काठमाडौं : झन्डै दुई वर्षसम्म नेपालमा कोरोना भाइरस (कोभिड–१९)का तीनवटा भेरियन्ट सक्रिय देखिए। डेल्टासहित अल्फा र कप्पा भेरियन्टले ९ लाख १५ हजारभन्दा बढीलाई संक्रमित गरायो। डेल्टा भेरियन्टको संक्रमणले सुरुमा नाक र जिब्रोलाई असर गथ्र्यो। धेरैले स्वाद थाहा पाएनन्। सुँघ्ने क्षमता हरायो। मृत्युदर पनि ह्वात्तै बढ्यो।
अहिले विश्वका ३५ भन्दा बढी मुलुकमा ओमिक्रोन भेरियन्ट फैलिएको छ। तर, यसको असर डेल्टा जस्तो घातक नभएको स्वास्थ्यविद् बताउँछन्। ‘अहिले आत्तिहाल्नुपर्ने अवस्था त छैन, तर, सचेत भने हुनुपर्छ,’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार डा. आरपी बिच्छा भन्छन्, ‘यसको प्रभाव कस्तो रहनेछ, कम्तीमा दुई साता हेर्नुपर्छ।’ ओमिक्रोनको संक्रमणबाट जोगिन अपनाउने रणनीतिका सम्बन्धमा मंगलबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बस्ने उनले बताए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन हालसम्मको अवस्थालाई हेर्दा ओमिक्रोनको जटिलता नदेखिएको बताउँछन्। ‘यसको लक्षणहरू अहिलेसम्म सामान्य देखिएका छन्। संक्रमण भइहाल्यो भने पनि तर्सिहाल्नु पर्ने अवस्था छैन।’
भारतमा यसको संक्रमण दर उच्च देखिएको छ। संक्रमितलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार, चिसो लाग्ने, जीउ गल्ने, टाउको दुख्ने, थकाई लाग्ने र हल्का ज्वरो आउने (अधिकतम १ सय डिग्रीसम्म) जस्ता लक्षण देखिएका छन्। दक्षिण भारतको कर्नाटक राज्यका ४६ वर्षीय संक्रमित चिकित्सकका अनुसार, खोकी, सर्दि र श्वास–प्रश्वासमा कुनै समस्या छैन। सूक्ष्म जीव विज्ञ डा. प्रकाश घिमिरे पनि यसको संक्रमण देखा पर्दैमा आत्तिहाल्न नहुने सुझाव दिन्छन्। ‘यसको संक्रमण दर धेरै छ। त्यसतर्फ सतर्क भने हुनुपर्छ,’ उनले भने।
डब्लूएचओको सक्रियता सुस्त
ओमिक्रोनको पुष्टि सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भएको हो। पहिलो पटक ८ मंसिर २०७८ (२४ नोभेम्बर, २०२१) दक्षिण अफ्रिकामा देखियो। यसको गत कात्तिक २३ गते नमुना संकलन गरिएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ७ मंसिर (२३ नोभेम्बर) मा नयाँ भेरियन्ट ओमिक्रोनको नामाकरण गर्दै विश्व समुदायमा सूचित गरेको थियो। डब्लूएचओले विश्वमा सूचित गर्नुअघि नै दक्षिण अफ्रिकाबाट आएका व्यक्तिको नेपालमा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, मंसिर ३ गते अफ्रिकाबाट नेपाल आएका व्यक्तिमा ओमिक्रोन पुष्टि भएको छ। यस हिसाले हेर्दा, डब्लूएचओले विश्वमा सूचित गर्नुअघि नै नेपालमा संक्रमित घुमिरहेका थिए। डब्लूएचओमा रहेर कार्य गरिसकेका डा. प्रकाश घिमिरे भन्छन्, ‘भेरियन्ट अफ कन्सर्नमा पर्छ ÷पर्दैन भनी प्रमाणीकरण गर्न समय लाग्छ। त्यसैले गर्दा ढिला भएको हुन सक्छ।’ डब्लूएचओले गरेको प्रारम्भिक आँकलनअनुसार, दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम छ।
नेपालमा पर्ख र हेरको अवस्था
दक्षिण अफ्रिकामा पत्ता लागेको ओमिक्रोन (बी.१.१.५२९) लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भेरियन्ट अफ कन्सर्नको सूचीमा राखेको छ। वरिष्ठ सूक्ष्म जीवविज्ञ डा. घिमिरेका अनुसार, द्रुत ढंगले धेरै ठाउँमा र अधिक जनसंख्यालाई प्रभावित गर्ने भेरियन्ट भएको पुष्टि भएमा मात्र भेरियन्ट अफ कन्सर्नको सूचीमा राखिन्छ।
