Wednesday, June 3, 2026
Homeस्वास्थ्य र जीवनशैलीसोलुखुम्बुमा भाइरल संक्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

सोलुखुम्बुमा भाइरल संक्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

सोलुखुम्बु: हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल संक्रमण तीव्र रूपमा फैलिएको छ। पछिल्ला केही सातादेखि जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।

अस्पतालमा बिरामीको अत्यधिक चाप

स्वास्थ्य कार्यालयका अनुसार बिरामीको संख्या अस्वाभाविक रूपमा बढेपछि जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ। १५ शय्या क्षमताको यो अस्पतालमा हाल ५० भन्दा बढी बिरामी भर्ना भएका छन्, जसले जनशक्ति व्यवस्थापनमा समेत चुनौती सिर्जना गरेको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताइन्।

उनका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीका लागि प्रयोग गर्नुपरेको छ। “अस्पतालमा भर्ना भएका अधिकांश बिरामी भाइरल संक्रमणकै हुन्। जनशक्ति कम भए पनि बिरामीको चाप अत्यधिक छ। अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ,” शेर्पाले भनिन्।

गम्भीर बिरामीलाई अक्सिजनको आवश्यकता

अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ। डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया तथा श्वासप्रश्वास समस्याबाट ग्रसित बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था छ। “यदि बिरामीको संख्या अझै बढे, हामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ,” डा. रामबाबु जोशीले भने।

सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा भाइरल संक्रमणबाट प्रभावित भएकाले विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। स्वास्थ्य कार्यालयका अधिकारीहरूका अनुसार भाइरल संक्रमण फैलिन नदिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता छ।

सुविधासम्पन्न अस्पताल, तर जनशक्ति अभाव

सोलुखुम्बुको फाप्लु अस्पताल नयाँ सुविधासम्पन्न भवनबाट सेवा दिन थाले पनि आवश्यक जनशक्ति अभावका कारण प्रभावकारी सेवा प्रवाहमा कठिनाइ भइरहेको छ। कोशी प्रदेश सरकारले अस्पताललाई १५ शय्याको मात्र स्वीकृति दिएपछि सोहीअनुसारको जनशक्ति उपलब्ध भए पनि बिरामीको चाप अत्यधिक भएकाले अस्पताल विकास समितिले करारमा कर्मचारी राखेर सेवा सञ्चालन गरिरहेको छ।

नयाँ भवन निर्माणपछि अस्पतालमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ। सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङबु शेर्पाले अस्पतालमा आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

५४ वर्षअघि स्थापना, हालै नयाँ भवनको उद्घाटन

५४ वर्षअघि सर एडमन्ड हिलारीले स्थापना गरेको फाप्लु अस्पताल ६४ रोपनी क्षेत्रफलमा फैलिएको छ। हालै नवनिर्मित अस्पताल भवन सात रोपनी क्षेत्रफलमा निर्माण गरिएको हो। २१ करोड २१ लाख रुपैयाँ लागतमा निर्माण भएको ३० शय्याको नयाँ भवन गत असार २५ गते अस्पताललाई हस्तान्तरण गरिएको थियो।

स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरी अस्पतालका लागि आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्था गरिने जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले बताएका छन्। सुविधासम्पन्न भवन निर्माण भएपछि अब सेवा प्रवाहलाई चुस्त बनाउने लक्ष्य राखिएको अस्पताल प्रशासनले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका