काठमाडौँ: यो साता सङ्घीय संसद्को बैठक नियमित रूपमा सञ्चालन भयो। प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका तीन बैठक बस्दा महत्त्वपूर्ण छलफल भए।
प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरदेखि दलितमाथिको ज्यादती, विदेशी मुद्रा बरामदजस्ता विषय प्राथमिकतामा रहे। पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिने सरकारको तयारीले विवाद सिर्जना गर्यो।
संसदीय समितिहरू पनि सक्रिय रहे। आर्थिक तथा लगानी सुधारका विधेयकहरू पारित भए। विपक्षीले यी विधेयकहरूले आर्थिक सुधार गर्न नसक्ने दाबी गरे।
सिरहामा दलितको घरमा डोजर लगाइएको घटनाले संसद्मा तीव्र प्रतिक्रिया पायो। सांसदहरूले जातीय विभेदको निन्दा गर्दै संसदीय छानबिनको माग गरे।
नियमावली बाझिएको भन्दै राष्ट्रियसभा शुक्रबार स्थगित भयो। चैत १० गते बैठक पुनः बस्नेछ।


