Saturday, June 20, 2026
Homeराजनीतिरास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन भोलिदेखि, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन भोलिदेखि, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन भोलि आइतबारदेखि चितवनको भरतपुरस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा सुरु हुँदै छ। महाधिवेशनको पूर्वसन्ध्यामा आज दिनभर अन्तिम तयारीका काम तीव्र रूपमा अघि बढाइएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनका लागि आवश्यक सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ। देशभरबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूको आगमन तथा आवास व्यवस्थापनको काम समेत सम्पन्न गरिएको छ।

यसैबीच, नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। आयोगका अनुसार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली आज राति ८ः३० बजे पार्टीको वेबसाइटमार्फत प्रकाशन गरिनेछ। नामावलीमाथि दाबी–विरोध गर्न भोलि बिहानसम्म समय दिइएको छ।

उम्मेदवारी मनोनयन फारम वितरण भोलि दिउँसो १ बजेदेखि सुरु हुनेछ भने मनोनयन पत्र दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्म गर्न सकिनेछ। उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्ने समय साँझ ६ बजेदेखि ७ बजेसम्म तोकिएको छ। उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ८ः१५ बजेसम्मको समय निर्धारण गरिएको छ। उम्मेदवारहरूको अन्तिम नामावली भोलि राति ११ बजे प्रकाशित गरिने आयोगले जनाएको छ।

पहिलो चरणअन्तर्गत पार्टी सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान पर्सि बिहान ८ः३० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। मतदान सम्पन्न भएको दुई घण्टापछि मतगणना सुरु गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

महाधिवेशनलाई लक्षित गर्दै चितवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू चितवन पुगिसकेका छन्।

रास्वपाको पहिलो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी नीति, रणनीति र राजनीतिक दिशा तय गर्ने अपेक्षा गरिएको छ। आवश्यकता अनुसार दोस्रो चरणको उम्मेदवारी तथा अन्य निर्वाचन कार्यक्रम पछि सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका