काठमाडौँ: आज विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाइँदै छ। यस वर्षको नारा ‘पृथकतामा एकता: क्यान्सर भोगाइका कथाहरू’ राखिएको छ। पछिल्लो समय नसर्ने रोगहरू विश्वव्यापी चुनौती बनेका छन्, जसमा क्यान्सर मृत्युदरको हिसाबले दोस्रो स्थानमा पर्छ।
विश्वव्यापी तथ्यांक
सन् २०२२ को एक अध्ययनले विश्वभर झन्डै दुई करोड क्यान्सरपीडित रहेको देखाएको छ। जसमध्ये ९७ लाखभन्दा बढीले ज्यान गुमाएका छन्।
नेपालको अवस्था
नेपालमा पनि नसर्ने रोगको भार बढ्दो छ। एक दशकमा क्यान्सर रोगीको संख्या १३ प्रतिशतले बढेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। सन् २०२२ मा नेपालमा २२ हजार नयाँ क्यान्सर बिरामी थपिएका थिए, जसमध्ये १४ हजारभन्दा बढीले ज्यान गुमाए।
क्यान्सरका मुख्य प्रकारहरू:
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ओन्कोलोजिस्ट डा. कृष्णसागर शर्माका अनुसार नेपालमा फोक्सो, स्तन, र पाठेघरको क्यान्सर बढी देखिन्छ।
महिलामा पाठेघरको क्यान्सर पहिलो स्थानमा छ भने दोस्रोमा स्तन क्यान्सर र तेस्रोमा पेटको क्यान्सर पर्छ।
पुरुषमा फोक्सो, प्रोस्टेट, र मुख वरिपरिका क्यान्सर प्रचलित छन्।
क्यान्सरको कारण र रोकथाम
विशेषगरी खराब जीवनशैली, अस्वस्थ खानपिन र शारीरिक गतिविधिको कमी क्यान्सरका प्रमुख कारण हुन्।
डा. शर्माका अनुसार चुरोट, सूर्तीजन्य पदार्थको सेवन तथा पोलेको मासुको सेवनले क्यान्सरको जोखिम बढाउँछ।
उनले स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित खाना खाने, व्यायाम गर्ने, धूम्रपान तथा मादक पदार्थको सेवन नगर्न सुझाव दिए।
सरकारी प्रयास
स्वास्थ्य मन्त्रालयले क्यान्सर नियन्त्रणका लागि विभिन्न कार्ययोजना अघि सारेको छ।
आज कक्षा ६ देखि १० सम्मका बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप प्रदान गरिनेछ।
स्तन, फोक्सो, र ब्लड क्यान्सरका निदानका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।
राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० अन्तर्गत ९ वटा रणनीति र ६० भन्दा बढी कार्यविधि रहेका छन्।
निःशुल्क औषधि वितरण:
डा. प्रकाश बुढाथोकीका अनुसार ३५ प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने औषधि माघको अन्त्यसम्म आउने अपेक्षा छ। ती औषधिहरू निःशुल्क उपलब्ध गराउने पहल भइरहेको छ।
सरकारी प्रयाससँगै नागरिकले आफ्नो स्वास्थ्यमा सचेत रहनुपर्ने आवश्यकता रहेको डा. बुढाथोकीले बताए।