डेल्टा भेरियन्टभन्दा ओमिक्रोनमा धेरै ‘म्युट छ। ‘म्युटेसन भएका कारण नै यसको नाम ओमी नामाकरण भएको हो।’ डा. घिमिरेले भने, ‘धेरै म्युटेसन भएका कारण ओमिक्रोनको भविष्यवाणि (प्रेडिक्सन) सजिलो छैन। अहिलेसम्मको तथ्यले संक्रमण दर (ट्रान्समिसन रेट) असाध्ये धेरै छ। अल्फाभन्दा डेल्टा भेरियन्टको पाँच गुणा बढी संक्रमण दर थियो। डेल्टाभन्दा ओमिक्रोन पाँच गुणा बढी संक्रमणदर छ।’
संक्रमणदर उच्च भए पनि संक्रमितमा कत्तिको जटिलता भइरहेको छ ? भन्नेबारे विस्तृत तथ्यांक सार्वजनिक गर्न नसकेको डा. घिमिरेले बताए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक डा. पुनका अनुसार ओमिक्रोनको संक्रमण डेल्टाभन्दा तीन गुणा बढी देखिएको छ।
डा. पुनका अनुसार, डेल्टा भेरियन्टभन्दा ओमिक्रोनमा संक्रमणदर उच्च छ। ‘संक्रमणको केसहरू त अवश्य पनि बढ्छ।’ उनले भने, ‘तत्कालका लागि धेरै आत्तिनु पर्दैन। के कसरी संक्रमण हुन्छ र कस्तो प्रभाव पर्छ भन्ने बारेमा केही साता पर्खनुपर्छ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार, विश्वका विभिन्न मुलुकमा ओमिक्रोनको असर कस्तो देखिएको छ भन्ने सम्बन्धमा प्रष्ट जानकारी सार्वजनिक भएको छैन। ‘संक्रमितमा कडा लक्षण नदेखिएको भन्ने कुरामात्र आइरहेको छ। भित्री कुराहरू सार्वजनिक नगरेकाले केही भनी हाल्न पनि समस्या छ।’ उनले भने। डा. मरासिनीका अनुसार, ओमिक्रोनको प्रभावका सम्बन्धमा प्रष्ट जानकारी सार्वजनिक नभएकाले नेपालमा कस्तो प्रभाव पार्ला भन्ने आँकलन गर्न कठिन छ।
त्रिभुवन माइक्रोलोजी केन्द्रीय विभागका विभागीय पूर्वप्रमुख डा. घिमिरेका अनुसार, अफ्रिकामा कोरोनाविरुद्धका खोप लगाउनेको संख्या न्यून छ। ‘तीनदेखि पाँच प्रतिशतले मात्र खोप लगाएका छन्। उनले भने, ‘खोप नलगाएका मुलुकमा संक्रमण दर धेरै देखियो। मृत्युदर न्यून छ कि बढी छ भन्ने प्रष्ट रूपमा सार्वजनिक भइसकेको छैन।’
नेपालमा कुल जनसंख्याको २८ दशमलव ६ प्रतिशतले पूर्ण मात्रा खोप लिएका छन्। कम्तीमा एक मात्रा खोप पाउनेको संख्या ३४ दशमलव १ प्रतिशत छ। खोप अभियान सुरु भएदेखि हालसम्म २ करोड मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका खोप उपलब्ध छ।
डा. घिमिरेका अनुसार, संक्रमण पाँच गुणा धेरै भएकाले डेल्टा भाइरसको जस्तो सावधानीको उपायहरू अपनाउनुपर्छ। ‘मास्क लगाउने, भौतिक दूरी कायम गर्नुपर्ने कार्य अपनाउनुपर्छ।’ डा. घिमिरेले भने, ‘साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने र खुला ठाउँमा भौतिक दूरी कायम राखेर भेट्ने गर्नुपर्छ।’
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, ओमिक्रोनको निगरानीको लागि सर्भिलेन्स र कन्ट्याक्ट ट्रेसिङको कार्यलाई थप प्रभावकारी बनाइएको छ। उनी भन्छन्, ‘अन्य भेरियन्ट झैं ओमिक्रोनको संक्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्डको पालना गर्नुपर्छ। खोप अभियानमा सहभागी हुने र भौतिक दूरी कायम राखेर खोप लगाउनुपर्छ।’
भ्याक्सिनको घोषणा
