काठमाडौं। विगत केही दशकयताकै शक्तिशाली आँधीमध्ये एक मानिएको सुपर टाइफुन ‘बाभी’ का कारण फिलिपिन्समा पहिरो जाँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। आँधीको प्रभाव बढ्दै गएसँगै ताइवान, जापान, चीन र अन्य पूर्वी एसियाली देशहरूले व्यापक पूर्वतयारी थालेका छन्।
करिब एक हजार किलोमिटर चौडाइमा फैलिएको ‘बाभी’ प्रशान्त महासागरबाट उत्तरतर्फ अघि बढ्दै ताइवान आसपासको क्षेत्रमा पुगेको छ। आँधीको जोखिमलाई मध्यनजर गर्दै ताइवान सरकारले हिमाली तथा पहाडी क्षेत्रबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिसकेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको दक्षिणी साकिसिमा टापुहरूमा शनिबार भारी वर्षा र तीव्र हावाहुरीसहित टाइफुनको प्रभाव देखिएको छ। आँधीको केन्द्र आसपास प्रतिघन्टा १४४ किलोमिटरको निरन्तर हावा र झोक्काको गति १९८ किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्ने चेतावनी जारी गरिएको छ।
खराब मौसमका कारण जापानको लोकप्रिय पर्यटकीय गन्तव्य इशिगाकीमा सबै उडान तथा फेरी सेवा स्थगित गरिएको छ। जापान एयरलाइन्सले शुक्रबार र शनिबारका लागि १०० भन्दा बढी उडान रद्द गरेको जनाएको छ, जसबाट करिब २० हजार यात्रु प्रभावित भएका छन्।
ताइवानमा पनि खराब मौसमका कारण ९१७ अन्तर्राष्ट्रिय र २७४ आन्तरिक उडान रद्द गरिएका छन्। राष्ट्रपति लाई चिङ–तेले आँधी केही कमजोर भए पनि यसको दायरा अझै विशाल रहेकाले तीव्र हावाहुरी र भारी वर्षाको जोखिम कायम रहेको बताएका छन्।
मौसमविद्का अनुसार बाभी ताइवानको मुख्य भूमिमा प्रत्यक्ष ठोक्किने सम्भावना कम भए पनि केही क्षेत्रमा एक मिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
नासाका अनुसार जुलाई ५ मा टाइफुन ‘बाभी’को अधिकतम हावाको गति प्रतिघन्टा २९० किलोमिटरसम्म पुगेको थियो। हाल यसको गति घटेर करिब २०० किलोमिटर प्रतिघन्टा रहेको चीनको राष्ट्रिय मौसम केन्द्रले जनाएको छ।
यसअघि यही आँधी अमेरिकाको गुआम, रोटा, साइपन तथा उत्तरी मारियाना टापुहरूबाट गुज्रँदा व्यापक क्षति पुर्याएको थियो। ती क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको, सडक जलमग्न बनेका, भवनमा क्षति पुगेका तथा समुद्री मार्गहरू अवरुद्ध भएको जनाइएको छ।
आँधीका कारण ताइवान र हङकङबीचका अधिकांश सप्ताहन्त उडानहरू पनि रद्द गरिएका छन्। साथै, पूर्वी चीनका केही तटीय सहर जाने हवाई सेवा समेत प्रभावित भएका छन्। अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह गरेका छन्।


