एउटा यस्तो देश जहाँ…
विदेशी ऋण तिर्न पैसा छैन
राजनीतिक स्थिरता छैन
१६–१६ घण्टासम्म विद्युत कटौती छ
एटीएम खाली छन्
एक महिना भित्र दुई पटक आपतकाल
यी कुराहरु कुनै समय प्राकृतिक सौन्दर्य र पर्यटनका लागि चिनिने देशको सन्दर्भमा छ ।
१५० वर्षको ब्रिटिश शासनपछि सन् १९४८ मा स्वतन्त्र भएको श्रीलंका स्वतन्त्रतापछिको सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ ।
सोमबार देशका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । उनले आफ्नो राजीनामा राष्ट्रपति गोटाबाया राजापाक्षेलाई पठाएका हुन् । राष्ट्रपतिले त्यो मान्ने कि नमान्ने, आज प्रष्ट हुनेछ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार राष्ट्रपति भवनमा गोटाबाया राजपाक्षेको नेतृत्वमा भएको बैठकमा सहभागी महिन्दा राजापाक्षेलाई राजीनामा दिन आग्रह गरिएको थियो, जसलाई उनले स्वीकार गरेका थिए ।
राजपाक्षेले राजीनामा दिनुअघि के भने ?
श्रीलंकामा, मन्त्रिपरिषद्लाई दिइएको जानकारी अनुसार प्रधानमन्त्री राजापाक्षेले देशको कमजोर आर्थिक अवस्थालाई सम्हाल्न असफल भएको भन्दै राजीनामा दिएका छन् । उनको राजीनामासँगै मन्त्रिपरिषद् पनि विघटन भएको छ ।
राजीनामा दिनुअघि राजापाक्षेले आफ्नो राजीनामाले मुलुकको वर्तमान आर्थिक संकट अन्त्य हुने हो भने त्यसका लागि आफू तयार रहेको बताएका थिए ।
तर, विज्ञहरू यसलाई जनताको विरोधको प्रत्यक्ष परिणाम मान्छन् ।
श्रीलंकाको राजधानीमा मार्चको अन्त्यदेखि प्रदर्शन भइरहेको छ । समस्यामा परेका जनता सडकमा उत्रिएका छन्, राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा दिन माग गरिरहेका छन्, ‘गो गोटाबाया गो’ नारा लगाइरहेका छन् ।
श्रीलंकाको राजधानी कोलम्बोमा उपस्थित बीबीसी संवाददाता अर्चना शुक्लाले प्रधानमन्त्री राजापाक्षेले राजीनामा दिने निर्णय सार्वजनिक दबाबका कारण मात्र नभएर आफ्नै राजनीतिक दलमा भएको दरारका कारण भएको बताइन् ।
उनी भन्छिन्, ‘राजपाक्षेको राजीनामा पूर्णतया सार्वजनिक दबाबको उपज हो । साथै, उनको आफ्नै पार्टीमा जस्तो खालको अन्तर्विरोध देखिएको थियो, यसका कारण पनि यस्तो नतिजा देखिएको हो ।’
अर्चनाका अनुसार केही दिनयता प्रधानमन्त्री र राष्ट्रपतिबीच मनमुटाव भएको खबर आएको थियो । जहाँ राष्ट्रपतिले प्रधानमन्त्री आफैंले राजीनामा दिन चाहेको पनि भनिएको थियो । अविश्वासको प्रस्ताव अघि । त्यसैले आन्तरिक दबाब अत्यधिक थियो । यसबाहेक जनताले हप्तौंदेखि जसरी आन्दोलन गरिरहेका थिए, त्यो दबाबलाई पनि बेवास्ता गर्न सकिँदैन ।
तर के राजीनामाले यो समस्या समाधान हुन्छ ?
प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामाले परिस्थिति बदलिए त्यसका लागि आफू तयार रहेको बताएका थिए । तर के उनको राजीनामाले केही परिवर्तन होला ?
अर्चना भन्छन्, ‘अहिले सुधारको कुरा ढुक्क भएर भन्न सकिने अवस्था छैन तर यहाँ धेरै नै अनिश्चितता देखिएको छ ।’
उनी भन्छिन्, ‘देशका लागि सबैभन्दा ठूलो समस्या भनेको आर्थिक संकट हो र यसलाई पहिले समाधान गर्नुपर्छ । जनताले तेल, ग्यास, औषधि पाएका छैनन् । श्रीलंका अझै पनि त्यसका लागि अन्य देशहरूमा निर्भर छ । विश्व बैंकमाथि निर्भर छ । अन्य देशबाट आपतकालको रूपमा पाइने ऋणमा पनि निर्भर छ । यो आर्थिक संकटसँग जुध्न सबैभन्दा महत्त्वपूर्ण छ ।’
‘तर राजपाक्षे सरकारले आर्थिक पुनरुत्थानको प्रयासस्वरूप जुन कार्यक्रम वा वार्ता गर्दै आएको थियो, ती सबै अहिले रोकिएका छन् । अब यहाँ सरकार नभएकाले ती सबै कार्यक्रम कसरी अघि बढ्छन् भन्ने अन्योलता बढेको छ । यस्तो अवस्थामा अबको सरकार कसको हुन्छ र ऋणीसँग कसले वार्ता गर्ने भन्ने केही स्पष्ट छैन ।’
आज जसरी हिंसा भड्किएको छ, त्यो आफैंमा चिन्ताको विषय भएको उनी बताउँछिन् । यस अर्थमा अहिले राजीनामाबाट कुनै फाइदा हुने देखिँदैन ।
श्रीलङ्कामा यस्तो अवस्था कसरी आयो ?
विगत केही महिनादेखि मुलुकको मुद्रास्फीति दोहोरो अंकमा रहेको छ । रुस र युक्रेनबीचको युद्धपछि श्रीलंकाको संकट गहिरिएको छ ।
कोरोना महामारी र युक्रेन युद्धको प्रभावका कारण ऋणीलाई ऋण तिर्न ‘असम्भव’ झैँ भएको अधिकारीहरूले बताएका छन् । तर, विज्ञहरूका अनुसार श्रीलंकामा धेरै वर्षदेखि सङ्कट चलिरहेको थियो, त्यसको एउटा कारण सरकारको गलत व्यवस्थापनलाई पनि मानिएको छ ।
विज्ञहरूका अनुसार विगत एक दशकमा श्रीलंका सरकारले सार्वजनिक सेवाका लागि विदेशबाट ठूलो रकम ऋण लिएको छ । बढ्दो ऋण बाहेक अन्य धेरै कुराले पनि देशको अर्थतन्त्रमा असर पारेको छ । जसमा अत्यधिक वर्षा जस्ता प्राकृतिक प्रकोपदेखि मानव निर्मित विनाशसम्म समावेश छ । यसमा सरकारले रासायनिक मलमा लगाएको प्रतिबन्धले किसानको बाली नष्ट गरेको छ ।
कतिपय विज्ञहरुले देशको वर्तमान अवस्थाको कारण राजापाक्षे परिवार र उनको गलत नीतिलाई पनि मान्दछन् ।
दिल्लीको जवाहरलाल युनिभर्सिटीको सेन्टर फर साउथ एशियन स्टडिजका प्रोफेसर पी सहदेवनले यस संकटको लागि राजपक्षे परिवारलाई जिम्मेवार ठहराउन सकिने बताएका छन् ।
उनका अनुुसार जो सरकार सत्तामा छ, उनैलाई गलत बताउनुपर्ने हुन्छ किनभने उनीहरुलाई चुनौती के हो थाहा थियो तर उनीहरुले केही पनि गरेनन् ।


