Friday, June 26, 2026
Homeराजनीतिविदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ गलतः महासचिव पोखरेल

विदेशबाट ऋण ल्याएर देश बनाउँछु भन्ने सोचाइ गलतः महासचिव पोखरेल

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकार गठनको उद्देश्य केवल शासनसत्तामा रहन मात्र नभई देशको अर्थतन्त्रलाई पुनः लयमा फर्काउनु पनि रहेको बताउनुभएको छ।

एमाले उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीद्वारा आयोजित जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उहाँले देश आर्थिक रूपमा कमजोर हुँदै गएको र सामाजिक रूपमा अराजकता बढ्दै गएको कारण नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन गरेको स्पष्ट पार्नुभयो।

“हामी शासनका लागि मात्र होइन, सङ्कटग्रस्त बनेको अर्थतन्त्रलाई सुधार गर्न, सुशासन कायम गर्न र जनतामा बढ्दै गएको निराशा हटाउन सरकारमा गएका हौँ,” महासचिव पोखरेलले भन्नुभयो।

उहाँले विदेशी ऋण र अनुदानको उचित सदुपयोग हुन नसकेको उल्लेख गर्दै, केवल ऋण लिएर देश बनाउन सकिन्छ भन्ने सोच गलत भएको धारणा राख्नुभयो। साथै, राजनीतिक दलभित्र योगदानभन्दा अवसरको खोजी बढी हुन थालेपछि अवसरवाद जन्मिने बताउँदै, त्यसलाई परास्त गर्न विचारलाई बलियो बनाउनु पर्नेमा जोड दिनुभयो।

महासचिव पोखरेलले कुनै पनि सङ्गठन एकताबद्ध र अनुशासित नभए उपलब्धि हासिल गर्न नसक्ने उल्लेख गर्दै, बलियो सङ्गठनिक शक्ति आवश्यक रहेको बताउनुभयो। साथै, प्रविधि र आधुनिक यन्त्रको प्रयोग गरी उत्पादन वृद्धि गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

“नेपालको भूगोल सुहाउँदो प्रविधि तथा उपकरणको उत्पादन र प्रयोगबाट तीव्र विकास सम्भव छ। पुँजी निर्माणबिना राष्ट्रिय अर्थतन्त्र बलियो बन्दैन। नेपालीको बचत संस्कृति कमजोर छ, त्यसैले यसमा सुधार गरी बचत प्रवृत्ति विकास गर्न आवश्यक छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा उद्योग–व्यवसाय विशेष जिल्ला कमिटीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले दुई ठूला दलको सहकार्यसँगै मुलुकको आर्थिक अवस्था क्रमशः सुधार भइरहेको र लगानीको वातावरण बन्दै गएको बताउनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका