काभ्रे: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले भ्रष्टाचार, अनियमितता र राज्य दोहनका ठूला प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन्।
शनिबार माओवादी केन्द्र महाभारत गाउँपालिकाको दोस्रो अधिवेशनको देवीटारमा उद्घाटन गर्दै पुनले भुटानी शरणार्थी प्रकरण, यति, ओम्नी, गिरिबन्धु टी स्टेटजस्ता घटनाहरूको छानबिन गर्न संसदीय विशेष समिति आवश्यक रहेको बताए।
लोकतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद कोही पनि प्रश्नभन्दा माथि हुन नसक्ने भन्दै उनले प्रधानमन्त्री केपी ओलीले आफूमाथि सार्वजनिक रूपमा उठेका प्रश्नहरूको छानबिनका लागि तयार हुनुपर्ने धारणा व्यक्त गरे।
‘हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले थालेको भुटानी शरणार्थी प्रकरणबारे के हुन्छ? यति र ओम्नी प्रकरणको छानबिन हुन्छ कि हुँदैन?’ पुनले भने, ‘लोकतन्त्रमा कोही पनि विधि र प्रश्नभन्दा माथि हुँदैन। यी सबै प्रकरणहरूको संसद्ले छानबिन गर्नुपर्छ।’
पुनले प्रचण्ड प्रधानमन्त्री भएका बेला प्रहरी प्रमुखलाई बोलाएर आफू वा आफ्ना नेता भ्रष्टाचारमा संलग्न देखिए छानबिन गर्न अपिल गरेको प्रसंग उल्लेख गर्दै त्यस्तो साहस केपी ओलीमा नभएको टिप्पणी गरे।
त्यसैगरी, विवादास्पद व्यवसायीसँग पार्टी कार्यालयका लागि जग्गा दान लिएको विषयमा प्रश्न उठाउने भीम रावललगायत नेतामाथि कारबाही गर्नु र आफूलाई प्रश्न गर्ने सर्वसाधारणमाथि जाइलाग्न अरिङ्गाल सेनालाई अपिल गर्नुले ओलीको प्रश्न नपचाउने चरित्र उजागर भएको उनको भनाइ थियो।