काठमाडौँ: सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताउनुभएको छ।
७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज जारी शुभकामना सन्देशमा उहाँले प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो।
सभामुख घिमिरेले भन्नुभएको छ, “वि.सं. २००७ को प्रजातान्त्रिक आन्दोलनले नेपाली जनतालाई निरङ्कुशताको अन्धकारबाट मुक्त गरी स्वतन्त्रताको उज्यालोमा ल्यायो। यो दिवसले हामीलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरित गर्छ।”
उहाँले सहिदहरूको बलिदानबाट प्रजातन्त्र र नागरिक स्वतन्त्रताको जग बसालिँदै गणतन्त्रको यात्रा तय भएको स्मरण गर्नुभयो। “वि.सं. २०६२/६३ को जनआन्दोलनले पञ्चायती निरङ्कुशता र राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युग प्रारम्भ गर्यो। यो उपलब्धि नेपाली जनताको साहसिक सङ्घर्ष र सहिदहरूको त्यागकै कारण सम्भव भएको हो।”
सभामुख घिमिरेले राजनीतिक आन्दोलनहरूबाट मुलुकले महत्त्वपूर्ण सफलता प्राप्त गरे पनि जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो।


