Wednesday, June 24, 2026
Homeखेलकुदविश्वकपमा इंग्ल्यान्ड र घाना गोलरहित बराबरीमा, नकआउट सम्भावना बलियो

विश्वकपमा इंग्ल्यान्ड र घाना गोलरहित बराबरीमा, नकआउट सम्भावना बलियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

अमेरिकाको बोस्टनस्थित स्टेडियममा बुधबार बिहान भएको खेलमा इंग्ल्यान्डले अधिकांश समय खेलमा प्रभुत्व जमाए पनि गोल गर्न नसक्दा घानासँग अंक बाँड्न बाध्य भयो।

इंग्ल्यान्डले ७९ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राख्दै खेल नियन्त्रणमा राखेको थियो। टोलीले १९ वटा प्रहार गरे पनि कुनै पनि अवसरलाई गोलमा परिणत गर्न सकेन।

कप्तान ह्यारी केन, बुकायो साका, एबेरेची एजे र मार्कस रासफोर्डजस्ता आक्रामक खेलाडीहरू मैदानमा रहे पनि इंग्लिस टोलीको फिनिसिङ प्रभावकारी बन्न सकेन। पहिलो खेलमा क्रोएसियाविरुद्ध दुई गोल गरेका केनले यस खेलमा भने गोल गर्न सकेनन्।

पछिल्ला पाँच विश्वकपमध्ये इंग्ल्यान्ड दोस्रो खेलमा बराबरीमा रोकिएको यो तेस्रो पटक हो। यस विश्वकपमा गोलरहित बराबरीमा टुंगिएको यो तेस्रो खेलसमेत हो। यसअघि स्पेन–केप भर्डे र बेल्जियम–इरानबीचका खेल पनि गोलरहित बराबरीमा सकिएका थिए।

यस नतिजापछि इंग्ल्यान्ड र घानाले समान ४–४ अंक जोडेका छन्। गोलअन्तरका आधारमा इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ। दुवै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ।

यता पहिलो खेलमा पराजित भएका क्रोएसिया र पानामाका लागि भने यो नतिजाले थप अवसर सिर्जना गरेको छ। यी दुई टोलीबीच बुधबार बिहान अर्को महत्वपूर्ण खेल हुँदैछ।

समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डले पानामासँग प्रतिस्पर्धा गर्नेछ भने घानाले क्रोएसियाको सामना गर्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका