काठमाडौँ: नेपाली कांग्रेसकी सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
अदालतले शुक्रबार प्रहरीलाई राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। यसअघि पनि अदालतले उनलाई ३ दिनको हिरासत अनुमति दिएको थियो।
प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट निर्वाचित राईलाई गत शनिबार साँझ बुढानीलकण्ठ–१०, कपनबाट पक्राउ गरिएको थियो।
उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको आरोप लागेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीविरुद्ध पूरक अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन पेस गरिनेछ।


