जनकपुरधाम : राम र सीताबीचको अटुट प्रेम र आदर्श विवाहलाई मिथिला नगरी जनकपुरमा फेरि एक पटक जीवन्त पारिएको छ। आदर्श जोडीको वैवाहिक सम्बन्धले नेपाल र भारतबीच साँस्कृतिक तथा धार्मिक सम्बन्ध प्रगाढ बनाउने मात्र नभई आदर्श विवाहको महत्वलाई पनि उजागर गर्ने गर्दछ। जसको साक्षी लाखौं श्रद्धालु भक्तजन बन्ने गरेका छन्।
जानकी मन्दिरमा राजा जनकको भूमिकामा रहेका महन्थ रामतपेश्वर दासले छोरी सीताको कन्यादान गरेका थिए भने भगवान रामलाई ज्वाइ पाएर सिंगो मिथिला नगरी धन्य भएको थियो।
आजु जनकपुर मंगल,
चारु दिन मंगल हे !
जानकी के होइ छे वियाह
जनकपुर मंगल हे !!
विवाह पूर्व एतिहासिक रंगभूमि (बारहबिग्घा) मैदानमा रामसीताबीच स्वयम्बर समारोह चलिरहँदा हेलिकप्टरबाट पुष्पवर्षा गराइएको थियो। त्रेता युगमा रामसीताको स्वयम्बर हुँदा देवीदेउताले स्वर्गबाट पुष्पवृष्टि गरेका थिए। सोही सम्झनालाई साकार रुप दिन स्वयम्बर कार्यक्रममा हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै आएको छ। विगत पाँच सय वर्ष पहिले गाँसिएको रामसीताबीचको सम्बन्ध अहिलेका पुस्तका लागि पनि आदर्श बनेको छ।
‘यस कार्यक्रमले वैवाहिक मर्यादा सिकाउँछ। विवाहपश्चात पति र पत्नीबीच हुने समर्पण र आदर्शको पाठ सिकाउँछ र यसले मानव कल्याणको बाटो देखाउँछ’, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल भन्छन्, ‘वर्तमान युगमा जहाँ विवाहको परम्परामा विभिन्न किसिमका विकृतिहरूले प्रवेश गरेका छन्। एकअर्काप्रतिको सम्मानमा कमी आउँदा दाम्पत्य जीवन धरासायी हुने गरेको छ। तर, रामसीताबीचको अगाध प्रेमले जीवनमा जस्तोसुकै समस्या आए पनि त्यसमा निदानको बाटो देखाउँछ।’
मिथिलामा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवका विधि विधानहरूले वैवाहिक मौलिकतालाई जीवन्तता दिने गरेको कवि काशिकान्त झा बताउँछन्। ‘विवाह कुनै दुई व्यक्तिबीच मात्र नभई दुई परिवार र दुई कुलबीच गाँसिने सम्बन्ध हो। रामसीता विवाह पञ्चमीमा गरिने वैवाहिक विधिविधानहरूले यसलाई प्रस्ट गर्छ’, झा भन्छन्, ‘यस विवाहमा गाइने लोकगीत र खानपानले मैथिली सभ्यतालाई उजागर गरेको हुन्छ।’ सीताको विवाहका लागि जानकी मन्दिरमा एक साता अघिदेखि नै उत्सव सुरु हुन्छ। हरेक विधिका आफ्नै लोकगीतहरू हुन्छन्। जसले उत्सवलाई अझ भव्य बनाउँछ। छोरी वैवाहिक बन्धनमा बाँधिनु अघि लोकगीत
‘सम्मर’ गाउने गरिन्छ। यस गीतमा छोरीको लालनपालन र उसको सुखद् वैवाहिक जीवनको कामना गरिन्छ।
विवाहको दिन भगवान रामको जन्ती जनक दरबार आउँदा मिथिलानीहरूले ‘परिछन’ गीत गाउँछन्।
परिछन चलियौ सखी
सुन्दर जमैया हे सोहावन लागे,
वर छथि लक्ष्मण, राम हे सोहावन लागे !
विवाह गर्न आएको केटा शारीरिक र मानसिक रुपमा ठिक छ छैन, त्यसको परीक्षण परिवारका महिलाहरूले गर्ने गर्छन्। त्यसैलाई जनबोलीमा परिछन भनिन्छ । त्यसपछि ‘ओठंगर’को गीत गाइन्छ। ‘बटगवनी’, ‘चुमान’, ‘तिरहुत’ र ‘डहकन’जस्ता लोकगीतहरूले वैवाहिक उत्सवको माहोललाई थप
रौनकता दिन्छ ।
विवाह सम्पन्न भएपछि अन्तिम दिन सौजन विधि गरिन्छ। यसलाई साधुसन्तहरूले ‘रामकलेवा’ विधि पनि भन्छन्। यस विधिमा अयोध्याबाट जन्ती बनेर आएका साधुसन्तहरूलाई जानकी मन्दिरमा ‘छपन्न व्यञ्जन’ खुवाएर कोसेली दिई बिदा गरिन्छ।
भोजका परिकारहरू विशेष हुन्छन्। मैथिली परम्परागत खानपान यस भोजमा भेटिन्छ। बासमति चामलको भात, रहरको दाल, शुद्ध घ्यू, थरिथरिका तरकारी, तरुवा, कढिबरीले थाल भरिभराउ हुन्छन्। जन्तीलाई खुवाउने अवसर पनि निकै विशेष हुन्छ। मिथिलानीहरूले यस अवसरमा डहकन र जेवनार गाएर जन्तीहरूको मनोरञ्जन गर्छन्।
‘हामी प्रत्येक वर्ष यी परम्परा र विधिविधानलाई दोहोर्याउने गर्छौं। यसले आम जनसमुदायलाई परम्परा संरक्षणको सन्देश पनि दिन्छ’, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशनदास वैष्णव भन्छन्, ‘जस्तोसुकै आधुनिकता आए पनि विवाहको मौलिकतालाई यस उत्सवले बचाएर राखेको छ।’


