काठमाडौं : कांग्रेसको १४ औं महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी छ। संस्थापन र संस्थापन इतरपक्षले अझैं उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। दुवै पक्ष उम्मेदबारको टुंगो लगाउन आन्तरिक छलफलमा जुटेपनि साझा उम्मेदवार बनाउन सकेका छैनन्।
यसैबीच बुधबार दुवै पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। रामचन्द्र पौडेल पक्षबाट सभापतिमा पौडेल, शशांक कोइराला,शेखर कोइराला, प्रकाशमान सिंहले आकांक्षा देखाएका छन्। जसमध्ये शशांकले मंगलबारको छलफलपछि पौडेललाई सघाउने भन्दै पछि हटेका छन्।
पौडेल समूहको बिहानदेखि बैठक बसेको छ। बैठकले सभापतिलगायत पदाधिकारीहरुको उम्मेदवारको टुंगो लगाउनेछ । बैठकमा पौडेल पक्षका केन्द्रीय सदस्य, नवनिर्वाचित जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र प्रदेश सभापति बोलाइएको छ।
सो पक्षका नेताहरूबीच दर्जन बढी बैठक भइसकेका छन्। तर पनि आकांक्षीहरु बढि देखिएकाले उम्मेदवारको टुंगो लगाउन हम्मेहम्मे भएको हो। प्रदेश अधिवेशनको परिणामले पनि इतरपक्षमा साझा उम्मेदवार तय गर्न समस्या भएको छ। ६ प्रदेशमा भएको चुनावमा इतरपक्षले लुम्बिनी र गण्डकी प्रदेशमा मात्र जितेको छ।
निर्वाचन भएको प्रदेशमा संस्थापन पक्षको वर्चस्व देखिएको छ। जिल्लाको अधिवेशनमा वर्चस्व जमाएको संस्थापन पक्ष प्रदेश अधिवेशनमा आफ्ना पक्षका उम्मेद्वार विजयी भएपछि थप हौसिएको छ। देउवाइतरपक्षले साझा उम्मेदवारी दिन नसकेको अवस्थामा १४ औं महाधिवेशनबाट पनि सभापतिमा देउवा नै दोहोरिने सम्भावना बलियो बनेको छ। प्रदेश अधिवेशनमा संस्थापन देउवा पक्ष र कृष्ण सिटौला पक्ष नजिक बनेका छन्।
इतरपक्षको उपसभापतिमा महेश आचार्य, अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी र चन्द्र भण्डारीको दाबी छ। महामन्त्रीमा गगन थापा, मीनेन्द्र रिजाल र धनराज गुरुङ आकांक्षी छन्। सह–महामन्त्रीमा बद्री पाण्डे, महिलाबाट कमला पन्त र सरिता प्रसाईं आकांक्षी छन्।
दलितबाट भने जीवन परियारलाई उम्मेदवार बनाउने पौडेल पक्षले तयारी गरेको छ। परियारले मंगलबार उम्मेदवारी घोषणा गरिसकेका छन्।


