काठमाडौँ – सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा गोली प्रहार गरी १८ वर्षीया किशोरी अरसी खातुनको हत्या भएको छ। सोमबार बिहान साढे २ बजेतिर घटनास्थलमा उनलाई लक्षित गर्दै गोली प्रहार गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनामा मृतककी भिनाजु पर्ने अजाद मियाँ जट संलग्न रहेको खुलेको छ। उनी भारतीय नागरिक हुन्।
गोली मृतकको टाउकोमा लागेको थियो। घटनामा प्रयोग गरिएको सानो पेस्तोलबाट नपड्किएको गोली पनि घटनास्थलमै भेटिएको प्रहरीले जनाएको छ। २९ वर्षीय आरोपी अजाद मियाँ जट हाल फरार रहेका छन् र प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।


