काठमाडौँ । व्यवसायी रामहरि श्रेष्ठको अपहरण तथा हत्या प्रकरणमा दोषी ठहरिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले बुधबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्।
सर्वोच्च अदालतले पुनरावलोकन सुनुवाइमार्फत उनलाई १० वर्ष कैद सजाय सुनाएपछि बटाला अदालतमा उपस्थित भएका हुन्। २०८३ जेठ २८ गते न्यायाधीशहरू डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले यसअघि भएको फैसला उल्ट्याउँदै बटालालाई १० वर्ष कैद सजाय सुनाएको थियो।
सर्वोच्च अदालत प्रशासनअन्तर्गत मुद्दा तथा रिट महाशाखाले उनलाई कारागार कार्यालय डिल्लीबजार चलान गरेको जनाएको छ।
प्रचलित कानुनी व्यवस्थाअनुसार फैसला भएको मितिले ६० दिनभित्र अदालतमा उपस्थित भई कैद भुक्तान गर्न थालेमा तोकिएको जरिवानामा २० प्रतिशतसम्म छुट पाउने व्यवस्था रहेको छ। सोही आधारमा बटालाले कानुनबमोजिम उक्त सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ।
कालिकोटको माल्कोट स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका बटाला २०६८ असार ६ गते व्यवसायी रामहरि श्रेष्ठलाई काठमाडौँबाट अपहरण गरी चितवन लगेर हत्या गरेको अभियोगमा दोषी ठहर भएका हुन्।
बटाला तत्कालीन माओवादी जनमुक्ति सेनाका ब्रिगेड कमान्डरसमेत रहेका थिए। यस घटनालाई तत्कालीन द्वन्द्वकालपछिका चर्चित आपराधिक घटनामध्ये एक मानिन्छ।