ओमिक्रोन भेरियन्टविरुद्ध पनि खोप उत्पादक कम्पनीले भ्याक्सिन बनाउने तयारी गरेका छन्। त्रिभुवन विश्वविद्यालय, माइक्रोवायोलोजी विभागका पूर्वविभागीय प्रमुख डा. प्रकाश घिमिरेका अनुसार, अमेरिकास्थित मोडर्ना कम्पनीले खोप बनाउने घोषणा गरिसकेको छ। ‘यो भेरियन्टविरुद्धको नयाँ बुस्टर डोज बनाउन सुरु गरिसकेको मोडार्नाले घोषणा गरिसकेको छ।’ उनले भने, ‘यो भेरियन्टबाट सतर्क हुनुपर्छ। चिन्तित हुनुपर्दैन।
०००
दुईमा संक्रमण
ओमिक्रोनबाट नेपालमा दुई जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार, ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। ती विदेशी नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी मंसिर ३ गते नेपाल प्रवेश गरेका थिए। कोरोनाविरुद्धको खोपको पूर्णमात्रा लगाएका ती व्यक्तिको पीसीआर परीक्षण नेगेटिभ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मंसिर ७ गते उनीहरूमा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरू देखिएका थिए। तर, १२ दिनपछि मात्र परीक्षण गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मंसिर १९ गते राति गरिएको परीक्षणमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो।
मन्त्रालयका सह–प्रवक्ता डा.अधिकारीका अनुसार सरकारले तोकेको मापदण्डअनुसार, दुवै जना आइसोलेसनमा रही स्वास्थ्य लाभ गरिरहेका छन्। उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको बृहत रूपमा कन्ट्याक्ट ट्रेसिङ गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सम्पर्कमा आएका ६६ जना व्यक्तिको पीसीआर परीक्षण गरिएको थियो। सहप्रवक्ता डा. अधिकारीले भने, ‘सबैको रिपोर्ट नेगेटिभ आएको छ।’
०००
‘सतर्कता अपनाऔं, खोप लगाऔं’
डा. आरपी विच्छा, स्वास्थ्य सल्लाहकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
नेपालमा ओमिक्रोनको संक्रमण दर बढ्ने संभावना कत्तिको छ ?
संक्रमित व्यक्ति क–कसको सम्पर्कमा पुगेका छन् भन्ने कुरा मुख्य हो। त्यसको बृहत् रूपमा कन्टयाक्ट ट्रेसिङ गर्नुपर्छ। संक्रमण दर त बढ्न सक्छ। सबै जनाको जीन सिक्वेन्सिङ गर्नुपर्छ। एक÷दुई केस देखिने बित्तिकै आतंकित हुनुपर्दैन। तर, सतर्क हुनुपर्छ।
संक्रमितमा लक्षण त सामान्य देखिएको छ नि !
लक्षणलाई हामी ‘माइल्ड टु मोडरेट’ भन्छौं। धेरै सिभियर छैन। तर, जेनरलाइज गर्न मिल्दैन। भारतकै पनि एक जना चिकित्सकलाई तीन दिन अस्पताल भर्ना नै गर्नु परेको थियो।
ओमिक्रोन संक्रमितको मृत्युको विवरण आएको त छैनन् नि !
अहिलेसम्मकै राम्रो पक्ष भनेको जटिलता भएको ज्यान गएको पुष्टि भइसकेको छैन।
खोपको पहुँच बढाउने र अन्य सतर्कताका लागि सरकारले के गर्दै छ ?
सरकारले त खोप दिइरहेको छ। सर्वसाधारण खोप केन्द्रमा आएर लगाउनु पर्यो। सुरक्षा सर्तकता अपनाउनु पर्यो। सरकारले उच्च जोखिममा रहेका मुलुकबाट आएका व्यक्तिलाई आवतजावत गर्दा पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ। विमानस्थलमा नै एन्टिजेन परीक्षणको व्यवस्था छ। शंकास्पद नमुनाको जीन सिक्वेन्सिङ पनि गर्ने व्यवस्था छ।बेलायतले हवाई यात्रामा प्रतिबन्ध लगाएको छ। अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा भयो। नेपालमा लकडाउन वा अन्य
केही घोषणा हुन सक्छ ?
त्यो अहिले भनी हाल्न मिल्दैन। यदि धमाधम संक्रमित बढ्दै गएको अवस्थामा कुनै न कुनै घोषणाको आवश्यकता पर्न पनि सक्छ। स्कुल बन्द गर्ने आवश्यकता हुन सक्छ।


