Saturday, April 25, 2026
Homeअन्तराष्ट्रियराष्ट्रसंघका वरिष्ठ पूर्वअधिकारी ड्यागिल्स नेपालमा बाल यौन दुर्व्यवहारमा दोषी ठहर

राष्ट्रसंघका वरिष्ठ पूर्वअधिकारी ड्यागिल्स नेपालमा बाल यौन दुर्व्यवहारमा दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले संयुक्त राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी र क्यानाडेली नागरिक पिटर जोन ड्यागिल्सलाई बाल यौन दुर्व्यवहार (पेडोफिलिया) मा दोषी ठहर गरेको छ। अदालतका सह प्रवक्ता गोविन्द घिमिरेका अनुसार क्यानाडेली नागरिक ड्यागिल्सलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरिएको हो।

न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले बुधबार जिल्ला अदालत काभ्रेपलान्चोक र उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै ड्यागिल्सलाई दोषी ठहर गरेको हो। सर्वोच्चले कैद सजायमा भने एक वर्ष घटाएर उनलाई ८ वर्ष कैदको आदेश दिएको छ। साथै, क्षतिपूर्तिका लागि जिल्ला अदालतको निर्णयलाई यथावत् राखिएको छ।

२०७४ चैत २४ गते काभ्रेको मण्डन देउपुरमा आफ्नै फार्म हाउसमा दुई जना नाबालिगसँग पक्राउ परेपछि ड्यागिल्सको नाम अन्तर्राष्ट्रिय रूपमा बाल यौन दुर्व्यवहार (पेडोफिलिया) मा संलग्न भएको चर्चा आएको थियो।

जिल्ला अदालतले उनलाई ९ वर्षको जेल सजाय सुनाउँदै दुई जना पीडित बालबालिकालाई मुआब्जा दिन आदेश दिएको थियो। ड्यागिल्स संयुक्त राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारीका रूपमा अफगानिस्तानमा कन्ट्री रिप्रिजेन्टेटिभको भूमिका निभाइसकेका छन्।

पिटर जोन ड्यागिल्सलाई नेपालमा भेटिएका उच्च तहका बाल यौन दुर्व्यवहारकर्ता मानिन्छ। २०७४ मा पक्राउ परेका ड्यागिल्स यसअघि पनि बाल यौन दुर्व्यवहारको आरोपमा शंका गरिएका थिए तर उनी आफ्नो उच्च पदको आडमा उम्कँदै आएका थिए। प्रहरी अनुसन्धानले उनी सन् २००२ देखि नेपाल आउँदा बाल यौन दुर्व्यवहारमा संलग्न रहेको ठहर गरेको थियो।

सन् २००२ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का सल्लाहकारका रूपमा पहिलो पटक नेपाल आएका ड्यागिल्स पछि पनि बालबालिकालाई आर्थिक सहयोग दिने बहानामा बाल यौन दुर्व्यवहार गर्दै आएका थिए। करिब ५० जना बालबालिकालाई आर्थिक सहयोग गरेको बताइएका ड्यागिल्सले धेरैलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ।

सन् २००९ मा उनले नेपालमा काम गरिरहेका सहकर्मीमार्फत् काभ्रेको मण्डन देउपुरमा १० रोपनी जग्गामा फार्म हाउस निर्माण गरेका थिए। सोही फार्म हाउसलाई उनले आफ्नो यौन दुर्व्यवहारको थलो बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ।

उनी एक समय सम्मानित मानवीय कार्यकर्ता थिए र सन् २०१६ मा ‘अर्डर अफ क्यानडा’ जस्तो उच्च सम्मान प्राप्त गरेका थिए। १९८० को दशकमा स्ट्रिट किड्स इन्टरनेशनलको सह-स्थापना गरेका उनी पछि सेभ द चिल्ड्रेनसँग पनि संलग्न भएका थिए।

पेडोफिलिया के हो?

पेडोफिलिया ग्रीक भाषाको ‘पेडो’ (बच्चा) र ‘फिलिया’ (माया) शब्दबाट आएको हो, जसको शाब्दिक अर्थ बालबालिकाप्रति आकर्षण वा स्नेह हो। तर आजकाल यस शब्दले बालबालिकालाई यौन दुर्व्यवहारमा संलग्न गराउने वा यौन आकर्षण राख्ने वयस्कलाई बुझाउँछ। यस्तो रुचि राख्ने व्यक्ति १६ वर्षभन्दा माथिका र बालबालिकाभन्दा कम्तिमा पाँच वर्ष बढी उमेरका हुनुपर्ने प्रावधान हुन्छ।

बाल यौन दुर्व्यवहार बलात्कार, हाडनाताकरणीजस्तै गम्भीर प्रकारको दुराचार हो, जसले पीडितलाई गम्भीर मानसिक आघात पुर्‍याउँछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका