आज बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको दिन पारेर नयाँ धरहरा उद्घाटन गर्दैछन् । प्रधानमन्त्रीले हतार–हतार उद्घाटन गरे पनि सर्वसाधारणले भने अझै केही समय धरहरामा चढ्न पाउने छैनन् ।
धरहरा त ठडिएको छ, तर यसको स्वामित्व कसले लिने र धरहरामा चढ्नेहरूका लागि कसले टिकट काट्ने भन्ने अझै टुंगो लागिसकेको छैन । साथै, धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु पनि अझै सकिएको छैन । निर्माणले पूर्णता पाउन बाँकी रहेता पनि २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले ढालेको धरहराकै छेउमा अर्को नयाँ धरहरा ठडिइसकेको छ । भूकम्पले जुन संरचना भत्काएको थियो, त्यसको निर्माण सकिन लागेकाले प्रधानमन्त्रीले उद्घाटन गर्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए ।
प्राधिकरणका तर्फबाट शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सचिव गेलालले धरहराको फेदमा अझैसम्म थुप्रै संरचना निर्माणका क्रममा रहेको र क्रमशः तिनीहरुको निर्माण हुँदै जाने बताए ।
प्राधिकरणले बनाइरहेको धरहरा क्षेत्रमा भूमिगत पार्किङ, बगैंचा, संग्रहालय लगायतका अन्य संरचनाको निर्माण भइरहेको छ । भीमसेन थापाका पालामा बनेको धरहराकै स्वरुपमा आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग गरेर बनाइएको नयाँ धरहरा चढ्नका लागि तयार भएको छ ।
उद्घाटन मात्रै, चढ्न नपाइने, टिकटको कुरा पछिमात्रै
प्रधानमन्त्री ओलीले २०७५ साल पुसमा धरहरा निर्माणको शिलान्यास गरेका थिए । बैशाख १२ गते ६ वर्षअघि गएको भूकम्पको स्मृति दिवसको पूर्वसन्ध्यामा निर्माण नसक्दै हतार–हतार धरहरा उद्घाटन गरिए पनि सर्वसाधारणका लागि भने खुला नहुने भएको छ ।
शनिवार बिहान प्रधानमन्त्रीले उद्घाटन मात्रै गर्ने र सर्वसाधारणका लागि निर्माण सकिएपछि मात्रै चढ्न दिइने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले रातोपाटीलाई जानकारी दिए ।
घिमिरेले भने, ‘भोलि उद्घाटन मात्रै गरिने हो, सर्वसाधारणका लागि खुला हुँदैन । हस्तान्तरणको प्रक्रियापछि मात्रै सर्वसाधारणका लागि खुला हुन्छ ।’
आगामी असार मसान्तदेखि प्राधिकरणको समयसीमा सकिने भएकाले धरहरा सञ्चालनका लागि अन्य कुनै निकायलाई धरहरा हस्तान्तरण हुनेछ । प्राधिकरण आफैंले धरहरा सञ्चालन नगर्ने भएकाले टिकटका बारेमा पनि दोस्रो चरणमा मात्रै टुङ्गो लाग्ने घिमिरेले बताए ।
नयाँ धरहराको विशेषता
अहिलेको नयाँ धरहराको निर्माण कार्य २०७५ असोज १४ गतेदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट काम सुरु भएको थियो ।
अहिले बनेको धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा एउटा अर्ध–भूमिगतसहित चारतल्ले भूकम्प र टक्सारसम्बन्धी संग्रहालय निर्माण भइरहेका छन् । त्यस्तै, ‘फुड कोर्ट’सहितको ‘युटिलिटी ब्लक’ पनि निर्माणकै क्रममा रहेको छ ।
धरहराले चर्चेको क्षेत्रमा विश्राम स्थलसहितको मनमोहक बगैंचा एवं संगीतमय फोहरा निर्माण हुने प्राधिकरणले जनाएको छ । यस्तै तीनतले भूमिगत पार्किङको पनि व्यवस्था गरिने छ, जहाँ ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न मिल्ने छ ।
२०७२ सालको भूकम्पले भत्काएको भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरिनेछ । त्यससँगै रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गरिने र जसमा २४ सै घण्टा मेलम्चीबाट ल्याइएको पानी बगाउने योजना रहेको प्राधीकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।
धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिन मुनि दुई तल्लाको भूमिगत संरचना रहेको छ । जमिनमाथि भुईंतलासहित २३ तला गरी समग्रमा धरहरा २५ तल्लाको छ ।
जमिन माथिबाट गजुरसहित धरहराको उचाई ८३.८५ मिटर छ, जुन भूमिगत तल्लासहित जोड्दा ९२.२५ मिटर पुग्छ ।
आधुनिक निर्माण सामग्री र प्रविधि प्रयोग भएको धरहराभित्र २ वटा लिफ्ट राखिएको छ, जसमा एकपटकमा १० जनाले यात्रा गर्न सक्ने जनाइएको छ । धरहरा चढ्न फलामको भ¥याङ पनि राखिएको छ ।
धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली राखिएको छ ।
२२ औँ तल्लामा पुरानो धरहराबाट झिकेर सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ ।
झन्डै ३ अर्ब ४८ करोडको लागतमा पुरानो धरहराको स्वरुपमा नयाँ धरहरा बनाइएको हो ।
यस्तो छ धरहराको इतिहास
विसं. १८८१ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गराएका थिए जसको नाम भिमसेन स्तम्भ रहेको थियो । १८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आदेशमा भीमसेन थापाले सुन्धारामा अर्को ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएका थिए । जुन धरहरा १८९० सालमा भत्किएपछि लगनटोलको धरहराको जीर्णोद्वार भएको थियो ।
वि. सं. १९१३ मा बज्र (चट्याङ) परी भत्केपछि १९२३ सालमा पुनः जीर्णोद्वार गरिएको थियो । त्यसपछि बि.सं. १९९० माघ २ को महाभूकम्पमा धरहरा भत्किएपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेर राणाले पुनर्निर्माण गराएका थिए । सो पुनर्निर्माणका क्रममा धरहरा ११ तल्लाबाट ९ तल्लामा सीमित भएको थियो ।
यस्तै ६ बर्षअघि २०७२ बैशाख १२ गतेको महाभूकम्पबाट धरहरा पूर्णरुपमा क्षति भएको थियो । जुन भत्किएको धरहराको फेदलाई अहिले जस्ता पाता ओढाएर संरक्षण गरेर राखिएको छ ।
२०७२ सालको भूकम्पमा धरहरा चढेका र धरहराको छेउबाट यात्रा गरिरहेका ६० जनाले अकालमा मृत्युवरण गर्नुपरेको थियो । धरहरा भत्कँदा अन्य कैयौँ ब्यक्ति घाइते तथा अंगभंग भएका थिए ।