कोलकाता: पश्चिम बंगालको राजधानी कोलकाताको एक ल कलेजमा छात्रामाथि बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कलेजका दुई वर्तमान विद्यार्थी र एक पूर्व विद्यार्थी रहेका छन्।
घटना जुन २५ तारिखको साँझ दक्षिण कोलकातास्थित ल कलेज परिसरमा भएको बताइएको छ। पीडित छात्राले नगर प्रहरी चौकीमा लिखित उजुरी दिएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो। प्रहरीले शुक्रबार तीनै अभियुक्तलाई अदालतमा पेश गरेपछि चार दिनको प्रहरी हिरासतमा पठाइएको छ।
घटना बारे अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीका अनुसार, छात्रालाई तृणमूल कांग्रेस छात्र परिषद् (टीएमसीपी) को कलेज युनियन अध्यक्ष बनाउने वाचा गरेर क्याम्पसमा बोलाइएको थियो। उनले शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेपछि जबरजस्ती गार्डकोठामा लगेर बलात्कार गरिएको बताइएको छ।
पक्राउ पर्नेहरूमा प्रमित मुखर्जी, जे. अहमद र मनोजित मिश्रा छन्। मनोजित कलेजका पूर्व विद्यार्थी तथा टीएमसीपीको ल कलेज शाखाका पूर्व अध्यक्ष भएको जानकारी प्रहरीले दिएको छ। उनका सामाजिक सञ्जालका तस्बिरहरूले टीएमसीपी र तृणमूल नेताहरूसँगको निकटता देखाएको भन्दै विवाद चुलिएको छ।
यस घटनाले राजनीतिक रंग पनि लिएको छ। विपक्षी दलहरूले तृणमूल कांग्रेसमाथि गम्भीर आरोप लगाउँदै मुख्यमन्त्री ममता बनर्जीको राजीनामा माग गरेका छन्। यसैबीच, राष्ट्रिय महिला आयोगले तीन दिनभित्र विस्तृत प्रतिवेदन पेश गर्न कोलकाता प्रहरी आयुक्तलाई निर्देशन दिएको छ।
तर, टीएमसीपीका प्रदेश अध्यक्ष त्रिणांकुर भट्टाचार्यले घटनामा संलग्न मुख्य अभियुक्त मनोजित मिश्राले संगठनमा वर्षौंदेखि कुनै भूमिका नखेलेको दाबी गरेका छन्।
फोरेन्सिक टोलीले घटनास्थलको निरीक्षण गरेको छ र प्रहरीका अनुसार तीनै जनाको मोबाइल फोन जफत गरिएको छ। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


