत्यन्त महत्वपूर्ण जलमार्ग ‘हर्मुज जलसन्धि’ पुनः खुला गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
न्युयोर्कको वस्तु विनिमय बजारमा भएको कारोबारअनुसार जुन महिनाका लागि तय भएको सुनको मूल्य करिब २ प्रतिशतले बढेको छ भने मे महिनाका लागि तय भएको चाँदीको मूल्य ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
इरानको उक्त निर्णयले कच्चा तेलको मूल्यमा भने तीव्र गिरावट आएको छ। विश्लेषकहरूका अनुसार तेलको मूल्य घट्दा छोटो अवधिमा मुद्रास्फीतिको दबाब कम हुने र बजारमा सकारात्मक संकेत देखिने सम्भावना रहेको छ।
यसैबीच, अमेरिकी डलर कमजोर हुनु र तेलको मूल्यमा आएको गिरावटका कारण लगानीकर्ताहरू बहुमूल्य धातुतर्फ आकर्षित भएका छन्। डलर कमजोर हुँदा सुन र चाँदीको माग बढ्ने भएकाले मूल्यमा वृद्धि देखिएको हो।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत लेबनानमा भएको युद्धविरामको भावनाअनुसार हर्मुज जलसन्धि सबै व्यावसायिक जहाजका लागि खुला गरिएको जानकारी दिएका छन्। उनले युद्धविराम अवधिभर यो मार्ग पूर्ण रूपमा सञ्चालनमा रहने स्पष्ट पारेका छन्।


