Homeमुख्य समाचारसंसद विघटनविरुद्ध परेका रिटमाथि छलफल गर्न संवैधानिक इजलास गठन

संसद विघटनविरुद्ध परेका रिटमाथि छलफल गर्न संवैधानिक इजलास गठन

काठमाडौं : सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटमाथि छलफल गर्न संवैधानिक इजलास गठन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा इजलास गठन भएको हो ।

इजलासमा न्यायाधीशहरू दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य तोकिएका छन् ।

बिहीबार प्रधानन्यायाधीश राणाको एकल इजलासले संसद्‍ विघटनसम्बन्धी  १९ वटा  रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । इजलासमा रहेका सबै रिटमा राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाइएको छ।

संसद्‍ विघटनसम्बन्धी ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भइसकेका छन् । संसद् विघटनसम्बन्धी रिटमा संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ । ती सबै ३० वटा मुद्दाको सुनुवाइ शुक्रबारदेखि संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ।

यसअघि पाँच गठबन्धनका १४६ जना सांसदले  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति  र प्रतिनिधिसभा पुनर्स्थापना गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी मध्यावधी निर्वाचनको मिति तय गरेपछि संसद् विघटन असंवैधानिक भन्दै ३० वटा रिट सर्वोच्चमा दायर भएका हुन्।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद्‍ विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर सो कदमलाई  सर्वोच्चले फागुन ११ गते बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो। सर्वोच्चको संवैधानिक इजलासमा करिब डेढ महिना बहस भएको थियो। विघटन भएको संसद् पुनर्स्थापनाका लागि विपक्षीहरूले आन्दोलनसमेत गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका