काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा उखु किसानले पाउनुपर्ने रकममध्ये करिब ९२ प्रतिशत भुक्तानी सम्पन्न भएको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा सार्वजनिक गरिएको प्रगति विवरणमा १३ वटा चिनी मिलले ६८ हजार उखु किसानलाई दिनुपर्ने १३ अर्ब ७६ करोड रुपैयाँमध्ये अधिकांश रकम भुक्तानी गरिसकेको उल्लेख गरिएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले विगतमा उखु किसानले भुक्तानीका लागि ६ देखि ८ महिनासम्म कुर्नुपर्ने अवस्था रहे पनि यस वर्ष आर्थिक वर्षभित्रै रकम उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए।
सरकारले उपलब्ध गराउने प्रति क्विन्टल ७० रुपैयाँका दरले करिब १ अर्ब ५२ करोड रुपैयाँ अनुदान सम्बन्धित निकायमा निकासा भइसकेको र असार २५ भित्र किसानको बैंक खातामा जम्मा हुने प्रक्रिया जारी रहेको उनले बताए।
बैंक खाता, प्यानलगायतका प्राविधिक विवरण नमिलेकाले रोकिएका केही किसानको बाँकी भुक्तानी पनि आवश्यक प्रक्रिया पूरा भएपछि तत्काल उपलब्ध गराइने सरकारको दाबी छ।
सरकारले कृषि क्षेत्रको सुधारका लागि कृषि बजार सूचना प्रणाली सञ्चालन, चिस्यान केन्द्र स्थापना, माटो परीक्षण तथा ‘स्वाइल हेल्थ कार्ड’ वितरण कार्यक्रमलाई पनि अघि बढाएको जनाएको छ।
यस्तै, कृषि क्षेत्रमा लगानी प्रवर्द्धन गर्न तीन करोड रुपैयाँसम्मको कृषि कर्जाको जोखिम भार ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत कायम गरिएको उल्लेख गरिएको छ।
सरकारका अनुसार देशभरका २५ लाख ५८ हजार १९८ किसानमध्ये हालसम्म ७ लाख ५० हजार किसानको विवरण प्रमाणीकरण गरी विद्युतीय प्रणालीमा आबद्ध गरिएको छ।
त्यसैगरी, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रभावित परिवारलाई राहत वितरण गर्ने तथा दीर्घकालीन समाधानका लागि अध्ययन कार्यलाई पनि निरन्तरता दिइएको सरकारको १०० दिने उपलब्धि प्रतिवेदनमा उल्लेख छ।


