Tuesday, April 21, 2026
Homeअपराध र घटनासिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

सिरहा, २७ असोज – प्रहरीले विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (प्रनाउ) रमेशबहादुर पालका अनुसार, शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोलबजार नगरपालिका–६, दुर्गा मन्दिरस्थित मेनचोकबाट गुम्बा चोकतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा सवार व्यक्तिहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको हो।

बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकसहित १७ ग्राम ५४० मिलिग्राम र प्लास्टिक हटाउँदा १५ ग्राम शुद्ध रहेको प्रहरीले जनाएको छ। यस अभियोगमा गोलबजार नगरपालिका–७ का २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ का २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको छ। उनीहरूसँगै प्रयोगमा रहेको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

सोही रात करिब ९ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७, पटेर्वा गाउँ नजिकै नेपाल–भारत सीमातर्फ लागुऔषध (गाँजा) लैजाँदै गरेको समूहलाई देखेपछि समूहले झोला फालेर भागेको जनाएको छ। घटनास्थलबाट प्लास्टिकसहित ६४.९ किलोग्राम गाँजा बरामद गरिएको हो।

भाग्ने क्रममा भारतको बिहार राज्य, मधुबनी जिल्लाका ५५ वर्षीय श्रीचन मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य फरार व्यक्तिहरूको खोजी जारी रहेको प्रनाउ पालले जानकारी दिनुभयो। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका