Friday, February 7, 2025
Homeअर्थ र ब्यापारसामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब नपाएपछि...

सामुदायिक विद्यालयका शिक्षकले ६ महिनादेखि तलब नपाएपछि…

वीरगञ्ज: बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले विगत छ महिनादेखि तलबभत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्याललाई हस्तान्तरण गरेका छन्।

चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको तलब र सेवा सुविधा नपाएपछि नगरपालिकाअन्तर्गतका २० वटै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले समस्या समाधानका लागि यो कदम चालेका हुन्। विगत बुधबारदेखि शुक्रबारसम्म ‘हाफ टाइम’ विरोध कार्यक्रम गर्दै प्रशासनको ध्यानाकर्षण गराएका शिक्षकहरूले नगरपालिकाले कुनै पहल नगरेपछि विद्यालय बन्द गरेका छन्।

भङ्गी साह माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज उपाध्यायले तलब नपाउँदा शिक्षकहरू गम्भीर आर्थिक समस्यामा परेको बताउनुभयो। “छ महिनादेखि तलबभत्ताको नाममा एक पैसा पाएका छैनौँ। हाम्रो पनि परिवार र बालबच्चा छन्। धैर्यताको बाँध टुटेपछि बाध्य भएर विद्यालयको साँचो बुझाउनुपर्‍यो,” उहाँले भन्नुभयो।

नगरपालिकाका प्रमुख सिंहासन साह तेली र प्रमुख प्रशासकीय अधिकृत मोहम्मद शेरे मुस्ताफाबीचको आन्तरिक विवादका कारण आर्थिक गतिविधि ठप्प भएको जनाइएको छ। गत कात्तिक ८ गते नगरसभा सम्पन्न भए पनि नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा समस्या उत्पन्न भएको हो।

प्रजिअ अर्यालले समस्या समाधानका लागि पटक–पटक प्रयास गरिए पनि कुनै ठोस प्रगति नभएको जानकारी दिनुभयो। “शिक्षक तथा कर्मचारीको तलब भत्ताबारे छलफल गरे पनि समस्या समाधान गर्न सकिएको छैन। हामीले गर्न सक्ने अधिकतम प्रयास जारी राख्नेछौँ,” उहाँले भन्नुभयो।

शिक्षकहरूले समस्या समाधान नभएसम्म विद्यालय सञ्चालनमा चुनौती रहने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका