Friday, May 15, 2026
Homeमनोरन्जन‘शी लिड्स आइकन’ दोस्रो संस्करणका लागि ३१ महिला जनप्रतिनिधि छनोट

‘शी लिड्स आइकन’ दोस्रो संस्करणका लागि ३१ महिला जनप्रतिनिधि छनोट

काठमाडौं । ‘शी लिड्स आइकन’को दोस्रो संस्करणका लागि स्थानीय तहका ३१ जना महिला जनप्रतिनिधि छनोट भएका छन्। कल्प इम्पावर वुमेन नेपालले महिलाको नेतृत्व र राजनीतिमा सक्रिय सहभागितालाई प्रेरणाका रूपमा प्रस्तुत गर्न यो कार्यक्रम सुरु गरेको हो।

यसअघि पहिलो संस्करण सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न भएको थियो। सोही सफलतापछि दोस्रो संस्करणमार्फत निर्वाचित महिला जनप्रतिनिधिको सुकर्मलाई अझ व्यापक रूपमा प्रचार गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

यो संस्करणका लागि कुल १३१ आवेदनमध्ये १११ आवेदन प्रक्रिया पूरा भएका थिए। तीमध्ये निर्णायक मण्डल—पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार रणनीतिज्ञ चारु चड्ढा र लैंगिकता विज्ञ सरु जोशी—ले कोशी प्रदेशबाट ४, मधेशबाट ५, बागमतीबाट ५, गण्डकीबाट ४, लुम्बिनीबाट ४, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट ५ जना गरी जम्मा ३१ जना महिला जनप्रतिनिधि छनोट गरेका हुन्। तीमध्ये ७ जना प्रमुख र २४ जना उपप्रमुख छन्।

छनोट भएकामध्ये कोशीबाट प्रमिला राई, बिपना कुलुङ, विष्णु कुमारी लिम्बु, सबिता राई; मधेशबाट विद्या देवी भुजेल, कल्पना कुमारी कटुवाल, गिता चौधरी, गोकुली कुमारी रेग्मी, रीना कुमारी साह; बागमतीबाट सिता माया गुरुङ, गायत्री आचार्य, मिठुदेवी लामा, मीना कुमारी लामा, बाल कुमारी कार्की; गण्डकीबाट हिरा देवी शर्मा, भागवती रेग्मी अर्याल, पद्मा गुरुङ, चन्द्रकला अधिकारी; लुम्बिनीबाट विना कुमारी भट्टराई, हुमा कुमारी डी.सी., निरमाया तरामु, मिना थापा; कर्णालीबाट देविका कुमारी सिंह, मोहन माया ढकाल भण्डारी, धर्मकला शाही, सिता जैसी; र सुदूरपश्चिमबाट जमुना कुमारी बोहरा, सुशिला शाही, ज्ञानु कुमारी सेटी देउबा, डोल्मा तामाङ र लक्ष्मी धामी (रोकाया) परेका छन्।

छनोट भएका ३१ प्रतिनिधिलाई भदौ १६ गते तालिम, १७ गते पत्रकारसँग अन्तरक्रिया, र उनीहरूको सुकर्मलाई प्रचार गर्न कथा, डकुमेन्ट्री तथा अन्तर्वार्तासहितका गतिविधिमा प्रस्तुत गरिनेछ। आगामी पुष १८–२० गते काठमाडौंमा महिला जनप्रतिनिधि उत्सव आयोजना हुने र पुष २२ गते अवार्ड समारोहमा ३१ मध्ये ७ जनालाई ‘आइकन’ घोषणा गरिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका